शहीदहरूमा श्रद्धा सुमन !
पुर्खाको इतिहास पढ्छु जसरी आँखा सधैँ भिज्दछ । सोच्दा देश र वर्तमान दिनले पैह्रो बनी किच्दछ ॥ कोर्दै यो कवि भावना समयको खोज्दै सुनौलापन । होला कार्य अझैँ यहाँ कठिनको गर्नै छ यो सज्जन ।
होमनाथ घिमिरे :
कालो रात थियो स्वदेशभरमा बत्ती निभेझैँ थियो ।
हेर्थे नित्य झुकेर भूमितलमा तारा बनेझैँ दियो ॥
राणा शासनको अघोर छलले गुम्दै थियो आबरु ।
आमा जर्जर झन् कठोर दिनले आक्रान्त छोराहरू ।१।
शिक्षा स्वास्थ कुनै थिएन जनमा रैती बनेका थिए ।
राणा शासनको विरुद्ध जनता कैदी बनेका थिए ॥
सारा विश्व उठेर झन् प्रगतिको छर्दै थियोे चेतना ।
नेपाली जनता अझैँ कहरमा खप्दै थियो वेदना ।२।
माटोको ममता बुझेर गरिमा कर्तव्य यो देशको ।
गर्नै पर्छ लडेर पूणर् अब ता चल्दै थियोे सोच त्यो ॥
गङ्गालाल र धर्मभक्त सँगमा छन् शुक्र जो चन्दजी ।
आफ्नै जीवन आहुती पनि गरे सङ्घर्ष सत्ता लडी ।३।
फेर्नै पर्छ कठोर शासन यहाँ सोचेर सारा जन ।
चिर्नै पर्छ अघोर रात, सुकिलो खोजेर नौलो दिन ॥
जागौँ हे ! जनता भुलेर यसरी कर्तव्य यो देशको ।
भन्दै ती सबमा जुटौँ मुलुकको फाल्नै छ सत्ता अहो !४।
आए लड्न भनेर ती शहीदले साथी विरोधी जन ।
मान्छे भित्र अनेक संशय सबै फाल्दै थिए सज्जन ॥
हाँस्दै मर्न तयार छन् शहीद ती फाँसी र गोली अब ।
आफ्नो प्राण निमित्त कत्ति मनमा तृष्णा थिएनन् भव ।५।
कोर्दै मार्ग नयाँ यहाँ मुलुकमा छोरा र छोरीहरू ।
फोर्दै पत्थर ती तमाम पथका चट्टान झाडीहरू ॥
पाए जो अधिकार देश जनता तोडेर दुःशासन ।
ल्याए तन्त्र नयाँ यहाँ मुलुकमा फालेर त्यो शासन ।६ ।
पुर्खाको इतिहास पढ्छु जसरी आँखा सधैँ भिज्दछ ।
सोच्दा देश र वर्तमान दिनले पैह्रो बनी किच्दछ ॥
कोर्दै यो कवि भावना समयको खोज्दै सुनौलापन ।
होला कार्य अझैँ यहाँ कठिनको गर्नै छ यो सज्जन ।७।
आओस् सोच नयाँ समस्त जनमा कर्तव्य आफ्ना खुली ।
भागोस् द्वेष विकार लोभ अब ता विद्रोह सारा धुली ॥
राखोस् मान सदैव यी शहीदको आस्था सबैमा फुली ।
दिन्छौँ शब्द समान फूल दिलको श्रद्धा अझै छन् चुली ।८।
०००
भरतपुर, चितवन