ह्यारी- ८०जय गठबन्धन !
बन्धनमा बाँधिँदा स्वार्थ समान हुनुपर्ने हो तर धोका दिँदा कट्टा हान्दिने भनेर गीत जतिसुकै बजाए पनि गठबन्धनमा धोका दिएकै देखिन्छ तापनि चेत चाहिँ खुल्दैन गठबन्धनमा बाँधिन जानेहरूको ।

ह्यारी- ८० :
जे छ गठबन्धनमै छ । कहीँ बटुलो छ, भेला छ वा मेला छ भने गठकै हुन्छ । दुई जना तीन जना वा जम्बो टोलीमा जति नै भए पनि गठ गर्न सकिने हुँदा बास्सा, एक्का, तुरुप जे परे पनि चतुर खेलाडी हुनुपर्दो रहेछ बाजी मार्न । अनि पो गठलाई बन्धन पार्न सकिने रहेछ । हुन पनि हो एउटै उद्देश्य वा मतो हुन्छ भने त्यो गठ हो । यो गठेहरूको गठ होइन बल्कि एअरपोर्टमा समातिएकादेखि भन्सारको सन्सारमा समातिएका सुनको मुक्ति पनि गठकै भनसुनले नै मिल्छ कि क्या हो ! कता बेपत्ता हुन्छ कता ! हामी जस्ता रेडियो सुन्नेले यसको भेउ पाउने कुरै भएन । गठबन्धनमा छिरेपछि त केही न केही थाहा होला भन्ठानेको ! गठबन्धन टुटिहाल्छ बा !
गठबन्धन तासको घरजस्तै रहेछ । बल्ल बल्ल बनायो भत्किाहाल्छ गाँठे ! गठबन्धनको रक्षा गर्ने हो भने रक्षाबन्धनले बाँधिदिनुपर्छ कि भन्दै थिए फतुरे काका ! तागाधारीले बाँध्ने रक्षाबन्धन सम्झनुभयो भने मन्त्र लाग्दैन । यसलाई त गोरा वा केही काला छाला भएका आयातित झाँक्रीहरूले फुमन्तर गरेर बाँधे अलि जोगिन्छ रे ! होली वाइन त चढाइसकेकै हो त्यसले पनि मन्द विषझैँ काम गरिहेकै होला । अब खै भन्दा भन्दै तुरुन्तै गठबन्धनको गाँठो फुकिहाल्यो । जति गठको गाँठो कसिलो बन्दछ, त्यति यसको पोयो फुकाउन आपसी साँठगाँठ त गर्नै पर्छ । यसमा को को मिले, कुन जात मिले, कुन दलबलका छन् भन्ने हुँदैन । केवल गठ गर्न सक्नुपर्छ । हठ गर्नेले गठ गर्न सक्तैन, गठ गरिहाले पनि गठबन्धन बनाउन असम्भव प्रायः छ ।
केही शठहरूको हठ यति कडा हुन्छ कि गठबन्धनभन्दा माथि आफूलाई चित पनि मेरो पट पनि मेरो भन्ने सम्झिएर स्वार्थसिद्ध गर्न कसैका काँधमा बन्दुक राखी सिकार गरिहन्छन् । हामीले देखेकै गठमा पनि तीन त्रिलोक चौधै भुवनका मान्छेका विचार समेट्ने व्यक्तिहरूको सम्झौता भएको छ सत्तोद्देश्य प्राप्तिका लागि । विकासका नाममा छेपाराझैँ भोलि भन्ने यी कर्मी माहुरीहरूको काम छत्तिस वणर्का फूलहरूबाट रस बटुलेर मह जति आफ्ना सन्ततिलाई चुसाइरहनु हो । विधान बनेको छ त यिनकै फलिफापका लागि, धान फलेको छ तिनकै पोषणका लागि ।
हुन त हिजोआज कुन बन्धन बलियो छ र भन्या ? विवाहबन्धन भन्नुहुन्छ भने ग्रन्थिबन्धनबाट नै सुरु हुन्छ सम्बन्ध विच्छेदको कार्य । लगन गाँठोमा हालेको रकमदेखि दाइजोमा बर्साएको खर्चबर्च हुँदै विकास हुने विवाहबन्धनको फुस्कने क्रम हिजोआज यति द्रुत गतिमा भएको छ कि यसको व्यापकता फेसबुक, इन्स्टाग्राम, युट्युब आदि भित्रका धमाकाले पुष्टि गर्दछन् नै । अदालततिरै पुग्नेको सङ्ख्या त छुटपुट मात्रै हो । अर्कोतिर रक्षाबन्धनको त कुरै नगरौँ । रक्षाबन्धन बाँध्न पाएको छैन हात चिलाएर फुकालिहाल्न मन लाग्छ भन्या । रक्षाबन्धनले रक्षा गर्ने भए गठबन्धन यति दह्रो हुन्थ्यो कि आजसम्म एकछत्र राज गरिरहन्थे । सबै ङार्र र ङुर्र गर्ने भएपछि गठहरूको डोरी फुस्कन्छ फुस्कन्छ । एउटा जुइनो कस भन्छ, अर्को इँजार खुस्केला भन्छ, अर्को फित्ता खुकुलो हुन दिन्नौँ भन्छ तर लास्टाँ कुरो उही हो बुझे भइगो भनेर कसैलाई पाहा पछारेझैँ पछार्छन्; कसैलाई अँगालो हालिहाल्छन् ।
गठबन्धन भत्किन्छ, च्यातिन्छ, टुक्रिन्छ अनि फेरि जोडिन्छ । सबै बन्धन पवित्र हुनुपर्ने हो । रक्षाबन्धन पवित्र हुनुपर्छ, ग्रन्थिपत्र पनि पवित्र हुनुपर्छ अनि विवाहबन्धन पनि पवित्र हुन्छ नै । गठबन्धन पनि त्यस्तै हो । जोडिनका लागि कति पहल हुन्छ, त्यति वा त्यो भन्दा बढी नै फुटेर अर्को गठसँग बन्धनमा गाँसिने हुन्छ तर पनि स्वार्थको मात्राले बन्धनको आयु निर्धारण हुन्छ ।
फतुरे काका प्रश्न गर्छन्, के गठबन्धन भाँडाकुटीको खेल हो ? किन बन्धनमा बाँधिने अनि किन फुक्ने ? के लहडै लहडको खेल हो त यो ? राजनीति फोहोरी खेल भएकाले यहाँ यस्तै हुन्छ भन्दा ठिक होला र ? राजनीतिमा फोहोर सफा गर्न खोज्ने पनि त छन् नि । हरेक गठबन्धनमा किन यस्तो हुन्छ हँ ? एकातिर भत्का अर्कातिर जोल्ठिई । यही हो गठबन्धन !
बन्धनमा बाँधिँदा स्वार्थ समान हुनुपर्ने हो तर धोका दिँदा कट्टा हान्दिने भनेर गीत जतिसुकै बजाए पनि गठबन्धनमा धोका दिएकै देखिन्छ तापनि चेत चाहिँ खुल्दैन गठबन्धनमा बाँधिन जानेहरूको । हठबन्धन भएमा हटबन्धन भइहाल्छ नै । जय गठबन्धन !
०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८० साल फागुन २६ गते शनिबार ।
Subscribe
Login
0 Comments
Oldest











































