साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटक जारी छ

कुरा त्यही हो, पात्रहरू उनै हुन्, जसले रत्नपार्कमा चटक देखाउने गर्थे, अहिले अन्तै सरे । उता फेरि गाउँका केही उरन्ठेउला ठिटाहरू कुखुरा र काँक्रा सुन्तला चोरेर हैरान पार्थे, गाउँ त सुरक्षित भयो । जब यिनले गाउँ छोडे, शहरमा झन चर्को हैरानी दिन थाले ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

आजभोलि रत्नपार्कमा चटकेहरू देखिँदैनन् । तर पनि रत्नपार्कमा दृश्यावलोकन गरेको चटकको स्वाद मेरो मानसपटलमा घरिघरि आइरहन्छ । गत महिना काठमाडौं गएको बेला चटक हेर्नकै लागि म रत्नपार्क छिरे पनि त्यहाँ उहिले जस्तै चटक देखाउने गरिएको रहेनछ । चटक हेर्नै भनेर जाँदा चटक हेर्न नपाएपछि मन रमाउने कुरा पनि भएन । जब समयले नै बिताएपछि मनले चिताए जस्तो नहुने रहेछ । जमानामा देखे जस्तै चटक देख्न पाए पो झटक हुन्थ्यो । दूर्भाग्य, पहिले जस्तै चटक हेर्ने अवसर पाइएन ।

कसैलाई सोध्न मनलाग्यो, अचेल यहाँ चटक किन देखाइँदैन ? मलाई रहस्य पत्ता लगाउने तीव्र इच्छा जाग्यो । हातमा एक एक थान मोबाइल साक्षी राखेर परेवाका जोडी जसरी बसेकाहरूसँग मेरो प्रश्नको उत्तर हुने कुरै भएन । यदि उत्तर रहेछ भने तिनीहरूसँग समय हुँदैन, यो कुरा त मैले पनि राम्रोसँग बुझेको छु ।

त्यसैले म एकजना पाको मान्छेको खोजीमा रत्नपार्कको कुना काप्चामा हेर्न लागेँ । जसले मेरो प्रश्नको उत्तर सहजै दिन सक्नेछन् । नभन्दै ७५- ७६ को हाराहारीमा पुगेका एकजना वृद्ध देखिए । हातमा मोबाइल लिएर हाँस्दै, खुशी हुँदै कुरा गरिरहेका तिनै वृद्ध नजिक पुगेपछि थाहा पाएँ, तिनी फोनमा कसैसँग जरुरी कुरा गर्दै थिए । जब यिनको मोबाइल संवाद सुनें, यिनीसँग पनि समय रहेनछ भन्ने स्पष्ट बुझिन्थ्यो ।

यिनी भन्दै थिए “होइन होइन छ ! तर अमेरिकातिर । कुरो एक दुई दिनको होइन कम्तिमा पनि पाँच छ महिनाका लागि हो । पैसा मनग्य दिउँला त्यसको चिन्ता लिनु पर्दैन ।”

यिनको कुरा सुनिसकेपछि मलाई लाग्यो, जसरी म रत्नपार्कमा चटके किन छैनन् भन्ने प्रश्नको उत्तर खोजिरहेको छु, यिनी त्यो भन्दा पनि महत्वपूर्ण  प्रश्नको उत्तर खोजिरहेका रहेछन् । मलाई लाग्यो अब मेरो प्रश्नको उत्तर यिनले पनि दिन सक्दैनन् । अब म अर्को कुनै पात्रको खोजिमा थिएँ । जसले मेरो प्रश्नको उत्तर सहजै दिनसक्छ । यसै बिच अल्लि पर एउटा बेन्चमा एक्लै बसिरहेका एउटा ख्याउटे अनुहारका मान्छे देखिए, जसको हातमा मोबाइल होइन एउटा कलम र कपी मात्र थियो । म अब उनीसँग आफ्नो जिज्ञासा मेटाउने प्रयास गर्न लागेँ । यिनी नाम चलेका कवि रहेछन् । यिनलाई देख्नासाथ मैले भनेँ, “आजभोलि यहाँ चटक देखाइन्न ? चटकेहरू कता हराए होलान ?”
उनले हाँस्दै भने “चटके मात्र किन ? अचेल गाउँमा कुखुरा हराएको थाहा पाएका छौ ? उखु, काँक्रा र बोडी बारीबाटै गायब भएको देखेका छौ ?”

कुरो यथार्थ थियो । अचेल यी सबै घटनाबाट गाउँ सुरक्षित छ । गाउँमा मान्छे बसे पो हराउने चोरिने घट्ना हुनु ! न चोर्ने वस्तु नै पर्याप्त मात्रामा पाइन्छ ? मैले केही सम्झे जस्तै गरेर, हो भन्ने भावमा मुन्टो हल्लाएँ ।

“जब, केही पढेलेखेका युवा र तिनका पछि लागेर केही मान्छेहरूले युरोप अमेरिकालाई लाहुर सम्झिए, केही त्यही लाहुर जाने तयारी गर्दैछन् । त्यसपछि, पहिले पहिले रत्नपार्कमा चटक देखाउनेहरू नै राजधानीमा सर्वेसर्वा भए । कतिलाई त हामीले नै छनौट गरेका हौँ ।” कविजीले थप सुनाउँदै थिए ।

“आजभोलि यिनीहरू यहाँका दरवार, सभाहलहरूमा भेला हुन्छन् । पहिले जस्तो व्यक्तिगत रुपमा होइन, अचेल सामुहिक रुपमा चटक देखाउँछन् । संस्थागत रूपमा दर्शकलाई जिल्याउँछन् अनि गोजी चिल्याउँछन् । यिनै चटकेहरूले अचेल त हेर्दाहेर्दै काठमाडौं उपत्यकालाई सिङ्गापुर बनाइदिन्छन् । हेर्ने र सुन्नेहरू परर ताली बजाउँछन् । जब तालीको समर्थन पाउँछन् , यिनको उत्साह झनै बढ्छ । त्यसपछि त पहिले रत्नपार्कमा देखाइने चटक भन्दा अहिलेका चटक निकै स्तरीय हुनथालेका छन्। रत्नपार्कमा चटक देखाउँदा रक्सौलको गाडी ल्याउन सक्दैन थिए, अचेल सिगात्सेको रेल सिधै बेनी बजारमा गुडाएर देखाइ दिन्छन् ।

बलभद्र कुँवरले नालापानीमा शत्रुका टाउका काटेको खुकुरी एकताका चटक देखाएरै यतैको जङ्गलबाट उठाएका थिए ।
यी तिनै चटके हुन्, जसले रत्नपार्कमा रङ्गिन कागजलाई परेवा बनाएर उँडाउने गरेका थिए । अचेल नेपालीलाई भुटानी बनाएर उँडाउछन् । फरक यतिमात्र हो । उनीहरूले चटक देखाउन भने छोडेका छैनन्, चटक जारी छ । बरु झनै स्तरीय र अपत्यारिला खालका पो चटक देखाउन थालेका छन् त ! यता दर्शकहरू जोड जोडले ताली बजाइ रहेकै हुन्छन् ।

चटक प्रथा बन्द भएको भने होइन, चटक देखाउने पात्र पनि पलायन भएका छैनन् । बस् चटकको रुप फेरिएको हो । चटक देखाउने स्थान परिवर्तन भएको हो । रत्नपार्कमा चटक देखाउँदा अवलोकन गर्ने दर्शकको पनि अभाव हुन थाल्यो । मुख्य कुरा पैसा निकै कम उठ्ने रहेछ । त्यसैले यिनीहरूले स्थान परिवर्तन गरे । अहिले एउटा गतिलो चटक देखाउनु पर्छ, पैसा त पुस्तक सरी हात पर्छ । चटक देखाएरै नुनलाई सुन बनाइन्छ । अमूल्य वस्तु मूल्यहीन र मूल्यहीन वस्तु अमूल्य बन्छ । चटक देखाउन खप्पिस भएपछि कसको के लाग्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा पहिले चटक देखाउनेहरूले आफ्ना परिवारजन र सन्तानलाई चटके नबनून् भन्ने सोच राख्थे र चटक सम्बन्धी सिपमुलक तालिम पनि दिँदैन थिए । अचेल त चटकेका सन्तानहरू बाबु चटके भन्दा बिच्छी पो निस्किएका छन् त ! सायद राम्रोसँग तालिम दिने गरिएको छ । आशा गरौँ, चटक देखाउने प्रथा निरन्तर कायमै रहिरहने छ । हामी संसारमा चटकेहरूको देश भनेर चिनिने छौँ ।

“कुरा बुझ्यौ ? कविजीले एकसुरमा कारण बताउँदै थिए, म ध्यानपूर्वक सुनिरहेको थिएँ ।
“पहिले पहिले चटक हेर्दा हाँसो, रमाइलो र उत्सुकता लाग्थ्यो । दर्शकलाई समेत यसैगरि चटके बनूँ बनूँ लाग्ने गर्थ्यो । अचेल भने हाँसो र लाज शरम बराबर लाग्ने गरेको छ । चटके देख्यो कि मन भित्रदेखि डर, रिस र घृणा एकैचोटी उत्पन्न हुन्छ । कुरा त्यही हो, पात्रहरू उनै हुन्, जसले रत्नपार्कमा चटक देखाउने गर्थे, अहिले अन्तै सरे । उता फेरि गाउँका केही उरन्ठेउला ठिटाहरू कुखुरा र काँक्रा सुन्तला चोरेर हैरान पार्थे, गाउँ त सुरक्षित भयो । जब यिनले गाउँ छोडे, शहरमा झन चर्को हैरानी दिन थाले । हरेक परिवर्तनसँगै भएको यो परिवर्तन पनि महत्वपूर्ण परिवर्तन हो । नआत्तिनु भाइ, चटक यथावत चलिरहेको छ, ठाउँ मात्र फेरिएको हो ।” रत्नपार्कमा चटक देखाउन किन छोडिएको रहेछ, मैले बल्ल बुझेँ । कविजीलाई धन्यवाद दिएर म आफ्नो बाटो लागेँ ।

०००
कालिका ६, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x