साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसको टेन्सन कति !

कुरा भर्ने भुँडी, कुरा मिलाउने बुढी, अनि टेन्सन हुने टाउको देखाउनुहोस् । म तपाईको कति टेन्सन छ भनेर जोखाना हेरिदिन्छु । टेन्सन मन्छाउन भ्रष्टलाई मन्छाउनै पर्छ ।

Nepal Telecom ad

ह्यारी- ८० :

कुरा गर्‍यो कुरैको दुःख ! कुरा मात्रै गरेर खान पाउने देशमा जन्मिएपछि कुरा नगरेर के गरुन् त । तीन न तेरका कुरा गरेर पढाउने लेक्चररहरूले कुरा गरेरै प्राध्यापक पद पड्काइहाले । अब आनन्दसँग घुरेर बस्ने त हो नि । पहिले पहिले विद्यार्थीहरू पढ्न आउँदा पढाउन आएनन् । अहिले विद्यार्थीहरू नै आउँदैनन् । पढाउनुपर्ने टन्टै साफ । आफ्नो जागिर स्थायी हो क्यारे । कुरा गरिरहने हो, खाइरहने हो । आफू मरेपछि … राजा । आफूसँगै आफ्नो विषय र पद पनि सती गइहाल्छ भन्ने थाहा पाएको भए यसो कहिलेकाहीँ पढाउँथे होलान् ।

छोरा, बुहारी, भाइभतिजा, फरियाका नसनाता लागेका होस् वा ससुरालीपट्टिका सात पुस्तासम्मकाले जागिर खाने बाटो टुटाएको यही खाँटी कुराले गर्दा नै हो । एउटालाई अर्काको र अर्कालाई अर्काको कुरा लगाएर आपूm भर्‍याङ चढ्ने चोर बिरालो जस्ताले बल्ल बल्ल शिला खोजेर ल्याइएका अझ भनौँ मुर्गा बनाइएकाहरूलाई के पढाउनू । बरु तिनकै बुइ चढेर पदोन्नतिका लागि सुइँको पाएमा भौँतारिनु कुनै नौलो कुरा होइन । त्यसैले अब त कुराका लागि कुरा छोडेर पढाउन जानुपर्ने हो तर टेन्सन हुन्छ बा ।

‘जागिर पाइहालियो केको टेन्सन छ र मलाई’ भन्ने टपरे पपुलिस्ट प्राध्यापकले गर्दा त विश्वविद्यालयीय प्राध्यापकहरू अहिले कहिले पिँढीमा अनि कहिले आँगनमा घाम तापेर विनावर्दी पत्नीले पतिका पतिले पत्नीका लिखा मारेर बसेका बग्रेल्ती देखिन्छन् । वेलैमा कुरा चोर्नेहरू चिट चोरेर, थेसिस सारेर, आफ्नालाई कापी पारेर, चोरबाटोबाट फुत्त नाम निकाले अनि सधैँ फड्किन खोजे माथि माथि र सफल पनि बने । स्वणर्पदकधारीका बिल्ला पत्रु बनाउन सफल यी काम कुरा एकतिर कुम्लो बोकी … गर्ने चोरहरूका लागि पढ्नेहरू टेन्सनका विषय बन्छन् ।

हुन त कोही कोही काम गर्छन् जसबाट कतै कतै इज्जतमा परेका दुला टाल्ने प्रयास पनि भएको छ तर दुला यति ठुला छन् कि हाँडीको मुख बाएर बसेकाले गर्दा यी टालिने अवस्थामा छैन । अब आएर कुरो चल्छ उनीहरूकै टेन्सनको । ए दैव, यिनीहरू मात्र हुन् र, विद्यार्थीलाई पनि त पढेकै छैन कसरी रिजल्ट राम्रो ल्याउने भन्ने टेन्सन हुन्छ नि, कि कसो ! नारदका मुखमा राम नाम बरु नझुन्डिएला तर हिजोआजका मान्छेका मुखमा टेन्सन झुन्डिएकै छ । टेन्सन नभएको त मान्छे नै छैन ।

चिनाटिपन केलाउँदै जाने हो भने ट्युसनमा रमाउने शिक्षक, कार्यालयमा भन्दा युनियन र नेताका दैलो कुर्ने कर्मचारी, नेताको झोला र मुद्दाका फाइलमा नोटका बिटा बोक्ने वकिल अनि पढाउनेदेखि लडाउनेसम्म सबैले टेन्सन लिएकै देखिन्छन् । बरु मान्छेलाई आफ्नै छायाले छोड्ला तर टेन्सनले ज्यान गए नछोड्ने भयो । कसैलाई के धन्दा घरज्वाइँलाई खानकै धन्दा भने झैँ तपाइँ चाहिँ हिजोआज भुटानी शरणार्थीका कुरा, ठुला माछा र साना माछाका कुरा छोडेर के कुरा गर्छ यो कुरौटे भन्नुहोला । आखिर म पनि कुराकै भकारी त हुँ, जे भने पनि केही छैन । वास्तवमा चुरो कुरो भनेकै जेलमा गइएला भनेर टेन्सन लिनेदेखि लिएका घुस सबै पत्ता लाग्ला भनेर यसो छानबिन गर्नेलाई नै टेन्सन दिएको कुरो खुसुक्क सुन्नेले भनेको सुन्दा आफैँलाई पो टेन्सन हुँदो रै’छ बा ।

शैशवावस्थामा खान नपाइएला भन्ने, युवावस्थामा उम्रेदेखि खुम्रेसम्मकालाई आँखा लाग्ने भन्ने पिर छ । वृद्धावस्थामा त झन् अर्काले देलान् नदेलान्, वृद्ध भत्ता काट्ला वा छाला चाउरी पर्ला भन्ने टेन्सन वा फुलेको कपालको र खुइलेको टाउकोकोे टेन्सन । कसैलाई बैँक ब्यालेन्स सकिएको त कसैलाई ब्याज घटेको टेन्सन, मिटर ब्याजीलाई अर्कै टेन्सन । कसैलाई सेयरको टेन्सन । टेन्सनका पनि ल्याइते, भित्रिया, ब्याइते गरी तीन वर्ग देखिन्छन् । ब्रह्मालाई पनि कस्तो सृष्टि गर्ने भन्ने टेन्सन थियो भने म जस्तो मनुवालाई त जरादेखि काण्डसम्मकाले बोकेको टेन्सन बोक्नु कुन ठुलो कुरा हो र !

डाक्टर सा’बलाई कति टेन्सन हुन्छ भने करोडौँको जग्गा बेचेर हुन्छ कि खल्ती रित्याएर हुन्छ पढ्यो, आखिर कुराले ठिक पार्दा पर्दा तीन सय गोजीमा पर्छ । बोर्डिङ स्कुलले विद्यार्थीलाई दालभात, कापी किताब, लुगा, टाई, बेल्ट, जुत्ता, झोला सबै बेचे जस्तै बिरामीका निम्ति डाक्टर सा’बलाई जेसुकै जाँच्न आए पनि लैनु भैँसीको दुध दोएजस्तै दिसा, पिसाप, खकार, रगत, एक्स रे, होल बडी चेक अप भनेर भएजति सबै जँचाएनन् भने पूरा टेन्सन हुन्छ रे त ।

टेन्सन पुराण नबनेकाले ब्रह्मा, विष्णु, महेश्वरले कति टेन्सन लिएका थिए भन्ने कलियुगका मनोचिकित्सकले त सकेनन् म जस्ता बबुराले आँकलन गर्न सक्ने कुरै भएन । ब्रह्मालाई सृष्टि गर्दा कुन पहिला र कुन पछि गर्ने भन्ने टेन्सन, शिवको, पाँच पाण्डवको, सीता अपरहरणले रामको टेन्सन, बुद्धको, यिशुको, मोहम्मदको कसको थिएन र टेन्सन ? अहिले अरूले दिएको र आफैँले निम्त्याएको टेन्सनले हामी पनि आक्रान्त छौँ । मैले यति मान्छे मारेको हुँ भन्दा पनि टेन्सन, बेपत्ता पारिदिए भन्दा नि टेन्सनै छ । पेन्सन खानेलाई पनि नखानेलाई पनि टेन्सन नै छ भन्या ।

सिस्नाको झालमा फाल्नेदेखि फालेकालाई टिपेर ल्याउने सम्मकालाई कति टेन्सन छ कति । सत्तामा आरोहण गर्नुपूर्व र सत्तासीन हुँदाको टेन्सन यति छ कि रातारात बार्गेनिङमा अकुत सम्पत्ति स्वाहा हुन बेर लाग्दैन । म खुसुक्क भन्छु क्या, अलिकति करोड चाहिँ माथि लुसुक्क गएर खुसुक्क बुझाउनुपर्छ रे नत्र टेन्सन पो दिन्छन त । सबैले ठाँटबाँट र चोचोमोचो मिलाउन खुवाउनै पर्छ । त्यसका लागि जजमान, अरौटे, भरौटे, बिचौलिया, कर्मकाण्डी सबैले टेन्सन लिएरै भए पनि कुरा मिलाउँदै हसुर्नसम्म हसुर्छन् र पछिसम्म टेन्सन लिन्छन् ।

कसैलाई कर छल्नाको त कसैलाई उठेको कर झ्वाम्म पार्नुको टेन्सन । कुरोको चुरो के पनि छ भने छोरा छोरी नहुनेलाई एउटा टेन्सन रे हुनेलाई सय टेन्सन रे । भुँडीअनुसारको, बुढीअनुसारको, मुखअनुसारको टेन्सन हुँदो रहेछ । तपाईको चाहिँ कति टेन्सन होला त ? कुरा मात्र गर्ने मुलुकमा एकछिन तपाइँसँग कुरा गरौँ थाहा भइहाल्छ । यत्र तत्र सर्वत्र टेन्सनै टेन्सन छ । कसको कति टेन्सन छ भनेर सबैको वणर्न गरेर साध्य छ त भन्या ! आउनुहोस्, कुरा गर्ने मुख, कुरा भर्ने भुँडी, कुरा मिलाउने बुढी, अनि टेन्सन हुने टाउको देखाउनुहोस् । म तपाईको कति टेन्सन छ भनेर जोखाना हेरिदिन्छु । टेन्सन मन्छाउन भ्रष्टलाई मन्छाउनै पर्छ । आउनुहोस् बसेर कुरा मथौँ ।

०००
जोरपाटी, गोकर्णेश्वर- ५, काठमाडौँ
२०८०/०२/१२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x