सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्य शिरोमणि केशवराज पिँडाली

कोहीलाई उनी पिँडालु जस्तै कोक्याउने पनि लाग्दा होलान्, तर घोत्लिएर हेरेमा पिँडालीका व्यङ्ग्य उनका आफ्ना मात्र नभएर समाजकै मानसको प्रतिबिम्ब भएर आएका हुन्छन् ।

Nepal Telecom ad

रमेश खकुरेल :

शब्दब्रह्मका नवरसरूपी नौ धारामात्र हास्यको धारा मात्र यस्तो प्रवाह हो, जुन कि मानवमात्रको विशेषता हो । संसारमा अरु कुनै पनि प्राणी मानव जस्तो हाँस्न सक्दैन । जीवनरूपी नदीका दुई किनारा हास्य र रोदनको बीचमा अरू सबै रसको अस्तित्व प्रवाहित भएको पाइन्छ । हुन त केही विद्वानले रसमा करूण मात्र विशिष्ठ छ भनेका छन् ता कोही शृङ्गारलाई रसराज पनि भन्दछन् । तर नेपाली साहित्यका हास्यव्यङ्ग्य शिरोमणि केशवराज पिँडालीले हास्यरस नै सबभन्दा श्रेष्ठ रस हो भनेर प्रमाणित गरेर देखाएका छन् ।

करूण रसभन्दा हास्यरस धेरै माथि छ भनेर हास्यरसको महत्ता निर्विवाद प्रतिपादन गर्ने पिँडालीजीको ‘मुटु छेड काव्य’ हास्यरसको गरिमा बारे आजसम्म लेखिएको सबैभन्दा महत्वपूणर् वकालत हो जस्तो मलाई लाग्छ । हुन त नेपाली साहित्यमा हास्यव्यङ्ग्यका धेरै लेखक कविहरू भए र प्रायशः सबै कविले हास्यव्यङ्ग्यमा कतै कतै कलम नचलाएका पनि होइनन् । यहाँ अरु कसैको मूल्याङ्कन कम गर्न खोजिएको होइन तर यस विधामा आजसम्म सबैभन्दा धेरै र स्तरीय लेख्ने एकमात्र लेखक केशव पिँडाली हुन् भन्न करै लाग्छ ।

विशुद्ध हास्य ‘कला कलाको लागि’ जस्तै यौटा बेग्लै आदर्श भए पनि व्यङ्ग्य मिसिएको हास्य ‘जीवनको लागि कला’ पक्ष हो र यसको बढो उपादेयता पनि देखिन्छ । साहित्य मानवताको स्तरीयताको सम्वद्र्धन गर्ने उद्देश्यमा विकृतिको उन्मूलन गर्ने पनि गर्दछ । यथार्थवादी साहित्यको नाममा कारुणिकताको प्रदर्शन गरेर मागेको अधिकार लिने ठाउँमा हास्यव्यङ्ग्यले दण्डको प्रहार गरेर डाक्टरले हुरी चलाएर घाउ फाले झैँ विकृति फ्याक्न अझ बढी क्षमता राख्छ । यस क्षेत्रमा कथनी सरी कै करणी गरेर केशव पिँडालीले आजीवन नेपाली साहित्यको हास्यव्यङ्ग्यफाँटमा सेवा गर्दै नेपाली जनतालाई हँसाउँदै विकृतिविरुद्ध लड्दै आइरहनुभएको छ ।

केशव पिँडालीको जीवनलाई हेर्दा हामी यिनै शिक्षाहरू पाउँछौ । पिँडालीजीले जीवनसँग कहिल्यै सम्झौता गरेनन् । कोहीलाई उनी पिँडालु जस्तै कोक्याउने पनि लाग्दा होलान्, तर घोत्लिएर हेरेमा पिँडालीका व्यङ्ग्य उनका आफ्ना मात्र नभएर समाजकै मानसको प्रतिबिम्ब भएर आएका हुन्छन् । जनताका वेपैसाका वकील पिँडालीले पाउने पुरस्कार हुन् कतै ‘हान्ने राँगाका जस्ता आँखा’ र कतै जेल यातना । पिँडालीजी स्वयं बडा भावुक र शारीरिक रूपले पनि कोमल छन् । मलाई सम्झना, सिक्किम यात्रामा जाँदा बाटोमा रानीबसको सीटबीचको दूरी साँग्रो भएर खुट्टा खुम्च्याइरहनु पर्दा बिहान उनको कुर्कुच्चादेखि घुडासम्म भ र र र… दाना निस्केका थिए । यस्ता बालकभन्दा सुकुमार पिँडालीले जेलमाता के गरी गरे होलान् र अझै पनि निर्भीक भएर हास्य व्यङ्ग्यको माध्यमले समाजका काँडाहरूमाथि कुठाराघात गरिरहेछन्, यो पोटा आश्चर्यको विषय छ ।

हास्यको परिस्थितिका लागि श्लीलको मर्यादा पिँडालीले कहिल्यै नाघेको देखिँदैन । आधुनिक हास्यव्यङ्ग्यकारहरूमा अश्लीलताको विकृति बढ्ने गएकोमा पिँडालीजी बढी चिन्तित हुनुहुन्छ । कोही कोही पिँडालीजीको लेखनमा कतै कतै वीभत्सको प्रस्तुतिदोष भयो भन्ने आक्षेप पनि लगाउँछन् तर ‘शूरवीरको नर्कयात्रा’ जस्ता परिस्थितिको वर्णन गर्ने क्रममा त्यति यथार्थ चित्रण हुनु अक्षम्य पनि ठहर्दैन । नेपाली हास्यव्यङ्ग्य साहित्यका सबै लेखकहरूभन्दा बढी लेखहरू दिएर पिँडालीजी यस फाँटकै सबभन्दा अग्ला हुन पुगेका छन् । गद्य होस् वा कविता, पूर्व विधामा सिद्धहस्त पिँडाली माइकमा आउने उद्घोषणले नै श्रोतावर्गमा तालीको लहर चल्छ । उनको प्रस्तुति सकिएर नफर्कुञ्जेल श्रोताहरू मन्त्रमुग्ध भएर समय बितेको पत्तै पाउँदैनन् ।

पिँडालीको व्यक्तिगत जीवन पनि उनको रचनाजस्तै सात्विक तरल र महामानव वी. पी. को सचिव भएर बसिसकेका मानिसले आजको परिस्थितिमा सत्ताको साझेदारी नपाउने कुरो थिएन र उनी यसका लागि अयोग्य पनि थिएनन् । तर पिँडालीजी आफ्नै रचनाधर्मिताको खाटो बालेर जनताको एकीन भएरै सन्तुष्ट छन् । यसका लागि घरको साथीको ठूलो हात हुन्छ र यसको श्रेय श्रीमती पिँडालीलाई पनि नदिई रहन सकिन्न । आधा शताब्दीसम्म भाषा साहित्यको सेवा गरेका पिँडालीलाई समाजले के दियो ? केही सोच्नुपर्ने हुन्छ । जीवनयापन गर्न पत्रकारिता गरेर परिवार पाल्ने पिँडालीले नेपाली समाजमा पनि स्वस्थ पत्रकारिता गरेर मानिस बोक्न सक्छ भनेर पहिलो उदाहरण देखाएका पनि छ । व्यङ्ग्य निर्धामाथि प्रयोग गरिने चीज होइन । यो त बलियाहरूमाथि चलाइने गोली हो । बलियाकै जताततै सत्ता हुन्छ । आफूमाथि गोली चलाएको ठान्ने सत्ताले नसहने हुनाले नै होला आजसम्म पिँडाली पाखा पर्दै आएका छन् ।

कवि, लेखक र कलाकारहरूलाई आजीवन बाँच्न धौ धौ बनाएर मरिसकेपछि जतिकै सम्झे पनि र जत्तिकै सम्मान गरे पनि उनीहरूलाई प्रत्यक्ष लाभ नपुग्ने त छँदै छ; समाजले पनि उनीहरूबाट अझ बढी उत्पादन नपाउने नै हुन्छ । यदि उनीहरूको जीवनकालमै सक्दो मूल्याङ्कन, अभिनन्दन र भौतिक समर्थन समेत गर्न सकेमा त्यसको धेरै गुणा बढी प्रत्युत्पादन गर्न ती कवि, लेखन र कलाकारलाई हौसला र सहुलियत प्राप्त हुन्छ । आज यस शिलशिलामा उन्नयनले श्री केशवराज पिँडालीसम्बन्धी यो विशेषाङ्क निकाल्नु त्यस कडीको एउटा शुभारम्भ हो र यस्ता अवसरहरूले नै गुणग्राहिताका आफ्नै आादर्श प्रस्तुत गर्दछन् ।

०००
‘उन्नयन’ केशवराज पिँडाली विशेषाङ्क (२०५०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
आजको नाच यो

आजको नाच यो

रमेश खकुरेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे