साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिवरामको छोरो पनि मुन्द्रिएछ

हाम्रो समाजमा शिवरामको छोरा केवलरामजस्ता खराब चरित्र बोकेका धेरै केवलरामहरू छन्, जसले समाजमा विकृति र विसङ्गति बढाउन मलजल पुर्‍याउँदैछन् र पुर्‍याएका छन् । शिवरामको छोरो त प्रतिनिधि पात्र मात्र हो ।

Nepal Telecom ad

देवीचरण भण्डारी ‘सरोज’ :

एउटा साहित्यिक कार्यक्रममा विर्तामोड जान भनी साइकलमा हतार-हतार गरेर चन्द्रगढी, लेखनाथचोकतर्फ लागिरहेको थिएँ म । बाटामा कसैले, ‘ओ अंकल ! यस्तो हतारमा कता हो ? काँधमा रामचन्द्रको पालाको झोला पनि भिर्नु भा’को छ । तपाईं त सारै टोपा भएर हिँड्नु बाल्नुभएछ नि हो ।’ झन्डै मेरो साइकल रोकेर एकोहोरो भट्याउन थालेपछि को रहेछ, यो महापुरुष भनेर यसो नजर लाएको त तीन छक्क परेँ म । हो कि होइन भन्दै राम्ररी नियालेर हेरेँ, मैले शिरदेखि पाउसम्म । मेरो ठम्याइ ठीकै रहेछ ।

त्यस्तै ५-७ वर्ष हुँदो हो हाम्रो भेटघाट नभएको । ऊ भने बढ्दो उमेरको भएकाले मलाई सुरुमा ठम्याउन निकै गाह्रो भयो । आफूभने घट्दो उमेरको । उसले नचिन्ने कुरै भएन । वास्तवमा ऊ अरु कोही नभएर हेटौंडा घर भएका शिवराम शर्माको सुपुत्र केवलराम शर्मा थियो । उसका बाउ शिवराम विचरा नै थिए । जागिरको क्रममा हाम्रो भेटघाट र चिनजानी भोजपुरमा भएको थियो । मसँग असाध्यै राम्रो दोस्त थियो उनको । विचरा कति सोझा र इमान्दार थिए ! बाँचुन्जेल कसैलाई बिझाएनन् उनले । मृदुभाषी र मिलनसार, उनको विशेषता थियो । ‘सादा जीवन, उच्च विचारका’ अनुयायी थिए शिवरामजी । सायद २०५९ सालमा हुनुपर्छ, भोजपुरबाट घर जान भनी हिँडेका उनी कहिल्यै घर पुग्न सकेनन् । बाटैमा उनी अस्ताउन पुगेछन्, भीरबाट लडेर । बाँचुन्जेल हुलाकको सानो जागिरले के नै पो राहत पाउनसके होला र ! मरेपछि पनि उनको शरीरले आहत मात्रै पायो ।

त्यस्ता विचरा शिवरामको छोराले मलाई सम्बोधन गरेका शब्दहरू, उसको लवाईखुवाई, हाउभाउ देखेर म शिवरामकै सम्झनामा हराउन पुगेँछु । ‘आँच, अंकल पनि दिउँसै सपना देख्न लाग्नु भो’ कि कसो ?’ झसङ्ग व्युझिएँ म सम्झनाको आकाशबाट । एकटक लगाएर हेर्दै गएँ म उसलाई । आँखामा बडेमानको चस्मा, १० ठाउँ जति विभिन्न आकार-प्रकार र आकृतिका स्टीकर टाँसेको पेन्ट लगाएको, सर्ट पनि त्यस्तै हर्त्याङ्ग-हुर्लुङ्ग हुने, जिउमा नमिलेको धोक्रोजस्तो, नाडीमा खै के को हो, हेर्दै भद्दा लाग्ने चुरा लगाएको, कानमा मुन्द्रा झुन्ड्याएको । उसले सोधेको प्रश्नको जवाफ नदिइ मैले प्रतिप्रश्न गरेँ उसलाई, “तिमी शिवरामको छोरा हैन ? चिन्नै नसक्ने पो भएछौ त !”

“आँच अंकल पनि ! यति चाँडै बिर्सन लाग्नुभा’को” उसले आश्चर्य मान्यो । “बिर्सन लागेको त कहाँ हो र ? तिमीसँग भेट नभएको ५/७ वर्ष भएछ । त्यति बेला यस्तो अवस्थामा थिएनौ तिमी । तिमीमा धेरै परिवर्तन आइसकेछ । तिम्रो लवाईखुवाई, हिँडाई-डुलाई, बोलीवचन, बोलीको टोन सबै कृतिमताले भरिएछ । कानमा मुन्द्रा झुन्ड्याएर नराम्रोसँग मुन्द्रिएछौ । अनि कसरी चिन्न सक्थे र म ?” मैले पनि उसको मर्ममा प्रहार गरेँ । “रड्स हुन्छ नि हो अङ्कल, यसरी जे पायो त्यहीँ बोलिदिने ? आजको एक्काइसौँ शताब्दीमा पनि पुरानै कल्चर बोकेर हिँड्ने ? के दियो हामीलाई पुरानो कल्चरले ?”

कुराकानीकै क्रममा गोजीबाट चुरोट निकालेर सल्कायो र वातावरण नै प्रदूषित हुने गरी फुङ्ग धुवाँ उडायो । फेरि अर्को गोजीबाट सेतो- सेतो धुलो निकालेर मजाले नस लियो त्यसको । मैले मनमनै फेरि सम्झिएँ उसको भलाद्मी बाउ शिवरामलाई । त्यस्तो बाउको छोरो कसरी यस्तो कुलतमा फस्न पुग्यो ? कसरी मुन्द्रिन पुग्यो । मलाई उसँग फुर्सदको समयमा बसेर लामो कुराकानी गर्ने र उसलाई सम्झाउने इच्छा थियो तर मैले कार्यक्रममा विर्तामोड जानैपर्ने भएकोले त्यहाँबाट हिँडे । ऊसँग छुट्टिने बेलामा यति मात्र भने मैले उसलाई, “बाबु । तिम्रो बाउ शिवरामले देखाएको बाटो र सपना छाडेर गलत बाटोतर्फ लागेछौ तिमी । त्यसैले म अत्यन्त दुःखित भएको छु । सक्छौ भने सुधार आफूलाई ।”

उसले कसरी लियो मेरो भनाइलाई, त्यो त थाहा छैन । मलाई भने यस्तो लाग्यो- हाम्रो समाजमा शिवरामको छोरा केवलरामजस्ता खराब चरित्र बोकेका धेरै केवलरामहरू छन्, जसले समाजमा विकृति र विसङ्गति बढाउन मलजल पुन्याउँदैछन् र पुर्‍याएका छन् । शिवरामको छोरो त प्रतिनिधि पात्र मात्र हो ।

केवलरामहरुलाई सही मार्ग निर्देश गर्न समाजको दायित्वभित्र पर्दैन र बेलुका घर फर्किएपछि श्रीमतीलाई सुनाएँ, “तिमीले थाहा पायौ एउटा कुरा ? शिवरामको छोरो केवलराम त मुन्द्रिएछ नि !”

०००
झापा
नवरङ्ग (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x