डरसँग नडराउँंदा
अनि त डर देउता हो पाती चढाउँ, डर भोको छ भाती चढाउँ । देउरालीमा पाती र खाली आन्द्रामा भाती डर भगाउने अचुक ओखती ।
यो डर शब्द नै डरलाग्दो छ । डाङ्डुगे ‘ड’ र खाँबे ‘र’ मिलेर बनेको । खाँबोमा टुइँक्याएर डाङडाङ, डुङडुङ थालेपछि यमराजले त यमपुरी बिर्सनु पर्याथ्यो भन्छ्न, अरुको त के कुरा ?
एउटा घरमा बाघ पसेछ । घरमुलीको डरको डोको भरियो, झाँक्री जस्तै लगलग गर्दै त्यो बाघलाई भकारीले छोपेर खुइय्य गरेछ अनि घिसार्दै लगेर बरण्डाबाट भकारी हुत्याएछ । भकारीबाट बाघ लुसुक्क निस्किएर ‘म्याउँ’ गर्दै बाटो तताएछ । अब भन्नुहोस् बाघ भकारीमा थियो कि मनमा ?
यो डरको बासस्थान मन हो र यसको खान्की दिमाग । डरले दिमागको खान्की खाँदा खाँदा कति मै हुँ भन्नेहरू दिमागकै जुइनु खुस्किएर राँची पुग्छ्न, कति जोगी बनेर थैलो बोक्छ्न, कति गेरु लाएर जङ्गल पस्छ्न । हरि ॐ तत्सत भन्दै ।
फेरि यो डरको जिम्बेवारी पनि अनौठो छ । अड्डा, अदालत, पुलिस, प्रशासन, राजनीति ,देउनीति सबैतिर डरकै खेती चल्छ । पिउनदेखि हाकिमसम्म, जवानदेखि आइ.जि.पी.सम्म डरकै जरा जकडिएको हुन्छ । आजभोलि त झन तरकारी बेच्नेदेखि सरकारी सरोकार राख्नेसम्म यसैको बोलवाला छ । तिर्र सिटी बज्दा ठेला, ढाकी सब गायब । घरमूलीलाइ पनि कहाँ सुख छ र ? ज्वाइँ, सम्धिको गाडीको हर्न सुन्दा पनि गर पालिका हो कि नगरपालिका हो ? को फलामे फलामे दन्त जोत्ने डोजर आयो भनेर तर्सन्छ्न् ?
कहिलेकाहीँ डर भाग्यो भने पनि बित्याँस पर्छ । कुरकुरे बैँशले छोपेपछि त जीवनमा एकपटक डर भाग्ने । “कानून सानुन वकिल जानून” भनेर कुरकुरे, कुरकुरी होटल छिर्दा कति खेलाडी, कलाकार, नेता, अभिनेता मावली मेजमानमा परेको कुरा युट्युबरहरू नडराइ खोतल्छ्न् । किन खोतलेका भने यो बेलाको डरको भुङ्ग्रो अर्काकै तालुमा खन्याउँन पाइन्छ ।
जोई पोइको डरको दशा पनि उत्तिकै मापाको हुन्छ । ब्याड राख्ने बेलाँ डर भाग्छ, जब बिहान बिहान वाकवाकी लाग्न थाल्छ, डरले जरा गाडी हाल्छ । अनि सेलाउने सल्लाह गरेर पहिले पोते पिँधेर वा भिरगौंलेको जराको ज्युनार हुन्छ, भएन भने मेरि स्टोप्स । केही गरि पार नलागे पनि बात लाग्ने त होइन । तर निकाल्ने बेला ग्रह दशा जोगाएर निकाल्न डाक्टर भन्दा पहिले जोतिषिकोमा जान्छ्न् । उता निस्कने घडी पला मिलेन भने डाक्टरको गोजीमा गोडा पाँचेक हात्ती हुलिदियो, ठाउँबाट बसेको भए पनि कुठाउँबाट फ्यात्त । यसरी निकालेपछि बबुरो बच्चा उ…..हाँ , उ……हाँ गर्दै डाक्टरतिर देखाएर डर पोख्छ । यसरी कच्चा ठाउँबाट निस्कँदै डराएको मान्छे परमधामसम्म डराएको डरायै हुन्छ ।
बिरालोले म्याउँ गर्दै मालिकको खुट्टामा लुटपुटिए पनि दही चोरेर खाने बेला त्यही मालिकसँग डराउँछ । त्यै नियम मालिक र हलीमा पनि लागू हुन के बेर ? गाम्छा गलामा गुथेर दश गाउँ चहार्ने मालिककी मालिक्नीले सधैँ सधैँ बिरालो झैँ लुटपुटिने भुसतिघ्रेको तिघ्रा बोक्न थालिन् भने खाली बेलामा डरको पारो तातेर २०० डिग्री हुँदैन र ?
यो डरसँग नडराउँदा कतिको घरबार बिग्रियो, कतिको दरबार बिग्रियो, कति पूजारीले द्रव्य कुम्ल्याए, कति भुजारीले अर्काकी जहान खुम्ल्याए । कति मास्टरहरू विद्यार्थीसँग पल्किए, कति विदेशाँ जहान भएकाहरू गाउँका तरुनी तन्नेरीसँग सल्किए आदि आदि । अनि त डर देउता हो पाती चढाउँ, डर भोको छ भाती चढाउँ । देउरालीमा पाती र खाली आन्द्रामा भाती डर भगाउने अचुक ओखती ।
त्यसैले,
डर होस सबको भित्र, डर इष्टमित्र सबै
डरै हो विश्वको आड, राखौँ भित्र सधैँ सधैँ
इति डर महात्म्य ।
०००
काठमाडौं