साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धि सापटी देओ न !

मेरो घैँटामा घाम लागेको छ । कसैले माछा दिनुभन्दा माछा मार्न सिकाउनु राम्रो हुन्छ भन्ने त तिमीहरूले पनि थाहा पाएकै होऔँला त्यसैले ममाथि दया गर !

Nepal Telecom ad

प्रमाण अधिकारी :

के गर्नु यो दुनियाँमा निर्धनी भएपछि पाउनु दुःख पाउनुसम्म पाइँदो रहेछ । धन नै सबैभन्दा ठूलो रहेछ, तर आफ्नो यो पुर्पुरोमा खनखनी पैसा खेलाउने भाग्य परेको भए पो ! धन कमाउने अनेक तरिका नदेखेको पनि होइन । देखेका सबै तरिकाबाट केही सिकेर पैसा कमाउने तरिका अपनाउन डराउने मजस्ता नामर्दले कसरी उन्नति गर्नु ? आफैसँगका साथी कारमा चढेर हिँड्ने भइसके । म भने यही थोत्रो साइकल घिस्याएर जीवन गुडाइरहेछु । यो अभावै अभावको जिन्दगी जिउँदाजिउँदै म वाक्क दिक्क भइसकेँ । मलाई पनि भौतिक सुखसुविधाले भरिपूर्ण जीवन जिउने रहर पलाइसक्यो । सधैँको अभावमा लामो जीवन कटाउनुभन्दा मोजमस्तीको छोटो जीवन नै श्रेयस्कर लाग्न थाल्यो । मेरो उन्नति पनि यही धनले रोक्यो ।

कसरी धेरै आर्जन गर्ने भन्नेतिर नलागेर साह्रै दुःख पाइयो । लप्पनछप्पन, जालझेल नजानेको, जेलनेल नभोगेको मजस्ता सोझा मान्छेलाई जीवन धान्न गाह्रो परिसक्यो । मलाई पनि हे ! मेरा धनीमानी साथीहरू, धनी बन्ने उपाय सिकाइदेऊ । धन्य छौ तिमीहरू कानुनसित डराएनौ, जनतासित डराएनौ, आफ्ना ठग्ने काममा निरन्तर खटिरह्यौ । कति ठग्यौ ? तर पनि तिमीहरू नै यो समाजका सच्चा भक्त कहलिन्छौ । राष्ट्रका सेवक ठहरिन्छौ । समाजसेवामा दत्तचित्त देखिन्छौ । हैन तिमीहरूले यस्तो बुद्धि कहाँबाट पायौ हँ ? मलाई पनि यसो त्यस्तो बुद्धि सापटी देओ न ! हामीजस्ता देश भनेर मरिहत्ते गर्ने, जनताको पैसा भनेर पारदर्शी बन्ने मान्छे अहिले त कहाँ टिक्न सकिँदो रहेछ र ?

जता गयो उतै पैसा कमाउन खप्पिस मान्छे मात्रै देख्छु । विद्यार्थीकालदेखि मैले यस्ता मान्छेको दर्शन गर्दै आएको छु । विद्यालयमा राम्रो कक्षा नलिएर आफ्ना ट्युसन सेन्टरमा पैसाको ओइरो ल्याउन त्यतातिर निम्तो दिने शिक्षकको निम्तो अस्वीकार गर्दा सबै शिक्षकको आँखी हुनुपरेथ्यो कुनै बेला । सरकारी सेवा लिन अस्पताल जँचाउन गयो । डाक्टर साबले आफ्नो निजी क्लिनिकमा गरेको निमन्त्रणासँगै मोटो पैसाको गन्धले चम्केका उसका आँखा छल्दा सानातिना रोग आफै निल्नुपरेको छ । स्वास्नीलाई सारी किन्न दोकान पस्यो सबैभन्दा सस्तो सारी किनिदएर चित्त बुझाउनु परेको छ ।

आजकलका महँगा बोर्डिङ्ग स्कूलमा छोराछोरी भर्ना गर्न नसकेर नाजुक अवस्थामा चल्दै गरेको सरकारी स्कूलमा भर्ना गराएको छु । छोराछोरी बोर्डिङ स्कूलमा पढ्न भनेर हत्ते गरेका गर्‍यै छन् । के गर्नु तिमीहरू त्यही सरकारी काम गर्छौ तर त्यही सरकारी स्कूल राम्रो बनाउनभन्दा आफ्नै छोराछोरीसमेत बोर्डिङमा भर्ना गरेर सफल भएको महसुस गर्छौ । सक्नेले त विदेशका महङ्गा विद्यालय, कलेजमा पढाउँछौ । देशमा परिस्थिति बिग्रिए पनि तिमीहरूका छोराछोरी आनन्दले पढ्छन् । बिग्रिने त हाम्रा छोराछोरी न हुन् । बिग्रिए नै भने पनि तिमीहरूका लागि यी के महत्त्वका छन् र ? आफ्ना सन्तानको भविष्यप्रति ढुक्क भएर बस्न पाएका छौ । यता न उता त हामी न पर्छौं । के गर्नु आफ्नो त कर्मै खोटो, धन नभएर दुःख पाइयो । मेरी स्वास्नी, छोराछोरीको पनि के दोष, तिमीहरूका क्रियाकलापकै कारण उनीहरूको पनि इच्छा महत्त्वाकांक्षी बन्दै छ । म भने जहाँको त्यहीं अनि कसरी मलाई धन कमाउने बुद्धि नचाहियोस् ?

पोहोर साल मेरा बा क्यान्सरले ग्रस्त हुँदा केही गर्न सकिन । खाली यै पैसा किन तगारो पर्छ हँ ? हुनेखाने तिमीहरूका लागि त यस्सो रुघाखोकी लागिहाल्यो भने पनि बेलायत अनि सिङ्गापुरका नामुद हस्पिटल पानीपँधेरा भइहाल्छन् । हामीलाई भने यहीँका आधुनिक अस्पताल र नर्सिङ होमको शुल्क तिर्न पनि धौ-धौ पर्छ ।

त्यसैले हे मेरा साथीहरू ! मलाई गाह्रो पर्दा पैसाको सहयोग गरेर मात्र मलाई मेरो यही निर्धनी अवस्थामा छोडेर नजाऊ । मेरो बुद्धि फिरिसकेको छ । जमानाअनुसारको बन्न नजानेर मैले पाउनु दुःख पाएँ । तिमीहरूका ठट्याइँ, बठ्याइँ अनि फट्याइँजस्ता सीप त आजकलका मानिसका आधारभूत नैतिक आवश्यकता रहेछन् । कुन सत्य युगको नैतिकतामा फँसेको रहेछु । अहिले बल्ल आँखा खोल्ने अवसर पाएको छु । मेरो घैँटामा घाम लागेको छ । कसैले माछा दिनुभन्दा माछा मार्न सिकाउनु राम्रो हुन्छ भन्ने त तिमीहरूले पनि थाहा पाएकै होऔँला त्यसैले ममाथि दया गर ! यो आधुनिक जमानामा जिउन सक्ने हुन सिकाइदेऊ, पैसा कमाएर सम्पन्न हुन सिकाइदेऊ । म तिमीहरूको सहयात्री बन्न तयार छु ।

०००
रामघाट, पोखरा- १०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x