पिँडालु पण्डितनयाँ नाच नयाँ चाहना
त्यो जमानाको प्रचलित किङ डान्सलाई भन्दा ऊ आफूलाई बढी निर्विकल्प ठान्थ्यो । नयाँ नयाँ नाचमा उसको लगाव यति छ कि उसका अगाडि त्यस्ता नाचका कुनै कुरै गर्न हुन्न । त्यसै त्यसै उज्यालो मुख लगाउँछ । फुरुङ्ग पर्छ ।

पिँडालु पण्डित :
उसलाई आज भोलि निकै रमाइलो लागिरहेछ । उसले अहिलेसम्म गाउँ बस्तीमा आएको कुनै पनि नाच छुटाएको छैन । छुटाउँदैन पनि । कथंकदाचित त्यस्तो छुट्ने नै अवस्था आएछ भने परिवारका अरू कोही न कोही सदस्यलाई त्यसमा समावेश गराइदिन्छ ऊ । बस्तीमा देखापर्ने कुनै पनि नाचमा आफू वा आफ्नो परिवारको संलग्नताबाट कहिल्यै पनि विमुख हुँदैन ऊ । यस किसिमको स्वभाव नै छैन उसको ।
अहिले पनि ऊ त्यस्तै एउटा नाचमा अघिपछि लागेर आफ्नो सक्रिय संलग्नता देखाइरहेछ। नयाँ नयाँ कुरा मन पराउने मान्छेको स्वभाव हुन्छ नै । नयाँमध्ये पनि नयाँ नाच मन पराउनेमा दरिएको छ ऊ । मन परिसकेपछि कसको के नै लाग्छ र ?
अहिले ऊ गाउँ बस्तीमा भित्रिएको नयाँ माओवादी नाचमा मस्त छ । यतिखेर माओवादी नाच उसलाई खुबै मन परिरहेछ । नाचको गीत अलग अलग छ । धून अलग अलग छ । धून र गीत अलग अलग भएपछि नाच पनि अलग अलग हुने नै भयो । गीत र धूनको भाषा सबैले नबुझे पनि नर्तकीहरू यताउता बाँडिएर समूह नाच नाचिरहेछन् ।
नाच्ता नाच्तै ऊ कहिले कुन समूहमा पुग्छ कहिले कुनमा तर नाच्न छाडेको छैन उसले ।
गीतको धून र भाषा नबुझे पनि समूहको तालमा नाच्न त्यति कठिन हुन्न भन्ने उसले राम्रैसँग बुझेको छ । समग्र मान्छेको सरदर बुझाइ यस्तै हुन्छ । मान्छेको यही कमजोरीको फाइदा उठाएर ऊ नाचिरहेछ यतिखेर । बस्तीमा यसभन्दा अर्को कुनै नयाँ नाच आएछ भने पनि ऊ त्यसै गरी सजिलैसँग नाच्नेछ अहिलेको ठाउँ छाडेर ।
यसअघि ऊ एमाले नाचमा यसै गरी झुम्मिन्थ्यो । दैनिक जसो नृत्य टोलीमा सम्मिलित भएर ऊ आफूलाई सन्तुष्ट पार्थ्यो । बाटोमा हिँड्नेको आँखा बिझाउने गरी जमिनको धुलो उडाएकोसम्म पनि ऊ पत्तो पाउँदैनथ्यो ।
एउटा न एउटा लत मान्छेमा हुन्छ नै । उसको लत नयाँ नयाँ नाचमा संलग्न हुने छ । लत जस्तोसुकै भए पनि त्यसमा फसेपछि छुटकारा पाउन गाह्रै हुन्छ । त्यसका लागि प्रयास गर्नसक्ने आफूबाहेक अरू को नै हुन्छ र ?
नयाँ नयाँ नाच मन पराउने र त्यसमा भुम्मिने क्रममा त्यसभन्दा पनि अघि उसले आफूलाई काङ्ग्रेसी नाचमा उभ्याएको थियो । काङ्ग्रेसी नाचमा अग्रपङ्क्तिमा उभिनेहरूलाई समेत पन्छाएर धीत मरुञ्जेल नाचेको थियो उसले । त्यतिखेर पनि ऊ आफूलाई लागेका कुरा गरेरै छाड्थ्यो । गराएरै छाड्थ्यो ।
उसलाई कसैले केही भन्ने आँट गर्दैनथे । कसैले यस्तो घृष्टता गर्थ्यो भने ऊ हाकाहाकी अर्को नाचमा गइदिन्थ्यो । उसको यही मनोभाव बुझेका कारण उसको रजाइँ चलेको थियो त्यहाँ पनि ।
काङ्ग्रेसी नाचमा लाग्नुअघि ऊ राप्रपा नाचमा पनि केही वर्ष राम्रैसँग अडियो । देख्नेहरू भन्छन्, नयाँ नयाँ नाच भनेपछि हुरुक्कै हुने र त्यसमा ज्यान फालेर लाग्ने स्वभावले केही वर्षसम्म राप्रपा नाचको शोभा बढाउनमा उसले ठूलै योगदान गयो । दुनियाँको राम्रै मूल्याङ्कनमा पर्यो ऊ ।
यी नौला नाचहरू गाउँ बस्तीमा धेरै पहिला पनि एक पटक भित्रिएका थिए । त्यतिखेर नाच भित्र्याउने नर्तकीहरूको बालपनले उब्जाएको घमण्ड र बेमेलले तिनको स्थान त्यसभन्दा अघि कहीं कतै नाउँ नसुनिएको नयाँ पञ्चायत नामधारी एकल किङ डान्सले लियो । किङ डान्सका हर्ताकर्ताले बजाएको बाँसुरीको धूनमा झुम्मिनेहरूको ओइरो थियो त्यतिखेर । त्यो अनौठो किङ डान्समा धेरै वर्षसम्म रत्तिएर लागेको थियो ऊ । सर्वसाधारणसँग लसपस त के त्यतिखेर ऊ ती सबैलाई अछुत सम्झन्थ्यो । तैपनि उसको हैसियत खस्किएको थिएन ।
मौका पर्दा आफैँ ढ्याङ्ग्रो ठटाएर आफैँ नाच्थ्यो । मौका नपर्दा अरूले ठटाएको ढ्याङ्ग्रोमा नाच्न पनि ऊ त्यत्तिकै खप्पिस देखिन्थ्यो । त्यतिखेर ऊ डान्स मात्र हो र । मीठोसँग पञ्चायतको गीत पनि गाउँथ्यो । त्योभन्दा ठूलो डान्स गाउँबस्तीमा अब कहिल्यै भित्रिन्न भन्ने भ्रम पालेको थियो उसले त्यतिखेर ।
त्यसै भएर त पञ्चायती किङ डान्सलाई निर्विकल्प भन्दै ऊ ठाउँ कुठाउँ आँखा चिम्लेर बुर्लुक बुर्लुक उफ्रिन्थ्यो । अरूलाई मचक्क कुल्चेकोसम्म पनि उसलाई थाहा हुँदैनथ्यो । उसको मजाको कुनै सीमा थिएन त्यतिखेर। त्यो जमानाको प्रचलित किङ डान्सलाई भन्दा ऊ आफूलाई बढी निर्विकल्प ठान्थ्यो ।
नयाँ नयाँ नाचमा उसको लगाव यति छ कि उसका अगाडि त्यस्ता नाचका कुनै कुरै गर्न हुन्न । त्यसै त्यसै उज्यालो मुख लगाउँछ । फुरुङ्ग पर्छ ।
अलिकति फुर्सदको बेला छ भने त ऊ उहिले उहिले राणाहरूसँग साँठगाँठमा हुँदा तिनैसँग सँगसँगै नाचे खाएको आफ्ना फाइल फोटासमेत देखाएर अचम्म पार्छ अरूलाई ।
अब तपाईं आफैं भन्नुस् त कति सोख छ उसलाई नाचमा । कति पारखी छ ऊ नाचको । अनि, अहिले ऊ यसरी नाच्दैछ पनि के भन्नु ! आ-आफ्नो स्वभाव र क्षमताको कुरा न हो । सबैसँग यस्तो अद्भुत क्षमता पनि कहाँ हुन्छ र ?
अनि, अहिलेको सक्कली स्वदेशी नाचको त के कुरा ! भोलि अर्को कुनै विदेशी नाच वा अहिलेभन्दा अनौठो खालको स्वदेशी नाच गाउँ बस्तीमा भित्रियो भने पनि सुटुक्क गोडाको चाल बदलेर ऊ त्यस नयाँ नाचमा पनि यसै गरी निसङ्कोच मज्जासँग नाचिदिन सक्छ ।
कसैले यस्तो उस्तो भनेर हुन्छ र । उसको कलाकारिता मान्नैपर्छ । नाचको त ऊ पहिलादेखिकै नामुद खेलाडी नै हो नि । अरूले नचिनेर पो !
०००
‘बाजेको सेकुवा’ (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































