सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थैलाहरूको खैलाबैला

छाडा लागेको मुस्तण्ड साँडेको पाराले त्यहाँ त झन् बढी अशान्ति र दङ्गाफसाद मच्चाउन के बेर ? आफ्नो देशमा यसै गर्छन् रे यिनीहरू भन्ने गुप्तचर रिपार्ट आएको छ सरखार ।

Nepal Telecom ad

हेगेन कोप नाउँको एकादेशको एक सुन्दर शहरमा विश्वभरिका अभागी भेला भएर सहभागितामूलक रमाइलो मेला जमाउँदै रहेछन् । नौरङ्गी अनुहारका अठारथरी वर्ग, समुदाय र दिक्काल, स्थानविशेषबाट जम्मा भएकाले उसै पनि रङ्गीचङ्गी लाग्थे ती अभागीहरू । तर बानीबिहोर जस्तो भए पनि अवस्था भने दयाजाग्दो पाराको रहेछ बबुराहरूको । कारण के त भन्दा कोही समुद्रले सिङ्गो देश निल्नै लागेकाले पानीपीडित बनेका रहेछन् । कोही जानजानी देशको वनजङ्गल सल्काउँदै र टायर बाल्दै गरेर आफै खरानीपीडित बनेका परेछन् । कोही दुष्ट पेलाहा छिमेकीको साँध मिचाइमा परेर भूमिपीडित बनेका थिए भने कोही वर्षेसाल सुरसा विकराल मुख बाएर मानवबस्तीतिर बढ्दै गएको मरुभूमिकरणको मारबाट खडेरी पीडित बनेका थिए । कोही बेला कुबेला आइरहने झञ्झावात् र समुद्री आँधीले गर्दा वायुपीडित बनेका थिए भने कोही कुबेलाको बरफबारी र हिमपातले गर्दा आकाशपीडित थिए । कोहीचाहिँ बारम्बार दोहोरिने भूकम्प र ज्वालामुखी विष्फोटनबाट पाताल पीडित बनेका रहेछन् । यस्तै यस्तै नाना नौथरी प्राकृतिक प्रकोप र विपदाहरूले ग्रस्त थिए ती भेला भएका अभागीहरू । त्यसै मेसोमा सुदूर पहाडी पेनाल प्रदेशमा राज गरिबसेका जातैले जमदार भन्ने उखान चरितार्थ गर्दै आएका मलका थैलाहरू पनि देशको प्रतिनिधित्व गर्दै त्यहीँ भेला भएछन् । अरू अरू आ-आफ्ना काममा लागे तर उनीहरूको खास काम थिएन । निहुँ पिउँ पाएर विदेश घुम्न गएका मात्र थिए । त्यसैले भएभरका थैलाहरू सम्मेलन स्थल बाहिरका बजार चोक हुँदो निस्किएर मनलाग्दी रेला गर्न र त्यहाँको सुरक्षा व्यवस्थालाई नै झमेला थपेर सन्निसर्पनमा पार्नेखालका दङ्गाफसादी कर्ममा उत्रिँदा भएछन् ।

त, हेगेन शहरको एबिसी स्क्वायरमा ठूलै सङ्ख्याका थैलाहरू बुर्लुक बुर्लक उफ्रिदै कर्किदै मर्किदै अनि विभिन्नथरी आपत्तिजनक नारा लगाउँदै गरेको देखेपछि त्यहाँका राजा पहिले त हक्क न बक्क थिए, पछि छक्क परेछन् अनि तुरून्तै प्रेस सेक्क्रेटरीलाई बोलाएर सोधेछन्-

“मिस्टर सेक्क्रेटरी ! हेर त त्यहाँ के हुँदैछ मेरो दरवार अगाडि बृहत् पाण्डालमा ? थरीथरीका पेन्गुइनहरू भोकले भाँडिएर नाचेजस्तो देख्छु । कि अघाएका भालू हुन् ?”

“ओहो । पेन्गुइन होइनन् योर् मेजेस्टी ! पेन्गुइनजस्तै आकारप्रकारका देखिने विदेशबाट आएका समस्याका थैलाहरू हुन् ती । के के जाति हो अनगन्ती माग पसारेर आफ्नै मौलिक तालले उफ्रिरहेछन्, नाचिरहेछन् त्यहाँ ।” सेक्रेटरीको अनुरोध ।

“अनौठो खबर पो ल्यायौ त सेक्रेटरी । त कस्ता थैला केका थैला हुन त त्यसरी नाच देखाउने ?” राजाको जिज्ञासा ।

ती सबै प्रकारका भन्न सुहाउने थैला रहेछन् योर मेज । कुनै मलका थैला रहेछन् त कुनै मयलका थैला परेछन् । कुनै उन्माद अनि कुनै भने मातका थैला रहेछन् । अझ प्रस्ट गरौ महाराज । कुनै भुसका थैला त कुनै घुसका थैला पनि रहेछन् । कुनै खाली कमिसनका थैला त कुनै दलालीका थैला रहेछन् । देख्तै घीन लाग्ने कुरूप थैला, नग्न थैला, दुर्गन्धी थैला, रछ्यानका थैला, र ढलका थैला समेत एकैसाथ लिँडीबुच्ची लागेर अन्मरिएका रहेछन् । खोलाको पानीदेखि आफ्नै काखका नानीसमेत बञ्जारालाई बेचेर मासमदिरा र द्यूतक्रीडामा रमाउने प्रपञ्चले पुरिएका थैला हुन् रे तिनीहरू ! यस्तै त्यस्तै थैलैथैलाको उन्मादपूणर् प्रदर्शनीको खैलाबैला चल्दैछ अहिले त्यहाँ । सेक्रेटरीको भयमिश्रित आवाजमा स्पष्टोक्ति ।

“हँन मलका थैला भन्यौ, भेरी इन्टरेस्टिङ । युरीया, पोटास, कम्प्लेक्स कस्तो कस्तो मलले भरिएका थैला हुन् ती ? हाम्रो देशलाई पनि काम लाग्ने पो हुन् कि ?” राजाको जिज्ञासा ।

“हैन यो मेज् ! ती त्यस्तो मलका थैला होइनन् । अन्नपात, सागसब्जी, फलफूल, माछामासु अत्यधिक लँुड्याएर सडान्ध बनेको पेस्टलका थैला चै रहेछन् ती । कुनै कम्पोष्टका पनि छन् । थैलाहरू देशको विशाल पानी प्रवाहलाई कुकुरले भन्दा सजिलै चपाउन खप्पिस छन् रे । हिमाल र डाँडाकाँडा चट्टान बगर पगालेर तरल द्रव्य सुलुसुलु निलिदिन्छन् रे ! तिनीहरू रुखवृक्ष, वनस्पति, जडिबुटी त खरानी पारेर अजिङ्गरले भ्यागुता निलेझैँ एकै सासमा स्वात्तै निलिदिन्छन् रे ! त्यस्ता खुँखार थैला रहेछन् तिनीहरू ।”

सेक्रेटरीले बेलीबिस्तार लगाउँदैमा राजा त झसङ्गै पो झस्किएछन् । अनि आफ्नो सुरक्षित शान्त सभ्य, सम्पन्न राज्यमा अशान्तिको झमेला आइलाग्ने डरले सेक्क्रेटरीलाई पुनः आदेश दिएछन्-

“कसले नेतृत्व गरेको छ तिनीहरूको ? बोलाएर वार्ता गराऊ । के माग रहेछ त्यो पनि सम्वोधन गरिहाल । एक निमेष ढिला नगर ।”

“वार्तामा यिनीहरूको विश्वास छैन रे योर मेज् ! यी छरपस्ट कम्पनीका पथभ्रष्ट सदस्य हुन् रे सबै । यिनको देशमा वार्ता गर्दागर्दै कहिल्यै कुनै कुराको टुङ्गो लाग्न सकेको छैन रे ! अहिले चाहिँ एउटा धुन्धुकारीले नेतृत्व गरेजस्तो लाग्छ । तर त्यसलाई पनि कसैले टेर्दो रहेनछ ।” सेक्रेटरी स्पटिए ।

“कस्तो धुन्धुकारी ? कस्तो नेता हो त त्यो कसैले नटेर्ने ?” राजाको मुस्कानयुक्त जिज्ञासा ।

“यिनीहरूको अँध्यारो देशमा उज्याला योजनाहरू आउन लाग्दा त्यसको हलाल गर्ने अन्धकारप्रिय थैलाले नै अहिले पनि नेतृत्व गरेको छ रे ! अँध्यारो बेचेर उज्यालो किन्दा कमिसन कुम्ल्याउँला भन्ने आशामा मुख मिठ्याई बसेको छ अरे ! अहिले त्यही बुर्लुक बुर्लुक उफ्रने कसरतमा बीसौ थैला अघिपछि लगाएर यहाँसम्म आइपुगेको छ ।”

सेक्रेटरीको प्रस्तुति चल्दै थियो । तल चोकमा मञ्चन हुँदै गरेको विराध जुलुस नाउँको अनौठो तर अवाञ्छित दृश्यले राजाको ध्यान अन्तै मोडियो-

“ओह स्मोक स्मोक । एकाएक धुँवा उडेको देख्छु । के विघ्न आइलागेको यो ?” सेकेटरी हडबडाउदै राजाले सोधे- “विरोध जुलुसले आफ्नो पाइन देखाएर दङ्गा फसाद गर्ने सिलसिलामा टायर बाल्न लागेजस्तो छ योर मेजेस्टी ।” सेक्रेटरीको अनुमानित र भयातुर स्पस्टोक्ति ।

“कस्तो टायर ? रब्बरको टायर त गाडी, बग्गी, प्लेनको चक्का बनाउन काम आउँछ होइन र ?” राजाको जिज्ञासा ।

“हो त नि सरकार ! यिनीहरू आफू काम गर्दैनन् । अनि त्यही काम लाग्ने टायर बालेर आफ्ना मनचिन्ते माग पूरा गराउन चाहन्छन्- सडकमा गुडेका गाडीमा ढुङ्गा हान्ने र ठूला स्क्वायर र राजमार्ग बीचमा टायर बाल्ने यिनीहरूको लोकतान्त्रिक अभ्यास र संस्कारै पनि भैसक्यो रे महाराज । अनि देशको वनजङ्गल सल्काएर चुरे र महाभारत पहाड भत्काएर वातावरण बिगार्ने अनि प्राकृतिक विपदा पीडितको नाउँमा विदेशमा हात फैलाएर आर्थिक सहायताको भीख माग्ने र आ-आफ्नै थैला भर्ने यिनीहरूको चलाखीपूणर् जुक्ति रहेछ- अर्थात् राष्ट्रिय नीति ।” सेक्रेटरीको निवेदन थियो यस्तो ।

“त कस्तो लोकतन्त्र हो त त्यहाँको ? हाम्रो कानूनले त सार्वजनिक स्थलमा ढुङ्गामुडा, आगजनी जस्ता ध्वंसात्मक कर्म गर्न दिँदैन होइन र ?” राजाको जिज्ञासा ।

“हो महाराज ! अवश्य हो ।” सेक्रेटरीको निवेदन ।

“त्यसोभए बोलाऊ पुलिस । लगाऊ कानूनको हतकडी । थुनाउ थानामा ।” राजाज्ञा कडै थियो ।

“थुन्यो भने यिनीहरू पात्तिएर झन् छोइनसक्ना हुन्छन् रे सरकार । किन त भन्दा हाम्रो देशभित्र थुनामा बस्दा भोजन सित्तैं डकुल्याउँछन् । सितैं बिस्तरा मैल्याउँछन् । अनि भोकानाङ्गाा, अलिना, मलिना, हैजाग्रस्त गरीब दाजुभाइको मुख मोसेर ल्याएको भ्रमणभत्ता सर्लक्कै बचाएर राख्छन् । अनि थुनामुक्त भएपछि रेडलाइट एरियामा हङ्गामा मच्याउने, र जुवाघरमा गएर खालैपिच्छे हार्दै अनि हल्ला गर्दै हिँड्ने त यिनीहरूको पुर्खोली रोगै पो हो ! अनि अलिअलि बचेखुचेको खर्चले डिपार्टमेन्टल स्टोरहरूतिर भीडभाड बढाउन अग्रसर हुन्छन् रे ! छाडा लागेको मुस्तण्ड साँडेको पाराले त्यहाँ त झन् बढी अशान्ति र दङ्गाफसाद मच्चाउन के बेर ? आफ्नो देशमा यसै गर्छन् रे यिनीहरू भन्ने गुप्तचर रिपार्ट आएको छ सरखार ।”

सेक्रेटरीको कुराले विलखबन्द राजा चिन्ताग्रस्त बनेर प्रभु इसुको ध्यानमा घोरिँदा भया !

०००
(डेनमार्कको कोपेन्हेगनमा भएको विश्ववातावरण सम्मेलनमा नेपाली टोलीले विरोध प्रदर्शन गर्दाको व्यङ्ग्य)
‘विमोचनको बिगबिगी’ (२०७३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी