रमेश समर्थनजात्रैजात्राको देश र दिवसैदिवसको देश
सरकारले यसै दिनलाई राष्ट्रिय जातीय पोसाक दिवस घोषणा गरेर आआफ्नो समुदायभित्र यो दिवस आफ्नै तरिकाले र सार्वजनिक कार्यमा अवरोध नहुने गरी मनाउन पाउने तर विदा नदिने घोषणा गरोस् ।

रमेश समर्थन :
जनवरी १ न टोपी दिवस हो न धोती दिवस हो । दिवस हुनका लागि त्यसको ऐतिहासिकता हुनुपर्छ जुन दुवैको छैन । यसलाई टोपी दिवस भन्न थालेको एक दशक पनि भएको छैन । ३६४ दिन टोपी लाउँदा एलर्जी हुन्छ भन्नेहरू पनि यस दिन टोपीमा फोटो खिचेर वा कुनै समयमा खिचिएको फोटो राखेर राष्ट्रिय टोपी दिवस भन्दै राष्ट्रियताको आलाप लिन्छन् । अझ महिलाहरूले पनि त्यसो गरेको देख्दा झन् उदेक लाग्छ । बरू मजेत्रो बेरेर मजेत्रो दिवस भन्नु नि ! ढाकाटोपी वा भादगाउँले टोपी लगाउने महिला को छन् ? यो त तमासा मात्र हो ।
अहिले एउटा समूह धोती दिवस भन्दै आयो तर तिनमा कैयौँ त यस्ता थिए जसले जीवनमा धोती लगाएकै थिएनन् र त्यसै दिन फनफनी घुमाएर र घुसारघुसुर पारेर तमासा गर्दै थिए । ती भने न धोतीवाल हुन् न टोपीवाल हुन् । अनि टोपी दिवस भन्नेहरूले सडकमा प्रदर्शन गरेका होइनन् नि ! अनि धोती दिवसको प्रदर्शन किन गर्नु परेको ?
म पनि धोती लगाउँछु र धेरै “म धोती हुँ ।” भनेर चिच्याउनेहरूले भन्दा राम्रोसँग लगाउँछु । हरेक दिन पूजा गर्दा धोती लगाउँछु । सबै पूजाआजा र श्राद्धकर्ममा पनि धोती लगाउँछु । तर सडकमा प्रदर्शन गर्दिनँ ।
अनि सरकारले गिरफ्तार किन गरेको ? धोतीको प्रदर्शन गरे भनेर ? के भयो र प्रदर्शन गरेर ? याद राखून् यो पहिचानका नारा दिएर सत्तामा पुगेका प्रधानमन्त्री र गृहमन्त्रीले कि नेपाल बहुलजातीय र बहुसाँस्कृतिक देश हो । जुनसुकै तन्त्र आए पनि नेपाल अनेकतामा एकता र विविधतामा एकरूपता भएको देश हो । नेपालमा एक सयभन्दा बढी जाति छन् र तिनका आआफ्नै पहिरन छन् । यदि प्रत्येकले आफ्नो पहिरनलाई लिएर एक एक दिनलाई दिवसका रूपमा मनाउने हो भने जात्रैजात्राको देश दिवसैदिवसको देश हुनेछ । मानिसहरू कामकुरो छोडेर दिवसको तयारीमा लाग्ने छन् ।
दिवसको ऐतिहासिक तथ्य हुन्छ । तसर्थ यसलाई ऐतिहासिक बनाउन सकिन्छ । सरकारले यसै दिनलाई राष्ट्रिय जातीय पोसाक दिवस घोषणा गरेर आआफ्नो समुदायभित्र यो दिवस आफ्नै तरिकाले र सार्वजनिक कार्यमा अवरोध नहुने गरी मनाउन पाउने तर विदा नदिने घोषणा गरोस् । बरू सरकारी स्तरबाट नै सबै जातीय पोसाकसहितको झाँकी निकालोस् ।
मैले भने अबदेखि टोपीको प्रदर्शन पनि नगर्ने भएँ किनभने टोपी मेरो आवश्यकता हो र अब त परिचय पनि बनेको छ “टोपी लाउने सर” भनेर । मधेशी, पहाडी , हिमाली ! हामी सबै नेपाली ! हिमाल , पहाड, तराई ! कोही नहोस् पराई !
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest








































