चन्द्रप्रसाद न्याैपानेजेन्जी
छाया हाे तर रूप बुझ्दछ उही आँखा हुने झिम्झिम माया हाे तर दर्द बुझ्दछ उही गड्गड् झरी सिम्सिम हावासाथ उडेर गन्ध छरिँदा बास्ना बुझी मग्मग गर्मीमा पनि हाल छन् वनचरी खप्दै ठिही डग्डग ।
चन्द्रप्रसाद न्याैपाने :
जेन्जी नक्कल हाे र कृत्रिम बढी आयात नामाङ्कन
छैनन् ध्यान र सानमा नवपना निर्यातमा के भन ?
जाने नीतिविशेषमा पर छ के घुस्सा र मुक्काविना
आविष्कार कहाँ र दर्शन कहाँ ? सन्धान अन्वेषण !
अर्काकै भरमा रही प्रविधिमा हाेला कसाे उन्नति
बन्ने सक्कल छैन लक्षण कुनै यस्तै रहेमा गति
बन्दैनन् नवमार्ग ती अझ खुला झन् झन् बनी साँघुरा
बिर्सी त्याे इतिहास मातृवहकाे जन्मेँ स्वयम् झैँ कुरा
छानाका गमला प्रभावित हुँदा जल्छन् बगैँचा पनि
पाखाका बिरुवा विषादि सब छन् के हुन्छ सञ्जीवनी ?
थाङ्नाका बदला भिरी मखमली पाखण्ड पुर्खा बुझी
के नैनासुतकाे विकास गरियाे ? आधा बनाई झुसी
सच्चा कर्म विशुद्ध राेष ननिली थुक्नेहरूका कथा
कच्चा कर्मविरुद्ध दाेष नदिई झुक्नेहरूका कथा
देख्ला दृश्य कहाँ र सूर्य नभमा छर्दै छ क्या इन्द्रिनी
पानी सिम्सिम-घाम सप्तरङमा देख्दै छ मायाविनी
छाया हाे तर रूप बुझ्दछ उही आँखा हुने झिम्झिम
माया हाे तर दर्द बुझ्दछ उही गड्गड् झरी सिम्सिम
हावासाथ उडेर गन्ध छरिँदा बास्ना बुझी मग्मग
गर्मीमा पनि हाल छन् वनचरी खप्दै ठिही डग्डग ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































