सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फिलिङ्गेबारीमा दावासँग उड्दा

बस, मैले तन्द्रामा यी दुइटा प्रार्थना गरेँ । त्यसपछि बिस्तारै सपना खुलेझैं भयो र उठ्न खोजें दावा पनि होन्डामुनि बल गर्दै थिए। धूलो टक्टक्याउँदै उनी बोले- सर यो बज्या जेमराजको एक्सिलरेटर जाम भएर गाँठो परेछ ।

Nepal Telecom ad

डा. गोविन्दराज भट्टराई :

खाँदबारी छोडने बिहान वरुण क्याम्पसका धेरै मित्रजन मलाई बिदा गर्न पर्खिरहेका थिए । छेउमा कुबेरले ठिक पारिदिएको दावाको अल्गो मोटरसाइकल थियो । उनको पातलो, भाटे शरीर तीस बर्से हुँदो हो । हेल्मेटविनाको शिरमा रातो रुमाल बाँधेर रेडी भए । दिङ्लामा घाम झलमल्ल भएपछि ओरालो लाग्यौं ।

दावाले आफ्नो जीवनको दुःख र सङ्घर्षको कहानी सुनाउँदै लगे- यो जिटिजेडले हाम्रो अफिसलाई दिएको मोटरसाइकल, यो एकहाते जस्तै छ सर । मेरी श्रीमती यता झर्दा खुब डराउँछिन् । तर आजसम्म कहिल्यै यो कतै कोल्टिएको पनि छैन । भरर… गर्दै जापानी होन्डा भित्री पहाडमा ओरालैओरालो झरिरह्यो ।

धुलाम्मे बाटो, बेलाबेला आधाउधी पाङ्ग्रा धूलामा गाडिएको बेला होन्डा फनक्क घुम्थ्यो भेसस…। तलबाट गाडी आउँथ्यो सबै कुइरीमण्डल पारेर, बुट्यान जङ्गल, छेउभित्तो केही नेदिखिने गरी । मुख छोपौँ सर, दावा बोल्थे । अलिभित्र झन् गहिरो थापजस्तो धूलामा पुगेपछि ट्याक्टर आयो । यो ज़ेमराजले छोप्छ, दावा बोले । जेमराज कटुन्जेल हामी उभिन्थ्यौं, धेरै बेरपछि बाटो देखिन थालेपछि त्यो कुइरीमण्डल अलिक बस्न थालेपछि होन्डा फेरि स्टार्ट हुन्थ्यो घ्यार्र … ।

यसरी हामी तुम्लिङ्टार पुग्यौं । सामुन्ने हवाईमैदान । हरियो सिरुबारी हावामा उडिरहेको, लहरै बसेका दोकानहरू । एउटा कुनामा मोटरसाइकल बिसाएर दावा झोला थन्क्याउन पसे । म पनि उत्रिएँ र यसो आफैँलाई पिलिक्क हेरें- अहो, आज के कुनै अनर्थ भएको हो ? आज विहान नीलो सुट लगाएजस्तो मान्छु, अहिले किन यो शरीर धुर्मैलो बेसारे देख्छु ? के मैले झुक्किएर त्यो होटलवालाकै वस्त्र ता लगाइनँ कि कुवेरका सुट लगाएँ हैं बिहानको झिस्मिसेमा ?

मलाई धेरै भ्रम भयो । अनेक सम्झिन खोज्छु- कसरी नीलो सूटवाला म अचानक भिन्न रङको भएँ । मलाई काफ्काको ग्रेगोर साम्सा जस्तै हुन पो लेखेको छ कि ? ग्रेगोर बिहान उठ्ता एउटा कीरामा परिणत भइसकेको थियो । मलाई भ्रान्तिले छोप्यो र आफैलाई सोधें- तँ अन्जना वस्तीको पति गोविन्दराज भट्टराई होस् कि होइनस् ? सन्देहपूणर् यो मन बोल्यो- अहँ तँ होइनस् ।

म ग्रेगोर साम्सा भएँ त ? अनि अलि पर्तिर गएँ, एउटा वृक्षको फेदमा छेलिएर सेभिङ किट खोलें अनि ससानो च्याप्टे ऐना हातमा लिएँ र ऐनातिर दृष्टि लगाएँ- अहा, त्यहाँ मानवको स्वरूप प्रतिबिम्बित थिएन । आँखीभौं सेता खैरा थिए, गाला निधार केसको पनि त्यस्तै रङ थियो, नाक, कान, ओठ, घाँटी र अन्य अवयव त्यस्तै रङका थिए । मनमा एउटा भयमिश्रित प्रश्न उठ्यो- भन् गोविन्द तँ को होस् ? शास्त्रले भन्छ पहिले आफैलाई चिनोस्, तँ आफैँलाई चिनिहेर । फेरि नियालेर हेरें, तर चिन्नै सकिनँ । बरू आफैलाई हाँस उठ्न खोज्यो, अनि बिस्तारै मुस्कुराएँ । अहा, आज मेरो मनमा अचानक कत्रो खुसीको लहर छचल्कियो । मैले आफैलाई चिनेर विस्तारै बोलें- कुनै पीर नगर, तैँ होस् गोविन्दराज भट्टराई । हो, तँ हाँस्ता देखें त्यसरी माथिका दाँत खप्टेको, भर्खरै कमलपोखरीको ओराकेयरले टल्काएका ती नयाँ दाँत चम्किने व्यक्ति नै तँ होस् ।

म ढुक्क भएँ । त्यसपछि दावा एउटा कुचो लिएर आए र मेरो शरीर बढार्न थाले । मैले भनेँ- दावा त्यसरी कुचाले शरीर नवढार, अपशकुन हुन्छ । तब दावा बोले- यो अम्लिसाको, घुङ्रिङको वा सिरुको कुचो होइन सर, यो पवित्र जङ्गली बाबियोबाट बनेको कुचो, यसले त शरीर जति पिट्यो त्यति साइत पर्छ, शुभ हुन्छ ।

त्यसपछि दावासमक्ष प्रश्न राखें- भाइ आज मलाई कुन देवी कृपा भएजस्तो लाग्दैछ, यसरी प्रफुल्लताले हृदय नाचेको बेला बिहानदेखि भोकै पनि छौ, मनकामना माताको दर्शन गर्ने होइन ? दावा पनि बडो आध्यात्मिक चेतना भएका व्यक्ति रहेछन् । उनले तत्कालै होन्डा स्टार्ट गरे- घ्यार्र… आज्ञाकारी होन्डा बाटो लाग्यो तर पनि आज किन यन्त्रले अकस्मात् यसरी क्रुद्ध आवाज गर्दैछ भाइ ? कतै यसको इन्धन मिसावट परेर त्यस्तो भएको ता होइन ? अन्य धुपधुवाँर, विश्वकर्मा पूजा छुटेको हो कि ?

तुम्लिङ्टार बजारको बीचैबीच कच्ची बाटामा दावा उड्न थाले । बाटो खल्ट्याङ र खुल्टुङ डाँडा र गैरा, होन्डा डिलमाथि चढ्छ, गैरामा खनिन्छ, फेरि फिलिङ्गेको बारीतिर उफ्रौंला जस्तो गर्छ, अरूण तेस्रोको पर्खालमा जोतिन खोज्छ । खेतका खाली गरा ताक्नु नि बरु किन फिलिङ्गेबारीतिरै लम्किन्छ ? ए के भयो यो यन्त्रलाई ? मलाई आज डरडर लाग्न थाल्यो । दावाले कुनै अनियन्त्रक पदार्थ सेवन गरे कि वा होन्डाको चुकुल खुस्कियो कि आज के हुने हो यी रूखा, फुनिएका गरामा उत्ताने परिने हो कि, एउटा सम्भावित भयले मनलाई ढाक्यो । यहीँ उत्तानो परियो भने अखबारमा कस्तो खबर आउला ? मैले कल्पना गरेँ- ‘तुम्लिङ्टारको फिलिङ्गेवारीमा दावा र एक प्रोफेसर ।’ छ्या कति डरलाग्दो शीर्षक । अनि भनेँ पनि दावा भाइ, अलिक स्लो गरौं न ?

तर होन्डा झन्झन् थर्किन थाल्यो, झन् उचालिँदै पछारिंदै भन् ठूला गरा ताक्तै बारीका डिलडिल छुन थाल्यो । यसपालि विश्वकर्मा पूजा नगरेर पो यो यन्त्र यतिबिघ्न अनियन्त्रित भएको हो कि ? फेरि दावाले भनेको सम्झिएँ- ‘सर, आजसम्म यो पिर्लिक्क कतै पल्टेको छैन ।’ अनि अलि शान्त भएँ, तर यसो ढल्केर हेरें, दावाको मुड बदमास बहर गोरुले बाँझो खेतमा हलोसितै घिसारेको हलीको जस्तो भएको थियो ।

होन्डा बिरामी खच्चर उफ्रेजस्तो गतिमा बड्किन थाल्यो । गर्दागर्दै एउटा जङ्गलमा पस्यो । आँप, चिलौने, सल्लाका बृक्षहरू, झोडी र बुट्यान अनि भीरैभीर ओरालिएको साँघुरो बाटो । दुईतिरका डोब अत्यन्तै गहिरा, ट्याक्टरका पाङ्ग्र्राले जोतेर धूलीमैदान पथमा अरू कुनै साधन हिँड्न सक्ने स्थिति छैन । अब होन्डा झन् घ्यार्र कि घ्यार्र गर्न थाल्यो, झन्झन् उफ्रिन थाल्यो, यता पहरो उता वृक्षहरू । अब मेरो जीउ नथामिएला जस्तो भयो, अब काल नजिकै आएको झल्का मिल्न थाल्यो । सोचें- यो दावा बौलाहा रहेछ । कति भन्छु- रोकौं न दावा रोकौं, ब्रेक हानौं न दावा ब्रेक हानौं तर रोकिएन होन्डा भीरबाट हाम्फाल्न तत्पर भयो । मैले मिलिकमिलिक हेर्दै गरे, तल कुनकुन प्रजातिका रूखहरू छन्, कहीँ अड्किन सकिन्छ कि ? यो अनकन्टार प्रदेशमा प्राण जान खोजिरहेछ, कुनै पवित्र वृक्षको फेदमा बजारिए हुन्थ्यो, बरू- अमलाको समीको, वरपीपलको, श्रीखण्डको अभ भनौँ रुद्राक्षको । तर हे प्रभु । चिलाउने, कागभलायो, डुम्री, दबदबे जस्ता कुकाठका फेदमा यो शरीर आत्माबाट बिछोड नगराइदेऊ ।

त्यस्तो केही कल्पनामा आउनासाथ होन्डा, झ्यार्र… गर्‍यो र त्यसपछिको घटना बिर्सन पुगेँ । निकैबेर ढलेकै ठाउँमा त्यो गेग्रेनी भित्तापट्टि हामी दुवैमाथि होन्डा चढेको जस्तो लाग्यो । मलाई होस खुल्न कति समय लाग्यो भन्न सकिन, हेर्न खोज्दा घडीको फितामात्रै नारीमा अल्झिरहेको देखें, मलाई एक स्वामीभक्त कुकुरको याद आयो ।

मूर््िछत अवस्थामा अनेक ज्वारभाटा उठे । विलियम गोल्डिङको लर्ड अव द फ्लाइजमा साइमन भन्ने पात्र थियो । ऊ मूच्र्छा परेपछि आधाघण्टा तन्त्रामा विचरण गथ्र्यो । मलाई त्यस्तै भो । सोचेंछु- हे मनकामना माई, म तिम्रो चरणमा स्पर्श गर्नै आँटेको छु । यहाँ म अकिञ्चनको प्राण नलिइदेऊ । म एकपल्ट घरै पुग्न चाहन्छु । त्यहाँ मेरा कति आकाङ्क्षा र इच्छा अधूरे रहनेछन् । मेरा परिवारजनलाई न मेरो पासवर्ड थाहा छ, न एटिएमको नम्बर । हे सतीढुङ्गा यतिखेर यो दावाको पनि प्राण नखुस्काइदेऊ । विचरा दावा दुःखी छ, मद्यप्रेमी उनका पिता अनेक पत्नी प्रिय पनि थिए । खान थिएन तर दुःख पर्याप्त थियो । चेपुवादेखि भागेर उनी खाँदबारी पुगेका थिए । अनेक दुःख गरेर पढेको दावा आज बिते भने उनका चार जना सन्तान अभर पर्नेछन्, उनको एम.ए. गर्ने धोको अधुरो रहनेछ । बस, मैले तन्द्रामा यी दुइटा प्रार्थना गरेँ । त्यसपछि बिस्तारै सपना खुलेझैं भयो र उठ्न खोजें दावा पनि होन्डामुनि बल गर्दै थिए। धूलो टक्टक्याउँदै उनी बोले- सर यो बज्या जेमराजको एक्सिलरेटर जाम भएर गाँठो परेछ ।

कुनै चोट लाग्यो कि दावा ?
लागेन सर ।

तर उनको गन्जी तन्निएर च्यातिएको थियो, गाला नलिएका । कुनै चोट लाग्यो कि सर ?

म बोल्न सकिन किनभने मेरो छेपारी फर्किसकेको थियो र नलीहाड फुट्यो कि किन यसरी भतभती पोल्दैछ ? तर कसले भन्न सक्छ, यो बेला ग्यारेन्टिसँग ? काठमाडौँ पुगेर टिचिङ्गमा एक्सरे नगरी म भन्न सक्तिनँ यो दुर्घटनाले भित्रभित्रै मरिसकें या जिउँदै छु ।

होन्डा उठाएर त्यहीँ उभ्यायौँ र बिस्तारै सम्पूणर् शरीर हल्लाउँदै खोच्याउँदै ओरालो लाग्यौँ । तल पुग्दा अरूणको तटमा मनकामनाका कुटी र मन्दिरहरू लहरै थिए । मन्दिरको ढोका लागिसकेको थियो । पीडा अधिक भएकाले होला यो मन न प्रभुमा लाग्यो न मातामा। त्यसबेला मैले विलियम सेक्सपियरले भनेको सम्झिएँ- हृदयबेगरका शब्दभन्दा शब्दबेगरको हृदय वेस। त्यसर्थ हृदयले एकदुई शब्द बोलें- धन्य प्रभु, आज बचायौ । तर पीडाले गर्दा आफ्नो हृदय र शब्द दुवै निश्चेष्ट भए ।

त्यसैले हामी तत्कालै फर्कियौँ । होन्डासम्म पुग्दा गोलिगाँठादेखि पीरो भएर आयो, उभिन नसक्ने भए तर पनि च्यातिएको कोट अलिकति छोपेजस्तो गर्दै त्यो भीरको बाटो म हिँडिरहें खोच्याङ् खोच्याङ् । दावाले सराप्दै होन्डा घिसारेर सम्म ठाउँमा पुगेपछि फेरि त्यो फ्याङ्ग्र्रे खच्चरमाथि चढ्यौं । मैले सम्झें मनकामना माईले हामीलाई रक्षा गरेकी छन् । भित्री हृदयदेखि म बोलें— उडाऊ दावा यो फ्याङ्ग्रे खच्चर, उडाऊ। जतिजति उफ्रिन्छ उफ्रियोस्, तुम्लिङ्टारमा प्लेन उड्ने बेला भो । सुन्तोलाको ढाकर छेउमा गोपाल पर्खिरहेका होलान् ।

०००
‘गोधूलिमा दस पाइला’ (२०६६)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
विदेशी पुस्तक चाहिँदैन ! लाठा फ्याँक्न पाइँदैन !!

विदेशी पुस्तक चाहिँदैन !...

डा. गोविन्दराज भट्टराई
नीलडाम कम्पनीमा एक रात

नीलडाम कम्पनीमा एक रात

डा. गोविन्दराज भट्टराई
धरमपुरको झोडीमा लुकेर नवरङ्ग गर्ने डम्बर घिमिरे…

धरमपुरको झोडीमा लुकेर नवरङ्ग...

डा. गोविन्दराज भट्टराई
नयाँ हाकिम त्यसरी मुस्कुराए

नयाँ हाकिम त्यसरी मुस्कुराए

डा. गोविन्दराज भट्टराई
हजुर्का कुख्याति यहाँ क्यान खोल्थेँ (२)

हजुर्का कुख्याति यहाँ क्यान...

डा. गोविन्दराज भट्टराई
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा