रामप्रसाद अर्याल ‘अविराम’शिवरामको छोरो पनि मुन्द्रिएछ
हाम्रो समाजमा शिवरामको छोरा केवलरामजस्ता खराब चरित्र बोकेका धेरै केवलरामहरू छन्, जसले समाजमा विकृति र विसङ्गति बढाउन मलजल पुर्याउँदैछन् र पुर्याएका छन् । शिवरामको छोरो त प्रतिनिधि पात्र मात्र हो ।

देवीचरण भण्डारी ‘सरोज’ :
एउटा साहित्यिक कार्यक्रममा विर्तामोड जान भनी साइकलमा हतार-हतार गरेर चन्द्रगढी, लेखनाथचोकतर्फ लागिरहेको थिएँ म । बाटामा कसैले, ‘ओ अंकल ! यस्तो हतारमा कता हो ? काँधमा रामचन्द्रको पालाको झोला पनि भिर्नु भा’को छ । तपाईं त सारै टोपा भएर हिँड्नु बाल्नुभएछ नि हो ।’ झन्डै मेरो साइकल रोकेर एकोहोरो भट्याउन थालेपछि को रहेछ, यो महापुरुष भनेर यसो नजर लाएको त तीन छक्क परेँ म । हो कि होइन भन्दै राम्ररी नियालेर हेरेँ, मैले शिरदेखि पाउसम्म । मेरो ठम्याइ ठीकै रहेछ ।
त्यस्तै ५-७ वर्ष हुँदो हो हाम्रो भेटघाट नभएको । ऊ भने बढ्दो उमेरको भएकाले मलाई सुरुमा ठम्याउन निकै गाह्रो भयो । आफूभने घट्दो उमेरको । उसले नचिन्ने कुरै भएन । वास्तवमा ऊ अरु कोही नभएर हेटौंडा घर भएका शिवराम शर्माको सुपुत्र केवलराम शर्मा थियो । उसका बाउ शिवराम विचरा नै थिए । जागिरको क्रममा हाम्रो भेटघाट र चिनजानी भोजपुरमा भएको थियो । मसँग असाध्यै राम्रो दोस्त थियो उनको । विचरा कति सोझा र इमान्दार थिए ! बाँचुन्जेल कसैलाई बिझाएनन् उनले । मृदुभाषी र मिलनसार, उनको विशेषता थियो । ‘सादा जीवन, उच्च विचारका’ अनुयायी थिए शिवरामजी । सायद २०५९ सालमा हुनुपर्छ, भोजपुरबाट घर जान भनी हिँडेका उनी कहिल्यै घर पुग्न सकेनन् । बाटैमा उनी अस्ताउन पुगेछन्, भीरबाट लडेर । बाँचुन्जेल हुलाकको सानो जागिरले के नै पो राहत पाउनसके होला र ! मरेपछि पनि उनको शरीरले आहत मात्रै पायो ।
त्यस्ता विचरा शिवरामको छोराले मलाई सम्बोधन गरेका शब्दहरू, उसको लवाईखुवाई, हाउभाउ देखेर म शिवरामकै सम्झनामा हराउन पुगेँछु । ‘आँच, अंकल पनि दिउँसै सपना देख्न लाग्नु भो’ कि कसो ?’ झसङ्ग व्युझिएँ म सम्झनाको आकाशबाट । एकटक लगाएर हेर्दै गएँ म उसलाई । आँखामा बडेमानको चस्मा, १० ठाउँ जति विभिन्न आकार-प्रकार र आकृतिका स्टीकर टाँसेको पेन्ट लगाएको, सर्ट पनि त्यस्तै हर्त्याङ्ग-हुर्लुङ्ग हुने, जिउमा नमिलेको धोक्रोजस्तो, नाडीमा खै के को हो, हेर्दै भद्दा लाग्ने चुरा लगाएको, कानमा मुन्द्रा झुन्ड्याएको । उसले सोधेको प्रश्नको जवाफ नदिइ मैले प्रतिप्रश्न गरेँ उसलाई, “तिमी शिवरामको छोरा हैन ? चिन्नै नसक्ने पो भएछौ त !”
“आँच अंकल पनि ! यति चाँडै बिर्सन लाग्नुभा’को” उसले आश्चर्य मान्यो । “बिर्सन लागेको त कहाँ हो र ? तिमीसँग भेट नभएको ५/७ वर्ष भएछ । त्यति बेला यस्तो अवस्थामा थिएनौ तिमी । तिमीमा धेरै परिवर्तन आइसकेछ । तिम्रो लवाईखुवाई, हिँडाई-डुलाई, बोलीवचन, बोलीको टोन सबै कृतिमताले भरिएछ । कानमा मुन्द्रा झुन्ड्याएर नराम्रोसँग मुन्द्रिएछौ । अनि कसरी चिन्न सक्थे र म ?” मैले पनि उसको मर्ममा प्रहार गरेँ । “रड्स हुन्छ नि हो अङ्कल, यसरी जे पायो त्यहीँ बोलिदिने ? आजको एक्काइसौँ शताब्दीमा पनि पुरानै कल्चर बोकेर हिँड्ने ? के दियो हामीलाई पुरानो कल्चरले ?”
कुराकानीकै क्रममा गोजीबाट चुरोट निकालेर सल्कायो र वातावरण नै प्रदूषित हुने गरी फुङ्ग धुवाँ उडायो । फेरि अर्को गोजीबाट सेतो- सेतो धुलो निकालेर मजाले नस लियो त्यसको । मैले मनमनै फेरि सम्झिएँ उसको भलाद्मी बाउ शिवरामलाई । त्यस्तो बाउको छोरो कसरी यस्तो कुलतमा फस्न पुग्यो ? कसरी मुन्द्रिन पुग्यो । मलाई उसँग फुर्सदको समयमा बसेर लामो कुराकानी गर्ने र उसलाई सम्झाउने इच्छा थियो तर मैले कार्यक्रममा विर्तामोड जानैपर्ने भएकोले त्यहाँबाट हिँडे । ऊसँग छुट्टिने बेलामा यति मात्र भने मैले उसलाई, “बाबु । तिम्रो बाउ शिवरामले देखाएको बाटो र सपना छाडेर गलत बाटोतर्फ लागेछौ तिमी । त्यसैले म अत्यन्त दुःखित भएको छु । सक्छौ भने सुधार आफूलाई ।”
उसले कसरी लियो मेरो भनाइलाई, त्यो त थाहा छैन । मलाई भने यस्तो लाग्यो- हाम्रो समाजमा शिवरामको छोरा केवलरामजस्ता खराब चरित्र बोकेका धेरै केवलरामहरू छन्, जसले समाजमा विकृति र विसङ्गति बढाउन मलजल पुन्याउँदैछन् र पुर्याएका छन् । शिवरामको छोरो त प्रतिनिधि पात्र मात्र हो ।
केवलरामहरुलाई सही मार्ग निर्देश गर्न समाजको दायित्वभित्र पर्दैन र बेलुका घर फर्किएपछि श्रीमतीलाई सुनाएँ, “तिमीले थाहा पायौ एउटा कुरा ? शिवरामको छोरो केवलराम त मुन्द्रिएछ नि !”
०००
झापा
नवरङ्ग (२०६४)
Subscribe
Login
0 Comments
Oldest






































