साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त हाँसेको हाँस्यै

व्यावसायिकता भने हरक्षेत्रमा सल्किँदो छ, मल्किँदो छ । आज शिक्षा, पत्रकारितामा मात्र होइन, धर्म, संस्कृति, परम्परा, स्वास्थ्य, समाजसेवा, राजनीति हरक्षेत्रमा व्यावसायिकता मौलाएको छ । त्यसकै माध्यमबाट सबैक्षेत्रले चरम उन्नति गरिरहेछन् ।

Nepal Telecom ad

डिल्लीराज अर्याल :

म शिक्षण मात्र होइन, खेतीपाती पनि गर्ने चाहना भएको मान्छे । लेखन र पत्रकारिता त गरेकै हुँ । अहिले पनि यथाशक्य गर्दैछु । प्रारम्भमा नेता हुनेका सुरमा लागेर पत्रकार सङ्घ, पछि महासङ्घका विभिन्न तहमा रहेर काम पनि गरेँ । अहिले पनि महासङ्घमा छु, तर खालि साधारण सदस्य मात्र, तैपनि पत्रकार चाहिँ बनेकै छु । पत्रकार त पेशै रमाइलो ! उस्तै परे साना-ठूला मान्छेहरूलाई थर्काउन पनि पाइने !

पहिले पहिले सङ्घ, महासङ्घका कार्यक्रमहरूमा पनि खूब हिड्ने गरेँ । यदाकदा आन्दोलनमा पनि मज्जाले लागेँ अचेल त्यसरी हिँड्न सक्दिनँ, हिड्दिनँ । साधारण सदस्य मात्र भएकाले त्यसरी हिँड्नु पनि पर्दैन, परे पनि हिँड्ने थिइनँ । सक्ने भए पो ! हिँड्न शक्ति चाहिन्छ । शक्तिका लागि सत्ता चाहिन्छ, त्यसको सम्पर्क चाहिन्छ । त्यो नहुनेको शक्ति…? त्यतिबेलाको कुरै अर्कै । जोश, जाँगरै अर्कै । स्वभावै अर्कै । जसले जे भने पनि, जता भने पनि ‘हुन्छ’ भन्यो हिँड्यो ।

तिनताकाकै कुरा हो । साथीहरू भेला हुन्थे । पत्रकारिताका नयाँ नयाँ विषय उठाउँथे । कसैले खोज पत्रकारिता, कसैले मिशन पत्रकारिता, कसैले व्यावसायिक पत्रकारिता,… आदि इत्यादि भन्थे । विषय पनि के के ल्याउँथे के के ! आफू पछुवा धेरैजसो त कुरै नबुझिने । बुझिनँ भन्न पनि लाज लाग्ने । जसरी अरु धेरैलाई नबुझे पनि बुझिनँ भन्न, सोध्न लाज लाग्छ । आखिर वर्ग त त्यही न पर्‍यो ।

अलि बुझेका धेरैजसो साथीहरू अघि अघि हुन्थे । तिनले भन्ने गर्थे- ‘पत्रकारिता व्यावसायिक हुनुपर्छ । अब हामीले व्यावसायिक पत्रकारिता शुरु गर्नुपर्छ ।’ म लाटो मान्छे साथीहरूका कुरा सुनेर हाँस्थेँ । बुझेर होस् वा नबुझिकनै होस् हाँसिदिने मेरो आदत थियो । हाँस्दा आमाले भन्ने गरेको कुरो सम्झन्थेँ । आमा भन्नुहुन्थ्यो- ‘बाठो एकफेरा हाँस्छ, लाटो दुईफेरा हाँस्छ ।’ म त्यो सम्झेर पनि हाँस्थेँ । पत्रकारिता जाने-बुझेकाहरू त्यसबारेमा छलफल, बहस गर्थे । म फेरि पनि हाँस्थेँ । मनमनै गम्थेँ- ‘साथीहरूले भनेको यो व्यावसायिक पत्रकारिता कस्तो होला? के अब हामी पत्रकारहरूले पनि व्यवसाय समात्ने हो ?’

त्यतिबेला व्यावसायिक पत्रकारिताका नाममा हाँस्ने म, अहिले पनि हाँस्दैछु । अरु जान्ने बुझ्नेहरू व्यावसायिक पत्रकारिता गरेर, व्यावसायिक बनेर कहाँ कहाँ पुगे ! म आज पनि हाँसेको हाँस्यै छु । मेरो मनले अहिलेसम्म पनि व्यावसायिक पत्रकारिता बुझेन, जानेन, सोचेन । त्यसैले अपनाउन सकेन । जाने- बुझेको भए पो अपनाउँथ्यो र । बरू प्रश्न गरिरह्यो, सन्देह गरिरह्यो र भनिरह्यो- ‘पत्रकारिता पनि व्यावसायिक ?’ ‘व्यवसायीको काम पत्रकारले पनि ?’ ‘पत्रकार पनि नाफामुखी ?’ आदि आदि ।

लामै समयसम्म मेरा मनमा यस्ता कुरा खेलिरहे, यस्तै प्रश्नहरू उठिरहे, हाँसो उठिरह्यो र म हाँसिरहेँ । आजसम्म पनि हाँस्दैछु र त व्यवसायी बन्न सकेको छैन । व्यावसायिक पत्रकार बन्न सकेको छैन ।

नयाँ शिक्षा परियोजना लागू हुनेबेला भयो । फेरि कुरा उठे व्यवसायका, व्यावसायिकताका । शिक्षालाई पनि व्यावसायिक बनाउने कुरा चल्यो । त्यसै अनुरूपको कार्यक्रम बन्यो । व्यावसायिक विद्यालयहरूको स्थापना हुन थाल्यो । पुराना विद्यालयहरूले पनि पुरानो स्वरूप त्यागेर व्यावसायिक रूप लिन थाले । त्यसरी ‘शिक्षा व्यावसायिक हुनुपर्छ’ भन्ने चर्चा चलेदेखि व्यावसायिक बन्ने कार्यक्रम चलिरहँदासम्म पनि म मज्जाले हाँसेँ । म जति हाँसे पनि पत्रकारिताले व्यावसायिकता अँगाल्यो । शिक्षाले व्यावसायिकता अँगाल्यो । शिक्षक, प्राध्यापकले व्यावसायिकता अँगाले । शिक्षालयहरूले व्यवसाय गर्न थाले, व्यवसाय चलाउन थाले । तिनलाई सिकाउन, सल्लाह दिन व्यवसायीहरू अघि सरे । अब चाहे पत्रकारिता होस्, चाहे शिक्षणसंस्था, त्यहाँ व्यवसायीहरू नै अगाडि देखा पर्न थाले । मलाई हाँस्ने मौका जुरिरह्यो र म हाँसिरहेँ । म तिनका कुरा सुनेर, तिनका कार्यक्रमहरू देखेर हाँसिरहेँ । मज्जाले हाँसेँ । एक्लै परे पनि, एक्लै भए पनि हाँसेँ । यदाकदा म हाँसेको देखेर केही अरु साथीहरू पनि हाँसे ।

शिक्षा व्यावसायिक भयो, विद्यालयहरू व्यावसायिक भए । व्यावसायिक हुनै नसक्नेहरूले पनि व्यावसायिक विषय चलाउनै पर्ने भयो, चलाउन थाले । व्यवसाय गर्न सिकाउनै पर्ने भयो, सिकाउन थाले । सिकाउने मात्र हो र ? पढाउनै पर्ने भयो, पढाउन थाले । व्यावसायिक परम्परा चल्यो, चल्दै आयो । व्यावसायिक परम्परा जस्तै मेरो हाँसो पनि चल्दै आयो, चल्दै आयो ।

बीचमा म पटक-पटक हाँसेँ । व्यावसायिकता फस्टाउँदै गयो । पत्रकारिताले मज्जैले व्यावसायिक रूप लियो । कतिसम्म भने मिशन पत्रकारितालाई धरापमै पारिदियो । खोज पत्रकारिता रुल्लटुल्ल बन्यो । अब व्यावसायिक पत्रकारिताले चारैतिरबाट सर्लक्कै घेरेको छ । व्यवसाय र व्यावसायिकता अन्तर्राष्ट्रसम्म पुगेको, फैलिएको छ । हर पत्रकार व्यवसायी, हर पत्रकारिता व्यावसायिक । मेरो हाँसोमा पनि व्यावसायिकता देखिन थालेको छ ।

म आफै पनि नचाहँदा नचाहँदै त्यही व्यावसायिताबाट घेरिएको छु । सबैलाई व्यावसायिकतातिर लाउने योजना सफल हुँदै गएको छ । अब त राजनीति व्यावसायिक बन्यो, धर्म व्यावसायिक बन्दै गएको छ । कतिसम्म प्रभाव पर्‍यो भने हाम्रा धर्म, संस्कृति, परोपकार, सेवा जस्ता कुरा पनि त्यतै तानिन थाले । अचम्म, मेरा केही आफन्त, साथीभाइ, इष्टमित्र भने अझ पनि व्यावसायिक हुन सकेका छैनन् । सक्नेहरू सबै बनेका छन् । तिनले, तिनका योजनाले भने सबै घेरिएका छन्, जसरी म घेरिएको छु ।

यी सबै कुरा देखेर, बुझेर पनि म हाँसेकै छु । सन्तुष्टै छु, किनकि मलाई केही गर्नु छैन । पत्रकारितामा, शिक्षामा, स्वास्थ्यमा, राजनीतिमा व्यावसायिकता अपनाउनु छैन । जसलाई अपनाउनु छ तिनले खुशीले अपनाएका छन् । तिनी व्यवसायी बनेका छन् । नाफाका नाफा कमाएका छन् । सङ्गठनै सङ्गठन बनाएका छन् ।

हिजो मेरै साथीहरू मलाई ‘तँ व्यावसायिक हुन सक्दैनस्’ भन्थे । हिजो भने, आज, अहिले भन्छन् र भोलि पनि भन्नेछन्- ‘तैँले गरिखाँदैनस् । गरिखानेले व्यावसायिकता नरुचाउने हुनै सक्दैन । गरिखानका लागि व्यावसायिकता, व्यावसायिकताका लागि व्यवसायी हुनु अनिवार्य हुन्छ ।’

म. आज बल्ल बुझ्दैछु । तिनले भनेको साँच्चै हो रहेछ । म गरिखान नजान्ने, नसक्ने नै रहेछु । गरिखानेले हजार, लाख छोडेर करोड अरवका कुरा गर्न थाले । त्यो पनि एक दुई हो र ? दश, बीस भन्दा धेरै । अझ धेरै धेरै, खरव खरवका पनि ।

म आज पनि उस्तै छु । मेरा ती मान्छे उस्तै छन्, तर देश धेरै अगाडि गयो । व्यावसायिता बुझ्ने ती साथीहरूले उन्नतिको पराकाष्ठा नाघे, नाघ्दैछन् । देशले, व्यावसायिक पत्रकारिता, व्यावसायिक शिक्षा, व्यावसायिक राजनीति, व्यावसायिक स्वास्थ्य… चलाउँदै गएर तिनैबाट चरम उपलब्धि हासिल गर्दैछ । यो विस्तारित हुँदै गएको र एकदमै आवश्यक भएको कुराको महसुस अरुले जस्तै मैले पनि गर्न थालेको छु ।

आज देशको राजनीतिले पूरै व्यावसायिकता अपनाएको छ । राजनेता, सरकारसमेत व्यावसायिक हुँदै जान थालेको अवस्था छ । समाजसेवी, समाजसेवामा व्यावसायिकताको जोश छाएको छ । साहित्य, कला, धर्म, संस्कृतिलाई समेत व्यावसायिक बन्न प्रेरित गरिरहेछन् हाम्रा अगुवा साथीहरू ! प्रेरित हुँदै पनि गएका छन् त्यस क्षेत्रका अगुवाहरू । स्वास्थ्य, शिक्षा त व्यावसायिक भए भए । सांसद्, मन्त्री जस्ता पद समेत व्यावसायिक बन्न थालेका छन् । सबै ठाउँमा व्यवसायीहरू नै अगाडि देखा परेका छन्। यस्ता व्यवसायीहरूले हरक्षेत्रमा राम्रो व्यवसाय चलाउँदै आएका छन् । यो उन्नति देखेर प्रसन्न छु म । प्रसन्नता व्यक्त गरेकै छु । साथीहरूको कुरै नगरौँ, कति खुशी छन् कति । अब …।

म, हिजो व्यावसायिक पत्रकारिता भन्दा हाँसेको अबुझ आज पनि हाँसिरहेछु । पूरै समाज, देश व्यावसायिकतामा चुर्लुम्म डुबिसक्दा पनि म लाटो फरक मत राखेर ‘हरक्षेत्रमा व्यावसायिकता’ भन्ने कुरालाई स्वीकार गर्न नसकेर, धर्मराएर बसेको छु । साथीहरूको प्रस्ताव अनुमोदन भएर कार्यान्वयनको चरण पार गरिसक्दा पनि नपत्याउने बनेर हाँस्दैछु । हो, म त्यतिबेला देखि आजसम्म पनि हाँसेको हाँस्यै छु ।

हिजो नबुझेर हाँसेँ । आज बुझ्नेहरूले गरेको बहस सुनेर, तिनको उन्नति देखेर हाँस्दैछु । म भोलि पनि हाँस्नेछु र हाँसेको हाँस्यै हुनेछु । व्यावसायिकता भने हरक्षेत्रमा सल्किँदो छ, मल्किँदो छ । आज शिक्षा, पत्रकारितामा मात्र होइन, धर्म, संस्कृति, परम्परा, स्वास्थ्य, समाजसेवा, राजनीति हरक्षेत्रमा व्यावसायिकता मौलाएको छ । त्यसकै माध्यमबाट सबैक्षेत्रले चरम उन्नति गरिरहेछन् ।

म बबुरो अहिले पनि कुरोको चुरो नबुझेर दङ्ग पर्दै एकातिर बसेर हाँसिरहेँछु । हिजो पनि हाँसेँ, आज पनि हाँस्दैछु र भोलि पनि हाँस्ने क्रम रहनेछ । सोच्छु- अरु सबै व्यावसायिक भइसक्दा पनि म आफू भने हाँसेको हाँस्यै हुने भएँ !

०००
काठमाडौं
‘टोलटोलमा राजा’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
राय सल्लाह

राय सल्लाह

डिल्लीराज अर्याल
बाँदरले गाई दुह्याे

बाँदरले गाई दुह्याे

डिल्लीराज अर्याल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x