साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माछो ! माछो ! चेपागाँडो !

साँच्चै नढाटी भन्नुपर्दा गलत या दोषी त सधैं तपैं, ऊ, मजस्ता भुइँमान्छे नै हौँ, जो मुख, आँखा, कान थुनेर खोकिलामा हात घुसारेर बस्छौँ अनि सास फेर्दैमा आफूलाई जीवित छौँ भन्ने भ्रममा मक्ख परिरहन्छौँ । कि कसो हो मित्र ?

Nepal Telecom ad

सुमी लोहनी :

जिन्दगीको चङ्गा चेट भएर चित्रगुप्तकहाँ हिसाबकिताब फछ्र्यौट गर्न जाने वेलासम्ममा पनि यो टेन्सनको भने पेन्सन पाक्ने भएन ए बा ! बरु झन् झन् उपरिमाथि थुपरी भने झैं बढोत्तरी भइरहेको छ, भइरहेको छ र नित्य नयाँ नयाँ टेन्सनले ट्याप्प पारेर टसमस नभई टनटन टन्काइरहेका छन् ।

तपैंलाई त थाहा छदै छ मित्र ! आफ्नो जीवनको आर्थिक पाटोको जग निर्माण गर्ने बेलामा देशका भविष्यका कणर्धारहरूको स्वर्ण भविष्यको सुनौलो सपना देख्दै प्रफुल्लित भई चक र डस्टर समातियो । वर्षौंदेखि डस्टरले मेट्दामेट्दा कालोपाटी सेतो र आफ्नो टाउको काँसधारीजस्तै भइसक्यो । भुराभुरीका सानाठूला समस्या, कमीकमजोरी आदि प्रष्ट देख्नसक्ने आँखामा बाक्लो चस्माले गजधम्म परेर स्थायीरुपमा आसन ग्रहण गरिसक्यो । आफ्नो ज्योति धमिलिदै गएका दुई टोड्कालाई ज्ञानको ज्योति फैलाउन सहायक चस्मालाई आफ्नो डाँडीमा विराजमान गराउन पाएकामा पकौडे नाकको शान बढेर सप्रिएको लौकालाई पनि माथ गर्नसक्ने भइसकेको थियो तर … तर आज आफैंले सिकाएका शिष्यशिष्याका तिखा र धारिला तीरजस्ता प्रश्नले त्यही नाक च्वाट्टै भएर कही देखाउन नसकिने भएको छ ।

कुरा के भने नि, आफूले टुप्पी कसेर जे जति कुरा सिकियो, जानियो त्यही कुरा आफ्ना चेलाचेलीलाई सिकाइयो । तर आज आफूले सिकेका, जानेका र सिकाएका कुरा असत्य साबित भए । उहिलेका ती सत्यसाँचा कुरा अहिले खुइलिए र ती खुइलिएर विरुप भई आफ्नो अस्तित्व गुमाउने अवस्थाका कुरालाई यथास्थानमा छाडी सिर्फ एउटा कुरोको पुच्छर यसो छोइहेरौँ मात्रै कि- कुनै पनि तरल पदार्थलाई प्रयोग नगरीकन जतिसुकै जतन गरेर राखे पनि केही समयपछि नै त्यसको मात्रा वा वजन क्रमशः घट्दै जान्छ, गन्ध र रुपमा पनि परिवर्तन आउँछ । तर ठोस पदार्थ अझ त्यसमा पनि धातुजन्य पदार्थलाई प्रयोग नगरीकन सुरक्षित तरिकाले जतिसुकै समय राखे पनि त्यसको तौल वा मात्रा अनि रङ पनि यथावत रहन्छ भनेर ज्ञान र विज्ञानले मानेको, स्वीकारेको सत्य कुरो त सबैलाई घामजत्तिकै प्रष्ट थाहा भएकै हो । तपैंले, मैले या भनौँ सबैले सिकेको, जानेको र सिकाएको कुरा पनि यही हो । तर यहीनेर आएर आज ज्ञान र विज्ञान फेल भएको छ अनि सत्यको अगाडि स्वरवर्णकाे पहिलो अक्षर टपक्कै टाँसिएको छ । यसरी आफ्नो मुखमै स्वरवर्णकाे पहिलो अक्षर अर्थात् ‘अ’ टाँसिन आएपछि बिचरा सत्य चैं कतै गायब भएको छ ।

माछो ! माछो ! माछो ! भ्यागुतो ! फेरि, माछो ! माछो ! माछो ! भ्यागुतो ! हैन, हैन यसपटक त माछै समातियो भनेर गमक्क परियो । केही समयसम्म त त्यो जसले, जसरी, जताबाट हेर्दा पनि गज्जबको ठूलो माछो नै हुन्छ, देखिन्छ । तर केही समयपछि अचानक यामानको सुनौलो माछो त इत्रु चेपागाँडोको रुपमा पो रुपान्तरण हुन्छ ए बाबा ! यस्तो देखेसुनेपछि विद्यार्थीहरू यस्तो कसरी, किन भयो … ? जादुले यसो भएको हो कि ? आदिइत्यादि भनेर प्रश्नका वाण हानेकोहान्यै गर्छन् । कि त हामीलाई गलत सिकाइयो, पढाइयो, बुझाइयो कि त त्यत्रो बडेमानको माछो इत्रु ध्वाँसे चेपागाँडोमा रुपान्तरित भएको कुरा झुटो हो … । हामीलाई सत्यसाँचो जबाफ चाहियो … भन्छन् ।

अब तपैं नै भन्नुस् त, सत्य आफ्नो अपमान सहननसकी अलप भएको र लाज पनि लजाएर लज्जित भई कुलेलम ठोकिसकेको वेलामा के भनेर विद्यार्थीहरूलाई जबाफ दिऊँ ? एक पटक मात्रै यस्तो भएको भए त भुराभुरीलाई यसोउसो भनेर चित्त बुझाई थामथुम पार्नुहुन्थ्यो तर बारम्बार यस्तै भइरहेपछि के भन्नु, के नभन्नु भयो नि बरिलै ! वास्तवमा विद्यार्थीहरूका प्रश्न गलत भने छैनन् ।

अब कानुनको जतिसुकै लामो हात भए पनि कहिल्यै छुन र मैल्याउन त के औंलो ठड्याउन पनि नसक्ने, सायद अमृत पान गरेर अजरअमर भएका, दूधले नुहाएका ठूलाबडा महामानवहरूले भनेका, गरेका कामकुरा र उनीहरूले गठन गरेका उच्चस्तरीय जाँचबुझ आयोग अथवा छानबिन समितिले पेस गरेका फाइलका सत्यतथ्य कुरा त कुनै पनि हालतमा गलत या बेठिक हुँदैहुँदैनन्, हुनैसक्दैनन् । राम ! राम ! यस्तो सोच्नु पनि पाप हो, अक्षम्य अपराध हो ।

त्यसोभए गलत चैं को हो त …?? भन्नुहोला । साँच्चै नढाटी भन्नुपर्दा गलत या दोषी त सधैं तपैं, ऊ, मजस्ता भुइँमान्छे नै हौँ, जो मुख, आँखा, कान थुनेर खोकिलामा हात घुसारेर बस्छौँ अनि सास फेर्दैमा आफूलाई जीवित छौँ भन्ने भ्रममा मक्ख परिरहन्छौँ । कि कसो हो मित्र ?

०००
भाटभटेनी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x