कृष्ण प्रधानअनलाइन टीका…(२)
आशा- ठूले मकरध्वज र ठूली बुहारीलाई ता टीका ल्यापटपमा लगाइयो । त्यसलाई अनलाइन टीका भनिन्छ । अहिले यी कान्छो र कान्छी बुहारीलाई हाकाहाकी टीका लगाको लाई चैं के भन्नु । मकरध्वज- लाइभ.... । सबै लाइभ...आशीर्वाद पनि लाइभ...दक्षिणा पनि लाइभ । नो गुगल..।

कृष्ण प्रधान :
ध्वनि परिवर्तन
(मालश्री गीतको धुन आइरहेछ । बेला बखत पटेका पड़ेकेको आवाज कोठाभित्र आइपुग्छ ।
मणिध्वज- लु…लु…अब टीकाको मेलो गरुँ । औ आशा…यहीँ भूइँमा आसन बनाउँ हई….
मकरध्वज- देख्नुभएन आमा उसको भुँड़ी पाँच सय लिटरको सिन्टेक्सजस्तो । बस्नै त सक्दिन अन्त ।
मणिध्वज- कनी कनी भा पनि बस्नुपर्छ नि ,,, एकक्षण ता हो । दस्तुर बिगार्नु भएन नि नानी हो ।
मकरध्वज- त्यसो भए घूँड़ा टेकेर टीका थाप ।
आशा- लु..लु…मणि पहिला दाजूलाई भिडियो कल गरिहाल् ता । त्यसलाई पहिले टीका लाइदिनुपर्छ ।
मणि- आमामामा…..विदेशको मान्छेलाई चैं कसरी टीका लाउनु हौ आमा ?
मकरध्वन- (गम्भीर मुद्रामा) होइन तेरा दाजु र भाउज्यूले हिजै भनेको नि भिडियो कल गर्नु अनि टीका लाएको जस्तो गरेर ल्यापटपमा छोइदिनू । मणि तेरो फोनबाट गरुड़ध्वजलाई कल लगा ता ।
मणि- ए कल मैले नै गर्नु ? (निहारिकालाई हेर्दै) औ निहारिका दाज्यूलाई भिडियो कल गर ता ।
निहारिका- सरी । होस् नाइँ । दादासित कस्तो डर लाग्छ । तपाई नै भिडियो कल गर्नोस् न पापा ।
मकरध्वज- खै कल ता लाग्दैन । जम्मै रुट बिजी छ अरे ।
आशा- तेरो ल्यापल्यापबाट भिडियो कल गर् न नानु ।
मणिध्वज- ल्यापल्याप चैं को हो फेरि ?
आशा- काखमा राखेर के के हेर्ने ।
मणिध्वज- ल्यापटप भनन ल्यापटप ।
आशा- सरी फर द लिभर ड्यामेज ।
मकरध्वज- लु लु….गरुड़ध्वजलाई कल लाग्यो ? (भिडियो कलमा वार्तालाप) हल्लो… ढोगेँ गरुड़ दादा । भाउज्यू कहाँ जानुभो ?
गरुड़ध्वज- पार्लर गाकी छिन् । खै आमा ? आमा पनि पार्लर गइन् कि क्या हो ?
आशा- अँ तेरी आमा पार्लर जाने बेला भाको छ ल । (उताबाट ढोग आउँछ) ल आशीर्वाद । बुवासित बोल । (निहारिकालाई हेर्दै ) निहारिका बुहारी जाऊ ता किचेनमा के के छ खानेकुरा सबै विस्तारी लिएर आऊ । (निहारिकाको प्रस्थान)
मकरध्वज- म पनि पटेका किनेर ल्याउनु पऱ्यो हौ….टीका लाएर ता यसो डाङ्ङाङ र डुङडुङ पार्नुपऱ्यो नि । गाउँकाहरूलाई पनि सुनाउनु पऱ्यो नि होइन ? !
मणिध्वज- छिटो आइज है मकरे । तँ ता एकपल्ट निस्के पछि चरोलाई ढुङ्गो हानेजस्तै हुन्छस् नि फेरि
मकरध्वज- आइहाल्छु….त्यतिञ्जेल भाउज्यू पनि पार्लरबाट आइसक्छिन् । (प्रस्थान)
गरुड़ध्वज- चरणस्पर्श बुवा ।
मकरध्वज- यशस्वी भव । लु लु…तिमीहरू रेडी छौं होइन ?
गरुड़ध्वज- म ता बिहानैदेखि रेडी नि । बुहारी आइहालोस् न ।
आशा- पार्लर गाकी छिन् अरे । हिजै जानुपर्ने होइन ? अब टीको लाउने बेला भइसक्यो । साइत जानै आँट्यो ।
गरुड़ध्वज- हिजो पार्लर गयो भने ता रातभरिमा पेण्टिङ सब उड़ेर बिहान ता बोक्सीजस्तै देखिन्छ नि आमा ।
आशा- खै हाम्रो पालामा पार्लर के हो कहिल्यै सुनिएन पनि जानिएन पनि ।
मणिध्वज- अहिलेकोलाई पार्लर, स्पा के के हो केके ।
गरुड़ध्वज- अन्त बुवा यसपाली दशैको भागको मेलो के छ हौ ? फेरि यसपाली फर्स्ट टाइम अनलाइन टीका लाइँदैछ ।
आशा- अब बिचारा बुवा रिटायर्ड भाको मान्छेबाट के कस्तो दसैंको भागको आशा गर्छस् हौ ठूले ।
मणिध्वज- तैरै प्रशस्तै कमाइ छ ता बाबु ।
गरुड़ध्वज- हो नि…त्यो ता । तर अनलाइन टीकाको इम्पोर्टेन्स नै अर्कै हुन्छ र अनलाइन दक्षिणा पाउने टेस नै अर्कै हुन्छ । यसो साथीहरूलाई पनि अनलाइन टीकाको प्रोपोगाण्डा गर्नुपऱ्यो नि । लु..लु…बुहारी आइपुगिन् । (ल्यापट्प स्क्रिनमा जेठी बुहारी सागरिका देखा पर्छिन्)
सागरिका- ढोगेँ मम् डयाडलाई । (शीर निहुराएर)
दुवै- लु विशासय भएस् । (मकरध्वज प्रवेश)
मकरध्वज- ए…चरणस्पर्श भाउज्यूमाता ।
सागरिका- गड ब्लेस यू देवर साहेब ।
आशा- (नेपथ्यतिर हेर्दै) ए निहारिका बुहारी…त्यो टीको लाउने थालमा एउटा केरा नभए आइफल लिएर राख ता अन्त सिन्केधूप बालेर त्यसमा गाड़ । सागरिका आइपुगिन् ।
सागरिका- कहाँ छ मम् मै लिएर आउँछु नि…क्यामेरा मैतिर घुमाउनुहोस् है देवर साहेब…
मकरध्वज- नसुर्ताउनोस् न भाउज्यूमाता..तपाई जहाँ जहाँ हुन्छ क्यामेरा उतैतिर पुग्छ । (निहारिका र सागरिका सम्पूणर् सामग्री लिएर बैठक कोठामा प्रवेश)
मणिध्वज- लु…ठूले र बुहारी पहिला बस । (दुवै बस्छन्)
आशा- लु बाबु चैं तपाईले आशीर्वाद दिनुहोस्…म दक्षिणा दिन्छु ।
गरुड़ध्वज- दक्षिणा त्यसरी कहाँ हुन्छ आमा ।
सागरिका- गुगल पेमेण्ट ।
गणिध्वज- लु तिमारु दुइका टाउकाहरू ल्यापटपको स्क्रिनमा राख । म यताबाट ल्यापटपको स्क्रिनमा टीका लगाइदिन्छु…पालैपिलो ।
आशा- ल्यापल्यापको स्क्रिन बिग्रिँदैन ?
निहारिका- पुछिहाल्नुपर्छ नि ।
मणिध्वज- (टीका लाउँदा गर्नुपर्ने विधि पूरा गरेपछि ) लु ठूले तेरो टाउको ल्यापटपमा टँसा….(टसाउँछ) लु टँसाएँ….भयो ?
गरुड़ध्वज- ह्मममम….लु राम्ररी सुन है आशीर्वाद
आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्व्रर्य नहुषे गतिश्च पवने मानश दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरें सत्यञ्च कुन्तीसुते ।
विज्ञान विदुरे भवति भावताम किर्तिश नारायण ॥ (टीका लाइसक्छ)
गरुड़ध्वज- आम्बो यो कुन भाषाको मन्त्र हौ हन ? ईङ्गिलशभन्दा पनि खतरा छ ता…
आशा- अब मेरा छोरा-बुहारीहरू सबै ब्रिटिश भइसके पछि यस्तो भाषा कहाँ बुझ्छन् र !
गरुड़ध्वज- बुवा मैले ता तपाईको आशीर्वादको टुप्पो फेद केही बुझिनँ ।
सागरिका- लु न बुवा अहिले चाहिने तपाईको आफ्नै भाषामा आशीर्वाद दिनुहोस् ल ।
गरुड़ध्वज- पख..पख…पहिले बुहारीलाई टीका लाइदिई हालुँ । लु ठूली बुहारी ल्यापटपमा टाउको राख्नुपऱ्यो । (सागरिका त्यसै गर्छिन्)
गरुड़ध्वज- स्त्रीहरूलाई दिने आशीर्वाद अर्कै हुन्छ नि फेरि
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षंमा शिवा धात्री स्वाहा स्वधा नमोक्स्तुते ॥
जयत्वं सर्वमते देवि कालरात्रि नमोक्स्तुते ।
गरुड़ध्वज- लु मकर र निहारिका बुहारी पनि आऊ…तिमारलाई चैं लाइभ टीको लगाइदिन्छु ।
(मकरध्वज र निहारिकालाई टीको लाइदिन्छ)
गरुड़ध्वज- खै दक्षिमा चैं ….
आशा- ल…तलाई ता दक्षिणाकै सुर्ता ठूले । हन पहिला बुवाको गोड़ा ढोग्नु पर्दैन ?
सागरिका- को नि के भाको….
गरुड़ध्वज- लु बुवा तपाईको गोड़ा ल्यापटपको स्क्रिनमा राख्नोस्…ल्यापटप टेक्नु होइन नि फेरि ।
सागरिका- जस्ट टच गरेको जस्तो मात्र गर्नु न ड्याड ।
गरुड़ध्वज- खै अचेल जमाना कहाँ पुगिसक्यो । मेरो गोड़ा पनि अनलाइन गोड़ा नै भयो होइन ? मलाई समात न…
आशा- किन समात्नु ?
गरुड़ध्वज- दुइटै गोड़ा उचालेर ल्यापटपमा राख्नु कहाँ सकिन्छ हौ । ढोग थाप्ने हुँदा उत्तानु चित मात्र पर्ला । पहिले एउटा राख्छु…त्यसपछि अर्को । गरुड़ेले पालैपिलो ढोग्छ ।
आशा- एउटा खुट्टा चैँ कसरी उचाल्ने नि ।
गरुड़ध्वज- कुकुरले तुर्क्याएजस्तो नि । (कोठाभरि हाँसो रुमलिन्छ)
निहारिका- हाम्रा ड्याड पनि सो जली हो ।
गरुड़घ्वज- लु आशीर्वादको सार्टिफिकेट पनि ….
गरुड़ध्ज- म गुगल पेमेण्ट गर्नु ता जान्दिनँ ।
गरुड़ध्वज- मकरध्वजलाई भन्नु न । त्यसले जान्दछ ता ।
आशा- के को गुगल पेमेण्ट…पहिला यहाँ टीकाको गेटपास (सिसार) ले न ।
सागरिका- यो ता गुगलमा हुन्न नि मम् ।
गरुड़ध्वज- एकेक वटा देखा न ल्यापल्यापमा ।
निहारिका- (आफूले ल्याएका सिसार बुवामुमाको अघि राख्दै) लु…हाम्रो सिसार…. (दुवै लोग्नेस्वास्नीले ग्रहण गर्छन् ।)
आशा- ठूले मकरध्वज र ठूली बुहारीलाई ता टीका ल्यापटपमा लगाइयो । त्यसलाई अनलाइन टीका भनिन्छ । अहिले यी कान्छो र कान्छी बुहारीलाई हाकाहाकी टीका लगाको लाई चैं के भन्नु ।
मकरध्वज- लाइभ…. । सबै लाइभ…आशीर्वाद पनि लाइभ…दक्षिणा पनि लाइभ । नो गुगल..।
आशा- खै ठूले…देखा नि ल्यापल्यापमा तिमारको सिसार..
गरुड़ध्वज- लु हेर्नोस्…एकेक वटा देखाउँदै….यो शुटपिस बुवालाई, यो साड़ीको पिस आमालाई, बुवालाई हीराको औँठी, आमालाई सुनको तिलहरी । त्यसपछि अरु पनि यी के के छ नि..हेर्नोस् ।
सागरिका- ठिक छ होइन आमा ?
आशा- ठिकै छ…तर दसैँको खास सिसार देखिनँ ता ।
सागरिका- त्यो पनि छ । औ देखाइदिनु न ममलाई ।
गरुड़ध्वज- (ड्रिङ्क्स् देखाउँदै) यी यो आमालाई लेडिज ड्रिङ्कस । यो बुवालाई..हार्ड ।
आशा- (थुक निल्दै) लाइभ छुनु पाए पो । अनलाइनमा देख्दा ता थुक मात्रै आउँदोरहेछ ।
मकरध्वज- थुक निल्दै ल्य़ापटपको स्क्रिनमा नाक राखेर सुँघ्नुहोस् न स्निपर डग जस्तो ।
आशा- (कड़केर) सरी फर द लिभर ड्यामेज । तैले मलाई कुकुर बनाको एई मकरे । अहिले….
मणिध्वज- (कुरा काट्दै) …..लु…लु…बात मात्रै धेर भो ।
गरुड़ध्वज- लु आमा तपाईको चरण ल्यापटपमा ल्याउनोस् ।
आशा- सरी पर द लिभर ड्यामेज । ल्याउँदिनँ म । भरै लड़ि गो भने नि । टाढ़ैबाट ढोगन बाबु ।
मकरध्वज- फलाइङ् ढोग गरिदेन एई गरुड़े । (त्यसै गर्छ)
निहारिका- हामीले तपाईको आशीर्वाद केही बुझेनौ ड्याड ।
मणिध्वज- ओ…के…त्यसो भए मेरो आफ्नै पाराले आशीर्वाद दिन्छु ल तिमेरू चारैजनालाई । यो चाहिँ हीराका टुक्राजस्ता मेरा दुइ सुपुत्रहरूलाई –
आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्व्रर्य नहुषे गतिश्च पवने मानश दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरें सत्यञ्च कुन्तीसुते ।
विज्ञान विदुरे भवति भावताम किर्तिश नारायण ॥ यो ता बुझेनौ नै ।
सबै- हजूर…
मणिध्वज- सुपुत्रद्वय गरुड़े र मकरे…पुत्राया आशारानी मकरध्वजे
एउटा दार्जिलिङ जिल्ला वासे अर्का स्विजरल्याण्ड निवासे
शत्रु क्षय कर…झण्डामहा ऱाल नचुहाए…
जता मल्कु त्यतै ढल्कु कदाचित नगरे
नेताको पछि पछि नलागे आफ्नो सम्मान रक्षा करेँ
गड ब्लेस यू अल….आफैमा विश्वास राखे
नेतामाथि कदाचित् भर नपरे….
राजनीति दूर दूराय नमः नेता जतिलाई पर..परै टकटकाये नमः ॥ (थपड़ी)
(मालश्री गीतको धुन आइरहेछ । बेला बखत पटेका पड़ेकेको आवाज कोठाभित्र आइपुग्छ ) ।
मणिध्वज- लु अब यो आशिषवचन सुनका टुक्राजस्ता मेरा दुइ बुहारीहरूलाई –
सागरिका निहारिका दुइ बुहारी सुनका टुक्राजस्ता
राति अबेरसम्म नबसे मोबाइलमै टाँसि नरहे
धुम्रपान मदपान मसला सब घातक दूर दूराय नमः
सखारै जाग्रत प्रातः महाँ….अबेर जागरणले लोदर आ नते घरमहाँ
पार्लर वञ्चित ए लक्ष्मीरुपेण बुहारीद्वय
बुढ़ेसकालमा अनुहारका छाला चाउरिएर देखिन्छ चुँड़ेललै सरी
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
ओम बुहारीद्वय स्वदेशी र विदेशिणी
गड ब्लेस यू बोथ नमोक्स्तुते नमोक्स्तुते
इति लाइन एण्ड अनलाइन आशीर्वादम् ॥ (थपड़ी)
(दान दक्षिणा सबै ठामठिम भएपछि….भोजन आरम्भ हुन्छ । सुरापान चल्छ । उनलाई निकै भेटेको छ । गरुड़ध्वज निकै रन्किएपछि…)
(मालश्री गीतको धुन आइरहेछ । बेला बखत पटेका पड़ेकेको आवाज कोठाभित्र आइपुग्छ ) ।
गरुड़ध्वज- यो मालश्रीको धुन सुन्दा रुन मन लाग्छ । सुनिस् गरुड़े र मकरे अनि़ बुहारीहरू ! हिजोआज मालश्री सबै बिर्सिसके हाम्राहरूले । उबेला दसैंको रमझम शुरु भयो कि हामी केटाहरू एक ठाउँ बसी मालश्री गाउँदै, मादल घन्काएर बनपाखा झलमल्ल पार्थ्यौं । यसरी मादल घन्काउँदा ता तिमेरका आमालाई उड़ाको । हिजोआज खै मालश्री, खोइ मादलको घन्काई… ? खोई हाम्रो संस्कृति…अब यो दसैँ पनि अनलाइनमा बसाइँ सरिसकेको छ । यो अनलाइनमै मक्ख परेर हामी बेलाइन भइसक्यौं । (ग्वाँग्वाँती रुन थाल्छ)
सागरिका- होइन ड्याड ।
गरुध्वज- (रन्केर) वाट ड्याड ? एम आई ड्याड । ड्याड मिन्स डेड ? अचेल अङ्ग्रेजीको देशानले भेटनेहरू जतिले आफ्नो बुवा, बाबा, पितालाई ड्याड भनेर जिउँदै मारिसके । उफ…(फेरि रुन्छ) आमा, मुमा, माता, महातारीलाई मम्…. ? वाट इज दिस ?
आशा- (फकाउँदै ) लु लु भयो न गरुड़ेका बाबा । के गर्ने ?…. के गर्ने….?
(पर्दा)
०००
सिलगुडी, भारत
आकाशवाणी खरसाङको FM 103.5 MHz बाट याे हास्यव्यङ्ग्य नाटक ‘अनलाइन टीका’ का दुवै भाग ०८० कार्तिक ८ गतेका बिहान ९: ३० बजे प्रसारण हुँदै छ ।
इलस्ट्रेसन साभार : हिमाल खबर डटकम
Subscribe
Login
0 Comments
Oldest








































