मोहनराज शर्माबुद्धि सापटी देओ न !
मेरो घैँटामा घाम लागेको छ । कसैले माछा दिनुभन्दा माछा मार्न सिकाउनु राम्रो हुन्छ भन्ने त तिमीहरूले पनि थाहा पाएकै होऔँला त्यसैले ममाथि दया गर !

प्रमाण अधिकारी :
के गर्नु यो दुनियाँमा निर्धनी भएपछि पाउनु दुःख पाउनुसम्म पाइँदो रहेछ । धन नै सबैभन्दा ठूलो रहेछ, तर आफ्नो यो पुर्पुरोमा खनखनी पैसा खेलाउने भाग्य परेको भए पो ! धन कमाउने अनेक तरिका नदेखेको पनि होइन । देखेका सबै तरिकाबाट केही सिकेर पैसा कमाउने तरिका अपनाउन डराउने मजस्ता नामर्दले कसरी उन्नति गर्नु ? आफैसँगका साथी कारमा चढेर हिँड्ने भइसके । म भने यही थोत्रो साइकल घिस्याएर जीवन गुडाइरहेछु । यो अभावै अभावको जिन्दगी जिउँदाजिउँदै म वाक्क दिक्क भइसकेँ । मलाई पनि भौतिक सुखसुविधाले भरिपूर्ण जीवन जिउने रहर पलाइसक्यो । सधैँको अभावमा लामो जीवन कटाउनुभन्दा मोजमस्तीको छोटो जीवन नै श्रेयस्कर लाग्न थाल्यो । मेरो उन्नति पनि यही धनले रोक्यो ।
कसरी धेरै आर्जन गर्ने भन्नेतिर नलागेर साह्रै दुःख पाइयो । लप्पनछप्पन, जालझेल नजानेको, जेलनेल नभोगेको मजस्ता सोझा मान्छेलाई जीवन धान्न गाह्रो परिसक्यो । मलाई पनि हे ! मेरा धनीमानी साथीहरू, धनी बन्ने उपाय सिकाइदेऊ । धन्य छौ तिमीहरू कानुनसित डराएनौ, जनतासित डराएनौ, आफ्ना ठग्ने काममा निरन्तर खटिरह्यौ । कति ठग्यौ ? तर पनि तिमीहरू नै यो समाजका सच्चा भक्त कहलिन्छौ । राष्ट्रका सेवक ठहरिन्छौ । समाजसेवामा दत्तचित्त देखिन्छौ । हैन तिमीहरूले यस्तो बुद्धि कहाँबाट पायौ हँ ? मलाई पनि यसो त्यस्तो बुद्धि सापटी देओ न ! हामीजस्ता देश भनेर मरिहत्ते गर्ने, जनताको पैसा भनेर पारदर्शी बन्ने मान्छे अहिले त कहाँ टिक्न सकिँदो रहेछ र ?
जता गयो उतै पैसा कमाउन खप्पिस मान्छे मात्रै देख्छु । विद्यार्थीकालदेखि मैले यस्ता मान्छेको दर्शन गर्दै आएको छु । विद्यालयमा राम्रो कक्षा नलिएर आफ्ना ट्युसन सेन्टरमा पैसाको ओइरो ल्याउन त्यतातिर निम्तो दिने शिक्षकको निम्तो अस्वीकार गर्दा सबै शिक्षकको आँखी हुनुपरेथ्यो कुनै बेला । सरकारी सेवा लिन अस्पताल जँचाउन गयो । डाक्टर साबले आफ्नो निजी क्लिनिकमा गरेको निमन्त्रणासँगै मोटो पैसाको गन्धले चम्केका उसका आँखा छल्दा सानातिना रोग आफै निल्नुपरेको छ । स्वास्नीलाई सारी किन्न दोकान पस्यो सबैभन्दा सस्तो सारी किनिदएर चित्त बुझाउनु परेको छ ।
आजकलका महँगा बोर्डिङ्ग स्कूलमा छोराछोरी भर्ना गर्न नसकेर नाजुक अवस्थामा चल्दै गरेको सरकारी स्कूलमा भर्ना गराएको छु । छोराछोरी बोर्डिङ स्कूलमा पढ्न भनेर हत्ते गरेका गर्यै छन् । के गर्नु तिमीहरू त्यही सरकारी काम गर्छौ तर त्यही सरकारी स्कूल राम्रो बनाउनभन्दा आफ्नै छोराछोरीसमेत बोर्डिङमा भर्ना गरेर सफल भएको महसुस गर्छौ । सक्नेले त विदेशका महङ्गा विद्यालय, कलेजमा पढाउँछौ । देशमा परिस्थिति बिग्रिए पनि तिमीहरूका छोराछोरी आनन्दले पढ्छन् । बिग्रिने त हाम्रा छोराछोरी न हुन् । बिग्रिए नै भने पनि तिमीहरूका लागि यी के महत्त्वका छन् र ? आफ्ना सन्तानको भविष्यप्रति ढुक्क भएर बस्न पाएका छौ । यता न उता त हामी न पर्छौं । के गर्नु आफ्नो त कर्मै खोटो, धन नभएर दुःख पाइयो । मेरी स्वास्नी, छोराछोरीको पनि के दोष, तिमीहरूका क्रियाकलापकै कारण उनीहरूको पनि इच्छा महत्त्वाकांक्षी बन्दै छ । म भने जहाँको त्यहीं अनि कसरी मलाई धन कमाउने बुद्धि नचाहियोस् ?
पोहोर साल मेरा बा क्यान्सरले ग्रस्त हुँदा केही गर्न सकिन । खाली यै पैसा किन तगारो पर्छ हँ ? हुनेखाने तिमीहरूका लागि त यस्सो रुघाखोकी लागिहाल्यो भने पनि बेलायत अनि सिङ्गापुरका नामुद हस्पिटल पानीपँधेरा भइहाल्छन् । हामीलाई भने यहीँका आधुनिक अस्पताल र नर्सिङ होमको शुल्क तिर्न पनि धौ-धौ पर्छ ।
त्यसैले हे मेरा साथीहरू ! मलाई गाह्रो पर्दा पैसाको सहयोग गरेर मात्र मलाई मेरो यही निर्धनी अवस्थामा छोडेर नजाऊ । मेरो बुद्धि फिरिसकेको छ । जमानाअनुसारको बन्न नजानेर मैले पाउनु दुःख पाएँ । तिमीहरूका ठट्याइँ, बठ्याइँ अनि फट्याइँजस्ता सीप त आजकलका मानिसका आधारभूत नैतिक आवश्यकता रहेछन् । कुन सत्य युगको नैतिकतामा फँसेको रहेछु । अहिले बल्ल आँखा खोल्ने अवसर पाएको छु । मेरो घैँटामा घाम लागेको छ । कसैले माछा दिनुभन्दा माछा मार्न सिकाउनु राम्रो हुन्छ भन्ने त तिमीहरूले पनि थाहा पाएकै होऔँला त्यसैले ममाथि दया गर ! यो आधुनिक जमानामा जिउन सक्ने हुन सिकाइदेऊ, पैसा कमाएर सम्पन्न हुन सिकाइदेऊ । म तिमीहरूको सहयात्री बन्न तयार छु ।
०००
रामघाट, पोखरा- १०
Subscribe
Login
0 Comments
Oldest






































