साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नाच नयाँ चाहना

त्यो जमानाको प्रचलित किङ डान्सलाई भन्दा ऊ आफूलाई बढी निर्विकल्प ठान्थ्यो । नयाँ नयाँ नाचमा उसको लगाव यति छ कि उसका अगाडि त्यस्ता नाचका कुनै कुरै गर्न हुन्न । त्यसै त्यसै उज्यालो मुख लगाउँछ । फुरुङ्ग पर्छ ।

Nepal Telecom ad

पिँडालु पण्डित :

उसलाई आज भोलि निकै रमाइलो लागिरहेछ । उसले अहिलेसम्म गाउँ बस्तीमा आएको कुनै पनि नाच छुटाएको छैन । छुटाउँदैन पनि । कथंकदाचित त्यस्तो छुट्ने नै अवस्था आएछ भने परिवारका अरू कोही न कोही सदस्यलाई त्यसमा समावेश गराइदिन्छ ऊ । बस्तीमा देखापर्ने कुनै पनि नाचमा आफू वा आफ्नो परिवारको संलग्नताबाट कहिल्यै पनि विमुख हुँदैन ऊ । यस किसिमको स्वभाव नै छैन उसको ।

अहिले पनि ऊ त्यस्तै एउटा नाचमा अघिपछि लागेर आफ्नो सक्रिय संलग्नता देखाइरहेछ। नयाँ नयाँ कुरा मन पराउने मान्छेको स्वभाव हुन्छ नै । नयाँमध्ये पनि नयाँ नाच मन पराउनेमा दरिएको छ ऊ । मन परिसकेपछि कसको के नै लाग्छ र ?

अहिले ऊ गाउँ बस्तीमा भित्रिएको नयाँ माओवादी नाचमा मस्त छ । यतिखेर माओवादी नाच उसलाई खुबै मन परिरहेछ । नाचको गीत अलग अलग छ । धून अलग अलग छ । धून र गीत अलग अलग भएपछि नाच पनि अलग अलग हुने नै भयो । गीत र धूनको भाषा सबैले नबुझे पनि नर्तकीहरू यताउता बाँडिएर समूह नाच नाचिरहेछन् ।

नाच्ता नाच्तै ऊ कहिले कुन समूहमा पुग्छ कहिले कुनमा तर नाच्न छाडेको छैन उसले ।

गीतको धून र भाषा नबुझे पनि समूहको तालमा नाच्न त्यति कठिन हुन्न भन्ने उसले राम्रैसँग बुझेको छ । समग्र मान्छेको सरदर बुझाइ यस्तै हुन्छ । मान्छेको यही कमजोरीको फाइदा उठाएर ऊ नाचिरहेछ यतिखेर । बस्तीमा यसभन्दा अर्को कुनै नयाँ नाच आएछ भने पनि ऊ त्यसै गरी सजिलैसँग नाच्नेछ अहिलेको ठाउँ छाडेर ।

यसअघि ऊ एमाले नाचमा यसै गरी झुम्मिन्थ्यो । दैनिक जसो नृत्य टोलीमा सम्मिलित भएर ऊ आफूलाई सन्तुष्ट पार्थ्यो । बाटोमा हिँड्नेको आँखा बिझाउने गरी जमिनको धुलो उडाएकोसम्म पनि ऊ पत्तो पाउँदैनथ्यो ।

एउटा न एउटा लत मान्छेमा हुन्छ नै । उसको लत नयाँ नयाँ नाचमा संलग्न हुने छ । लत जस्तोसुकै भए पनि त्यसमा फसेपछि छुटकारा पाउन गाह्रै हुन्छ । त्यसका लागि प्रयास गर्नसक्ने आफूबाहेक अरू को नै हुन्छ र ?

नयाँ नयाँ नाच मन पराउने र त्यसमा भुम्मिने क्रममा त्यसभन्दा पनि अघि उसले आफूलाई काङ्ग्रेसी नाचमा उभ्याएको थियो । काङ्ग्रेसी नाचमा अग्रपङ्क्तिमा उभिनेहरूलाई समेत पन्छाएर धीत मरुञ्जेल नाचेको थियो उसले । त्यतिखेर पनि ऊ आफूलाई लागेका कुरा गरेरै छाड्थ्यो । गराएरै छाड्थ्यो ।

उसलाई कसैले केही भन्ने आँट गर्दैनथे । कसैले यस्तो घृष्टता गर्थ्यो भने ऊ हाकाहाकी अर्को नाचमा गइदिन्थ्यो । उसको यही मनोभाव बुझेका कारण उसको रजाइँ चलेको थियो त्यहाँ पनि ।

काङ्ग्रेसी नाचमा लाग्नुअघि ऊ राप्रपा नाचमा पनि केही वर्ष राम्रैसँग अडियो । देख्नेहरू भन्छन्, नयाँ नयाँ नाच भनेपछि हुरुक्कै हुने र त्यसमा ज्यान फालेर लाग्ने स्वभावले केही वर्षसम्म राप्रपा नाचको शोभा बढाउनमा उसले ठूलै योगदान गयो । दुनियाँको राम्रै मूल्याङ्कनमा पर्‍यो ऊ ।

यी नौला नाचहरू गाउँ बस्तीमा धेरै पहिला पनि एक पटक भित्रिएका थिए । त्यतिखेर नाच भित्र्याउने नर्तकीहरूको बालपनले उब्जाएको घमण्ड र बेमेलले तिनको स्थान त्यसभन्दा अघि कहीं कतै नाउँ नसुनिएको नयाँ पञ्चायत नामधारी एकल किङ डान्सले लियो । किङ डान्सका हर्ताकर्ताले बजाएको बाँसुरीको धूनमा झुम्मिनेहरूको ओइरो थियो त्यतिखेर । त्यो अनौठो किङ डान्समा धेरै वर्षसम्म रत्तिएर लागेको थियो ऊ । सर्वसाधारणसँग लसपस त के त्यतिखेर ऊ ती सबैलाई अछुत सम्झन्थ्यो । तैपनि उसको हैसियत खस्किएको थिएन ।

मौका पर्दा आफैँ ढ्याङ्ग्रो ठटाएर आफैँ नाच्थ्यो । मौका नपर्दा अरूले ठटाएको ढ्याङ्ग्रोमा नाच्न पनि ऊ त्यत्तिकै खप्पिस देखिन्थ्यो । त्यतिखेर ऊ डान्स मात्र हो र । मीठोसँग पञ्चायतको गीत पनि गाउँथ्यो । त्योभन्दा ठूलो डान्स गाउँबस्तीमा अब कहिल्यै भित्रिन्न भन्ने भ्रम पालेको थियो उसले त्यतिखेर ।

त्यसै भएर त पञ्चायती किङ डान्सलाई निर्विकल्प भन्दै ऊ ठाउँ कुठाउँ आँखा चिम्लेर बुर्लुक बुर्लुक उफ्रिन्थ्यो । अरूलाई मचक्क कुल्चेकोसम्म पनि उसलाई थाहा हुँदैनथ्यो । उसको मजाको कुनै सीमा थिएन त्यतिखेर। त्यो जमानाको प्रचलित किङ डान्सलाई भन्दा ऊ आफूलाई बढी निर्विकल्प ठान्थ्यो ।

नयाँ नयाँ नाचमा उसको लगाव यति छ कि उसका अगाडि त्यस्ता नाचका कुनै कुरै गर्न हुन्न । त्यसै त्यसै उज्यालो मुख लगाउँछ । फुरुङ्ग पर्छ ।

अलिकति फुर्सदको बेला छ भने त ऊ उहिले उहिले राणाहरूसँग साँठगाँठमा हुँदा तिनैसँग सँगसँगै नाचे खाएको आफ्ना फाइल फोटासमेत देखाएर अचम्म पार्छ अरूलाई ।

अब तपाईं आफैं भन्नुस् त कति सोख छ उसलाई नाचमा । कति पारखी छ ऊ नाचको । अनि, अहिले ऊ यसरी नाच्दैछ पनि के भन्नु ! आ-आफ्नो स्वभाव र क्षमताको कुरा न हो । सबैसँग यस्तो अद्भुत क्षमता पनि कहाँ हुन्छ र ?

अनि, अहिलेको सक्कली स्वदेशी नाचको त के कुरा ! भोलि अर्को कुनै विदेशी नाच वा अहिलेभन्दा अनौठो खालको स्वदेशी नाच गाउँ बस्तीमा भित्रियो भने पनि सुटुक्क गोडाको चाल बदलेर ऊ त्यस नयाँ नाचमा पनि यसै गरी निसङ्कोच मज्जासँग नाचिदिन सक्छ ।

कसैले यस्तो उस्तो भनेर हुन्छ र । उसको कलाकारिता मान्नैपर्छ । नाचको त ऊ पहिलादेखिकै नामुद खेलाडी नै हो नि । अरूले नचिनेर पो !

०००
‘बाजेको सेकुवा’ (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x