सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यस पटकको फित्कौली वार्ता प्रा.गोविन्दराज भट्टराईसँग

साहित्यमा डिजिटल माध्यम खुलेपछिको पहिलो इलेक्ट्रोनिक माध्यम प्रयोग गर्ने तत्व नै फित्कौली प्रकाशन हो । पेपर माध्यमको तुलनामा यो अनेक गुणा लोकप्रिय भइसक्यो । सम्पूर्ण रूपले हास्यव्यङ्ग्यमै समर्पित भई यो उपलब्धि सानो होइन । यसले ठूलो हाँकलाई स्वीकार गरेको छ । प्रत्येक दिन नयाँ स्वर उदाएको देख्न पाइन्छ । — प्रा. गाेविन्दराज भट्टराई

Nepal Telecom ad

नेपाली साहित्यलाई विश्वसाहित्यसँग एकाकार गराउन कष्टसाध्य प्रयत्नमा जुट्नु भएका डा. गोविन्दराज भट्टराईलाई यो फित्कौली वार्ताका लागि निकै पटक झम्टियो । धुम्रलोचन शर्माको छोपुवा नामले तीस चालिसको दशकतिर बाक्लै हास्यव्यङ्ग्य सिर्जना लेख्न जाँगर पोख्ने डा. भट्टराईलाई छेकारो मारेर यसपटक भने फित्कौलीले फुत्किनै दिएन । प्रस्तुत छ- समालोचक प्रा.गोविन्दराज भट्टराईसँग गरिएको फित्कौली वार्ता ।

० त्रि.वि. सेवाबाट निवृत्त हुनु भएको पनि निकै भयो । दिनचर्या कसरी बित्दैछ ?
— धेरै काल किला दाम्लामा बितेको जिन्दगी फुक्का भएपछि भीर, पाखा, चौरी, नागी र मैदानमा कसरी रमाएर नाच्छ- त्यही छ मेरो अहिलेको चाल । कलम, कापी र पुस्तक हामी तीन भएसी अर्को साथी चाहिएको छैन ।

० पाको वयमा देखिने समस्या बाहेक अरु कुनै स्वास्थ्य समस्या पनि झेल्दै हुनुहुन्छ कि ?
—आजका मितिसम्म केहीले दृष्टि लाएको छैन । पाको वय नै मेरो भित्र हो नत्र यो काँधको जुवा झिक्न पाइने थिएन ।

० डा.गोविन्दराज भट्टराईको विचारमा हास्यव्यङ्ग्य के हो ?
—अतिशायोक्ति अलंकार अर्थात् उपहास भाव प्रयोग गरी मानिसको मूर्खता वा दुष्टतालाई ताक्दै आन्द्राभूँडी निकाल्ने कर्म नै हास्यव्यङ्ग्य हो । यसले खासगरी समकालीन र अन्य सान्दर्भिक विषयलाई मट्याङ्ग्रा हान्छ । यस जुक्तिले निर्मित एउटा नाटक वा फिल्म, आख्यान, गीत जुनसुकै विधा हुन सक्छ । बाल्यकालमा सुनेको दार्जेलिङतिरको एउटा गीत छ कहिलेकाहीं गाउँछु;
सिरिमा सोते बाख्रालाई बोते कुखुरालाई अन्डरपेन
कान्छीको पोइ ता भस्मेकै ठुटा नि हौ मै एस्तो जेन्टुरम्यान ।

० यहाँको विचारमा हास्य र व्यङ्ग्य लेखनमा भाषाको खेल भनूँ या भूमिका कस्तो रहेको हुन्छ ?
— त्यो भनेको दुईटा जुक्तिको मिलन हो— हाँसो मात्र उठ्ने कुरा गर्ने कि लक्षितलाई पेच पर्नेगरी छड्के पनि हान्ने । एउटा हास्य हो अर्को व्यंग्य । त्यहाँ मिसिने अर्को भँगालो छ विडम्बना (आइरोनी) । यसलाई नेपालीमा ‘मर्लान्त’ भनिन्छ ।

० नेपाली हास्यव्यङ्ग्यका पाठकहरूले यहाँका एक समयका हास्यव्यङ्ग्य कविता र निबन्धहरू सम्झिरहेका छन् । यहाँले चाहिँ भुसुक्कै बिर्सनु भएको हो ?
— म उद्युम गर्थें भाइ । २०२९ सालदेखि काठमाडौं पसें, जिन्दगी हास्य र व्यंग्य दुवै थियो र त्यसबेला लेख्ता धेरै कविता र लेख पनि बने । पछि साँइलो भाइ (लक्ष्मण गाम्नागे) आयो, अरु सदस्य पनि थपिए, कमल घिमिरे जस्ता । माधवा, खगेन्द्र, भोला— हामी हास्यव्यंग्य नाटक लेख्ने, खेल्ने समेत भयौं । भाइहरू पत्रिका निकाल्न थाले रकेट नामक । निकै अघि बढ्यौं । मैले नेतृत्व गरें, भाइहरूले सिके । तिनमा पनि साइँलाले बाटो पक्रियो । त्यसपछि उसले मलाई छोडेर हिंड्यो र म एक्लो भएं । अनि मन मर्‍यो । पछि धनकुटा बसेर लेखें, काठमाडौं फर्केर झन् लेखेँ । ती रचना खोजेर पुस्तक निकालौं भन्छु— साइत जुर्‍या होइन । एक संग्रह कविता एक संग्रह लेख होलान् ।
मेरा त्यसपछिका निबन्ध र आख्यानमा त्यो शिल्पलाई मसलाको रूपमा नजानी प्रयोग गर्दैछु तर साइँलाको जस्तो त्यसैको दाल तिहुन बनाएर छाकै टार्ने गरेको चाहिँ छैन ।

० तपाईंको पहिलो प्रकाशित हास्य वा व्यङ्ग्य रचना कुन हो, त्यो केमा कहिले छापिएको थियो ?
— कति कुराको मैले फुस राखिन; त्यो पनि मेरो साइँला भाइलाई साेध्नु होला । ऊ मेरो डिट्ठा र विचारी दुवै हो ।

० आफ्ना हास्यव्यङ्ग्य सिर्जनाबारे आफैले भन्नुपर्दा यहाँ के भन्नुहुन्छ ?
—परिचय स्थापित हुने गरी संग्रह निकाल्न नभ्याउनु ठूलो कमजोरी हो । एउटा स्वतन्त्र पुस्तक त्यस शिल्पमा ननिकाली के भन्नु र ? अघि भनें; दुई किताब पुग्ने माल होलान्— कोही लुकेका, छरिएका र कुनै धमिराले चाटेका गरी ।

० नेपाली हास्यव्यङ्ग्यको ऐतिहासिक विरासतबारेमा केही प्रकाश पारिदिनु न ?
— भानुभक्तको लामखुट्टे, उयिाँ, उडुस कविता हेरौं । नेपाली साहित्यको प्रारम्भिक कालदेखि आजसम्म यो कुनै कालमा छुटेको छैन । हास्य भाव वा रस संस्कृत परम्पराबाट आएकाले नेपालीमा यसको बीउ शुरुमै पस्यो । प्रत्येक युगले त्यसलाई मलजल गरेकै छ ।
यो निशुल्क गरेको खेताला कर्ममा योभन्दा बढी कुरा खोल्दिन । फित्कौलीले मलाई लेखाएर कसैको एम फिलका थेसिस लेख्ने सामग्री बटुल्ने जिम्मा लिएको पनि हुनसक्छ । सबै कुरा गोप्य रूपले हिजोआज सेटिङमा चल्ने जमाना छ ।

० यहाँ समालोचक व्यक्तित्व पनि हुनुहुन्छ । नेपाली हास्यव्यङ्ग्यको वर्तमान कस्तो देख्दै हुनुहुन्छ ?
— नवै रस सालाखाला मिसिएरै उत्पन्न हुन्छन, प्रत्येक युगमा । तर महान् स्रष्टाका हातले मात्रै युगान्तकारी कृति रच्न सक्छ । उनै लुइँटेल, अर्याल, पिँडालीको युग सम्झौं । हाम्रामा भएका वर्तमानकाहरूमा अमर साहित्यभित्र यो शिल्प घुसाउने त्यो उचाइका जन्मेका छैनन् ।

० हास्यव्यङ्ग्य लेखनमा देखिएको नवपुस्तालाई यहाँ कस्तो सल्लाह दिनुहुन्छ ?
— त्यस्तो विशेष पठनमा म पसेको छुइन । फित्कौलीमा आएका गायत्री परिरोशनी, चिरञ्जीवी दाहाल, काशीनाथ मिश्रित, अप्सरा सुनार, नगिता लेप्चा र राजेन्द्र कार्की जस्ता स्रष्टा पढ्दा आश लाग्छ । तर हाम्रो भाषाले सानैदेखि हुर्किएका कति शब्द, पद, बिम्ब, उखान, टुक्का समयका नयाँ पहरामा त्यो तत्व पहिले झैं रसाउँदैन । मुखमुखमा आउन धेरै लाग्छ । नवपुस्ताका स्रष्टालाई एउटा सल्लाह दिन्छु— “भरसक यता नलाग, यो क्षेत्र डेन्जर छ ।” “लाग” भनेर फकाउँदा टेर्दैनन् बरु यसरी “नलाग” भन्दा के के न रछ भनी ओइरिन्छन् कि ?
हेर्नोस न— हगाईभन्दा पदाई ठूलो, हिस्स बुढी खिस्स हरिया दाँत, नानीभन्दा आची ठूलो….. कति विम्बात्मक अभिव्यक्ति समयले फ्याँक्तै लग्यो । धार्नी न बिसौली दुई हातले उचाली, बाहुनलाई खाइ जाडो, धोतीका जुम्रो टुप्पीमा, सिन्की खाँदे जसरी विकाश नामको राच्छेस समयको आगमनमा नाच्न थालेसी भाषाको पनि एकपत्र काँचुली खुस्काइदिन्छन् । नयाँ पुस्ता ती प्रयोग सुन्न पढ्न असमर्थ हुन्छ । फेरि नयाँ हतियार बनाउनु पर्छ के गर्नु ? पुस्तान्तरण छैन ।

० अघिल्लो पुस्ताको हास्यव्यङ्ग्य लेखन र अहिलेको लेखनमा के भिन्नता देख्नुहुन्छ ?
— कुुरो गारो छ । एक समयमा जुन शब्द र पदले हास्यभाव उत्पन्न गर्थे ती आफैं हराएर गए । नयाँ खोज्न र तिनले स्थापित हुन समय लाग्छ फेरि । नवरसमा एक मात्र हो यो । त्यस्तो केन्द्रीय स्थान कुनै कुराले ओगट्न सक्तैन । आदर्शवाद गयो, यथार्थववाद गयो, मनोविज्ञान गयो, प्रयोगमा छ कुरो त्यसलाई पनि ऐले साइबर पसेर सारा डिलिट हान्दैछ । त्यस्तै हो जुन भाका, शैली, विचार, सिद्धान्त पनि छालका छाल आरहन्छन, नवीकरण भइरहन्छ । सबै चाहिं खुस्काएका छैनन त्यसैले “लम्पी स्किन” ले भेटेको वस्तुभाउ भएर पनि बाँचेको छ यो तत्व । एक शहरमा पाँच सौ साहित्यकार हुन्छन् परन्तु शहरको एक हास्यव्यंग्यको पुजारी भेट्नुहुन्छ ? तपाई बरु कसरी झुक्किएर फँस्नुभो यो पासामा ?

० अहिलेको अवस्थामा हास्यव्यङ्ग्य लेखनले उधिन्नुपर्ने बेथितिहरू कुन कुन होलान् ?
मुख्यगरी जहाँ पनि राजनीतिकर्मी नै, राननैतिक समूह (दल), राजनैतिक निर्णय, कतिपय दर्शन/मान्यता र लोकप्रिय संस्कृति नै व्यङ्ग्यका तारा हुन्छन् । सबभन्दा ठूलो तारो यहाँ पनि सरकार हुन्छ, त्यसले गरेका वा बिगारेका काम हुन्छन् । यस्ता कुरा नित्य जन्मिरहन्छन् । सिपालुले गुलेली मटेंग्रा सधैं तयार राख्नु पर्छ । अझ अब ता धनुकाँण नताकी हुन्न है ।
महान् अंग्रेजी कवि लर्ड बाइरोनले भनेका छन्— “मूर्खहरू मेरा विषय हुन्, व्यङ्ग्य मेरो गीत बनोस् ।” ।

० नेपाली हास्यव्यङ्ग्यले विश्वस्तरमा प्रतिष्पर्धा गर्न के के गर्नु पर्ला ?
— सर्वप्रथम विश्वसाहित्यको हास्यव्यङ्ग्य शैली पढ्नुपर्छ । त्यस अनुकुल हाम्रो उठाउने प्रयत्न गर्नु पर्दछ । तर यो एक असम्भव सल्लाह हो । तिनको अनुवाद छैन, कैले आएर कैले पढ्नु ? हास्यव्यङ्ग्य भन्ने कुरा भाषा संस्कृति र परम्पराको गहिरो अभ्यासमा बनेको हुन्छ । त्यसको अनुवाद असम्भव प्राय हुन्छ । मैले सेलेक्टेड नेपाली एसेजको लागि भैरव अर्यालका दुई निबन्ध दर्फर्‍याएर अनुवाद गरें तर त्यस होडले मलाई तीन महीना विरामी पार्‍यो । विश्व नताकौं फकाएर आफ्नै लेखक बढाऔं । पाठक बढाऔं ।

० नेपाली साहित्यको इतिहाससँग जोडिएको हास्यव्यङ्ग्यको समग्र मूल्याङ्कन किन नभएको होला ?
—उत्पादन थोरै छ तर यस्तै हो विस्तारै संग्रह बढ्दै जान्छ । मूल्याङ्कन पनि । मूल्याङ्कन भएको छैन भन्न हुँदैन ।

० नेपाली हास्यव्यङ्ग्यको प्रवर्धनका निम्ति फित्कौलीले थालेको हास्यव्यङ्ग्य अभियानलाई यहाँका सुझावहरू के के छन् ?

— साहित्यमा डिजिटल माध्यम खुलेपछिको पहिलो इलेक्ट्रोनिक माध्यम प्रयोग गर्ने तत्व नै फित्कौली प्रकाशन हो । पेपर माध्यमको तुलनामा यो अनेक गुणा लोकप्रिय भइसक्यो । सम्पूर्ण रूपले हास्यव्यङ्ग्यमै समर्पित भई यो उपलब्धि सानो होइन । यसले ठूलो हाँकलाई स्वीकार गरेको छ । प्रत्येक दिन नयाँ स्वर उदाएको देख्न पाइन्छ ।

० फित्कौलीले यो चाहिँ कुरो सोधिदिए हुन्थ्यो भन्ने लागेको कुनै प्रसङ्ग छ कि ?
— “तपाईंको हास्यव्यंग्य निबन्ध वा कविताको एक पुस्तक हामी आफ्नै खर्चमा छापिदिन्छौं; कहिलेसम्म हाम्लाई पाण्डुलिपि दिनुहुन्छ ?” भनेर सोध्ला कि लागेको थियो, सोधेन ।

००

२६ साउन २०८०
सुकर्मटोल, कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नकच्चरा

नकच्चरा

आर.सी. रिजाल
चौकीपावर

चौकीपावर

नगिता लेप्चा राई
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भाते सत्ता

भाते सत्ता

महादीप पाेखरेल
ब्याक पेन

ब्याक पेन

सुरेश राई
क्या क्या दिमाग हा हा !

क्या क्या दिमाग हा...

रामकुमार पाँडे