साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हनुमानकाे पुच्छर र भीमसेनको बल

कैयौं भीमसेन आए- कैयौं भीमसेन गए । अब त फेरि भीमसेन आउलान् जस्ता पनि छैनन् । त्यसैले कर्मचारीको घूस- इन्क्लाव । ढिला सुस्ती- जिन्दावाद !!

Nepal Telecom ad

चट्याङ मास्टर

कर्मचारीले किन काम गरेनन् भन्ने कुरा ह्रस्वदीर्घ बुझेको हुन्छ । कर्म (काम)- चे (पनि)- अरि (शत्रु) कामको पनि शत्रु कर्मचारी । अनि कर्मचारीले काम गरेनन् भनेर बरफले आगो बलेन भन्न मिल्छ ?

कर्मचारी न कहिल्यै टन्न अघाउँछ न भोकै पर्छ । टन्न अघाउनेहरूको आदेश मानेर आधापेट भर्ने कर्मचारीले रित्तो पेट हुनेहरूको भलो सोच्न सक्छ ? उसले त डकार्नेहरूकै भलो गर्नुपर्छ नि । तन्त्र पुस १ गते नमनाउनेलाई खोसुवा गर्न अग्रसर भएको कर्मचारी फेरि शहीद दिवस मनाउन रोक लगाउन पनि सक्रिय हुन सक्थ्यो ?

हो, हुन सक्छ । किन भने गधा देखे “ज्यू हजुर”, कुकुर भुके “ठीक हजुर” र साँढे डुक्रे, “हो हजुर” भन्न ऊ बाध्य भइरहेको हुन्छ । सत्र थरीका नियम, सत्ताईस थरीका बेनियम र छत्तीस थरीका रीति न थितिका नीतिभित्र बसेर संसारमा कतै नभएका संस्था र व्यवस्था जोगाउनु र चलाउनु नै बुद्धि, विवेक, धर्म, मर्म, र शर्मलाई पैतालामुनि हालेर बस्ने कर्मचारीले जनताको टाउकामा टेक्नु अचम्म हो ? जनताले आफ्नो टाउकाको भार मात्रै हेरेर पुगेन, आफ्नो टाउकोमा उभिएको मान्छेको पैतालामुनि के छ भनेर पनि हेर्नुपथ्र्यो । एक महिना आफूले गरेको र गराएका कामलाई नियाल्दा आत्मग्लानीले बौलाएन भने कर्मचारीले तलब पाउँछ । कति पाउँछ थाहा छ ? एउटा अधिकृतको तलबले एक किलो मासु पनि आउँदैन । के उसले मासु खान हुन्न ? उसले राष्ट्रिय पोशाक लगाएर सडकमा नारा लगाइदिएन भने कैयौं सभाको शोभा पनि बढ्दैन ।

त्यसरी उसले नलगाई नहुने राष्ट्रिय पोशाक किन्न त सके पूरै एक महिनाको तलबले पनि भ्याउँदैन । के उसले राष्ट्रिय पोशाक लगाएर राष्ट्रिय संस्कृतिको रक्षा नगरोस् ? नयाँ खुलेका अंग्रेजी बोर्डिङ्ग स्कूलहरू एउटा शिशुको शुल्क उसको एक महिनाको तलबभन्दा धेरै हुन्छ । के उसले आफ्ना बालबच्चा एउटा डकर्मीको दैनिक आर्जन अधिकृतको भन्दा धेरै छ । के उसको आहार र व्यवहार एउटा डकर्मी सरहको पनि नहोस् ? एउटा डाक्टरकहाँ जानुपर्‍यो भने उसको दिनभरिका समय मात्र होइन, दिनभरिको कमाई पनि जान्छ । के उसले आफ्नो रोगको उपचार नगराओस् ? यस्ता कति कति । एउटा अधिकृतको त यो हालत छ भने अनधिकृतको कुन हालत होला ?

अनि कर्मचारीले घुस खाए अरे ! घुस नखाए के भुस खाऊन् त ? कर्मचारी दक्ष भएनन् अरे ! पेटमा भोक, जीउमा रोग र गिदीमा शोक बोक्ने कुन चाहिँ दक्ष हुन सक्छ ? कर्मचारीले मान्छे झुलाए अरे ! विचरा ऊ आफैं जिन्दगीभर झुलिरहेको मान्छेले अरुलाई दुई चार दिन झुलाउनु कुन अचम्मको भयो ? कर्मचारी सेवामूलक भएनन् अरे ! मेवा र सेवा दुवै अरूको भएपछि सेवा मात्रै गर्न के कर्मचारी समाजको दास हो, बाँधा हो ? भोक लागिरा छ, त्यसैले पैले अलिकति खाम अनि गरौंला नि काम ! हुन्न ?

कर्मचारीले अर्को पेशा अपनाउन मिल्दैन । बढेको खर्च गरेकै पेशाबाट पुर्‍याउनुपर्ने तर तलब नबढ्ने भएपछि घुस नखाई सुख ? घूस खानु राम्रो कुरा होइन, थाहा छ । तर भोकभोकै मर्नु ? जागिर खाएर बाबुबाजेको सम्पत्ति सिध्याउनु र बुढेसकालमा टाट पल्टनु झन् नराम्रो कुरा हो । यो पनि थाहा हुनुपर्‍यो । चार कक्षामा पढ्ने भुण्टे तपाईंसँगै फेल भयो र पढाइ छोड्यो । सातपुस्ते गरीबी हटाउन को नेता भयो । अनि पाँचतारे होटेलमा तपाइँलाई ज्यूनार गर्न बोलायो । त्यतिखेर कुखुराका सपेटा लुछ्न पाउँदा तपाईंलाई देश स्वर्ग बने जस्तो लाग्छ होला । तर तपाईंका सातपुस्ताले नसक्ने पढाइ पढेर सुकुचा हाकिम भएको देख्नुभयो भने घुस्याहा भनेर झम्टन मन लाग्छ होला होइन ? अनि सुकुचालाई देशप्रेम, चरित्र र जनसेवाको पाठ पनि पढाउन मन लाग्छ होला नि कसो ? हिजोसम्म दश रूपैयाँमा पाइने चीज आज बीस रूपैयाँमा किन्नुपर्दा केही बिग्रे जस्तो लाग्दैन । अनि एउटा कर्मचारीले तपाइँसँग ५-१० रूपैयाँ कामपर्दा झार्‍यो भने देश डुब्न लागेको भान हुन्छ होला होइन ?

हिजोसम्म खाल्टे चर्पी सोहोर्नेले आज लाखौं रुपैयाँ पर्ने मोटर चढेर हिंडेको देख्दा उसको भाग्यको प्रशंसा गर्न मन लाग्छ होला । तर एउटा कर्मचारीले ट्याक्सी चढेको देखियो भने देशमा ब्रम्हलुट भइरहेको जस्तो देखिन्छ होला । कि होइन ?

कर्मचारी काम गर्दैनन् अरे । चारखालको मालपोत अड्डामा जानोस् त राति विजुली नआए मैन्टोल, लाल्टिन र मैनबत्ती बालेर पनि काम गरिरहेका हुन्छन् बिचराहरू । के ती कर्मचारी होइनन् ? कर्मचारी अफिसबाट भाग्छन् अरे । भन्सारका जाँचकीले आफ्नो ठाउँबाट जीउको त के कुरा आँखासम्म पनि अन्त पुर्‍याएको थाहा छ कसैलाई ? के ती कर्मचारी होइनन् ? के त्यो कार्यालय होइन ?

रूस, चीन, जापान, अमेरिका, निकारागुवा, लेसोथो, कुन चाहि देशका कर्मचारीले घूस खाँदैनन् ? हो, उता थोरै कर्मचारीले मात्र घुस खान्छन् होला किनभने त्यहाँ थोरै मात्र कर्मचारी नेपाली कर्मचारी जस्तो मारमा परेका हुन्छन् । यहाँ धेरैलाई मर्का छ । त्यसैले धेरैले थोरै र थोरैले धेरै खान्छन् । के कर्मचारीले आफ्नो र आफ्ना सन्तानको भविष्य दरिलो बनाउन खोज्नु अपराध हो ? यो सबै देख्दादेख्दै र बुझ्दाबुझ्दै पनि तालिम दिएर कर्मचारीको दक्षता बढाउन खोज्ने आसेहरू पनि भेटिन्छन् । बरू चलेको तलबमा कसरी जहान बच्चा पाल्ने भन्ने विषयमा तालिम दिनू नि । कर्मचारीलाई नसिहतको उचित व्यवस्था गरेर स्थिति सुधार्न खोज्नेहरू पनि भेटिन्छन् र वर्तमान परिस्थितिभन्दा थप नसिहत के हुन सक्छ ? उही गुप्ताङ्गमा नून र खुर्सानी दलेर भटाभट उफार्न एउटा बाँकी छ त्यही गर्ने त होला ।

कर्मचारीको आधारभूत आवश्यकता पूर्ति गर्ने दिशातर्फ पनि सोचाइ भइरहेको होला । तर कुनै कालमा उत्पन्न भएको पशुपतिले अहिलेसम्म चलेको छ भने कुनै कालमा बढेको तलबले अहिलेसम्म नपुग्ने त कुरै उठ्दैन । त्यसमा पनि एउटा परिपत्रले कर्मचारी तह लगाउन सकिने व्यवस्था हुँदाहुँदै किन करोडौंको आर्थिक बोझ उठाउनु ? कुरो ठीकै हो एउटा हाजीर गरेर तलब पाक्ने व्यवस्था किन काम गर्नु ?

बलवान् भीमसेनले हनुमानको पुच्छर उचाल्न खोज्दा हल्लाउनसम्म पनि नसकेको कथा घेरैले जानेका छन् । हो, ठीक त्यस्तै, जबसम्म यो कर्मचारीरूपी हनुमान प्रसन्न हुँदैन तबसम्म यो घूस र ढीला-सुस्तीरूपी हनुमानको पुच्छर भीमसेनरूपी नीति र निर्देशनले डेग चलाउन सक्तैन । कैयौं भीमसेन आए- कैयौं भीमसेन गए । अब त फेरि भीमसेन आउलान् जस्ता पनि छैनन् । त्यसैले कर्मचारीको घूस- इन्क्लाव । ढिला सुस्ती- जिन्दावाद !!

०००
‘चट्याङगीता’- २, (२०५८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x