सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो जाली कि त्यो जाली…

जो हल्ला गरेर जगाउन खोज्छन्, तिनको हल्लातिर ध्यान पनि दिएको छैन । ध्यान नदिएकाले कसरी बुझ्नु ? ‘यो जाली कि त्यो जाली खालि आफ्नै पाली’ नेपालको राजनीतिमा जस्तै ।

Nepal Telecom ad

डिल्लीराज अर्याल :

साराका सारा देश बन्द भएका वेला भएर हो वा बन्दका आयोजकहरूको मानसिकता बुझेर हो मेरो हातकै घडी बन्द भएछ । उज्यालोको प्रतीक्षामा बस्दा अँध्यारो-उज्यालो चिन्न मुश्किल पर्दा सघाउने घडी बन्द हुँदा शङ्कामा परेको छु । कतै यसले पनि बन्दका आयोजकहरूकै समर्थन त गर्दै छैन ?

घडी चरोले जगाउनु पर्ने नेपालीले घडी चराको जिलै नरहने गरी भुट्न थालेपछि ऊ मौन बस्न थालेको छ । ‘बैगुनीलाई गुनले मार्नुपर्छ’ भन्ने उखान जानेको मान्छेले गुनले बैगुनीलाई मार्छ, गुनीलाई त हतियारै झिकेर मार्छ क्यार ! घडी चरोका मनमा चिसो पसेरै होला, नत्र त किन यसरी मौन बस्नुपथ्र्यो र ? चरो पनि मौन, घडी पनि मौन बसेपछि म अलि अप्ठेरोमा परेको छु ।

यतिबेला आवाजहरू बन्द छन् ! साराका सारा देश मौन छ । मौन साधेर विरोध जनाएको हो कि समर्थन भन्नै मुश्किल छ । बूढा पुरानाहरू ‘मौनम् सम्मति लक्षणम्’ भन्छन् । नयाँ ‘जसो सर पर्छ त्यसै’ भन्छन् । ‘माछा परे दुला हात, सर्प परे पाखा हात’ भन्ने राम्ररी बुझेको छ नयाँ पुस्ताले । उखान बनाउने पुरानाले व्यवहारमा ल्याउने नयाँले, नेपाली फर्मुला हो यो । त्यसैले अहिले व्यवहारमा आएका छन् उखानहरू । उखान त मैले पनि धेरै सुनेको छु, तर व्यवहारमा ल्याउनै मुश्किल पर्छ मलाई । ‘काँचो पिंडालु निल्नु न ओकल्नु’ भए जस्तो ।

जानेर के गर्ने ? सुनेर के गर्ने ? जानिथिस् जानिनँ, सुनिथिस् सुनिनँ’ को वेला छ । जान्ने हुनुको अर्थ ड्याङ खानु हो भन्ने ठहर छ मेरो । त्यसैले जान्न, सुन्न मन पर्दैन । जान्नेसुन्ने बनाउन मन पर्दैन । मौका मिल्दा, जान्नेसुन्नेलाई ठाउँ पनि दिन्नँ । जान्नेसुन्ने बन्न खोज्नेहरूसम्म त ठिकै छन् । जान्नेसुन्नेहरू खतरनाक छन्, तिनलाई ‘कलमी’ नबनाई राख्यो भने बर्बाद हुन्छ । जानेर मात्र हुन्छ ? व्यवहारमा उतार्नुपर्छ । जान्नु छुट्टै हो, व्यवहारमा उतार्नु छुट्टै हो । त्यसैले व्यवहारवादीहरूले मौका पाउनुपर्छ’ – मेरो मित्र देशबन्धुको राय छ ।

ऊ यतिवेला सल्लाहकारमा नियुक्ति पाउने चक्करमा छ । सल्लाह दिनु उसको जन्मजात गुण हो र ऊ यसलाई आफ्नो अधिकार मान्छ । ‘स्वतन्त्रता मान्छेको जन्मसिद्ध अधिकार हो’ भन्नेसँग उसको मत मिल्दैन । बाँच्न पाउनु मान्छेको अधिकार हो भन्नेसँग त झन् असहमत नै छ, भन्छ- ‘नीति, नियम, कानून बनाएर पनि स्वतन्त्र हुन्छ मान्छे ? बाँच्न पाउने कुरो त झन् मान्छेका हातमा छ र ? जन्मेपछि मर्नैपर्छ नि ! जन्मनु र मर्नु दुवैमा मान्छेको अधिकार छैन । आफ्नो खुशीले जन्मन, मर्न पाइने भए केको नियम कानून बनाउनुपथ्र्यो र ?”

तर्क राम्रै गर्छ ऊ । म उसको तर्क काट्न कसिन्छु पनि तर कसरी काट्नु ? मनमा कुरा खेलिरहन्छ । एकछिनपछि म पनि त्यसैमा सहमत भैदिन्छु ।

तर्क उठाएर कपाल किन दुखाउनु ? तर्कको अर्थ के छ र ? तर्कमा मैले जिते पनि प्रतियोगिता भए पो पुरस्कार पाइन्छ कि भन्ने हुन्थ्यो । त्यो त छैन । व्यर्थैमा एउटा साथीसँग केको विवाद उठाउनु ? मैले तर्क गर्ने बित्तिकै उसको पारो चढ्छ । ‘तर्क, उसले मात्रै गर्न सक्छ । अरूले त्यस्ता तर्क गर्नै सक्दैनन्, अनि तर्क गर्न नसक्नेले कुतर्क गर्छ’ -उसको सिद्धान्त छ । त्यसैले पनि उसको तर्क सधै बलियो हुने गरेको छ । साथीभाइहरू उसका कुरामा स्वतः सहमति जनाउँछन् । यदाकदा तर्क उठ्यो र तर्कमा धेरैको सहमति भयो भने ऊ ‘सम्झौता गरौं न त’ भन्छ । सम्झौता गर्छ, तर पालना गर्दैन ।

आफूले पालना गर्दैन, अरूलाई ‘पालना गर्दैन, गरेन’ भन्छ । नियम आफू बनाउँछ नमिची कामै गर्दैन । अरूलाई ‘मिचेर काम गरिस्’ भन्छ, विरोध जनाउँछ, आफूले मिच्छ । स्वतन्त्रताको भाषण छाँट्छ, तर परतन्त्रता लाद्छ । प्रजातन्त्रको व्याख्या गर्छ, प्रतिष्पर्धासित डराउँछ । प्रतिष्पर्धा गर्ने पर्‍यो भन्ने छरछिमेकको साथ चाहिन्छ । छिमेकीले, आफन्तले हातहतियार देखाएर तर्साइदिनुपर्छ ।

अचम्मको मान्छे, अचम्मको विचार, अचम्मको सिद्धान्त, धेरैजसो ‘अ’ उसमा भेटिन्छ । असहिष्णु, अराजक, अभिमानी, असंयमी, अविचारी देखिन्छ । अत्याचार मन पराउँछ । अनैतिकतामा सामेल हुन्छ । अभावतिर लैजान खोज्छ । अन्धानुकरणतिर प्रेरित गर्छ । अलोकप्रियतामा पनि रमाउँछ । म दङ्ग पर्छु र सोच्छु- ‘के भएको होला यसलाई ?’ यस्ता कुरामा ऊ भने दङ्ग पर्दैन । उसका परिवारमा पनि यस्तै यस्तै विचारहरू देखिन्छन् । जो असहमत हुन्छन् तिनी तिरष्कृत हुन्छन् । जो सहमत हुन्छन् तिनी पुरस्कृत हुन्छन् । छिमेकी पनि उस्तै छन्, हुँदैन, भएन, भन्नै सक्दैनन् । भनिहाले भने पनि एकछिन अनि ‘ल ल ठिकै छ’ भन्छन् र सहमत हुन्छन् । सहमति विरोध, विरोध सहमति, परिवारदेखि छरछिमेकसम्म, गाउँटोलदेखि टाढाटाढासम्म भन्छन् ।

म असहमत हुन्छु, तर एक्लै । ऊ असहमत हुन्छ, एक्लै । अनि असहमतिहरू मनमै रहन्छन्, कोठामै रहन्छन्, घरमै रहन्छन् । बाहिर आइहाल्यो भने एकथर सम्झौतामा पुग्छन् कुरो खतम। हातमा भकुण्डो लिएर मेरो ठूलो छोरो बैठकमा आउँछ र भाइलाई बोलाउँछ- ‘बाबु, बाहिर आऊ न एकछिन खेलौँ ।’

‘भो म आउन्न ! मलाई खेल्नै दिनुहुन्न’ -सानोले असहमति जनाउँछ । देशबन्धु त्यहीं छ । ऊ खेलको कुराले आकर्षित हुन्छ । ‘जाऊ न त, खेल । पालैपालो खेले त हुन्छ नि’ भन्दै सम्झाउँछ । म पनि सहमतिमा टाउको हल्लाउँछु ।

साना बालबालिकाहरू बैठकबाट बाहिरिएको मन पराउँछु म । उनीहरू हल्ला गर्न बैठकमा किन आउने ? मेरो चिन्तन छ । देशबन्धु भने बाठो छ । ऊ फकाउँछ केटाकेटीलाई । प्रभावित पार्छ र घरि त्यहीं बोलाइदिन्छ, घरि बाहिर पठाइदिन्छ ।

बच्चाहरू बाहिरिन्छन् । म सन्तोषको सास फेर्छु र सोच्न थाल्छु- ‘बैठक यसरी नै शान्त भैदिए । ससाना केटाकेटीहरूका माग, हल्लाभन्दा पर बस्न पाए !’ बाहिर झगडा शुरु हुन्छ । म ध्यान दिएर सुन्छु । ठूलोचाहिं खेलिराखेको र सानो रिसाउँदै विरोध गर्न थालेको हुन्छ । देशबन्धुले चाख लिन्छ झगडामा सोच्छ- ‘के भयो ?’

‘हेर्नुस् न अङ्कल, पालैपालो खेल्ने भनेर पनि दाजीले मलाई खेल्नै दिनुहुन्न ।’ -सानो छोराले फिराद गर्छ । ‘होइन अंकल, पालैपालो खेल्ने भनेर झन् यिनले खालि झगडा मात्र गर्छन् । अघि आफ्नो पालो खेलें, अहिले मेरो पालो खेल्दैछु । भाइको पालै आएको छैन ।’ ठूलोले स्पष्टीकरण दिन्छ ।

‘अघि पनि आफ्नै पालो, अहिले पनि आफ्नै पालो, अलिबेरमा पनि आफ्नै पालो । मेरो पालो कतिवेला त ?’ सानोले विरोध जनाउँछ ।

देशबन्धु हाँस्छ । यसरी विरोधमा उत्रेको उसलाई मन पर्छ । ‘ठिक छ, ठिक, मिलेर खेल्नुपर्छ । एकछिन दाइ, एकछिन भाइ खेले त भयो नि । पख न, दाइको पालो सिद्धिएपछि तिम्रो पालो आउँछ । अनि तिमी पनि खेलिराखौला नि त, हुन्न ?’ ऊ उक्साउने सुर गर्छ ।

‘नाई, म खेल्दिन । मेरो पालै आउन्न । पालैपालो खेल्ने भन्ने, दाजी मात्र खेल्ने ? मेरो पालो खै त ? कि पहिला म खेल्न पाउनुपर्छ ।’ -सानोले जिकिर गर्छ ।

म मौन बसेर देशबन्धुको सल्लाहमाथि गम्भीर भएर सोच्न थाल्छु- ‘सानो छोराको जति पनि मेरो चिन्तन भएनछ । जगाउनेहरूको अभावले त होइन? घडी बन्द छ, उसले जगाउन सक्दैन । घडी चरो मौन छ, उसले पनि जगाउन खोज्दैन । जो हल्ला गरेर जगाउन खोज्छन्, तिनको हल्लातिर ध्यान पनि दिएको छैन । ध्यान नदिएकाले कसरी बुझ्नु ? ‘यो जाली कि त्यो जाली खालि आफ्नै पाली’ नेपालको राजनीतिमा जस्तै ।

देशबन्धु अगाडि छ । ऊ सल्लाह दिन सक्छ, जगाउन पनि सक्ला तर उसले ठिक वेलामा जगाउन्न, किनकि ठिक वेलामा जगाउने उसको मनसाय नै छैन । ठिक सल्लाह दिने नियत पनि छैन, किनकि उसको सल्लाह आफ्नो निम्ति हुन्छ, मेरो निम्ति त हुँदैन ।

बैठकमा एकपटक फेरि विरोधको आवाज आउँछ- ‘दाइले खालि झ्याली गर्नुहुन्छ । म दाइसँग खेल्दिन । दाइसँग खेलेर मेरो पालो आउँदै आउन्न आए पनि आएको मान्दै  मान्नुहुन्न । म खेल्दिन, खेल्दिन । यस्ता झ्यालीसँग खेलेर के काम ?

०००
टोलटोलमा राजा’ (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म त हाँसेको हाँस्यै

म त हाँसेको हाँस्यै

डिल्लीराज अर्याल
किसान मृत्यु-ओखति

किसान मृत्यु-ओखति

डिल्लीराज अर्याल
अब सम्धीहरूको पालो

अब सम्धीहरूको पालो

डिल्लीराज अर्याल
फैलिएको छ त्रासदी

फैलिएको छ त्रासदी

डिल्लीराज अर्याल
अ आ इ ई को ई

अ आ इ ई...

डिल्लीराज अर्याल
अ आ इ ई को ई

अ आ इ ई...

डिल्लीराज अर्याल
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी