अशोककुमार शिवामाछाको फरेन्सिक रिपोर्ट
माछा किन हाँस्दै मर्यो यसको रहस्य भने अझै फेला पार्न नसकिए पनि मोटरसाइकिल चडेर आएको चोरको पछाडि पनि कोही थियो कि ? भनेर शंका गरिएको छ ।

अशोककुमार शिवा :
एकाबिहानै मेसेन्जरमा दुर्गन्ध फैलियो । दुर्गन्ध के को हो ? कसैले खुट्याउन सकेनन् । सबै आ-आफ्नै अड्कलबाजीमा लागे कसैले चिया डढ्यो होला भने कसैले के भने तर कसैले पनि खास कुरा पत्तो पाउन सकेनन् । सबै नाक समातेर यत्रतत्र खोजी गर्न लागे । यतिकैमा एकजना बुज्रुक कतै झुण्डाई राखेको ज्याकेट नजिक पुगेछन् । उनी ठाउँको ठाउँ बेहोस भएछन् । बेहोस अवस्थामा रहेका बुज्रुकलाई पानी छम्केर ब्युझाएपछि बल्ल रहस्य खुल्यो कि ज्याकेट गन्हाएको रहेछ भनेर ।
एकजनाले बिचैमा भने- हैट, ज्याकेट त यस्तो गन्हाउँदैन त हौ । यो त माछा बजार गएको जस्तो गन्ध आइरहेको छ । ज्याकेटको खानतलासी सुरु भयो । ज्याकेटको दाहिने खल्तीमा अक्वेरियममा पाल्ने ठूलो खालको एउटा माछा निच्च दाँत देखाएर मरेको पाइयो । त्यसै बोला गणबहालको एउटा घरमा माछा चोरी भएको बारे हल्लिखल्ली मच्चिरहेको थियो । गणबहालमा माछा हराएर खल्लिबल्ली हुनु र यता माछा मरेर गन्हाउनुको के सम्बन्ध छ भनेर छलफल चल्दा विशेष अनुसन्धान गर्ने निर्णय भयो ।
माछा हराएको घरको सिसिटिभीको अध्ययन पहिला गर्ने निर्णय भए अनुसार सिसिटिभि फुटेज हेर्दा एकजना मोटे मोटे तान्जानियन जस्तो देखिने मान्छेले अक्वेरियममा हात हालेर माछा झिक्दै गरेको दृश्य देखियो । ऊ माछा खल्तीमा हालेर घरी घरी एक्लै हाँस्दै थियो । सायद माछाले पेटमा कुत्कुति लगाएर होला । फुटेज हेर्दा माछा धनी पनि वरपर देखिएकोले उनकै साथी कोही हुनुपर्छ भनेर उनलाई सोधखोज गर्दा मान्छे पत्ता लाग्यो । माछा चोर अरु कोही नभएर उनकै नक्कली वर्थडे मनाउने बहानामा घर पुगेको साथी भन्ने बुझियो ।
माछा किन हाँस्दै मर्यो यसको रहस्य भने अझै फेला पार्न नसकिए पनि मोटरसाइकिल चडेर आएको चोरको पछाडि पनि कोही थियो कि ? भनेर शंका गरिएको छ । हुनसक्छ, ती दुईको संवाद त्यस्तै हाँसोलाग्दो थियो होला । माछाको फरेन्सिक परीक्षण गर्न पठाउँदा सास धुनेर भन्दा पनि धेरै हाँसेर ज्यान गएको रिपोर्ट प्राप्त हुनाले माछा चोर लास्टै रोमान्टिक रहेको बुझियो । आफूलाई चोर दोष लाग्ने डरले उसले अरुले माछाको अक्वेरियम लगायतका सजिसजावट अवलोकन गरेको भिडियो बनाएर राखेको समेत फेला पारियो ।
घटनामा अन्य पनि संलग्न छन् कि भनेर अनुसन्धान जारी छ । माछा हराएको त्यस दिन दिउँसो र साँझ गरेर उक्त घरमा आठ जनाको सारनतारन देखियो । तर अरु सबै गाईप्राणी जस्तो देखियो भने माछा चोरको छट्याईं फट्याईंले अभियुक्त अरु कोही नभएर ऊ नै भएको बुझियो । निजलाई समातेर तत्काले भृकुटीमण्डप स्थित मेरो अडियो नेपालमा बुझाइएको छ ।
अडियो नेपालबाट प्राप्त जानकारी अनुसार मुद्दा दर्ता भैसको छ भने छिट्टै सुनुवाई पनि सुरु हुनेछ । माछा चोर अभियुक्त दोषी ठहरिए प्रत्येक दिन साँझ ७ बजेबाट ११ बजेसम्म झ्यालबाट लगातार माछाले गिल हल्लाएको झैँ गरी हल्लाउँदै बस्नु पर्ने सजाय हुने सम्भावना व्यापक चर्चामा छ । साथै त्यस दिन त्यहाँ उपस्थित हुने अन्य व्यक्तिलाई पनि सधैँ साँझ हाजिर जनाउनै पर्ने गरी आदेश जारी हुने कुरा छ ।
०००
गल्कोपाखा, काठमाडौं ।
२०८०/०८/१९
Subscribe
Login
0 Comments
Oldest








































