काेइराला वत्सराजजे छ त्यो छँदै छैन
मनहरु छन्, तर मिल्दै मिल्दैनन् । देश आफ्नै हो, तर मान्छे पराइ भएका छन्। तिमी धारामा पानी नभएको कुरा गर्छ्यौ प्रिये। यहाँ सबथोक छ, तर जेको लागि छ, त्यो त्यसको लागि छैन।

काेइराला वत्सराज :
धारामा दुई दिनसम्म पानी नआएपछि श्रीमतीजी कराइन्- “लौ न एकपटक पानी अड्डातिर जानुपर्यो क्या !
मैले अनकनाउँदै भनें- “आज नआए भोलि त पक्कै आउँछ, जाबो यति कुराको गुनासो लिएर के जानु। तिमीलाई के थाहा यो देशमा कत्राकत्रा समस्या छन्।”
“त्यसो भनेर कहाँ हुन्छ ? पानी नआउँदा यहाँ आपतै परिसक्यो।”
उनले निकै कर गरेपछि म खानेपानी विभागतिर लागें। बाटोभरि सोचिरहें, आज त जसरी पनि धारामा पानी आउने जोहो गर्नैपर्छ। थोत्रो गाडीहरुको धुवाँमा निस्सासिंदै निकै धुलो खाएपछि विभागमा पुगें। तर काम गर्ने कर्मचारी कोही देखिन। मोबाइल लगाएँ तर फोन नै लागेन।
कस्तो अचम्म ! अफिस छ तर अफिसर छैनन्। अफिसर छन् तर छुट्टीमा छन्। बल्लबल्ल एकजना सहायक भेट भए। निवेदन दिनुस् भने। तर मंजूर भएन। रिपोर्ट लेखाउनुस् भने, त्यसपछि पनि केही भएन।
निराश भएर फर्कन आँटेको थिएँ। अर्दलीले सहानुभूति देखाउँदै भन्योः “यस्तै हो हजूर। जाँच हुन्छ, तर रिपोर्ट आउँदैन। योजना स्वीकृत हुन्छ, तर बजेट पास हुँदैन। बजेट स्वीकृत हुन्छ, तर रकम आउँदैन। पद छ, तर आजकल खाली छ।”
अफिसमा अरु कोही थिएनन्। उसले यताउति हेर्दै पुनः बखान गर्न थाल्योः “पहिलाको हाकिम योग्य थिए, विचराको सरुवा भयो। अहिलेका हाकिम पनि ठीकै छन्, तर प्राविधिकहरु ठीक छैनन्। कर्मचारीहरु काम गर्न खोज्छन् तर माथिबाट अर्डर आउँदैन।” उसको यो ब्याख्यान सुनेपछि म “भोलि आउँछु” भनेर निस्कें।
त्यो पानीअड्डाको अर्दलीको कुराले मलाई गहिरो सोचमा डुबाई दियो। जसोतसो घर पुगें। श्रीमती मेरो बाटो हेरेर बसिरहेकी थिइन्। मैले एक कप चियाको फरमाइस गरें।
उनले निराश हुँदै भनिन् “चिया छ, तर चीनी छैन।”
“ओहो ! म त “छ” र “छैन” को समस्या सुन्दासुन्दा हैरानै भएँ बा ! यो देशमा सबैथोक छ तर केही छैन। कारखाना छ, तर बिजुली छैन। करेन्ट छ, तर तार नै खराब छ। उत्पादन भइरहेछ, तर बिक्री छैन। माग छ, तर पूर्ति छैन। बसमा यात्री छन्, तर सिट छैन। भाडा तिरियो तर उसँग फिर्ता दिने पैसा छैन। बिरामी भइयो तर औषधिले काम गरेन। अस्पताल पुगियो, तर बेड खाली छैन। बल्लतल्ल बेड मिल्यो, तर सोध्नेवाला कोही छैन। गुनासो गर्यो, तर सुन्नेवाला कोही छैन।”
श्रीमती ट्वाल्ल परेर मलाई हेरिरहेकी थिइन्। म पुनः फतफताउन थालें।
“गुनासो सुन्ने अधिकारी छन्, तर भेटिंदैनन्। सुन्न त सुने, तर केही गरेनन्। शिलान्यास भयो, तर भवन बनेन। बिल्डिंग बन्यो, तर अझै काममा आएन। स्कूल छ, तर बच्चाले एडमिशन पाएनन्। पढ्न गएका थिए, तर बिग्रेर फर्के।”
“कस्तो गजब ! छ पनि छैन पनि। छैन भनौं- छ, तर छ भनौं- छैन। अखबारमा खबर थियो, तर पछि अफवाह भएको थाहा भयो। अपराध भयो, तर गिरफ्तारी भएन। सम्पादकको नाममा पत्र पठाएको, तर छापिएन। कविता लेखियो, तर सुन्नेवाला कोही छैन। किताब छापियो, तर बिकेन। निकै खोजियो तर भेटिएन। बजारमा सामान आएको थियो, तर समाप्त भयो। कर्फ्यू हटाइयो तर फेरि झगडा भयो रे। स्थिति नियन्त्रणमा छ भन्छन्, तर खतरा अझै छ रे।”
“मानव छन्, तर मानवता छैन। मनहरु छन्, तर मिल्दै मिल्दैनन्। देश आफ्नै हो, तर मान्छे पराइ भएका छन्। तिमी धारामा पानी नभएको कुरा गर्छ्यौ प्रिये। यहाँ सबथोक छ, तर जेको लागि छ, त्यो त्यसको लागि छैन।”
यति बडबडाइसकेपछि म लमतन्न भएर ओच्छ्यानमा ढलें।
“ओहो, हजूरलाई त ज्वरो पो आएको छ !”
श्रीमतीको स्वर निकै टाढाबाट आएजस्तो मसिनो सुनियो। म आँखा चिम्म गरेर सुतें।
०००
हेटाैँडा
Subscribe
Login
0 Comments
Oldest








































