हेमराज पन्तभ्यागुतोको दुखेसो
कुवा, भ्यागुतो बीचमा देख्छु नाता । थुकी बस्छ आकाशमा खोज्छ छाता ॥ जुरुक्कै उठायौ पछार्दै लडायौ । सधैं भ्रष्ट आचार मात्रै बढायौ ॥

सधैं बन्छु आवासको मात्र छाना ।
कथा जिन्दगी यो बनेको छ पाना ॥
चरी चिर्बिरेको बनेको म चारा ।
बनेको छ यो लेखनी जो सहारा ॥
१
कुवा देख्छु नीलो बनी याद गाढा ।
जहाँ कल्पना बेगले फाल्छ टाढा ॥
न रोकिन्छ यात्रा गमी बन्छु एक्लै ।
छ यात्रा अँधेरो सहे कष्ट बेग्लै ॥
२
बगेको नदीको दुई यी कुनारा ।
छचल्किन्छ माया जहाँ भाव सारा ॥
नदी भावनाको बगायो मलाई ।
बलेको छ आगो नकोरी सलाई ॥
३
चिने पुष्पका पातमा बस्न थाले ।
बिचोर्दै बसे आँसुले प्वाल टाले ॥
सखे भ्यागताका नयाँ खोल ओडी ।
बिरानो बने आज आफन्त छोडी ॥
४
बकुल्ला बने हाँसका आज साथी ।
बले दन्दनी लोभमा आत्मघाती ॥
जरा,बोट सुक्दै धराका जवानी ।
यहाँ चोर गुण्डा बने आज दानी ॥
५
कुवा, भ्यागुतो बीचमा देख्छु नाता ।
थुकी बस्छ आकाशमा खोज्छ छाता ॥
जुरुक्कै उठायौ पछार्दै लडायौ ।
सधैं भ्रष्ट आचार मात्रै बढायौ ॥
६
०००
पाटन- २, सिलंगा, बैतडी
हाल :- पहलमानपुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest






































