साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भात लाग्नुभन्दा मात लाग्नु जाति

यो वासको संसार भन्सारको हाकिमको भन्दा नि रमाइलो हुँदो पो रहेछ गाँठे । त्यो एक छाक खानको लागि बिहानैदेखि लाइन बस्न पनि नपर्ने । स्वास्नीेको कचकच पनि क्यान्सिल, बच्चाहरूको च्याँच्याँ र चुइँचुइँ पनि क्यान्सिल ।

Nepal Telecom ad

हृदयप्रसाद मिश्र :

घूस र जूस खानुपर्छ भन्ने बुझ्नुभन्दा पहिले जाइफलको स्वाद चाखेको हुँदा राइफल देखेरै तर्सिने खालको नभए तापनि ‘अनिकालमा बीउ जोगाउनु हूलमुलमा जीउ जोगाउनु’ भन्ने उक्तिको शुक्ति मेरो सृष्टिकालदेखि हालसम्म विहंगम् दृष्टिले हदयंगम् गरिराखेको छु । जसले गर्दा काफलभन्दा नि मिठो परीक्षाफलहरूमा समेत सधैँ सान र माननै उपलब्ध भैरहेको छ । तर २ घण्टा लाइन बसी पैसा तिरेरै पनि ५ केजी चामल उपलब्ध हुने यो जमानामा मेरो उपलब्धि मात्र माउन्ट एभरेस्टमा पुगेको देख्दा तपाइँले इर्ष्या  गर्नुहोला । तैपनि इर्ष्या गर्ने मानवअधिकार सबैको भएकोले तपाइँकाे अधिकारलाई धिक्कार बनाउने पञ्चवर्षीय योजना-स्योजना पनि मेरो छैन । साथै तलबको लागि त्यत्रो कर्मचारीको जुलुसको त मतलव भएन भने तपाईंको कुराको कसले वास्ता राख्लान् र ? न त तपाईंको व्यक्तित्व छुरा सरह नै चम्केको छ, न त कुरैले भए पनि जनताको मन नै जित्न सकेको छ ।

जेहोस् सरकारलाई बजारको भाउको वास्ता नभएझैँ तपाईंको महिमा र गरिमाको पनि मलाई कुनै दरकार र सरोकार छैन । त्यसो भनेर फेरि तपाईंको प्रगति जति सबै दुर्गति भै जाओस् भन्ने पनि म चाहँदिन, तसर्थ नाव (डुङ्गा) चलाए पनि, चुनाव लडे पनि, आज चोट लागे पनि, खोट लागे पनि, भोट पाए पनि, नोट पाए पनि मलाई कुनै आपत र विपत पनि छैन । तपाईंको आफ्नो नाम चाहे गिनिज बुकमा लेख्नोस् चाहे पकेटबुकमै लेख्नोस् वा वणर्मालामा लेख्नुस् चाहे गोकणर्मालामा नै लेख्नुस्, यसप्रति मेरो कुनै छेस्कोले तपाईंको टाउकोमा बसेर डिस्को गर्ने छैन । एहे ऽऽऽ म पनि कस्तो रहेछुँ, बहुदल आएपछि नेपालमा ताल न बेतालका हड्तालहरूको करताल बजेझैँ काम गर्ने कताकता नाम र दामको नि ध्याउन्न, भनेझैँ पो त भयो ।

अँ… त पाठकवृन्द ! अचेल हाम्रो देश र भेषको हाल बडो बेहाल भैरहेकोले नै मेरो दिमागले “भात लाग्नुभन्दा मात लाग्नु नै जाति” भन्ने हन्ड्रेड पर्सेन्टै ग्यारेण्टी दिइसकेको छ । किन कि दालभात तरकारीको लागि कत्ति प्रयास गर्दा पनि कुनै एउटा गतिलो र लचिलो सरकारी जागिर नपाएकाले एउटा न एउटा धन्दाको फन्दाबाट कहिल्यै, मुक्त हुन सकेको होइन । कहिले मलको लागि त कहिले चामलको लागि, कहिले मट्टितेलको लागि त कहिले नानीको बानी, दूध र सेरलेकको लागि कुद्नु र धाउनु पर्ने भएको देखिन्छ ।

अस्ति मात्रैको कुरा, बिहान उठ्नासाथ श्रीमतीले हाम्रो देशको जङ्गल सखाप भएझैँ चामल सखाप भएको प्रमुख समाचार सुनाइन् । यो समाचारले सोभियत सङ्घमाझैँ मेरो दिमाग पनि खलबलिन थाल्यो, जे होस् जु खान नपाउँने भए पनि आखिर अफिस त समयमा जानै पर्‍यो, नत्र हाकिम साहेबको कड्के दृष्टि र छड्केको मारमा परिएला भन्ने डरले चामल किन्न फटाफट लम्केँ । ए बाबा ! त्यहाँको फ्रिस्टाइल देख्दा हाम्रो देशले पनि कुस्तीमा राम्रो स्फूर्ति प्राप्त गरिसकेकै रहेछ भन्ने गर्व भयो । हूल देख्दा ट्वाल्ल र वाल्ल मात्रै हैन एकक्षण त जिल्लै परेँ, अहो.. कत्रो लाइन यो ? चारखालको हाकिमसाहेबलाई साइन गराउनेका लागिझैँ चामलको लागिसमेत कत्रो लाईन यो !

एकक्षण त रनभुल्लमै परेँ, तैपनि आहाराको सहारा विना बाँच्न अलि सम्भव नहोला जस्तो लागेर कम्मर कसेरै लाइनमा सामेल भएँ र दुई घण्टा जति पछि मेरो चामल लिने काम तामेल भयो । आफ्नो काम फत्ते भएकाले ५ केजीको चामलको पोको बोकेर घिरौँले नाक बनाएर घर फर्कें । एकक्षण साससम्म पनि फेर्न पाएको थिएन, मेरो छ महिनाको छोरो चिच्यायो । छोरो रोएकोले क्यै ख्वाई दिने आदेश श्रीमतीलाई दिएँ । तर मेरो आदेशले नेपालीले आफ्नो भेष दौरासुरुवाल बदलेर टाइसुटमा आफूलाई च्वाँक सम्झेझँै श्रीमतीको आक्रोश बढेर पालना हुनुको साटो झन् अपहेलना पो हुनगयो ।

कुरा के रहेछ भने बच्चालाई ख्वाउने सेरेलेक पनि खत्तम भएको रहेछ । खल्तीमा पैसा हजम भएकोले भोलि किन्ने सल्लाह सुनाउँदा मुसलमानले अल्लाह मानेझैँ श्रीमतीले मान्लिन् भन्ने सोचेको त श्रीमतीको टेम्परेचरले सीमा नाघी उग्रचण्डीको रूप धारण गरी हपार्न र झपार्न पो थालिन् । अरूले लाखौँ खाएर डकार्छन्, म मोरोलाई भने जसले पनि झपार्छन् मात्रै । जेहोस् जायज मागलाई श्री ५ को सरकरले त पूरा गर्नुपर्छ भने मैले त झन नाकैले टेकेर भए पनि पूरा नगरी सुखै भएन । अनि… राम नाम सत्य हो, सेरेलेकको अन्त्य हो भन्ने सोची खोजखाज र बटुलबाटुल गरी पैसा पुर्‍याएर बजारतिर लम्केँ ।

घण्टौँ घुम्दा पनि त्यो मोरो सेरेलेक पाउँन सकिन । बल्लबल्ल श्रीमतीलाई सल (पछ्यौरा) किन्न बम्मै जान एक महिना अघिदेखि बन्द भएको पसल आज खोलिएको देखेर त्यहीँ पुगेँ तर त्यहाँ मलाई भाग्यले ५० प्रतिशत मात्र साथ दियो । किनकि त्यहाँ सेरेलेक पाउन त पाइयो तर मुसीको बच्चाले आधा सखाप पारी आधा भविष्यलाई भनेर बाँकी राखेको मुसाको भाग पो पाएँ । जहोस् २/४ दिनलाई भए पनि काम चल्ला भन्ने सोची सेरेलेक बोकेर फटाफट घरतिर लम्केँ । हतपत भएकाले एकदम फास्टसँग भात पस्कन अह्राएँ ।

घडीले सवा दश बजाइसकेकोले खानै भ्याउला कि नभ्याउला जस्तो भैसक्यो । दाल, तरकारी नपाके पनि सरकारी जागिर जोगाउन खुर्सानीको सितनसँग निस्तै भात निलेर बाहिर हिँडेँ । हतपतले कपाकप खाएर फटाफट हिँडेँ । टनका टन लोड पचाउन सक्ने त्यो पाटनको पूल बिग्रेकोले दुईवटा गाडी भ्याएर हस्याङ-फस्याङ गर्दै ११ बजे अफिस पुगेर हिजो अस्तिको समेत हाकिम साहबलाई स्वस्ति टक्रयाएँ । तर मेरो स्वस्ति र अभिवादनलाई विघटन गरी हाकिमी पाराले भन्यो- यसरी अफिस आएमा तिम्रो प्रमोसनको बाटो भासिर्ई डिमोसन’ गर्नुपर्ने हुन्छ, अफिस आउँने समय हो र यो ? भनेर उल्टो हपार्नु पो भयो । रक्सी कारखानाहरूले टे्रडमार्क पाएझैँ हाजिरी कापीमा रेडमार्क लागिसकेकोले घर विदा लिएर फनक्क फर्किहालेँ ।

हाकिम देखेर वडो झोँक चलेकोले बाटोमा एउटा कोक खाएँ । घरमा आएर ठण्डा दिमागले सोच्न थालेँ । घण्टौँ सोच्दा पनि देशको स्थिति परिस्थितिसँग जुझ्ने क्षमता नेपालमा हाल नभएको र नेपालीको दैनिक गुजारासमेत भारतको ईशारामा मात्र गुज्रिने भएको देख्दा झनक्क रिस उठेकाले जुरुक्क उठेर एउटा गल्लीको सानो भट्टीपसलमा पुगेर अलिकता वास (रक्सी) खाएँ । जिन्दगीमा पहिलो पटक मेरो शरीरमा प्रवेश गर्न पाउँदा वासले मेरो शरीमा रत्नवाण हानेछ क्यारे ! सूर्ति नखाइकनै फूर्ति बढ्न थाल्यो । कोहीसँग पनि निहुरिनु पर्ने न भएकोले मैले आफूलाई प्राइममिनिष्टर भन्दा कम सोचिनँ ।

यो वासको संसार भन्सारको हाकिमको भन्दा नि रमाइलो हुँदो पो रहेछ गाँठे । त्यो एक छाक खानको लागि बिहानैदेखि लाइन बस्न पनि नपर्ने । स्वास्नीेको कचकच पनि क्यान्सिल, बच्चाहरूको च्याँच्याँ र चुइँचुइँ पनि क्यान्सिल, हाकिमको हप्काई र छोराछोरीको घुर्की पनि क्यान्सिल, साथीभाइ नातेदार र इष्ट मित्रहरूको अगाडि स्टेण्डर्डसँग हिँड्न सकेन भने हेप्ला कि भन्ने डरसर पनि आफैँ कोल्याप्स भएर जाने भएको हुँदा बडो सोचीसम्झी हाँसलेझैँ पानीको पानी दूधको दूध छुट्टयाई इतिहासमा समेत नयाँ अध्याय थपिने विचारले आज गुरु बनेर यस कुराको भण्डाफोर गरी तपाईंको अगाडि सुरु गर्दैछु ।

हेर्नोस्, भात लाग्दा हात्तीको भतिजो भन्न सुहाउने गरी मोटो भएर शरीरमा अल्छिपना ल्याउँने निहुँ खोज्ने आदि खराब बानी ल्याउँछ तर मात लाग्दा आफूलाई परेको अन्याय, अप्ठ्यारा र असजिलाहरूसमेत स्वतः पञ्चायत व्यवस्थाझैँ खारेज भएर जान्छ । फेरि तपाईंले भन्नुहोला, बजिया बडो जान्ने हुन आउँछ । बाँच्नको लागि चाहिने भात जस्तो पनि त्यो मोरो ल्वाँठ मातको होला र भनेर । तर म जस्तो भू.पू. मान्नेलाई जान्ने भन्नुहुन्छ भने तपाईंको बुद्धिको सुद्धि हराएछ भन्ने सोच्नोस्, किन कि सधैँं भातै मात्र खाँदा तपाईंलाई भाते नभन्लान् र ? अस्तु !!!

०००
‘च्वाँक’ हास्यव्यङ्ग्यसङ्ग्रह (२०४७) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लौन एउटा कुर्सी

लौन एउटा कुर्सी

हृदयप्रसाद मिश्र
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x