ठाकुरप्रसाद अधिकारीसेकुवा बाजेलाई एउटा पत्र
तपाइँको सेकुवा खान आउने सरकारी पुरूषहरूलाई कृपया सोधिदिनोस् न- हामी कहिलेसम्म सेकुवा भैरहनु पर्ने हो ? कति पुस्तासम्म सेकिइरहनु पर्ने हो ?

श्रद्धेय सेकुवा बाजे ! नमस्कार,
आजसम्म तपाईंको तन्नेरी सेकुवालाई आरामै होला भन्ने कामना राख्छु । मलाई अलिकता अलकापुरीको दालचिनी भन्दा पिर चै तपार्इंकै सेकाएर तयार पारिएको सेकुवाकै छ । नेपाली प्राकृतिक गलैंचामा हुर्केको तपाईंको वारेमा वन्दना गर्दै दुई शब्दमा भन्दा तपाइँ कुन किसिमले सेकुवा पोल्न बाध्य हुनु भयो ? नेपाली माटोमा हुर्किएर सुपरिचित नै हुनुहन्छ । तैपनि सुकिलो सेकुवा कारले चलाउँछ कि सेकुवाले चलाउछ मलाई ज्ञान भएन । जेट चढ्नेले सेकुवा उडाउँछन् कि साइकल चालकले सेकुवा पचाएका हुन् । यो कुरा भन्न कठिन छ । यो कसको योगदान हो, म पनि पुरा वेहोसमा यो पत्र लेख्दैछु । तपाईंको सेकुवा खाएपछि पनि अचम्मै हुँदो रैछ । सेकुवा खाएर मान्छेको पनि होस ठेगानमा हुँदैन रैछ । मलाई धक्कु लाउनु छैन । तपाईंले पनि डराउनु पर्दैन । मलाई चाहिँ डर पो लागि रहेछ ।
यो सामान्य टिपोट मात्र हो । बाबु बाजेको नाक काटेर, छात्ती फर्काएर ठूलो खसीको सेकुवा बजाएको कुरा सम्झन्छु । डेक्ची इन्जीनियरले कतै बाजेकै सेकुवा बजाएका छन् । शहरको घरजम भन्दा पनि कतै तपाईं यो ठट्टा पत्र भन्नु होला । गाउँ शहरमा खसीको टाउको र राजखानी देखाएर कति बाख्री बितेका छन् । तपाई आफ्नै सेकुवा पोल्नेमा महान हुनुहुन्छ । सेकुवाको विचारको वन्चरो देखाएर सनाईको साउण्ड दिने कुरा मलाई मन परेको छ । सेकुवाको अध्ययनले समाजमा धेरथोर कुरा रोपेर छोडेको छ । त्यसैले यो लघुपत्र तपाईंलाई दिन कनिकुथी लेख्दैछु ।
कसैले तपाईंलाई सेकुवा बाजे भनेर हियायो भन्ने कुरामा स्विकार गर्न म तयार छैन । तपाईंको वारेमा मोड मोडमा खोजमेल गर्न बाँकी पनि छ । तपाईं अरुजस्तो सेकुवा बाजे होइन । काम चोरले मेरा दिमागमा मात्र होइन कहिले कानमा किरा कराउँछ । भुसुनाको घरमा घण्टी बज्न छाडे पनि अहिले देशको घण्टी बजाउनेले हात्तिलाई सताउन छाडेको छैन । तपाईंले जताततै घण्टी बजे पनि दुःखमा हिचकिचाउनु पर्दैन । तपाईं स्वस्थानीको कथाको जस्तै पात्र हुनुहुन्छ । छोरा भने पनि तपाईं, मित छोरा भने पनि तपाईं, ज्वाईं भने पनि तपाईं हो । नेता भने पनि तपाईं । कसको करले तपाईंले घरवार चलाउने जुत्ता चप्पल बेच्न छाडेर यो स्थितिमा कसले सेकुवा टोस्ट बनाउन पुर्यायो । सुन्दर र मनोरम गाउँ छोडेर सेकुवा खाने पात्र म पनि हुँ । यो हाम्रो देशको लवस्तरो नीति भएर हो ? एकातिर गाउँको डाँडा पाखर खाली छ, अर्कोतर्फ शहर कंक्रिटको जङ्गलले भरिभराउ भएको छ । तर तपाईंले जति सेकुवा पोले पनि यो पत्र कुनै चाकरीको चकचकी गर्न तयार पारेको होइन । जुन किसिमले सेकुवा पोल्नु भयो ।
समाजले सेकुवाको तुष कसरी खान्छ, कता समाज जान्छ के गर्छ, तपाईंलाई खरो रुपमा नै था छ होला । खानेको आशामा हेपिने र दविने गरि तपाईंले सेकुवा व्यापार गर्नु भएको छैन । शहरको सेकुुवा होडबाजीमा अत्याचार पाखण्ड बेवकुफी गरेर बाजी मार्नुभएको छैन । बरु गच्छेले भ्याएसम्म सेकुवा पोलेर आँगन डढाउनु भएकै छ । तरुना तन्नेरीको मच्चाई हेर्नुभएको छ । वयस्य बौद्धिक जगतको पनि स्वाद तपाईंले चाख्नु भएको छ । तपाईंसँग धेरै अमूल्य कुरा गर्नु थियो । तपाईको प्रतिभा हेरेर मन खुकुलो पार्नु थियो । बजार बनाएर सल्लाह लिनु थियो । तपाईंसित धेरै कुरा सिक्नु थियो । सेकुवाबाट धेरै अर्ति उपदेश लिनु थियो । तिरस्कार र उपेक्षा गर्न होइन । तपाईंको भाषा सरल सरस छ ।
सेकुवा खाएरै कतिले घिउ चिनी खाए झै भवसागर तरिसक्नु् भयो । सेकुवा पोले बापत मैले पनि अस्वर्ग देखिसकेको छु । अकविता लेखिसकेको छु । आख्यान छपाएको छु । तपाईंको मानचित्र पल्टाउँदा काठमाडौका गल्ली गल्ली कति मगमग पारेर सेकुवाको सिपवारे वोली सक्नुभएको छ । शहरमा दुईखुट्टे मात्र होइन चारखुट्टेहरू पनि तपाईंको सहारा लिने पनि बाजेकै सेकुवामा मनग्ये खल्ती खर्चेर भात पस्केर मगमगाउन थालेका छन् । यस्तो काम गरे वापत तपाईंको नाउँ धमाधम कसरी परिवर्तन गरुँ म ?
सेकुवा बाजे भन्दा पिर नलिनु होला । असि बर्षे छालाको चरण भरिलो बनाउन सेकुवा समाजले पोलेको परिकार मात्र होइन । सपनाको मुहार गोलो बनाउने खाना पनि हो । चुल्बुले बेलीले तपाईंकै सेकुवा गल्ली गल्ली टल्काउने हिरा खाना हो । सेकुवा फिस्टोलाई पनि हिरोजस्तो छरितो बनाउने खाध्य हो । सुकुलगण्डाको स्थिति र सेकुवाको स्थिति हेर्दा यहाँ बाजेहरूले पनि खसीको भन्दा भैंसीको मम मन पराउन थालेका छन् । सेकुवा मेलामा बाटो हिँडेर बाटो बिर्सनेहरू पनि छन् ।
मुन्द्रे नै मुन्द्रेको जमात युवक आज भन्दा बिस बर्ष अघिका झिँगा र लाख लामखुट्टेको कुरा पनि छाड्नुस् । यो पत्र पढेपछि तपाईंको मन खुकुलो होला । यहाँ फुटपाथ डढाएर पनि सेकुवा पसल झिँगे दाउमा खुलेका छन् । पूर्वका जनैधारी बाजे हुन् कि पश्चिमका गाँडा बाजे सबैले सेकुवा पसल थापेका छन् । तपाईंको सेकुवा माछापुच्छ्रे जस्तो छ कि धौलागिरी जस्तो अग्लो छ । हामी जस्ताले लेख्नु पाउनु गौरवको कुरा हो ।
सरकारले राज्यलाई कति सेकुवा बनाएर मुख मिठ्ठाएको छ । जनता भुट्ने र सेकुवा बनाउने सेकुवा कर्नर पनि खुलेका छन् । कोदाली र चाँदे चलाउनेले पनि सेकुवाको अर्थ नजानेको कहाँ हो र । तपाई यो पेसा छोडेर नझर्किनु । यो कुरा सुनेर मुख खल्लो नपार्नु होला । जुन समाजले सहजै सेकुवाको ठट्टा गरेको छैन । सेकुवाको अस्तित्व रहेमात्र सेकुवाको महिमा हुन्छ । तपाईले मासुको डल्लो पोले पनि अहिलेसम्म मान्छेको आशा पोल्नु् भएको छैन । बाँचिरहेको छ । अवसरवादी भएर यो पेसा छोड्न पाउनु हुन्न । यो कसैले दिएको पेवा होइन । सेकुवा स्वच्छन्दवादी कविदेखि कलाकार सबैले कृतसंङ्कल्पमा आत्मसम्मानको लागि हसुरेका छन् ।
तपाइँको सेकुवा खान कुनै चाकरी र चतुुर्याई गर्नु परेको छैन । मनको धनी नभएकालाई चाकरी कसले पो गरिरहन्छ ? सेकुवा पोलेरै मात्र तपाईं कहा सेकुवा बाजे हुनु भएको छ । कतिले चित्त लगाएर सेकुवा खाएका छन् । नेताले देशलाई सेकुवा बनाए झैँ तपाईं सेकुवा बनाउनु हुन्छ । उनीहरूको रेड कार्डले अत्यास लाग्दो अत्याएको छ । नेताले देशलाई सेकुवा किन बनाए ? किन बाध्य भए ? त्यसको जवाफ मसित पनि छैन । सेकुवा बाजे, तपाई यो कुरा मन पराउनु हुन्न होला । आजकल देशलाई सेकुवा हुनबाट जोगाउन सास पनि नियन्त्रणमा लिनु पर्ने भएको छ ।
मेरो बाङ्गो लेखनको मुड कता मुडियो कुन्नि । सेकुवा बाजे म पनि बडो बेचैनमा छु । मैले पनि शहरमा सेकुवा सुकाएको देखेको छु । त्यसैमा रमिते भएर आफ्नो वजन बढाएको छु । तर सेकुवा बेचेर घर, दुई कौडीको घडेरी जोड्न यहाँ सकिदैन । बजारभरि यस्तै सेकुवा बाजे भटिन्छन् । म पनि शहर घुम्दा तपाईंकै वारेमा सोच्ने गर्छु । तपाईले खसीको भनेर राँगाको सेकुवा पोलेको आरोप छ । देखादेखी खसीको टाउको देखाएर बोकाकी आमालाई हत्या गर्नु कहाँसम्मको न्याय हो ? सिहदरवारमा विराजमान हुनेहरू पनि आँखा मुख टालेर बसेका छन् । न्यूरोडमा बेकारमा बेरोजगार हुनेहरू पनि सेकुवा बेचेर कोही दश ढलानमा बस्न पुगेका छन् । साँघुरो सडकमा यहाँको बजार व्यवस्था पनि बेकारको बिकार लाग्दो छ । यो कुरा हामीले बारम्बार चुट्किला गफमा देखेकै हो ।
जे भए पनि सेकुवा बाजे हाँसी हाँसी कारिन्दाको जीवन बिताउँदै व्यवसाय फस्टाएर प्रसिद्धि कमाउनु भएकैछ । महँगीले आकाश छोए पनि सेकुवा हेरिल्याउदा झन वाइडबडी भन्दा महंगो हुन पुगे पनि कमिशन लाज पचाईमा निकै स्वादिलो भएकैछ । बाहिर सेकुवा नखाने भन्ने भित्रभित्रै लुकेर फोहर सेकुवा हसुर्ने पनि छन् । सेकुवा वारेमा प्रवचन दिनेहरूको पनि कमि छैन । चाहे उत्तरको हिमाल पोल्ने आकाङ्क्षा होस् वा दक्षिणको मैला सिमाना मैदानमा डढाएको होस् । सेकुवाको उन्मुलन भन्दा पनि लुते लुखुरे ख्याउटे सेकुवाको डल्ला आगोमा डढाएको देख्ता यहि कारणले सरकारलाई प्रेसर भएको सुनेको छु ।
सेकुवाबाजे, तपाइँले सेकुवा पोलेभन्दा चर्कोसँग हामी सेकिएका छौँ, तातो भुङ्ग्रोमा पोलिएका छौँ । बोतलको रङ्गिलो झोलको सितन भएर स्वादसँग चपाइएका छौँ । तपाइँ सेकुवा सेकाएर नाफा कुम्ल्याइरहनु भएको छ । हामी सेकुवा भएर तन्नम टाट हुँदै गइरहेका छौँ । तपाईं खसीका चौटालाई सेकुवा बनाउनु हुन्छ, हाम्रो सरकार चाहिँ हामीलाई सेकुवा बनाइरहेछ । यो गजबको सेकुवा दर्शन हो । तपाइँको सेकुवा खान आउने सरकारी पुरूषहरूलाई कृपया सोधिदिनोस् न- हामी कहिलेसम्म सेकुवा भैरहनु पर्ने हो ? कति पुस्तासम्म सेकिइरहनु पर्ने हो ?
लड्डु पेँडा भन्दा मीठो भावमा सेकुवा स्वाद स्वादका बजारमा भेटिने भएको हुँदा पिरसुर्ता नमान्नोस् भन्दै यो पत्र यहिँ बन्द गर्छु । सेकुवा र सेकुवा बाजेको जय होस् ।
तपाईको उहि सेकुवा चखन्ती
०००
काठमाडौ- १५
५ बैशाख ०८०
Subscribe
Login
0 Comments
Oldest








































