बद्रीप्रसाद दाहाल ‘भस्मासुर’बाघझैँ ढुक्न सक्छन् ?
जेता स्वार्थी, कमिसन लिने, कर्मचारी हराम । मुद्दा छिन्ने धनतिर झुके, सत्य भो राम राम ॥ छोरी आमा, प्रियतम सबै, गिद्धले लुछ्न सक्छन् । पुत्ला सुत्ला, रजगज गरी, बाघझैँ ढुक्न सक्छन् ॥

नारी हिंसा, दिनदिन बढी, भ्रष्ट बन्दा समाज ।
साना नानी, तरूण युवती, आँसु झार्छन् गमाज ॥
प्यासी पापी, अधम पशुले, कामतृष्णा मिटाए ।
छेदी भेदी, कुपुरुष बढी, मत्त भै गिड्गिडाए ॥
मासे आध्यात्मिक रस दिने, नीतिका दिव्य दीक्षा ।
घोके जम्मै, पर—मुलुकका, भौतिकी भूत शिक्षा ॥
ठूलो ठान्छन्, भुवनभरमा, मात्र यौटा पदार्थ ।
कुल्ची हिँड्छन्, अनुपम-सुधा, चेतनाका लयार्थ ॥
जेता स्वार्थी, कमिसन लिने, कर्मचारी हराम ।
मुद्दा छिन्ने धनतिर झुके, सत्य भो राम राम ॥
छोरी आमा, प्रियतम सबै, गिद्धले लुछ्न सक्छन् ।
पुत्ला सुत्ला, रजगज गरी, बाघझैँ ढुक्न सक्छन् ॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































