होम सुवेदीव्यापारमा नयाँ जुक्ति
सागसब्जी, फलफूल, रासनपानी, सकिन्छ भने माछामासु, दूध, पानी, गोबर ग्यासका सामानहरु, सिलिन्डर, रक्सी, तेल, मटितेल, प्रसाधनका सामानहरु, पेट्रोल, डिजल, मोटरसाइकलका पार्टहरु, गाडीका पार्टहरु आदि जे जे चाहिन्छ सबैथोक राख्ने ।

होम सुवेदी :
उनी मेरा मित्र हुन् । उनी यही यही बयासी आगामी २०८३ सालको जेठ सत्ताइस गतेदेखि उमेरका आधारमा अवकास पाउँदैछन् । मेरा साथीको निवृत्तिको मिति आइसक्यो । स्वतः अवसकास पाउने मेरा दिन पनि अब नजिकै छन् । अवकासपछिका ती दिनहरु कसरी काटिएला भन्ने पिर अहिलेदेखि नै पर्न थालेको छ । मेरा साथीको ता अवकासको बेला आई नै हाल्यो । त्यसैले मैले मेरा साथीलाई एक दिन कुरै कुरामा सोधें— ‘निवृत्तिपछि के गरेर समय काट्ने योजना बनाउनु भएको छ मित्र ?’
उनले बडो फुर्तीका साथ उत्तर दिए–‘व्यापार गरिन्छ नि । अरु के गर्ने र ?’
‘अब यो उमेरदेखि व्यापार गरेर त्यसमा सफलता पाउन सकिएला के त ?’ मैले सोधें ।
‘किन नसक्ने ? नसक्नु के छ यस मुलुकमा ? सबै भन्दा सजिलोसँग यस मुलुकमा गर्न सकिने कुरा नै व्यापार हो । यसमा न कसैको टन्टा ? न कसैको टेन्सन ? न घाटा ? न झन्झट ?’
हँ, मलाई अलिक चित्त बुझेन र सोधें– ‘के यसमा झन्झट छैन र ? यसमा पनि समस्या छन् । चन्दा आतङ्क छ । घाटा पनि हुन सक्छ । अनेकौं समस्या छन् भन्छन् नि त भुक्तभोगीहरु ? अलिक होस गरेर हात हाल्नुहोला । हुन ता तपार्इं वाणिज्य विभागमा काम गर्दागर्दा अवकास हुन लाग्नु भएको अनुभवले खारिएको र वार्ता गर्दा गर्दा तिखारिएको मान्छे ! तपार्इंको अनुभव होला म के भनौं र ?’
‘नो टेन्सन । चन्दा भनेको ता ग्राहकबाट चुट्कीका भरमा असुल हुने विषय न हो । यसमा कुनै समस्या छैन । अनुभव छ र ता मलाई आइडिया फुरेको छ त ।’
‘कसरी ? कस्तो आइडिया ?’
‘केको कसरी भनेर सोध्नुहुन्छ तपाईं पनि !’ मेरा उत्तरमा उनी बडो हल्का रुपमा प्रस्तुत हुँदै भन्न थाले—‘हेर्नुहोस्, यस मुलुकमा सबै थोकको व्यापार एकै ठाउँबाट हुन्छ । मैले औषधिपसल नै खोल्ने विचार गरेको छु । औषधिको दोकान खोल्यो, दबाइ बेच्यो, दबाइमा धेरै मात्रा अल्कोहल हुन्छ । आखिर अल्कोहल हो भने शुद्ध अल्कोहल पनि ता त्यसैसँग मिल्ने खालको जिनिस न हो । त्यो पनि त्यसैमा सामेल गर्यो र त्यहीँबाट बेच्यो । त्यसमा रहेछ काइदाको फाइदा……’ यस्तै केके भन्दा भन्दै मलाई सोधे– ‘दबाइ किन चाहिन्छ ? बुझ्नु भाको छ ?’
‘स्वास्थ्यका लागि ?’ मैले उत्तर दिएँ ।
‘स्वास्थ्यका लागि हो भने दबाइ दोकानेले दबाइ मात्र बेचेर भयो ? उसले ग्राहकको स्वास्थ्य र सबै आवश्यकतालाई ध्यान दिनुपर्छ । मान्छेलाई लाउने लुगादेखि मरेपछि लाछ बाँध्न कात्रो पनि चाहिन्छ । खैर मर्ने कुरा छाडौं । स्वस्थ रहनका लागि अनेकौं कुराहरु चाहिन्छन् । हरियो सागसब्जी चाहियो, हरियो सागपातले न स्वास्थ्य राम्रो हुन्छ, रासनपानी चाहियो, त्यसलाई पकाउन ग्यास चाहियो, अब यी सबै ग्राहकलाई चाहिएपछि उसलाई सागसब्जी किन्न कता जाऊ भन्ने ? ग्यास लिन कता जाऊ भन्ने ? रासनपानीका लागि अन्त कता जान भनिरहने ? एउटा बिरामीलाई फलफूल चाहिन्छ नै । लौ फलफूल चाहियो अरे, फलफूल किन्न अन्तै जाऊ भन्न मिल्छ ? नैतिकताले दिन्छ ? नुनभुटुन सकिएला, पानी दूधको खाँचो पर्ला, उसको मोटर साइकलमा पेट्रोल सकिएला, ग्राहकलाई यी सबै कुरा किन्न अन्तै जाऊ भन्न मिल्छ ? बिरामीका बालबच्चाहरुले चकलेट र ललिपप माग्लान्, खेलौना किनिमाग्लान् । त्यसका लागि अन्तै जाऊ भन्नु हुन्छ ? लौ कुनै बिरामी मरेछ अरे । त्यसका आफन्तलाई तिमी कात्रो किन्न अन्तै जाऊ भन्न सकिएला ? बिचरा उसलाई कत्रो टेन्सन परिराखेको हुन्छ त्यो बेला ? लौ भन्नुहोस् एउटा राष्ट्रसेवक व्यापारीलाई यसरी ग्राहकप्रति गैरजिम्मेवार हुन मिल्छ ? तपाइँ नै भन्नुहोस् न ।’
‘गैर जिम्मेवार ता हुन मिल्ने कुरै भएन नि मित्र’ मैले भनें ।
‘उसो भए अब भेटें भने चल्तीमै रहेको दबाइ दोकान घ्याप्प किन्ने नत्र एउटा नयाँ दोकान खोल्ने । अनि त्यसैमा नुन, तेल, मसला, सागसब्जी, फलफूल, रासनपानी, सकिन्छ भने माछामासु, दूध, पानी, गोबर ग्यासका सामानहरु, सिलिन्डर, रक्सी, तेल, मटितेल, प्रसाधनका सामानहरु, पेट्रोल, डिजल, मोटरसाइकलका पार्टहरु, गाडीका पार्टहरु आदि जे जे चाहिन्छ सबैथोक राख्ने । अझ मेरो ता त्यसै दोकानबाट ट्राभल एन्ड टुरिजम पनि चलाउने विचार छ ।’
‘अँ आइडिया ता बडो उच्च रहेछ, तर पैसा पो अलिक चाहिन्छ होला यो सबै गर्न’ मैले भनें । ‘दबाइका दोकानमा दारु नै राखेपछि ता सेकुवा, चिकेन, मटन, थुक्पा, छोयला, कचिला, बजीहरु र मोमोका साथ बार र बाराङ्गनाहरुको पनि खाँचो पर्न सक्ला त्यसका लागि के सोच्नु भएको छ ?’ फेरि सोधें ।
‘सोचेको छु । तपाईंको कुरा मैले बुझें । यसका लागि ता खोलिदिनुपर्छ मसाज सेन्टर, रेस्टुरेन्ट र बार । अनि चल्छ औषधि दोकान मजासँग’ उनले भने बडो सहजताका साथ ।
‘फेरि अब एउटा व्यापारीले एकै ठाउँबाट धेरै कुरा बेच्न नपाउने कानुन हुन लाग्यो अरे भन्ने कुरा पनि सुनिन थालेको छ ?’ मैले शङ्का गरें ।
‘यी सबै देखाउने दाँत मात्र हुन् मित्र । जुन ग्राहकले जे चाह्यो एकै ठाउँबाट त्यो कुरा पायो भने ग्राहकले नै त्यो एकै दोकानबाट धेरै थोक बेच्न नपाउने नीतिको विरोध गर्छन् । हामीलाई कुनै समस्यै पर्दैन । समस्या पर्न आँट्यो भने छँदैछ नि हडताल गर्ने उपाय । हडताल गरिदियो । टायर रिसोलिङ सेन्टर पनि ता दबाइ दोकानमा खुलेकै हुन्छ । त्यहाँ पुराना टायरहरु ता हुन्छन् नै । तिनैलाई एक दुई मुन्द्रेहरुको सहयोगमा सडकका माझमा राखेर बालिदियो । सरकार नाथे ता हो । त्यो कसरी झुक्छ भन्ने कुरा ता मलाई न थाहा छ । अस्ति केही नानी बाबुहरुले टुक्केलाई दुई चार घन्टामै ठेगान लगाएर दाँत झरेको थाहै होला नि ।’
‘हो त्यो ता थाहै छ नि । अझ मलाई भन्दा तपाइँलाई नै थाहा छ । सरकारको उच्च ओहोदामा बसेर भुक्तभोगी भइसक्नु भएकोले मलाई भन्दा तपाइँलाई नै त्यो कुरामा बढी थाहा हुन्छ । तै मेरो सल्लाहा नि ।’
‘सल्लाहा लागि धन्यवाद मित्र ।’ भन्दै उनी अघि बढे । म भने उनको व्यापारी जुक्ति बुझेर अचम्म परिरहें । अनि सोचें मैले पनि पो यस्तै दोकान खोल्ने हो कि अवकासपछि ?
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































