आर.सी. रिजालमेरा साथीः भैरव अर्याल
उहाँको शोकसभामा आँसु चुहाउँदै भाषणको एकाङ्की र नखरा पेश गर्दै छौं । हामीले जीवित भैरव अर्याललाई दशैं मान्न केही सहयोग वा आश्वासनमात्र पनि दिन सकेको भए सायद भैरव अर्याल आज पनि हामीसँग हुनेथिए होलान् !
नपत्याउँदा नपत्याउँदै साँच्चै नै मेरो साथी भैरव अर्यालले यो संसार चटक्कै छोडे । भैरव अर्याल र भैरव रिसाल जुम्ल्याहा नाउँजस्ता भए- पूरा कुरा नबुझी आधा कुरा बुझेर जस्तो ठान्नेहरूका लागि यद्यपि भैरव अर्यालको बहुमुखी प्रतिभा, सिर्जनात्मक साँझबिहान, सौम्य र शिष्ट व्यक्तित्व, मृदु र मितभाषी व्यवहार, सामान्य मनस्थितिमा खिसिक्क नहाँसी नबोल्ने व्यवहारले मलाई लाग्थ्यो, उहाँ यस युगको युधिष्ठिर नै हुनुहुन्छ ।
मलाई सम्झना भएसम्म हामी १५-१६ सालमा झन्डै दुई वर्षसम्म ‘हालखबर’ (त्यस बेलाको बढी लोकप्रिय दैनिक) को काम गथ्र्यौैं, एउटै डेरा डिल्लीबजारमा बस्थ्यौँ, एउटै भान्सामा खान्थ्यौँ । मेरो भाइ पुरु पनि सँगै थियो । भात पकाउन भने म र अर्यालजी दुवै चौपट्टै अल्छी थियौँ । मेरो साथी अर्याल सम्पादन शाखामा सम्पादकीय, सम्पादकलाई चिठी, हाँस्नुहुन्छ भने.. र अरू समसामयिक लेख, अग्रलेख, टिप्पणी आदि लेखी ‘हालखबर’को स्तर उचाल्न तल्लीन हुनुहुन्थ्यो भने म रिपोर्टिङ गर्थे । उहाँको विभिन्न विषयसँग बढी सम्पर्क थियो भने मेरो जनसम्पर्क बढी थियो । उहाँ हास्यव्यङ्ग्यको विषय, माध्यमबाट समाजमा विद्यमान विषमता, विकृति, विसङ्गति आदिमा कडा प्रहार गर्नुहुन्थ्यो । उहाँ हँसाउनुहुन्थ्यो कलमबाट; म भने हाँस्थेँमात्र ।
तर, उहाँका कविता, कथा, हास्यव्यङ्ग्यको श्रेय मलाई दिने पनि कैयौँ थिए । त्यस्तै, भैरव अर्यालको निधनमा मेरो निधन भन्नेहरू पनि कम छैनन् । भैरव अर्याल पाकिस्तानको भ्रमणमा जाँदा तथा पूर्वी जर्मनीमा अध्ययन र औषधोपचारमा जाँदा कैयौँले म ठानी बधाई दिन्थे भने कैयौँ अचम्ममा पर्दथे मलाई यहीँ देखेर । दुवैको नाउँको अघिल्लो शब्द ‘भैरव’ एउटै भएका हामी अर्याल र रिसालले कम चिनारी पाउनु भएकाले र पेशा पनि पत्रकारिता भएकाले यस्तो विभ्रम हुनु एक प्रकारले अस्वाभाविक थिएन । उहाँ भन्नुहुन्थ्यो- म चीन र युगोस्लाभिया जाँदा कैयौँ मित्रले उहाँ गएको ठानी उहाँलाई बधाई दिए रे । हास्यव्यङ्ग्यकार भैरव अर्यालको पुस्तक प्रकाशित भयो, रेडियो नेपालमा सामाजिक चर्चा परिचर्चा लेख प्रसार भयो । कैयौँले मेरो ठानी मलाई जस दिन्थे । मलाई भने मेरो होइन भनी स्पष्टीकरण दिँदै ठिक्क थियो म रिसाल, उहाँ अर्याल भनी म स्पष्ट गर्न खोज्दथेँ । ती सज्जन “भैगो भैगो ! थाहा छ, छकाउनुपर्दैन !” भनी पूरा कुरै नबुझी धारणा बनाउँथे ।
भैरव अर्यालको अभाव भैरव रिसालको व्यक्तित्व विकासमा अपूरणीय क्षतिको रूपमा रहन्छ । साहित्यमा ‘सा’ सम्म नजान्ने म, भैरव अर्यालको कृतिले हास्यव्यङ्ग्यमा लेख्न त कुरै छोडौं, हालसम्म नजान्ने म, व्यङ्ग्यलाई व्यङ्ग्यसम्म नठानी अव्यङ्ग्य ठान्ने म भैरव अर्यालको हास्यव्यङ्ग्यले जस पाउँथे, कतिपय व्यक्तिहरूबाट भैरव अर्याललाई गुमाएर बख्खुमा बढेको मेरो व्यक्तित्व पनि घट्ने भएको छ । भैरव अर्याल र भैरव रिसाल हामी यस्ता व्यक्तित्व थियो, जो एउटाको विकासमा अर्काको स्वाभाविक, निरन्तर सहयोग र सहभाव शाश्वत भएको थियो । भैरव अर्यालको मृत्युको समाचारले कैयौ मेरा मित्रलाई आश्चर्यचकित र क्षणिक शोकाकुल गराएको कुरा म त्यही दिनदेखि धमाधम थाहा पाउँदै छु ।
भैरव अर्यालको घाँटी ठीक नभएकोले उहाँको आवाज स्पष्ट थिएन । यसमा उहाँलाई ठूलो विस्मात थियो । म उहाँलाई कुरैकुरामा सम्झाउँथे, “तपाईंको व्यक्तित्व वक्ताको रूपमा, गायक कलाकारको रूपमा, राम्रो सुरिलो गीत गाउने रूपमा विकसित भएको होइन, तसर्थ तपाईंको वाणीभन्दा तपाईंको कलम समात्ने बानी बलियो, राम्रो छ । तपाईंको व्यक्तित्वको प्रकाशक तपाईंको भाषण होइन, कुशाग्र बुद्धि, प्रत्युत्पन्नमति, समाजको परिवर्तनप्रतिको अटूट आस्था र निष्ठा, अप्रजातात्रिक आर्थिक विषमता विरुद्ध निरन्तर शङ्खनाद हो । यसकारण पनि तपाईं घाँटीको वाणीको चिन्ता नगर्नोस् !”
भैरव अर्यालको बारेमा मलाई लाग्दछ, मेरो धारणा ठीक थियो । मेरो सम्पर्क भैरव अर्यालसँग सुरु हुँदा मलाई कम सम्झना भएसम्म उही आलापोटको विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । म ‘हालखबर’मा काम गर्दथेँ, उहाँ यदाकदा आउनुहुन्थ्यो । तिनताक उहाँको बिहा भैसकेको थियो तर उहाँकी श्रीमती घरमा होइन, माइतमा बस्नुहुन्थ्यो । श्री अर्याल, श्री लोहनीले लेखेका चीनको इतिहास साम्यवादी साहित्य र दर्शनका ससाना किताबबाट आफू निकै प्रभावित भएको कुरा गर्नुहुन्थ्यो । ‘हालखबर’का सम्पादकलाई चिठीबाट भैरव अर्यालले पत्रकारिता सुरु गर्नुभयो । त्यसपछि ‘हालखबर’ को अत्यन्त लोकप्रिय स्तम्भ ‘हाँस्नुहुन्छ भने’ मा उहाँको व्यक्तित्व प्रस्फुटित हुन थाल्यो । यसबारे मलाईभन्दा मेरो गुरु दातारामलाई बढी थाहा छ ।
पत्रकारिताको माध्यमबाट उहाँको प्रतिभा कोपिला क्रमशः फक्रदै गयो. सुवास फिंजाउँदै गयो । उहाँमा बिहान प्रायः कविता र लेख लेख्ने बानी थियो, दिउँसो हास्यव्यङ्ग्य र अरू कुरा । तिनताका भैरव अर्यालका अक्षर राम्रा, कविता हास्यव्यङ्ग्य राम्रा, सबै राम्रा थिए । मलाई कताकता उहाँको राम्रोको ईष्र्या पनि हुन्थ्यो ।
पत्रकारितामा नआउँदा उहाँलाई लाग्थ्यो रे- ‘एउटा सानो चारपाने पत्रिकामा पनि आर्थिक समीक्षक, राजनीतिक पर्यवेक्षक, साहित्यिक समालोचक, आर्थिक, राजनीतिक, सामाजिक, पर्यवेक्षक कतिका मानिस हुँदारहेछन् भन्ने अठार बीस वर्षअगाडिको हालखबरमा त्यतिका स्तम्भलेखक, समीक्षक, पर्यवेक्षक कहाँसम्म थियो र ! कैयौँ स्तम्भ एउटैले अनेक नामबाट लेख्नुपर्ने स्थिति थियो । ‘हालखबर’मा प्रवेश गरेपछि उहाँ नै ती स्तम्भलेखक हुनुभयो । पत्रकारिताको संसार यस्तो हुँदोरहेछ भनी पछि मलाई उचाले भन्नुहुन्थ्यो । भैरव अर्यालले जीवित छँदासम्म जसरी समाजको विसङ्गति, पूर्जा, आर्थिक-सामाजिक महारोगउपर हाँसो र व्यङ्ग्य गरी जिस्क्याउनुभयो, त्यसअनुरूप आफ्नो व्यङ्ग्यपूणर् निधन पनि यही समाजलाई दिएर जानुभयो ।
भैरव अर्यालको ४० वर्षको उमेरमा भएको निधनपछि हामी आज उहाँका साथी, सँगाती, आफन्त, चेलो, गुरु …जे नाता लगाउँदा भैरव अर्यालको निकटको होइन्छ भनी गतिविधि देखाउन लागेका छौंं र उहाँको शोकसभामा आँसु चुहाउँदै भाषणको एकाङ्की र नखरा पेश गर्दै छौं । हामीले जीवित भैरव अर्याललाई दशैं मान्न केही सहयोग वा आश्वासनमात्र पनि दिन सकेको भए सायद भैरव अर्याल आज पनि हामीसँग हुनेथिए होलान् !
उनको शोकसभामा कवितामय भाषा-शैली र भावभङ्गिमाको अभिव्यक्तिबाट आफ्नो व्यक्तित्व अभिव्यक्त गराउन तँछाड-मछाड गर्ने हामी भैरव अर्यालका स्वयम् कथित वा तथाकथित भिन्न मण्डलीले भैरव अर्याल निदाउरो मुख लगाएर ६-६ जना केटाकेटीका लागि दशैंमा जुत्ता किन्न नसकी पेटीमा उभिएको बेला एकजोर जुत्ता केटाकेटीलाई किनिदिन सकेको भएमात्र पनि या अधिपछि नसके पनि दशैं-तिहारजस्ता चाडपर्वमा केही भरथेग गर्न सकेको भए पनि या उहाँको जिन्दगीभरको सबैभन्दा ठूलो धोको घाँटी खुलाउने काममा उपचारको अरू व्यवस्था गर्न सकेको भए पनि या उपचार सम्भव छैन र यो केही कुरा होइन भनी चित्त बुझाउन, उहाँलाई सम्झाउन सकेको भए पनि भैरव अर्यालबाट आज नेपाली समाज रित्तिने थिएन होला भन्ने लाग्दछ । कुनै पनि व्यक्तित्वको मरणोपरान्त श्रद्धा र भक्ति गर्ने हाम्रो थेचरो बानी र आदतलाई भैरव अर्यालको गोकर्णेश्वरको मन्दिरको गजुरको माथिबाट स्वर्गको आँखीझ्यालको प्वालबाट चियाइरहेको आत्माले त फेरि हास्यात्मक व्यङ्ग्य गरिरहेका त छैन ? भन्ने शङ्का लागी श्रद्धाञ्जलीका दुई शब्द यहीँ टुङ्ग्याउँछु ।
०००
‘सम्झना’ भैरव स्मृतिग्रन्थ, भैरव पुरस्कार गुठी
Subscribe
Login
0 Comments
Oldest






































