सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लोकतन्त्र, भोकतन्त्र, ठोकतन्त्र !!

भाषा पण्डितले भने अनुसार लोकतन्त्रलाई विग्रह गर्दा लोक+तन्त्र हुन्छ, लोक भनेको नागरिक, जनता, यहलोक परलोक, स्वर्गलोक, मर्त्यलाेक, पाताललोक सबै । तर यहाँ यहलोकको मात्र कुरा हुन्छ ।

Nepal Telecom ad

आजभोलि यो मुलुकमा भाको प्रजातन्त्र हो कि, लोकतन्त्र हो कि, भोकतन्त्र हो कि ठोकतन्त्र हो ? भन्ने कुराको छिनोफानो गर्न यो अनमनिको पाङ्दुरे, पिलन्धरे, पाखे, पर्वते पण्डित पारंगत र प्रबुद्ध पाठकहरू समक्ष कन्धनी कसरे हाजिर भएको छ ।

तपाईँलाई मनलागे पूरै रिठ्ठो नबिराईकन पढ्नु । मन नलागे शीर्षक पढ्नु धारणा बनाउनु अनि स्कोरल अप गर्नु भाइरल तिर भाग्नु ।

त कुरो के भने यो लोकतन्त्र भन्ने शब्द आउनु अघि प्रजातन्त्र भन्ने खुब सुनिन्थ्यो कहिले निर्दलीय प्रजातन्त्र, कहिले बहुदलीय प्रजातन्त्र, कहिले शिशु प्रजातन्त्र भनेर । अनि त्यो २००७ सालको नवजात प्रजातन्त्रलाई सत्र सालमा स्वाहा पारेपछि ३० बर्ष निर्दलीय प्रजातन्त्रको पुराण खुब चल्यो ।

त्यसपछि फेरि बहुदलीय प्रजातन्त्र आयो । बहुदली प्रजातन्त्रमा सबै छोराछोरीहरू एउटा न एउटा दलमा नारा जुलुस गर्दै हिँड्न थालेपछि, रत्नपार्कको रेलिङमा रेस्लिङ खेल्न थालेपछि मेरो साक्खै साइलोबाउले सूर्ति प्याच्च थुक्दै मलाई यो बहुदल हैन बाउदल रैछ बुझिस् !! भनेर गुनासो गरेका थिए । कारण किन कि छोराहरू जुलुस नारामा श्रीमति धारामा उनी चिलिम तान्दै बिहान बेलुका भैँसीको धन्दामा दिउँसो खेतबारीमा अनि बाउदल भएन त ! कार्यकर्ता छोरो त खाने बेलामा मात्र आउने । त्यो बेलामा आजभोलि जस्तो नेताले खुवाउने पिउने व्यवस्था गर्न सकेका थिएनू । उनीहरू पनि घेरा फाटेको टोपी लाउँदै एक रुपयाँ कोसा केरा चपाउँदै भक्कु चप्पल प्याट्ट प्याट्ट पड्काउँदै हिड्थे ।

साँझपख एकान्तको भट्टीमा भटमास र खुर्सानी चपाउँदै कोदोको ठर्रा घुड्क्याउने र बिडी तान्दै घरबेटी सुतिसकेपछि सुटुक्क छिँडीको कोठामा छिर्थे । घरबेटीलाई भाडा तिर्ने हैसियत थिएन !

अहिले पो महल र मर्सिडिजको मालिक भए त ! त्यो शिशु प्रजातन्त्रले जनता र देश भलै उँभो लाउन नसके पनि नेताहरूको आर्थिक, राजनीतिक हैसियत भने ह्वात्तै माथि उठ्यो । यो पनि त प्रजातन्त्रको उपलब्धिकै सूचक हो नि हैन र ?

शिशु प्रजातन्त्र भन्दै धेरै नेताहरूले झोलुङ्गो हल्लाए । ३, ३ महिनामा धाईबा फेर्दै खाए, कमाए र रमाए ।
त्यो शिशु प्रजातन्त्रको जुगाँको रेखी भरखर बस्न लागेको के थियो त्यसलाई फालेर फेरी लोकतन्त्र ल्याए ।

पहिले प्रजातन्त्र, प्रजा भनेको रैती, रैती भने राजाको गुलाम । अहिले लोकतन्त्र लोक भने नागरिक नागरिक भनेको जनता जनता नेताको गुलाम ! पहिले एउटाको गुलाम अहिले हजारौँको गुलाम !

तन्त्र नयाँ मन्त्र नयाँ नारा नयाँ भाँषण नयाँ तर शासन पुरानै । अर्थात् सिसी नयाँ रक्सी पुरानै !!
यौटा दाइले भन्यो यो लोकतन्त्र हैन धोकतन्त्र हो । नेता र कार्यकर्ताले रक्सी धोक्ने, चाहिने नचाहिने कुरा खोक्ने त्यै भएर यो धोकतन्त्र हो ।

अर्कोले भन्यो हैन यो ठोकतन्त्र हो, भट्टीमामा झ्वाइँखट्टे टोक्ने नेताको आदेशमा विपक्षी पार्टीको कार्यकर्ताको पुर्पुरोमा ठोक्ने, कहिले कहिले त कन्चेटमा गोली ठोक्ने । परेको पचास नेताले बोक्ने! मुद्दा मामला देखाजाएगा । पुलिसको फरारसूचिमा परे त झन सांसदकै टिकट पाउने चुनाव जितेपछि पुलिले घरमै आएर सलाम ठोक्ने अनि यो ठोकतन्त्र भए न त ?

हैन हैन, यो त भोकतन्त्र हो । सबै पदका भोका! पैसाका भोका, कुर्चीका भोका! कोही गुन्द्रुक र ढीडो नपाएर खाली पेटका भोका !

धनका भोका, मनका भोका, तनका भोका, यौनका भोका त्यसैले यो भोकतन्त्र हो !
कुर्चीले कहिल्यै नअघाउने लिसो टाँसिएझैँ टासिने, धन पाए दनादना बटुल्ने करोडै हसुर्ने, ठेक्दारसँग असुल्ने, कंपनीसँग हसुर्ने, बालुवा, ढुङ्गा, माटो पानी सबैमा कमिसन कुम्ल्याएर हिंड्ने ! हाँग्राले पाङ्ग्रा निलेको झैँ निल्ने, ट्याँङ्कीमा राख्ने, ढलमुनि लुकाउने, सालीको नाममा, भतिजोको नाममा राख्ने यो भोकतन्त्र नभए के हो त ? द्रव्यपिचाशे भोकतन्त्र !!

खाँट्टी लोकतन्त्रको कुरा गर्ने हो भने त भाषा पण्डित र राजनीतिक पण्डितको परिभाषा अनुसार चल्नु पर्ने हो नि त !

भाषा पण्डितले भने अनुसार लोकतन्त्रलाई विग्रह गर्दा लोक+तन्त्र हुन्छ, लोक भनेको नागरिक, जनता, यहलोक परलोक, स्वर्गलोक, मत्र्यलोक, पाताललोक सबै । तर यहाँ यहलोकको मात्र कुरा हुन्छ ।

चुनाबमा यसो मिलेमा परलोक गएका मानिसको पनि भोट चाहिँ चलाएको पाइन्छ ठोकतन्त्र चलाएर !
तन्त्रको अर्थ पनि तनोति इति तन्त्र अर्थात् तान्ने डोर्‍याउने, दिशानिर्देश गर्ने भन्ने बुझिन्छ ।
यसको मतलब लोकले दिशानिर्देश गर्ने व्यवस्थालाई लोकतन्त्र भनिन्छ ।

तर यहाँ त लोक बाहेक सबैथोक लगाएर सिंहदरबारभित्र, सिंहदरबार बाहिर सिंहसमशेरहरू गर्जिरहेका छन् ।
हुन त तनोति इति तन्त्र, नयति इति नेता तन्त्रले दिशानिर्देश गरेको बाटोमा नेताले नयति अर्थात् डोर्‍याउने व्यवस्थालाई लोकतन्त्र भनिन्छ ।

तर यहाँ त नेताले लोकलाई डोर्‍याउन त डोर्‍यायो तर घाँटीमै दाम्लो लगाएर भैँसीलाई डोर्‍याए जस्तै ! अनि आफूले डोर्‍याएको बाटोमा भैँसीलाई हिंडाउन पछाडिबाट कार्यकर्ताले भैसीँको पुच्छर निमोठ्ने अनि सिमलीको सिम्कनाले ठोक्ने गर्नै पर्यो अनि भएन त ठोकतन्त्र !

फेरि नेताहरू कस्ता कोही कुरा मात्रै काट्ने बातबहादुर ! कोही या मानका भुँडी हल्लाउने भातबहादुर, कोही बिजुलीपानीले बिसुर हुने मातबहादुर !!

यस्ता लोकलाई दिशानिर्देश गर्न भन्दा नि बाटैमा दिसाचाहिँ गर्छन् ।
त्यसैले त जो अगुवा उही बाटो हगुवा भनेको नि ।
जेहोस् जस्तो होस्, अरु तन्त्र भन्दा लोकतन्त्र नै ठीक रे !
कमसे कम खान नपाए पनि बोल्न त पाइन्छ ।
विरोध गर्न त पाइन्छ ।
त्यसैले जय लोकतन्त्र !!

०००
२०७९ फागुन ३
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई