सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माछो ! माछो ! चेपागाँडो !

साँच्चै नढाटी भन्नुपर्दा गलत या दोषी त सधैं तपैं, ऊ, मजस्ता भुइँमान्छे नै हौँ, जो मुख, आँखा, कान थुनेर खोकिलामा हात घुसारेर बस्छौँ अनि सास फेर्दैमा आफूलाई जीवित छौँ भन्ने भ्रममा मक्ख परिरहन्छौँ । कि कसो हो मित्र ?

Nepal Telecom ad

सुमी लोहनी :

जिन्दगीको चङ्गा चेट भएर चित्रगुप्तकहाँ हिसाबकिताब फछ्र्यौट गर्न जाने वेलासम्ममा पनि यो टेन्सनको भने पेन्सन पाक्ने भएन ए बा ! बरु झन् झन् उपरिमाथि थुपरी भने झैं बढोत्तरी भइरहेको छ, भइरहेको छ र नित्य नयाँ नयाँ टेन्सनले ट्याप्प पारेर टसमस नभई टनटन टन्काइरहेका छन् ।

तपैंलाई त थाहा छदै छ मित्र ! आफ्नो जीवनको आर्थिक पाटोको जग निर्माण गर्ने बेलामा देशका भविष्यका कणर्धारहरूको स्वर्ण भविष्यको सुनौलो सपना देख्दै प्रफुल्लित भई चक र डस्टर समातियो । वर्षौंदेखि डस्टरले मेट्दामेट्दा कालोपाटी सेतो र आफ्नो टाउको काँसधारीजस्तै भइसक्यो । भुराभुरीका सानाठूला समस्या, कमीकमजोरी आदि प्रष्ट देख्नसक्ने आँखामा बाक्लो चस्माले गजधम्म परेर स्थायीरुपमा आसन ग्रहण गरिसक्यो । आफ्नो ज्योति धमिलिदै गएका दुई टोड्कालाई ज्ञानको ज्योति फैलाउन सहायक चस्मालाई आफ्नो डाँडीमा विराजमान गराउन पाएकामा पकौडे नाकको शान बढेर सप्रिएको लौकालाई पनि माथ गर्नसक्ने भइसकेको थियो तर … तर आज आफैंले सिकाएका शिष्यशिष्याका तिखा र धारिला तीरजस्ता प्रश्नले त्यही नाक च्वाट्टै भएर कही देखाउन नसकिने भएको छ ।

कुरा के भने नि, आफूले टुप्पी कसेर जे जति कुरा सिकियो, जानियो त्यही कुरा आफ्ना चेलाचेलीलाई सिकाइयो । तर आज आफूले सिकेका, जानेका र सिकाएका कुरा असत्य साबित भए । उहिलेका ती सत्यसाँचा कुरा अहिले खुइलिए र ती खुइलिएर विरुप भई आफ्नो अस्तित्व गुमाउने अवस्थाका कुरालाई यथास्थानमा छाडी सिर्फ एउटा कुरोको पुच्छर यसो छोइहेरौँ मात्रै कि- कुनै पनि तरल पदार्थलाई प्रयोग नगरीकन जतिसुकै जतन गरेर राखे पनि केही समयपछि नै त्यसको मात्रा वा वजन क्रमशः घट्दै जान्छ, गन्ध र रुपमा पनि परिवर्तन आउँछ । तर ठोस पदार्थ अझ त्यसमा पनि धातुजन्य पदार्थलाई प्रयोग नगरीकन सुरक्षित तरिकाले जतिसुकै समय राखे पनि त्यसको तौल वा मात्रा अनि रङ पनि यथावत रहन्छ भनेर ज्ञान र विज्ञानले मानेको, स्वीकारेको सत्य कुरो त सबैलाई घामजत्तिकै प्रष्ट थाहा भएकै हो । तपैंले, मैले या भनौँ सबैले सिकेको, जानेको र सिकाएको कुरा पनि यही हो । तर यहीनेर आएर आज ज्ञान र विज्ञान फेल भएको छ अनि सत्यको अगाडि स्वरवर्णकाे पहिलो अक्षर टपक्कै टाँसिएको छ । यसरी आफ्नो मुखमै स्वरवर्णकाे पहिलो अक्षर अर्थात् ‘अ’ टाँसिन आएपछि बिचरा सत्य चैं कतै गायब भएको छ ।

माछो ! माछो ! माछो ! भ्यागुतो ! फेरि, माछो ! माछो ! माछो ! भ्यागुतो ! हैन, हैन यसपटक त माछै समातियो भनेर गमक्क परियो । केही समयसम्म त त्यो जसले, जसरी, जताबाट हेर्दा पनि गज्जबको ठूलो माछो नै हुन्छ, देखिन्छ । तर केही समयपछि अचानक यामानको सुनौलो माछो त इत्रु चेपागाँडोको रुपमा पो रुपान्तरण हुन्छ ए बाबा ! यस्तो देखेसुनेपछि विद्यार्थीहरू यस्तो कसरी, किन भयो … ? जादुले यसो भएको हो कि ? आदिइत्यादि भनेर प्रश्नका वाण हानेकोहान्यै गर्छन् । कि त हामीलाई गलत सिकाइयो, पढाइयो, बुझाइयो कि त त्यत्रो बडेमानको माछो इत्रु ध्वाँसे चेपागाँडोमा रुपान्तरित भएको कुरा झुटो हो … । हामीलाई सत्यसाँचो जबाफ चाहियो … भन्छन् ।

अब तपैं नै भन्नुस् त, सत्य आफ्नो अपमान सहननसकी अलप भएको र लाज पनि लजाएर लज्जित भई कुलेलम ठोकिसकेको वेलामा के भनेर विद्यार्थीहरूलाई जबाफ दिऊँ ? एक पटक मात्रै यस्तो भएको भए त भुराभुरीलाई यसोउसो भनेर चित्त बुझाई थामथुम पार्नुहुन्थ्यो तर बारम्बार यस्तै भइरहेपछि के भन्नु, के नभन्नु भयो नि बरिलै ! वास्तवमा विद्यार्थीहरूका प्रश्न गलत भने छैनन् ।

अब कानुनको जतिसुकै लामो हात भए पनि कहिल्यै छुन र मैल्याउन त के औंलो ठड्याउन पनि नसक्ने, सायद अमृत पान गरेर अजरअमर भएका, दूधले नुहाएका ठूलाबडा महामानवहरूले भनेका, गरेका कामकुरा र उनीहरूले गठन गरेका उच्चस्तरीय जाँचबुझ आयोग अथवा छानबिन समितिले पेस गरेका फाइलका सत्यतथ्य कुरा त कुनै पनि हालतमा गलत या बेठिक हुँदैहुँदैनन्, हुनैसक्दैनन् । राम ! राम ! यस्तो सोच्नु पनि पाप हो, अक्षम्य अपराध हो ।

त्यसोभए गलत चैं को हो त …?? भन्नुहोला । साँच्चै नढाटी भन्नुपर्दा गलत या दोषी त सधैं तपैं, ऊ, मजस्ता भुइँमान्छे नै हौँ, जो मुख, आँखा, कान थुनेर खोकिलामा हात घुसारेर बस्छौँ अनि सास फेर्दैमा आफूलाई जीवित छौँ भन्ने भ्रममा मक्ख परिरहन्छौँ । कि कसो हो मित्र ?

०००
भाटभटेनी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मूषक माहात्म्य

मूषक माहात्म्य

सुमी लोहनी
दसैँ आयो रे !

दसैँ आयो रे !

सुमी लोहनी
डाक्’साप

डाक्’साप

सुमी लोहनी
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी