कृष्ण प्रधानमाथि…
कति ठाउँमा मञ्च ज्यादै सानो भएकोले त्यत्रो धेर सङ्ख्यमा उभिएका साहित्यकारहरूमाझ ठेलमठेल भएको देखिन्छ। चलाक साहित्यकारहरू जहिले पनि ती साहित्यकारहरूको हुद्दामा माझमा उभिन चाहन्छन्।

कृष्ण प्रधान :
साहित्यिक कार्यक्रमतिर मञ्चमा बस्न नपाउने मञ्चलोभी / अतिथि आसनभोगी तथा लोकार्पणभोगीलाई सादर समर्पित।
हिजोआज ठाउँ-ठाउँमै प्रतिदिन हरदर दर्जन जति साहित्यका विभिन्न कृतिहरू प्रकाशित भइसके पछि भव्य रुपमा लोकार्पण समारोह आयोजन गर्ने देशान लागेको देखिन्छ। कुनै कृतिकारलाई सानै रुपमा लोकार्पण समारोह आयोजन गरे पनि कतिले चाहिँ गतिलै रुपमा लोकार्पण समारोह आयोजन गरेको सुनिन्छ। कति ठाउँमा प्रमुख अतिथिकै आसन ग्रहणको निम्ति मलाई पनि निम्तो पत्र प्राप्त भएकोले मैले अनिवार्य रुपमा उपस्थित भइदिनैपर्छ।
सत्तरी दशकतिर लोकार्पण गर्ने चलन थिएन। तर अचेल ता लोकार्पणले मुलुक मारेको छ। एउटा लोकार्पण समारोहमा मञ्चमा पन्ध्रदेखि बीसजनासम्म साहित्याकरहरूलाई उभ्याएर तिनको हातमा एकेकवटा लोकार्पण हुने कृति थमाइन्छ। कुनै पनि कृति लोकार्पण गरिदिँदा तिनलाई महान्, वरिष्ठ साहित्यकार मानिने चलन हाम्रोतिर छ। साँच्चै ठूला, गणमान्य र सेलिब्रेटी साहित्यकारको पगरी गुँथ्नलाई उनले दर्जन जति पुस्तक लोकार्पण गरेको हुनुपर्छ। तर लोकार्पणको निम्ति माथि मञ्चमा डङ्काका साथ उभिई लोकार्पण गर्ने लोकार्पकले न ता कुनै पुस्तक पढ्छन् न ता किनि नै दिन्छन् (एकाधलाई छोडेर)। सबै कम्पलिमेन्ट कपीकै आशामा आएका हुन्छन् ।
जीवनको पहिलो कृतिको लोकार्पण समारोहमा उपस्थित भइदिनाका निम्ति ती कनै एकजना नामुद्दार साहित्यकारलाई एकजना नवोदित साहित्यकारले उनको साहित्याकारले मलाई कुन आसनमा राख्ने ? भनी प्रश्न गर्दा ती नवोदित साहित्यकारको जवाफ, हजुरलाई अतिथिको रुपमा मात्र निम्त्याएको भनिदिँदा ती साहित्यकारको भनाइ, मलाई प्रमुख अतिथिमा निम्त्याए मात्र तिम्रो कार्यक्रममा आउँनेछु। म अरुजस्तो मामुली साहित्यकार ता कहाँ हुँ र ?
यसबाट के प्रमाणित हुन्छ भने, प्रत्येक साहित्यकारलाई लोकार्पण समारोहका प्रमुख अतिथि हने अनि उनकै मुखारविन्दबाट लोकार्पणको घोषणा गरिनुपर्छ भन्ने लोभ हुँदोरहेछ। यी ता भए लोकार्पण भोगी साहित्यकार। कति चाहिँ लोकार्पण समारोहमा माथि मञ्चमा सर्जकको कृति हाम लिएर उभिनु पाए भैगो भन्ने साहित्यकारहरू पनि नदेखिएको होइन। यस्तै एउटा साक्षात् घटना मैले मेरै आँखाले देखेको छु। घटना के हो भने, कुनै एउटा लोकार्पण कार्यक्रममा त्यसरीनै चौध-पन्धजना साहित्यकारहरूलाई लस्करै उभ्याइयो आयोजक पक्षबाट । तिनमा म पनि सामेल थिएँ। मसितै समारोहमा निम्त्याइएका एकजना साहित्यकारलाई माथि बोलाइएन। लोकार्पण सम्पन्न भयो। हामी लोकार्पित पुस्तक हात-हातमा लिएर मञ्चबाट ओर्ली आ-आफ्नो आसनमा बस्यौं। पछि स्वयमसेवकहरूले ट्रेमा बिक्रीको निम्ति किताब लिएर आए। किन्नेले किताब किन्दै गए। अघि माथि मञ्चमा नबोलाइएका साहित्यकार छेउमा आई किताब किन्ने अनुरोध गर्दा उनले म किन्दिनँ भनी उता फर्के।
लौ हेर्नोस् लोकापर्णभोगी, माथि मञ्चभोगी साहित्यकारको बेउरा।
अर्का एकथरी साहित्यकार पनि नदेखिने होइन, उनलाई अरु केही चाहिएन लोकार्पण वा कुनै पनि साहित्यिक कार्यक्रमतिर माथि मञ्च (आसन) मा राख्नैपर्छ। अब ता हाम्रा ठूला-बड़ा साहित्यकारलाई माथि मञ्चमा आसन ग्रहण गर्ने, लोकार्पण समारोहमा माथि मञ्चमै लोकार्पणमा उभिएर किताब सित्यैमा हात पार्ने मात लागेको छ। लोकार्पण समारोहमा कुनै पनि साहित्यकारलाई लोकार्पण गर्ने
पङ्क्तिमा राखिएन भने उनको दुःख मनाउ हुन्छ नै तर त्यसलाई उनी प्रकाश पार्न चाहँदैनन्।
साहित्यिक कार्यक्रम वा लोकार्पण कार्यक्रममा माथि मञ्चमा आसन ग्रहण गरिदिँदा वा पुस्तक लोकार्पणको समयमा माथि मञ्चमा किताब लिएर लस्करै उभिर्दिदा भोलिपल्ट खबरकागतमा सँगसँगै फेसबुक वालमा नक्साहरू भटाभट पोष्ट हुन्छन्। वाह ! चाहिएको यति हो।
तर कुनै पनि लोकार्पण समारोहमा अतिथिहरूलाई माथि मञ्चमा लस्करै उभ्याइ आफ्नो कृतिको एक एक प्रति चढ़ाएर लोकार्पण गराउने परम्परा चाहिँ मलाई पटक्कै मनपरेको छैन। तिनकाक धेरै कारणहरूमध्ये एउटा कारण चाहिँ के हो भने, हिजोआज लोकार्पण समारोहमा माथि मञ्चमा एकै खेपमा पन्ध्रदेखि बीसजनासम्म साहित्यकारहरूलाई आदरपूर्वक उभ्याइन्छन्। कति ठाउँमा मञ्च ज्यादै सानो भएकोले त्यत्रो धेर सङ्ख्यमा उभिएका साहित्यकारहरूमाझ ठेलमठेल भएको देखिन्छ। चलाक साहित्यकारहरू जहिले पनि ती साहित्यकारहरूको हुद्दामा माझमा उभिन चाहन्छन्। कुनै पनि साहित्यकार छेउतिर उभिन चाहँदैनन्। कारण छेउमा उभिदिँदा भोलि खबरकागतमा उनको नक्सा नै उड़ेको देखिन्छ। परेन फसाद ! खबरकागतमा नक्सा नदेख्दा घरकाहरूले सोध्लान्-तपाई हिजो लोकार्पण समारोहमा जानुभएन ?
उत्तर- किन गइनँ… गएँ है।
प्रश्न-खै ता तपाईको नक्सा ता पेपरमा छैन ता । तपाईंसितै जानेहरू जम्मै सर-गुरुआमाहरूको नक्सा आको छ। तपाईंको मात्रै छैन ता।
उत्तर- होइन म सबैभन्दा छेउमा थिएँ नि ता। प्रेसमा फोटो एडजष्ट गर्दा काटिएछ।
फेरि मनै पिरोल्ने प्रश्न- तपाईं हजूर ता के साह्राे लाटा हौ ? पहिल्यै गएर बीचमा बस्नु पर्दैन ? हेर्नोस् ता परै बीचमा उभिनेहरूको के राम्रो नक्सा आको।
उत्तर- मेरो नाम नै लाष्टतिर बोलायो एनाउन्सरले।
मुटु चुँड़ाउने प्रश्न- हन… त्यो उदघोषकलाई हजूर महान् साहित्यकार भनेर थाहा थिएन अरे ?
निरुत्तर।
के गर्ने यस्तो छ यहाँको लोकार्पणको रीति ।
मेरो भन्नु के छ भने, लोकार्पण समारोहमा समारोहका अध्यक्ष, प्रमुख अतिथि अनि सर्जकलाई माथि मञ्चमा उभ्याएर लोकार्पण गरिंदा हुँदैन र ? तर यहाँ त्यसाे हँदैन। एकै खेपमा बीस-बीसजना साहित्यकारलाई माथि मञ्चमा लस्करै उभ्याएर किताब लोकार्पण गराउँदा उभिनेहरू गदगद भए पनि मेरो हिसाबमा त्यो जस्तो टुटा पर्ने काम केही होइन। मानिलिउँ, एउटा किताबको मोल २००/ रुपियाँ। माथि मञ्चमा बीस-बीस जनालाई उभ्याएर लोकार्पण गर्दा २०० गुणन २० =४,००० (चार हजार) रुपियाँ स्वाहा। यसैले म ता के भन्छु भने, प्रत्येक लाेकार्पकले आफूले पाएको किताब आफ्नो झोलामा हालेपछि तिनको के कर्तव्य के हुन्छ भने तिनले सर्जकलाई किताबको मोल भन्दा दोबर रकम भेटीस्वरुप प्रदान गरिदिए साँप पनि मर्नेथ्यो लठ्ठी पनि भाँचिने थिएन। किनभने यो ता गिभ एण्ड टेक हो। तपाईंले कुनै पनि सर्जकलाई उनको किताब सित्थैमा नलिएर सामान्य रकम भेटीस्वरुप चढ़ाए तपाईंको पालोमा पनि उनले भेटी चढ़ाउने नै छन्। त्यसो पनि होइन भने, अब आउँदा दिनहरूमा हुने लोकार्पण समारोहमा माथि मञ्चमा गाँठका हिसाबमा साहित्यकारहरूलाई नबोलाइयोस्। यो सूचीमा म पनि पर्न सक्छु।
अब मञ्चमा गजधम्म बस्न रहर गर्ने तमाम् साहित्यकार लगायत ग्वारम्वार्ती लोकार्पकलाई माथि मञ्चमा लस्करै उभ्याउने परम्परामा प्रतिबन्ध लाउनुपर्छ भन्ने मेरो मूर्ख दाबी छ।
०००
सिलगढी, भारत
भैरव पुरस्कार (२०८२) प्राप्त गरेपछि त्यही समाराेहमा लाेकर्पित (पुरस्कार लुँड्याउनेहरू) बाट
Subscribe
Login
0 Comments
Oldest






































