यस पटकको फित्कौली वार्ता हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मासँग
आज हाम्रो विकासको मोडेलले पर्याप्त हिलो-धूलो उत्पादन गरेको छ । अघाउन्जेल खान-खुवाउन पुग्छ । त्यसैले आज बाहिरी शत्रुलाई नसके भित्री शत्रु-मित्रु सबैलाई धूलो खुवाउनु परम् पुरुषार्थ हो । धूलो खान-खुवाउन नपाए बरु अपमानित होइएला । ठूला-साना सबैलाई खान-खुवाउन धूलाको स्टक पर्याप्त छ । — हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मा
‘मेरा हास्यव्यङ्ग्यलाई डोर्याउने मुख्य धरातल मेरो समाज र समय हो ।’ — हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मा
नेपाली हास्यव्यङ्ग्यमा चालिसको दशकमै ‘म त अप्रिल फूल भएछु’ जस्तो हास्यव्यङ्ग्य कृति प्रकाशित गरेर चर्चित हुनु भएका चोलेश्वर शर्मा पछिल्ला दशकमा राजधानीका लागि गुमनाम जस्तै रहनु भयो । तथापि उहाँको हास्यव्यङ्ग्य लेखन गुमनाम थिएन भन्ने कुरा गत असार ४ गते लोकार्पित हास्यव्यङ्ग्य सङ्ग्रह ‘सगरमाथा एक पहाडको नाम होइन’ कृतिले प्रमाणित गरिदिएको छ । पाल्पा निवासी शर्मा लामो समय प्राध्यापन सेवा अर्पण गरि अहिले सेवानिवृत हुनुहुन्छ । शर्माको पहिलो प्रकाशित हास्यव्यङ्ग्य रचना ‘अब तपाईं के गर्नुहुन्छ ?’ हो । यो हास्यव्यङ्ग्य निबन्ध ‘मधुपर्क’ अङ्क ४, भदौ २०३४ मा प्रकाशित छ । त्यस यता शर्माले निरन्तर लेखिरहनुभयो । ‘मेरा हास्यव्यङ्ग्यलाई डोर्याउने मुख्य धरातल यही मेरो समाज हो, यही मेरो समय हो, यसका विकृति विसङ्गति हुन् ।’ यस्तो धारणा व्यक्त गर्ने शर्माका उल्लेख्य सङ्ख्यामा हास्यव्यङ्ग्य निबन्धहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । नेपाली हास्यव्यङ्ग्यमा उहाँको विशिष्ट योगदानको कदर गर्दै फित्कौली अनलाइन मिडियाले ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८०)’ द्वारा चोलेश्वर शर्मालाई सम्मानित गर्ने भएको छ । आगामि भदौ ९ गते आयोजना गरिने फित्कौलीको खित्कौली सभा-२ मा उहाँलाई उक्त सम्मान अर्पण गरिने छ । — प्रधान सम्पादक नरनाथ लुइँटेल
० नमस्कार । यहाँको सेवा निवृत दिनचर्या कसरी बित्दै छ ?
— थोरै बाहिरफेर र अलिकति हात परेका पुुस्तक पत्रिका चहार्नु अनि थोरै चिया-चर्चा भन्दा धेरै चियो-चर्चोमै दिन बित्दै छन् !
० स्वास्थ्य स्थितिकस्तो छ, बुढ्यौलीमा देखिने समस्या बाहेक कुनै दीर्घ रोग ?
— स्वास्थ्य ठिकै छ ।
० चोलेश्वर शर्माको विचारमा हास्यव्यङ्ग्य के हो ?
— हाम्रा स्वाभाविक, प्राकृतिक स्थिति वा आचरणमा देखिने अस्वाभाविकता वा आचरणमा अप्राकृतिकताको परिणाम हास्य हो र विसङ्गतिले व्यङ्ग्य जन्माउँछ जसमा सुधारको अपेक्षा पनि हुन्छ । हास्य र व्यङ्ग्य दुई अलग साहित्यिक प्रभाव हुन् तर हाम्रामा सजिलोका लागि नारिएर आउँछन् ।
० यहाँ हास्यव्यङ्ग्य लेखनमा कसरी प्रवेश गर्नु भयो ?
— हास्यव्यङ्ग्यमा म कसरी प्रवेश गरेँ भन्ने प्रश्नको उत्तर मैले दिन नसक्ने छु किनभने हास्यव्यङ्ग्य दरवारका प्रवेशद्वार अघि उभिएको छु बीस तीस वर्षअघिदेखि तर द्वारको भोटे ताल्चा खुल्दै खुल्दैन । हातले खुलेन । लातले पनि खुलेन । टाउकै ठोक्नु पर्ने पो हो कि ? विचार गर्दै छु ।
० स्कुले जीवनमा पनि हास्यव्यङ्ग्य कविता निबन्ध लेख्नुभएको थियो कि ?
— अहँ, स्कुले जीवनमा हास्यव्यङ्ग्य कविता वा निबन्ध लेखिनँ ।
० तपाइँको पहिलो प्रकाशित हास्य वा व्यङ्ग्य रचना कुन हो, के मा कहिले छापियो ?
— मेरो पहिलो हास्यव्यङ्ग्य निबन्ध रचना ‘अब तपाईं के गर्नुहुन्छ ?’ हो । यो मधुपर्क अङ्क ४ भदौ २०३४ मा प्रकाशित भएको थियो ।
० एकजना प्राध्यापक व्यक्तित्व हास्यव्यङ्ग्यमा रमाउने परिस्थिति कसरी निर्माण भयो ?
— प्राध्यापनतर्फ जसोतसो चलिरहे पनि लेखनमा सिकारु हुँदा जेजस्तोतिर कलम चल्यो त्यतैतिर लागेको हूँ । अझै सिकारु नै छु जस्तो लाग्छ आफूलाई । प्राध्यापन-कर्मको रुटिनग्रस्त र एकनासे जीवनको निरसतालाई थोरै भए पनि कम गर्न यता लागेँ ।
० पचासकै दशकमा ‘अप्रिल फूल भएछु’ प्रकाशित भएको थियो । हास्यव्यङ्ग्यका पाठकले यहाँको दोस्रो कृति पाउन झण्डै तीन दशक कुर्नु पर्यो नि ! यसको अन्तर्कथा बताइ दिनू न ।
— ‘म त अप्रिल फूल भएछु’ पचास होइन चालिसकै दशक वि.स. २०४२ मा प्रकाशित भएको हो । अर्को कृतिका लागि मैले तीन दशक कुर्नु परेको मूल कारण मेरै अल्छिपना र प्रकाशनप्रति उदासीनता नै हुन् ।
० यहाँको एउटा कृति प्रज्ञा प्रतिष्ठानतिर धेरै समय धूलो खाँदै बसेको थियो भन्ने सुनिन्छ नि । हो र ?
— प्रकाशनका लागि कहाँ कहाँ दिएँ भन्ने कुरा विस्मृतिका पत्रभित्र गइसके । जहाँ दिएको भए पनि प्रकाशित नगरिदिएकामा प्रकाशन सम्बन्धित संस्था र तिनका मालिकहरूलाई मुरी मुरी धन्यवाद भन्छु किनभने तिनले मेरा रचनाको र मेरो पनि हैसियत देखाइदिए । रह्यो कुरा अर्को प्रकाशोन्मुख कृतिले धुलो खाँदै बसेको कुरो भन्ने सन्दर्भ । हाम्रा पूर्वजहरूले बाहिरी शत्रुलाई धूलो चटाउँथे । किनकि त्यसबेला देशमा धूलो पर्याप्त थिएन, चटाउन चाट्न मात्र पुग्थ्यो । आज हाम्रो विकासको मोडेलले पर्याप्त हिलो-धूलो उत्पादन गरेको छ । अघाउन्जेल खान-खुवाउन पुग्छ । त्यसैले आज बाहिरी शत्रुलाई नसके भित्री शत्रु-मित्रु सबैलाई धूलो खुवाउनु परम् पुरुषार्थ हो । धूलो खान-खुवाउन नपाए बरु अपमानित होइएला । ठूला-साना सबैलाई खान-खुवाउन धूलाको स्टक पर्याप्त छ ।
० अब यहाँको तेस्रो हास्यव्यङ्ग्य कृति पनि.हामीले पढ्न पाउँछौँ ?
— तेस्रो कृतिका कुरा मेरा मनमै छैनन् । तैपनि ‘दैवले साँचे कालले बाँचे’ केही समयमा त्यो पनि सम्भव होला तर त्यसले प्रकाशन अघि धूलो चाट्ने-खाने छैन । प्रकाशित भएपछि खाला- छुट्टै कुरो भयो ।
० अवकाश पछिको समय अब लेखनमै हो ? केही योजना भए बताउनोस् न ।
— म योजनामा जिउने मान्छे परिनँ । मनले लेखूँ लाग्छ, शरीरले सक्छ-सक्दैन । भोलिले बताउला ।
० तपाइँको हास्यव्यङ्ग्य लेखनलाई डोर्याउने मुख्य धरातल चाहिँ कुन हो ?
— मेरा हास्यव्यङ्ग्यलाई डोर्याउने मुख्य धरातल यही मेरो समाज हो । यही मेरो समय हो । यसका विकृति विसङ्गति हुन् । मैले अनुभूत गरेका सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, जीवनका विकृति-विसङ्गतिका विविध पाटाहरू नै धरातल ।
० नेपाली हास्यव्यङ्ग्य लेखनको अबको बजार कस्तो देख्नु हुन्छ ?
— आज जताततै छोटो, छरितो, छिटो र स्मार्टको मात्र समय छ भनेजस्तो हल्ला पनि छ । मोटाघाटा किताबहरूको प्रकाशन र तिनका पाठकहरू पनि आफ्ना ठाउँमा छन् । ऊर्जाशील हास्यव्यङ्ग्यका सर्जकहरूका कारण यसको बजार सन्तोषजनक नै छ भन्ने ठान्छु ।
० हामीकहाँ प्रदान गरिँदै आएका पुरस्कारबारे तपाइँको धारणा ?
— हामीकहाँ प्रदान गरिँदै आएका पुरस्कार बारे मेरा धारणा स्पष्ट छन् । उदारमना संस्थापकहरूले पुरस्कार स्थापना गरेकै छन् । प्राप्तकर्ताले पनि झन् उदार हृदयले पुरस्कार ग्रहण गर्दै आएका छन् । दुवै पक्ष नै धन्यवादका पात्र छन् । स्थिति यस्तै रहे कुनै पनि नेपाली साहित्यकार पुरस्कारबाट वञ्चित हुने छैनन् । सुखद कुरो ।
० तपाइँ हास्यव्यङ्ग्य निबन्ध रचना नै किन लेख्नु हुन्छ ?
— निबन्ध- अरू केही लेख्न नजान्ने, प्रतिभाहीन र स्तरहीन लेखकका रचना हुन् भनेर अङ्ग्रेजीका समीक्षक जर्ज क्य्राब महोदयले उहिल्यै भनेथे । ती उहिलेका कुरा खुइलिएका छैनन् । त्यसमाथि हास्यव्यङ्ग्य त कुरै भएन, कलम समाउन जान्ने जो कोहीले पनि लेख्न सक्छ । यसैले पनि मैले यही हास्यव्यङ्ग्यमात्र लेख्ने प्रयास गरेको हूँ । ज्यादै सजिलो छ ।
० फित्कौली मार्फत हास्यव्यङ्ग्य लेखनमा आइरहेको नवपुस्तालाई के सल्लाह दिनुहुन्छ ?
— ‘फित्कौली’ मार्फत् हास्यव्यङ्ग्यमा आइरहेको नवपुस्ताले जाँगर गरेको छ । हास्यव्यङ्ग्य लेख्ता कामेको-डराएको छैन । नवपुस्तालाई सल्लाह दिने त मेरो हैसियत होइन किनभने लेखनका हिसाबले म पनि नवपुस्ताकै दौँतरी अझै अभिनव पुस्ताको हूँ । फुलेका केशले मेरा रचना राम्रा हुने, स्तरीय हुने त पक्कै होइनन् । सबैलाई राम्रो लेख्न सक्नुहोस् कामना मात्र गर्छु ।
० फित्कौलीले यो चाहिँ कुरो सोधिदिए हुन्थ्यो भन्ने लागेको कुनै प्रसङ्ग ?
— ‘सबैतिरबाट उपेक्षित, अवहेलित हुनु र गाली, दुर्वचन आदि मात्र कमाउन यसतर्फ किन लागेका हो ?’ भन्ने प्रश्न छुट्यो कि ?
०००
— प्रस्तुति : फित्काैली डटकम
Subscribe
Login
0 Comments
Oldest