दीनानाथ पाेखरेलबा ! (काव्य अंश- २)
जीवानन्द पिता गए अगि बिते सानै थिएँ बालक । यो बेला अब माहिँला लुटिदियो मेरा दयाका हक ॥
दीनानाथ पोख्रेल :
आफ्नो इज्जत धान्न उठ्न भवमा अर्ती सुधाझैँ दिने ।
आशङ्का मनका थुतेर जति छन् हेक्का उमारी दिने ॥
जे छन् साथ विचार आज भवको मान्छे भएँ लाग्दछ ।
थोत्रा कल्मष भाव जीणर् दिलका फ्याकूँ सबै ताक्दछ ॥०९॥
आमाबाबु समान हुन् मन लिऊँ उम्दा कलाका धन ।
आमा दिव्य धरा पिता गगन हुन् सङ्लेर देखोस् मन ॥
सारा सृष्टि रहन्न छैन धरणी यो सत्य राखोस् मन ।
त्यो आकाश नहोस् त जीव कसरी बाँच्छन् र हुन्छन् भन ॥१०॥
डट्ने मार्ग कता विनम्र दिलले पस्रेर झुक्ने कता ?
मान्छेको मन भावना सब चिनी सङ्लेर जुट्ने कता ?
हेरी दूर विचार योग्य पथ के ? सत्कर्म टिप्ने गर ।
आफू झुक्नु कता भनी समयका बाँड्थे सुशिक्षा दर ॥११॥
बाबा हिम्मत हुन् समस्त भवका चढ्ने उकालो मन ।
बाबा ज्ञान समान छैन भवमा राखून् हियामा जन ॥
आफू उठ्न सकिन्छ पारख बनी सत्कर्ममा लम्किए ।
बाबा ज्ञान लिने सबै जनहरू सद्भ्रान्तिमा चम्किए ॥१२॥
ऊर्जा हुन् भव कर्मका डगरको आलस्य पन्साउँछन् ।
अग्लो जाँगर भर्दछन् सहजता सत्कर्म जन्माउँछन् ॥
उम्दा शक्ति जगाउने मनुजका बाबा हियो प्रेरक ।
फ्याँक्छन् ढुल्मुल चेतका सब चुनी हुन् विज्ञका शिक्षक ॥१३॥
बाबा छैन हुँदैन सृष्टि भवको यो ज्ञान को भुल्दछ ?
बाबाका गुणयुक्त शिक्षण टिपी संसार यो डुल्दछ ॥
बाबा सृष्टि विधानमा बल दिने संसारका स्रोत हुन् ।
पर्दा कष्ट अनिष्टता सब धुने निम्जाविषे ओत हुन् ॥१४॥
जीवानन्द पिता गए अगि बिते सानै थिएँ बालक ।
यो बेला अब माहिँला लुटिदियो मेरा दयाका हक ॥
यौटै व्यक्तिविषे प्रहार ननिका पाएँ सबै के भनूँ ?
हे ! मेरा हितभावका नर खुली यो काल केमा गनूँ ?१५॥
मान्छे जन्म दिई निमोठ्दछ स्वयम् के मान्नु खै पालक ?
सारा विश्व डुलोस् न दृष्टि सबको दुष्कृत्य छन् घातक ॥
बोका घाँस कुँडो दिई अझ मकै पालेर खाए सरी ।
माया भाव विलुप्त बन्छ गति यो देखिन्छ लौ यो घरी ॥१६॥
०००
अप्रकाशित ‘बा !’ काव्यबाट
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































