सुलसुलेपुस्तक सम्पादकद्वय लक्ष्मण र विमल सम्मानित
स्वर्ण महोत्सवको अवसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको छ ।

काठमार्डौं, २०७९ चैत १ । साहित्यिक पत्रकार संघले चार जना सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ । संघको स्थापना भएको ५० वर्षको अवसरमा गत २०७९ साउन २९ बाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सव मनाईंदै आएको छ । स्वर्ण महोत्सवको अवसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको छ ।
संघबाट सम्मानित हुने पुस्तक सम्पादकहरूमा प्रा.डा.लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी रहेका छन् । यस्तै पुरस्कृत पुस्तक सम्पादक (कपी एडिटर)मा पारसप्रकाश नेपाल र रोयल आचार्य छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।
तीन दर्जन भन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सृजना गरेर नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै त्रिभुवन विश्व विधालय कीर्तिपुरका प्राध्यापक डा.लक्ष्मण प्रसाद गौतमलाई ‘सापस स्वणर् महोत्सव सम्पादन विशिष्ट सम्मान-२०७९’ बाट सम्मानित गरिएको हो ।
यस्तै एक सय भन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सम्पादन क्षेत्रमा योगदान दिएको भन्दै सम्पादक विमल भौकाजीलाई पनि ‘सापस स्वणर् महोत्सव सम्पादन विशिष्ट सम्मान -२०७९’बाट सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले बताए ।
कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रुपमा रहेका पारसप्रकाश नेपालले दुई दशक भन्दा लामो समयदेखि एकसय भन्दा बढी कृतिको सम्पादन गरेकाले उनलाई ११ हजार १०० रुपैयाँसहितको ‘सापस स्वणर् महोत्सव सम्पादन पुरस्कार-२०७९’बाट पुरस्कृत गरिएको हो । यसैगरी एक दशक भन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सक्रिय रोयल आचार्यले एक दर्जन भन्दा बढी कृतिको सम्पादन गरिसकेकाले उनलाई ५ हजार ५०० रुपैयाँ सहित ‘सापस स्वणर् महोत्सव सम्पादन युवा पुरस्कार-२०७९’बाट पुरस्कृत गरिएको पनि संघका अध्यक्ष लेकालीले कार्यक्रममा बताए ।
नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य संघबाट आफूहरूले यसपटकबाट सुरु गरेको पनि अध्यक्ष लेकालीले जानकारी गराए ।
नेपाली कृतिहरूलाई राम्रो बनाउन कृति सम्पादकको महत्वपूणर् भूमिका रहने गरेको उपकुलपति शम्भु राईले कार्यक्रममा बताए । कृति सम्पादकहरू जहिले पनि छायाँमा पर्नेहुँदा उनीहरूको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रशंसनीय कार्य भएको राईको कथन थियो ।
सम्मानित ब्यक्तिहरू गौतम र भौकाजी तथा पुरस्कृत कपी एडिटरद्वय नेपाल र आचार्यले सम्पादन क्षेत्रमा आफूहरूको योगदान तथा भोगाईबारे कार्यक्रममा चर्चा गरे ।
यस्तै सहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावती सिंह, पूर्व अध्यक्षहरू विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मानित र पुरस्कृत श्रष्टाहरूको योगदानको चर्चा गर्दै संघले साहित्यिक पत्रकारहरूको लागि राम्रा काम गर्दै आएको बताए ।
कार्यक्रममा गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, प्राज्ञ मातृका पोखरेल, वरिष्ठ साहित्यकार किशोर पहाडी, समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, नेपाल उपन्यास समाजका अध्यक्ष शंकर भारती, सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, घुम्ती मुक्तक मन्च नेपालका अध्यक्ष निर्मलरमण पराजुली, कवि एक चर्चित संचारकर्मी ठाकुर बेलबासे, निबन्धकार श्रीबाबु कार्की, अनेसास पुरस्कार समिति सदस्य दीपा राई पुन, कवि मधु पाठक, सापसकी सचिव नीता श्रेष्ठ, सानुराजा अन्जान, सन्चारकर्मी सरिता भारतीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन वरिष्ठ सञ्चारकर्मी डब्बु छेत्रीले गरेका थिए ।
०००
-सरिता भारतीबाट
Subscribe
Login
0 Comments
Oldest












































