रमेश खकुरेलम त भार भएँ
न त तर्न सकें न त मर्न सकें न त इज्जत नै पनि चर्न सकें न त पार भएँ न त वार बचें किन हो किन खै म त भार भएँ ।।

रमेश खकुरेल :
अति नै लठुवासित सङ्ग गरें
जति तान्छु भनें उति झन् म झरें
लठुवा त खसे पनि पार तरे
म यता न उता अलमल्ल परें ।।
पढियो जति अक्कल खान्छ उति
परियो जति नक्कल लान्छ उति
न त अक्कलले पनि काम गर्यो
न त नक्कल गर्न दिमाग फुर्यो ।।
न त जङ्गलभित्र गई बसियो
न त दङ्गलमा थुतुनो धसियो
गरियो त किताब लिई पढियो
अनि नालनजीक पुगी गडियो ।।
लठुवा जब पार तरेर गए
सब इज्जत लाज छरेर गए
यति भार उठाउन लाइदिए
“तँ अहा !” धुनबाट उठाइदिए ।।
म छु इज्जतको कुटुरो शिर छ
अति भार हुँदा शिर अस्थिर छ
म त भन्दछु हो शिर हल्लिदियो
अनि हैन कि हैन कि झैं बुझियो ।।
न त तर्न सकें न त मर्न सकें
न त इज्जत नै पनि चर्न सकें
न त पार भएँ न त वार बचें
किन हो किन खै म त भार भएँ ।।
०००
कमलपाेखरी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































