बद्रीप्रसाद दाहाल ‘भस्मासुर’केशवराज पिँडाली : युगान्तकारी हास्यव्यङ्ग्यकार
यस्ता अमर साहित्य साधकको, वाणी युक्तको, शारदाका उपासकको, सिद्ध हस्त निबन्धकारको, प्रसिद्ध लेखकको सम्मान र अभिनन्दन गर्न राज्यले, राष्ट्रले, सरकारले र साहित्यसेवी कवि, लेखक, पाठक, बुद्धिजीवी सबै सबैले निकै चाख देखाउनु पर्ने हो तर... ।

प्रा. शिवगोपाल रिसाल :
एउटा गाउँखाने कथा अथवा हाजिरी जवाफ प्रतियोगिताको एउटा प्रश्न-नेपाली साहित्यका हास्यव्यङ्ग्य विधामा अत्यन्त प्रसिद्ध ख्यातनामा सरल र सरस भाषाका स्रष्टा, नाम चलेका उपन्यासकार, स्तरीय निबन्ध र गद्यका निर्माता, समसामयिक समस्यालाई पहिल्याएर आफ्नो स्पष्ट धारणा र विचार धारालाई जनसमक्ष राख्ने सिद्धहस्त गद्यकार, जनमानसलाई माफ्नो राष्ट्रिय स्थानीय स्थितिको स्पष्ट बोध गराएर सुसूचित गर्ने साहित्यकार पत्रकार को हुन ? उत्तर खोजिरहनु पर्दैन, झट्ट भनिदिए हुन्छ – श्री केशवराज पिँडाली । गाउँ खाने कथाका प्रश्नकर्ता आफ्नो उत्तर पाएर दङ्ग पर्दछन् वा गाउँ खान नपाएकामा किन हुन्छन् । अनि हाजिरी जवाफ प्रतियोगिताका प्राश्निक (क्विज मास्टर) ‘ठीक’ भनेर प्रसन्नता व्यक्त गर्दछन् र श्रोतृवृन्दबाट तालीको मधुर ध्वनि गुञ्जायमान हुन्छ ।
हो पनि केशवराज पिँडाली नेपाली गद्यकारमा निकै ख्यातिप्राप्त हस्ती हुन्, महारथी हुन् र प्रखर प्रतिभा । पिँडालीको गद्य अत्यन्त शिष्ट, भद्र, सरल र सरस, स्तरीय र प्रभावकारी, व्यङ्ग्यात्मक र मनोरन्जनात्मक, विवेचनात्मक एवं भित्र छुने खालको छ । निबन्ध, उपन्यास, समसामयिक लेख आदि जुन सुकै विधालाई दृष्टिगत गरेपनि पिँडाली आफ्नै मौलिकता, निजीपन र स्पष्ट व्यक्तित्व लिएर प्रकाशित भएका छन् । ‘खै खै’, ‘एकादेशकी महारानी’, जस्ता स्तरीय, सरल मार्मिक, हास्य व्यङ्ग्यात्मक, सामाजिक, मनोवैज्ञानिक कृतिहरूका आधारमा पिँडाली अमर बनेका छन् ।
सामान्य बोलचाल र कुराकानीमा अनि प्रवचन र भाषणमा अत्यन्त सौम्य, भद्र, सरल र मुदुभाषी, प्रायः नरिसाउने अनि नहाँस्ने तर अरुलाई प्रशस्त हँसाउने, सुत्रात्मक शैलीमा बोल्ने, सधैँ गम्भीर मुद्रामा देखिने पिँडाली विश्लेषणात्मक विवेचनात्मक शैलीका लेखक हुन् । उनी समाजका दुर्गन्ध र पिपलाई विकार र विकृतिलाई, राल र सिँगानलाई राम्रोसँग चिरफार गरेर, निचोरेर मिल्काइदिन्छन् । निर्भीक लेखक, लामो समयदेखिका सम्पादक, पुराना पत्रकार, प्रसिद्ध स्तम्भकार, जीवन्त साहित्यका स्रष्टा, मार्मिक समीक्षक, राष्ट्रवादी प्रजातन्त्रवादी विचारक केशवराज पिँडाली नेपाली वाङ्मयकै एक कीर्तिमान् स्तम्भ हुन्, एक असाधारण प्रतिभा हुन् । एक युगान्तकारी हास्यव्यङ्ग्यकार हुन् ।
झण्डै आधा शताब्दीदेखि अनवरत र अविछिन्न रूपमा कलम खिपाइरहने कलमजीवी बुद्धिजीवी सरस्वतीका परमभक्त एवं वरदपुत्र पिँडाली सिर्जनात्मक लेखनधर्मी हुन् र उनले आफ्नो सम्पूणर् जीवनलाई शारदाको आराधनारूपी कठोर तपस्यामा समर्पण गरिदिएका छन् । उनको गद्य देख्नासाथ यो पिँडालीको मात्र हुनसक्छ मन्त्र सकिने भएकाले उनले भाषा र शैलीलाई, विषयको छनोट र प्रस्तुतिलाई आफ्नो निजी, मौलिक बनाएर प्राधिकारिक व्यक्तित्वको निर्माण गरेका छन् । त्यसैले अब त पिँडालीको गद्य वा पिँडालीको हास्य व्यङ्ग्य वा पिँडालीको शैली भन्न सकिने स्थितिको सिर्जना पिँडालीका गद्यले गरिसकेका छन् । यो नेपाल गद्य विधाकै लागि गौरवको विषय हो ।
विषयवस्तुको विन्यासकला, भाषिक संरचना अत्यन्त सटीक, मर्मस्पर्शी र सुस्वादु भएकाले पनि पिँडाली नेपाली पाठक समाजमा अत्यन्त प्रिय परिचित र परिपक्व देखापरेका छन् । उनको गाद्यिक अधिकार र साहित्यिक धर्मितालाई जीवन्तता प्रदान गर्ने उल्लेखनीय बिन्दु हुन् स्वाभाविक र सरल भाषिक स्वरूप अनि विषय वस्तुको गहिराईमा पुगेर उह्रापोह छलफल गरी एउटा निष्कर्षमा पुग्ने तार्किक क्षमता छ । समाजलाई आफ्नो मूल धरातल मान्ने पिँडाली सामाजिक जीवनदेखि कहिल्यै बाहिर गएका छैनन्, त्यसैले पनि उनी समाजमा ज्यादा नजिक र प्रिय बनेका हुन् ।
खै खैले पिँडालीलाई प्रसिद्ध निबन्धकार, हास्य व्यङ्ग्यकार बनाएको छ भने एकादेशकी महारानीले प्रसिद्ध उपन्यासकार । उनका सामयिक लेख, निबन्ध अनगिन्ती छन् र आजसम्म, अहिलेसम्म पनि उनबाट गद्य सिर्जना भइरहेकाले उनको मूल्याङ्कन अझ गर्न बाँकी नै छ । उनी जति भनिए त्यति मात्र नभएर भन्न बाँकी पनि उनी हुन् । साहित्यिक र पत्रकार भएकाले उनको प्रखर विचार र शैली सदासदा हराभरा र उर्वर पाइन्छ । उनी सदा नयाँ नयाँ सिर्जनामा संलग्न, सक्रिय र सचेष्ट भएकोले छापिएका, प्रकाशित भएका, पुस्तकाकारमा भाएका मात्र नभएर पुस्तकाकारमा नभएका र प्रकाशित नै नभएका कृतिहरूमा पनि पिँडालीको व्यक्तित्व, कृतित्व जीवन्त रहेकाले धर्मसम्म पिँडालीको सम्पूणर् आयामिक दृष्टिले मूल्याङ्कन गर्न सकिएको छैन ।
कट्टर राष्ट्रवादी, सुधारवादी, भाषासेवी, साहित्यकार एवं पत्रकार, पिँडाली भाषा र शैली, विचार र चिन्तन, विश्लेषण र विवेचनाका आधारमा नितान्त मौलिक र आत्मपरक स्वरूपका देखिन्छन् । समसामयिक विषयवस्तु र समस्यालाई टपक्क टिपेर त्यसका पूर्वापर प्रसङ्गहरू कोट्याएर, रसिलो र मार्मिक पाराले विश्लेषण र विवेचना गर्ने, राष्ट्रिय एकताका बिन्दुमा पुर्याएर सामाजिक, भाषिक, साहित्यिक र साँस्कृतिक समिकरण गर्ने कलामा आधिकारिक स्थान ग्रहण गर्ने भूमिका स्थापित गर्न अत्यन्त सफल पिँडालीज्यूको योगदान उल्लेख्य कोटिको मान्नुपर्छ ।
पिँडाली धरतीबाट उठेका, धरतीमा बाँचेका र धरतीकै पक्षघर भएकाले उनी कुनै पनि राजनैतिक विवादभन्दा भिन्न छन्, माथि छन् । उनी नेपाली पाठकलाई शाश्वत र जीवन्त सन्देश दिएर नेपाली साहित्यकारका अमर र उज्ज्वल नक्षत्र बनेका छन् । विशेषतः हास्यव्यङ्ग्य निबन्धकारका रूपमा मूर्धन्य र सर्वमान्य व्यक्तित्वका रूपमा उनी चिरपरिचित हुन् र उनले आफ्ना थुप्रै प्रतिनिधि साहित्य र साहित्यकारहरू जन्माइसकेका छन् ।
पिँडालीका विषयहरू हाम्रै समाजका, हाम्र घर कुँडालका, गल्ली गल्छेंडाका भात भान्साका होची र अर्गेलीका, व्यापार र बजारका, राजनीति र सांस्कृतिक, मानिक पक्षसँग सम्बद्ध छन् । उनी सामाजिक, शैक्षिक, राजनैतिक साँस्कृतिक समस्यालाई जनसमक्ष ल्याइदिन्छन्, तिनको विश्लेषण गर्छन् र तिनका सुधारका, समाधानका थुप्रै उपायहरू औँल्याएर समाजलाई सुधारको सुमार्ग निर्देश गरी विकृति र विकार, रोग र भोक, अशिक्षा र अन्धकार, अन्याय र शोषण आदिलाई निर्मूल गराउन खोज्छन् । यस क्रममा उनी सदासर्वदा निर्भीक निडर, निःस्वार्थ देखिन्छन् । कुनै पनि राजनैतिक शक्तिसँग समर्पित भएका पाउँदैनन् । यो पनि उनको अर्को विशेषता हो ।
यस्ता अमर साहित्य साधकको, वाणी युक्तको, शारदाका उपासकको, सिद्ध हस्त निबन्धकारको, प्रसिद्ध लेखकको सम्मान र अभिनन्दन गर्न राज्यले, राष्ट्रले, सरकारले र साहित्यसेवी कवि, लेखक, पाठक, बुद्धिजीवी सबै सबैले निकै चाख देखाउनु पर्ने हो तर हामी धेरै ढिलो भइसक्यो । हामी गुणग्राही बन्नुपर्छ नत्र पछि पछुतो हुन्छ । राष्ट्रका कवि, लेखक, कलाकार, साहित्यकार, चिन्तक, दार्शनिक आदि प्रतिभाहरूको सम्मान गर्नु, अभिनन्दन गर्नु समग्र राष्ट्रकै सम्मान गर्नु हो, अभिनन्दन गर्नु हो ।
शिवमस्तु
०००
शिव-मन्दिर शान्तिकुना, जाउलाखेल ललितपुर- ५
‘उन्नयन’ केशवराज पिँडाली विशेषाङ्क (२०५०)
Subscribe
Login
0 Comments
Oldest






































