काशीनाथ मिश्रितछलाङ मरेछ !
जाबो लुम्बिनी र तिलौराकोट पल्लारे ठुल्दाइले साँस्कृतिक नक्सामा गाभे भनेर पिर मानिरहनु पर्दैन क्या ! उहिले मानसम्मान गर्ने छिमेकीले पनि अहिले हेप्ने गरेछ । साँच्चै छलाङ मरेछ ।

काशीनाथ मिश्रित :
एकाबिहानै तल्लारे माइला आएर मलाई अशुभ समाचार सुनाउँछन् – “ए साइँला सुन् त छलाङ मरेछ नि थाहा पाइस् ?” “च्व च्व हत्तेरिका ! साँच्चै मर्यो त छलाङ ? मलाई ढाँटेका त हैनौ नि !” मैले थाहा नपाएको भान गर्छु । उनी रिसाएर मलाई समाचार सुने पो थाहा हुन्छ, सुन्दैनस् र समाचार आजकल ? भनेर झपार्छन् ।
साँच्चै नै मैले आजकल समाचार सुन्न छोडेको छु । कुकुरले मान्छेलाई टोक्यो भने समाचार हुँदैन तर मान्छेले कुकुरलाई टोक्यो भने समाचार हुन्छ भनेर समाचारविद्हरूले भनेको सुनेपछि त झन् झोँक चलेर छोडिदिएँ मैले समाचार सुन्न । मान्छेले दुःख पाएको, पीडा भोगेको, दुर्घटनामा परेको जस्ता यावत् कुराहरू पनि समाचार बन्दैनन् भने त्यस्ता पाजी समाचार के सुन्नु ? कुकुरलाई मान्छेले टोक्न त कहाँ पो जान्छ र ! विकास भएको, उन्नति गरेको, ठुला ठुला योजना सफल भएको भन्ने समाचार कसैले सुनाउने हैन खाली फलानाले फलानालाई सरापेको, मारपिट गरेको चोरेको, लुटेको बलात्कार गरेको, भ्रष्टाचार गरेर पक्रिएको जस्ता समाचार मात्र सुन्नलाई बनेका हुन् र मेरा कान !
मेरो गनगन सुन्न नचाहे जस्तो लागेर तल्लारे माइलालाई मैले सोध्छु, “कति जना मिलेर मारेछन् र माल्दाइ छलाङलाई ? अनि जुठो बार्छौ कि बार्दैनौ त ? घोत कैले जाने हा े?” एकै चोटि तिन तिनवटा प्रश्न बर्साएपछि मलाई ‘पागल !’ भन्दै तल्लारे माइला आफ्नो बाटो लाग्छन् । परै पुगे पनि मैले चिच्याएर सोध्छु, “अँ छलाङ मरेर तिमी खुसी छौ कि बिखुसी त ?”
उनी गए पनि उनले सुनाएको समाचार भने जाँदै गएन । मनलाई हल्लाइदिन थाल्यो । छलाङ मार्नुपर्छ भन्ने गरेको त पहिलेदेखि नै सुन्दै आएको हुँ मैले । त्यतिखेर छलाङ मार्ने टोलीहरू गाउँ गाउँ डुल्थे । फलानालाई सफाया गर्छौँ, ढिस्कानो शोषक हो भन्थे । छलाङ मार्ने अभियानमा सर्वहाराहरू लाग्नुपर्छ नत्र हाम्रो दिन फर्कन्न भन्थे । मारे होलान् भन्ने लाग्यो त्यो छलाङ । बरु कहिले, कसकसले कसरी मारेछन् माइलाले सबै बताइदिएनन् र पो ! मज्जाले सिकार गरे होलान् क्यार छलाङको ! चोक्टा नपाए पनि अलिकति झोलसम्म चाख्न पाएको भए कुरा बेग्लै हुन्थ्यो । आफू त चिल्लाराम परियो के गर्नु !
हुन त छलाङ मार्न नहिँडेपछि न चोक्टाको आशा गर्नु ठिक हो न झोलको ! मार्न कसिएकाहरूले नै सिकारमाथि दाबी गर्नु कुन अनौठो भयो र ? त्यसो त फलानाको आयु पनि अब धेरै छैन, ढिस्कानालाई पनि मार्छौँ भनेर ठुला ठुला हात्तीहरूलाई धारे हात लगाएका थिए पहिले । कति छिटै मारेछन् त छलाङ ! हैन, समाचार त सुन्ने गर्नुपर्छ क्यारे । माइलाले ठिकै भनेका हुन् गाँठे ।
रेडियोको कान बटारेर सुन्न थाल्छु अब समाचार । मान्छेले कुकुरलाई टोक्यो भने समाचार हुन्छ भने मान्छेले मान्छेलाई नै टोके के बन्छ होला ? मेरो गिदी फन्फनी घुम्न थाल्छ । यस्तैमा रेडियोले फलाक्छ कतै सर्पले मान्छेलाई टोक्यो भनेर । कतै बसले मोटरसाइकललाई ठोक्यो भनेर । कतै आन्दोलनकारीको भीडले सवारी साधन रोक्यो भनेर । कहिले तस्करको दलले जङ्गलको काठ बोक्यो भनेर त कहिले सरकारले करका नयाँ दर तोक्यो भनेर । अँ हँ छलाङ मर्यो भनेर कसैले भन्दै भनेन । तल्लारे माइलाले कहाँ थाहा पाएर मलाई सुनाउन आएका होलान् हँ ?
उनलाई फेरि बोलाएर सोध्न मन लाग्छ मलाई । ए माल्दाइ ! मलाई भनिदेऊ न त छलाङ कहिले मरेछ ? कसले मारेछ ?? कसरी मरेछ ??? मैले अझै बुझिन क्या छलाङ मरेपछि हामीले शोक मनाउनु पर्ने हो कि उत्सव मनाउनु पर्ने हो ? राम्ररी भन्देऊ न माल्दाइ ! माल्दाइ मसित खुब रिसाएर भन्छन्- भन्दिनँ, तँ बौलाहालाई । जुठो बार्ने, घोत जाने कहिले भनेर मलाई नै उडाउँछस् ?” म निहुरन्छु उनीसित र भन्छु बिन्ति छ अब तिम्रो कुरो काट्दिन बताइदेऊ न है ! बरु तिमीले भने झैँ अबदेखि समाचार पनि सुन्ने गरुँला ।
त्यसपछि मात्र मलाई उही पुरानै बानी पर्यो समाचार सुन्ने । हत्तेरी ! कस्तो गल्ती गरिएछ खुरुखुरु आफ्नो काम गरेर । कसैको भर नपरेर । अर्काले भनेको नमानेर । आफ्नै बुद्धिले नजानेर । माझीले माछा मार्न जाल लिएर हिँडे झैँ छलाङ मार्न ठुलै सञ्जाल लिएर हिँडेका सिकारीहरूले जाउँ हामीसँगै नभनेका पनि कहाँ हुन् र ! तर गइएन । अहिले पछुतो लागिरहेछ । छलाङ मार्न हिँडेको भए कम से कम चोक्टा नपाए पनि झोल त पाइँदो हो नि । के गर्नु अहिले त छलाङ मात्र हैन उसको छोरा नातिहरू पनि मरेछन् । वंशै विनाश भएछ । हात लाग्यो शून्य !
सर्वहाराका दिन फर्केछन् । पहिले पहिले दक्षिणतिर फर्केका थिए तिनीहरूका दिन । अहिले उत्तरतिर फर्केछन् । गरुड पुराणमा दक्षिणको बाटो नरक जाने बाटो हो भन्ने लेखेको छ भन्थे पण्डितले । उत्तरको बाटो भने स्वर्ग जाने बाटो भनिन्छ । उत्तरतिर कुबेर बस्छन् रे ! धनका देउता ! सर्वहाराका दिन उत्तरतिर फर्केपछि अब केको सर्वहारा रहनु र ? अब त कोही पनि सर्वहारा छैन, सबै सर्वजिता ! अँ साँच्चै गरिबीको रेखा पनि तलबाट माथितिर सरेछ ! त्यसैले होला छलाङ त पक्कै मरेछ ।
पहिले पहिले सुकुम्बासीको चर्को समस्या थियो । अहिले त जम्मै सुकुम्बासीहरू हुकुमबासी बनिसकेछन् ! दलाली गर्नेहरू कति छिटो लोप भएछन् त लामटाङको हाब्रे जस्तो । शोषकका मौजा मौजाका जग्गा पनि गरीबहरूले बाँडेर लिएछन् । ललिता निवासमा सधै ललिता नै बस्नुपर्छ भन्ने कहाँ लेखिएको छ र ! अनिता, सुनिता, सबिता जो बसे पनि त हुन्छ नि । हो, त्यसैले अब सरकारी जग्गा पनि ब्यक्तिलाई बाँड्न थालिएछ । सरकार जनताको भएपछि जग्गा सरकारको भइरहनु पर्दैन क्या ! सबैका हातमा लालपूर्जा हल्लिएछन् । सबै धनी ! सबै हुनेखाने ! मागीखाने त देख्नै नपर्ने ! त्यो छलाङ नमरेको भए कहाँ यस्तो हुन्थ्यो र ? बुझ् न साइला छलाङ मरेछ क्या ।
बाफ रे ! कतिका अस्पताल बनेका हुन् ? यस्ता स्ट्यान्डर अस्पताल भएपछि अब विदेशमा उपचार गर्न को गइरहोस् । मन्त्री महोदयहरूले आफ्नै देशभित्र उपचार गर्न थाल्नुभएछ । बरु ती जैरे जनता भनाउँदाहरू भने विदेश विदेश कुद्ने गरेका, किन होला कुन्नि ! सबैलाई निःशुल्क स्वास्थ्य सेवा दिइने भएपछि पैसा खर्च गरेर विदेशी महँगा अस्पतालमा किन जानुपथ्र्यो र ? त्यसो त जनताहरू पनि धनी भैसकेका छन् क्यारे जाउन् न । मैले त थाहै नपाएको समाचार सुन्न छोडेर कति पछाडि परिएछ । वीर अस्पतालभन्दा पनि ठुलो बहादुर अस्पताल बनिसकेछ । यहाँबाट उत्पादन हुने डाक्टरहरूले कतै मरेको छलाङलाई मृतसञ्जिवनी छर्केर बचाइदिने त हैनन् त्रेता जुगमा लक्ष्मणलाई सुषेणले बचाए झैँ । कैयौँको ज्यान बलिदान दिएर मारेको छलाङ फेरि बाँच्यो भने त बर्बादै हुन्छ गाँठे । हाम्रा सबै अधिकार गुम्ने खतरा हुन्छ सकेसम्म त्यस्तो स्थिति नआओस् ।
अहो ! शिक्षाको क्षेत्रमा त अभूतपूर्व प्रगति पो भैसकेछ । उहिले बुर्जुवा शिक्षा पढाइ हुन्थ्यो । सब हटिसकेछ । हुनेखानेका छोराछोरीले पढ्ने बोर्डिङ स्कुल जम्मै सामुदायिक विद्यालयमा गाभिएछन् । सबैले समान शिक्षाको हक पाएका ! बुर्जुवा शिक्षाले के खान दिएको थियो र ? अहिले त सबैलाई रोजगारमूलक शिक्षा दिन थालिएछ । यो बुर्जुवा शिक्षा पढेर केही हुँदैन, हामीले धनलादी शिक्षा लागु गर्ने छौँ भन्ने गरेको त सुन्थेँ, धनलादी शिक्षा लागु भएरै छोडेछ । यत्रो तिन करोड जनसङ्ख्या भएको देशमा दिनको तिनचार सय विद्यार्थी विदेशतिर पढ्न जाँदैमा किन टाउको दुखाउनु ? विदेशबाट पढेर आए भने देशलाई माथि उठाइहाल्छन् नि । उच्च शिक्षाका लागि त विदेशै जानु राम्रो हो, सर्वोच्च शिखर हाम्रो देशमा भएपछि हामीलाई कसैले जित्न सक्ने होइनन् क्यारे जसरी पनि हामी सर्वोच्च भैहाल्छौँ । छलाङ नमरेको भए ती निजी स्कुलहरू कहाँ सरकारीमा मिसिन्थे र । सबैले समान रूपमा यसरी शिक्षाको हक पाउने नै थिएनन् ।
समाचार सुन्न छोडेको दसकौँ भएछ क्यारे । मैले उतिखेर समाचार सुन्दा दस वर्षमा नेपाललाई सिङ्गापुर बनाउँछौँ भनेको सुन्थेँ । अँ साँच्चै, सिङ्गापुर भनेको यस्तो पो रहेछ ! आफू त कहिल्यै गइएको छैन, गएकालाई थाहा होला । डाँडाडाँडामा टावर ! जनताका हातमा पावर !! केरुङ काठमाण्डौ रेल, रक्सौल काठमाण्डौ पाइपबाट तेल ! भैरहवा र पोखरामा विदेशी हवाइजहाज, नारायणीमा पानीजहाज !! पशुपतिमा जलहरी, घरकी स्वास्नीलाई तिलहरी ! सुखी नेपाली समृद्ध नेपाल, अब ठोक् तेरै कपाल ! देशले द्रुत गतिमा विकास गरेछ । त्यसैले त छलाङ मरेछ ।
मैले पढेको बुर्जुवा शिक्षामा त जम्मा दुई खाले नक्सा हुन्थे – एउटा राजनैतिक अर्को प्राकृतिक । आजकलको धनलादी शिक्षामा थुप्रै नक्साहरू बन्न थालेछन् । कहिले चुच्चे नक्सा, कहिले फुच्चे नक्सा ! कहिले खण्ड नक्सा कहिले अखण्ड नक्सा ! राजनैतिक र प्राकृतिक नक्सा मात्र हुनुपर्छ भन्ने कहाँ लेखिएको छ र? अहिले त पल्लारे ठुल्दाइले साँस्कृतिक नक्सा पनि निकालेछन् । वल्लारे जेठ्दाइले ट्वाल्ल परेर हेरेछन् ! त्यत्रो नक्सा देख्दा डरले कट्टुभरि छेरेछन् !! प्राकृतिक नक्सा हेर्ने हो भने नेपालको नक्सा पनि बङ्गालको खाडीसम्म पुग्छ गाँठे । हाम्रा नदीहरू बग्दै उहाँ पुगेका छैनन् र ? अझ आर्थिक नक्सा पनि निकाल्ने अभियान चलाएर जहाँ जहाँ नेपाली बहादुरहरू दाम कमाउन पुगेका छन् त्यहाँ त्यहाँसम्म नेपालको आर्थिक नक्सा बन्नुपर्छ भन्ने माग गर न जेठ्दाइ । जाबो लुम्बिनी र तिलौराकोट पल्लारे ठुल्दाइले साँस्कृतिक नक्सामा गाभे भनेर पिर मानिरहनु पर्दैन क्या ! उहिले मानसम्मान गर्ने छिमेकीले पनि अहिले हेप्ने गरेछ । साँच्चै छलाङ मरेछ ।
मेरो एकोहोरो बरबराहट सुन्दा दिक्क लागेर त होला तल्लारे माल्दाइ कतिबेला गएछन् पत्तै पाइन मैले । छलाङ कहिले र कसरी मर्यो भन्ने थाहै पाउन सकिएन । पक्कै पनि काल गतिले मरेन । अल्पायुमै कसैले हत्या गरेको हुनुपर्छ । बिख खुवाएर मारे कि झुन्ड्याएर मारे ! गोली पो ठोके कि ! आफै त पक्कै मरेन । त्यतिका मान्छे मार्न भनेर हिँडेका थिए । त्यसैले हो कि उसको प्रेतात्मा यतै कतै डुलिरहे जस्तो लाग्छ मलाई । बिच बिचमा तर्साउने पनि गर्छ । हत्तेरी ! छलाङको अगति पो पर्ने भयो । के गर्ने, नारायण पोखरेलभन्दा पहिले नै मरेको भए उनलाई श्रीमद्भागवत पुराण लगाएर मुक्ति दिलाउन भन्न पाइन्थ्यो । उनी तँभन्दा पहिले नै मरिसके । जे होस् मेरो तरफबाट भए पनि दुई थोपा श्रद्धाञ्जली दिन्छु । अबदेखि यसरी बिच बिचमा तर्साउने नगरेस् । गाई त पाइनै छोडे क्यारे ! बरु तेरो नाममा एक सय आठ राँगा दान गरिदिउँला । यी माल्दाइलाई पनि बिहान बिहानै किन यस्तो अशुभ समाचार लिएर आउनु पर्यो होला ? आजको दिन नै झसङ्ग झसङ्ग भएर बित्ने भो !
०००
२०८० असार ७ गते
कालीगण्डकी ५, फोक्सिङ, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































