नगिता लेप्चा राईभूत
संसार यी भूतहरूकै मुट्ठीमा भए पनि मानु भरिसकेपछि यिनीहरू कुकुरभन्दा लाष्ट खतमा जिन्दगी बाँच्नुपर्छ । किनभने लोहाको वैरी लोहै हुन्छ भन्ने कुरो सबैलाई थाहा भएकै कुरो हो ।

नगिता लेप्चा राई :
भूतको अर्थ बताएर मलाई भयङ्कर हुनु छैन । भूतबारे जानकारी सबैलाई नै छ विश्वास छ । भूतको नाम नसुन्ने संसारमा को होलान् ? भूतबारे किसिम सुनेँ पनि भूत तपाइँले देख्नुभएको छैन दरो विश्वास छ मलाई । तपाईं हजूरले भूत देख्नुभएको छ कि छैन कुनि तर मैले भूत देखेको छु । लु मैले भूत काँ देखेँ भन्नुहोला…. पिक्चर, हरर शोमा नि । किसिमको भूत ।
जे होस्, मेरो खोज अनुसार, भूतलाई मैले दुई श्रेणीमा विभक्त गरेको छु । पहिलो दृश्यमान र अदृश्यमान । दृश्यमान भूतहरू कथा, उपन्यास, टिभिको पर्दामा देखिन्छन् भने अदृश्यमान भूतहरू जताततै देखिन्छन् । यस्ता दृश्यमान भूतहरूको गाउँ–घर, सरकारी तथा गैरसरकारी, सङ्घ–संस्था आदिलाई नै अखड़ा रुपमा लिन सकिन्छ । मानिस जातिलाई डर लागेको बेला मात्र भूतको सम्झना हुन्छ । अन्य दिन अदृश्यमान भूतको कल्पनासम्म पनि आउँदैन । दृश्यमान भूत हाम्रै वरपर भए पनि ती अदृश्यमान भूतबारे हामी कुनै ध्यान दिँदैनौं । यसैले यी अदृश्यमान भूतहरूले कसरी सरकारी खजाना, अफिसको पेपर, फाइल, रजिष्टर खाता, जेम्स क्लिप, आल्पिन आदि स्टेशनरीहरू घरमा थुपार्छन् ती सबै दृश्यमान भूतहरू सबैलाई थाहा हुन्छ । अफिसको सफाई कर्मीदेखि लिएर प्यूनदेखि लिएर छोटाबाबु, बड़ाबाबु, एलडीसीदेखि सुप्रिण्टेण्डेण्ट सम्मै अदृश्यमान भूतकै क्याटागोरीमा पर्छन् । तिमी पनि त्यै गाउँकै म पनि त्यै गाउँको भन्या जस्तो सबै नै अदृश्यमान भूतहरू हुन् । तर कसैले कसै विरुद्ध मुख खोल्दैनन् ।
पैह्रो वा बाढ़को निम्ति आएको त्राण सामग्री, ठूल्ठूला ब्रिज बन्नको निम्ति थुपारिएका रड, सिमेण्ट आदि सामग्री गुटमुटाउनेहरू पनि अदृश्यमान भूत नै हुन् ।
विशेष चुनाउको समयमा मात्र धेर मात्रामा अदृश्यमान भूतहरूको उपस्थिति बढ़ी देखिन्छ । त्यसैकारण भोट हाल्न बुथमा जाँदा आश्चर्यचकित भई बुथबाट नियास्रो मुख लाएर फर्किनुपर्छ । कारण यस्ता अदृश्यमान भूतहरू भाड़ाको रुपमा आई तपाईं मेरो नाममा भोट हालेर गइसकेका हुन्छन् । ब्यालेट बक्सको रिक्त यी अदृश्यमान भूतहरूले छ्याप्प भोट हालेर ब्यालेट बक्स भरिदिने गर्छन् । भोटकै दिन धेरै स्वर्गीय भोटरहरू आफ्नो भोटाधिकार तथा गणतान्त्रिक अधिकार प्रयोग गर्न बुथमा कतिबेला आई भोट दिएर जान्छन् । पहिलो श्रेणीको भूतको काम तर्साउनु बाहेक अरु केही हुँदैन । तर दोस्रो श्रेणीका भूतहरू भने सरकार चलाउँछन् । प्रशासन उनीहरूकै भुट्ठीमा हुन्छ । वस्तुतः सरकारको अस्तित्व यी अद्श्यमान भूतहरूको कर्म निपुणतामै निर्भर रहने गर्छ ।
मान्छेको जात मात्रै भूतमा परिवर्तन हुन सक्छ । भूतको उल्लेखनीय विशेषता यही हो । हामीले नाङ्ले भूत, आँख्ले भूत, सुंगुरे भूत, राँके भूत, सिँगाने भूत आदिका नामहरू सुनेका छौं । तर यी अदृश्यमान मान्छेभूतहरू पनि किसिम किसिमका हुन्छन् । जस्तै– हाम भूत, डर भूत, ओइल भूत, चिप्ले भूत, दही–चिउरे भूत, गड़्यौला भूत, आइमाई भूत, भालेमुङ्गे भूत, राउडिज भूत, चम्चे भूत आदि आदि ।
भूतको कङ्काल हामीले किताबमा देखेको । यिनीहरू दिव्यालोकमा लोकचक्षुको अन्तरालमा हुन्छन् । तर हाम्रो पार्थिव शरीर रियल भूतहरूको कङ्काल देह हाम्रो चारैतिर उपस्थित हुन्छन् । यस्ता भूतहरूले करोड़ौं रुपियाँ पचाउँछन् । यस्तै भूतहरू समाज, गाउँ–घरमा पूज्यनीय र आदरणीय हुन्छन् ।
हिजोआज मामा भूतले निकै खुट्टा घुमाइरहेको देखिन्छ । चेलीबेटीहरूलाई नोकरी दिने प्रलोभन, तथा ठूल्ठूला मलको स्पातिर हाम्रै चेलीबेटीहरू गाहकी खोजेर यी मामाभूतहरूले हामी गोर्खेचेलीको इज्जत पानीमा मिलिरहेछ । अर्को पनि भूतको यहाँ उल्लेख गर्नुपर्दा, पुराण भूतको कुरा फेरि अर्कै छ । पुराण आयोजन गरिन्छ….पुराणभूतले भक्तजनद्वारा भेटीस्वरुप चढ़ाएका भेटी समेटी किसिम इन्जोई गरेको पनि देखिन्छ । पुराण सकेको पन्ध्र बीस दिनपछि जुन पुराणभक्तले नयाँ गाड़ी फेर्छन् तिनलाई पुराणभूत ढुक्कैले भन्दा हुन्छ ।
यस्ता भूतहरूमाथि कसैले पनि नजरदारी गरे, तिनीहरूका कामबारे समालोचना गरेको खण्डमा पानीभित्र बसी गोहीसित दुस्मनी गरेकै बराबर हुन्छ । यस्ता भूतहरूले आफ्नो प्रशंसा, जयजयकार बाहेक अरु कुनै किसिमको आलोचना, समालोचना मन पराउँदैनन् । आलोचना र समालोचना नसहने भूत विरुद्ध केही मुख खोल्यो कि आलोचक वा समालोचकलाई साटो फेर्न उस्ताद हुन्छन् । यसैकारण यस्ता भूतहरू सबै डराउँछन् । बरु यस्ता पिशाचहरूको जयगान गरेर, तिनीहरूको आदेश पालन गरेर, प्रशंसा गरिदिए कुनै पनि समय आपद–विपद आइलागेको खण्डमा तिनीहरू मन नपरी नपरी मदत गर्न अघि उभिन्छन् । यसैले यस्ता भूतहरू थाना–कचहरी, पञ्चायत तथा सरकारभन्दा पनि ठूला हुन् । यस्ता भूतहरूको राम्ररी सेवा गरे यी भूतराजाबाट आशीर्वाद र श्यावासी प्राप्त भइरहन्छ ।
यस्ता भूतहरू डाँठबाँठका साथ रहे पनि राति भने डरासरी भएर निदाउँने गर्छन् । यिनीहरूको मनभित्र एक प्रकारको डर र त्रासले वास गरिरहेको हुन्छ । यिनीहरूलाई वनको बाघले होइन तर मनको बाघले रातभरि चिथोरिरहेको हुन्छ । यिनीहरू डर चिन्ताले रातभरि जलाइरहेको हुन्छ । यिनीहरू जिउँदै मरिसकेका हुन्छन् । यी भूतहरू ज्यूँदो लाश मात्र हुन् । यस्ता भूतहरूलाई कातर पुरुष ठान्छु म । जो हजारौपल्ट मरिसकेका हुन्छन् तर तपाईहरू जस्ता वीरपुरुषहरू भने एकैपल्ट मात्र मर्नुहुन्छ ।
संसार यी भूतहरूकै मुट्ठीमा भए पनि मानु भरिसकेपछि यिनीहरू कुकुरभन्दा लाष्ट खतमा जिन्दगी बाँच्नुपर्छ । किनभने लोहाको वैरी लोहै हुन्छ भन्ने कुरो सबैलाई थाहा भएकै कुरो हो ।
अन्त्यमा एउटा मनको कुरा नभनी सकिनँ । यी डरभूत, विशेष पुराण भूतले प्रत्येक वर्ष आयोजन गरेको पुराणमा पुरानो गाड़ी साटेर नयाँ गाड़ी किनेका देख्दा मलाई पनि एउटा गतिलो पुराण आयोजन गर्ने झोंक चलिरहेछ । तर ती पुराणभूत जस्तो म एक्सपर्ट भूत हुन नसकुँला, अनि गाड़ी पनि थुपार्नु नसकुँला । आ… होस् न है …गाड़ी थुपार्न नसके पनि ब्राण्डेड ब्राण्डेड साड़ी फेर्न सकुँला कि !
यतिबेला तपाईंहरूले पुराणनी भूत भन्नुहोस् कि साड़ीभूत भन्नुहोस् कुनै मतलबै छैन ।
०००
खोलाचन्द फाप्री, सिलगड़ी, भारत
Subscribe
Login
0 Comments
Oldest







































