
एक खुला विश्वविद्यालय हुन् पाँडे
रावणहरूले देश चलाई रहेको हालको परिस्थितिमा रामलाई नदेख्नु कुन नौलो कुरा भयो र ! यदि देशमा सक्षम व्यक्तिहरू सही सही ठाउँमा प्रयोग गर्ने कुशलता असक्षमहरूसँग भएको भए आज देशको यो हविगतै हुने थिएन होला ।

हृदयप्रसाद मिश्र :
ब्रह्माण्डको तीन त्रिभुवन भने जस्तै बा ब्रह्मा, बिष्णु, महेश्वर भने जस्तै सलाम पनि दुई हजार जोडेर तीन साल मात्र होइन महिनामा समेत तीन नै अर्थात आषाढ महिनाको २५ गते मङ्गलबार (असार शुक्ल हरिशयनी एकादशी) को शुभ साइतमा पाटन जाउलाखेल चोकमा परम्परागत धरोहरको रुपमा रहेको एउटा एन्टिक घरमा बाबु आमाको अथक परिश्रमको योगदानको रसिलो फलस्वरूप एक बालकको जन्म भयो । जन्मिँदा चरोसँगै लिएर आएको देख्दा अरुले हेर्दा नकचरो जस्तो देखिए तापनि लाज शरमको कुनै पर्वाह नगरि घर टोल थर्किने गरी सो बालक बेतोडले चिच्याए- चिहाँ चिहाँ ।
मानौ कि यो देशमा ग्रहण लागेर चारैतिर अन्धकार रहेकोले नयाँ सूर्य उदाउने आह्वानका साथ अन्यायको विरोधमा चर्को नारा लगाएको जस्तो सबैले महसूस पनि गरे । स्तनपानको माग पो हो कि भनेर आमाको दुध चुसाए पछि सो बालक पनि अरु जस्तै चूप लागे । किनकि नखाइकन कोही पनि बाँच्न नसक्ने र खाने सबै प्राणीको जन्मसिद्ध अधिकार भएकोले आफ्नो अधिकार तत्काल पूरा गर्नको लागि मात्र होइन, कालान्तरमा बहुदलका नाममा देशमा अनेकौ दलहरु खडा भई राष्ट्रलाई दलदलमा पुराइ मौका परे बेच्न समेत नछोड्ने भ्रष्ट देशद्रोहीहरूसँग त्रस्त नभै लड्ने भिँड्ने प्रतिकारको बुलन्द आवाज रहेछ यो । गन गन मात्र गरी मगन भएर बसेका जुकाहरूसँग लड्नको लागि हुन कि बा बाबु सेनामा भएकोले बाबुकै बिन्डो थाम्नको लागि हो कि त्यो त थाहा भएन । तर जन्मिँदा ‘गन’ एउटा पनि साथमै लिएर आएका थिए रे । तर मैले आज सम्म त्यो गन कस्तो भनेर हेरेको देखेको पनि छैन धरोधर्म केवल सुनी जानेको मात्र हो । तर पनि मलाई पूर्ण विश्वाश छ कि त्यस बालकसँग पक्कै एउटा ‘गन’ छ नै । यो कुराको म ग्यारेन्टी दिन सक्छु पनि ।
नवजात शिशु भएर ओछ्यानमा आराम मात्र गरेर बस्ने भएर हो कि न्वारनमा पुरोहितले “राम” भन्ने नाम जुराइ पछि सम्मलाई काम आओस भन्ने हेतुले केतुले समेत छुन नसकोस भनी “कुमार” पनि जोडी “रामकुमार” भनेर नाम राखी दिए। अझ काथर नहुने छाँटकाँटको बच्चा भएकोले “पाँडे” थर पनि जोडी दिए । वीर कालु पाँडेको सन्तान हो कि जस्तो देखिए पनि सो बच्चाले बुद्धि कच्चा भएर हो कि पछिलाई पक्का होस् भनेर हो कि “पाण्डे” नलेखी “पाँडे” लेख्ने गर्छन् बा !! करीब पाँच दशक अघिदेखि “आलु पार्टी” को सभ्यसँग भव्य पार्टी गरेको देख्दा यिनी कालु पाँडेको वंशज नभै आलु पाँडेको वंशज पो हो कि भन्ने शंका गर्ने ठाउँ पनि प्रचूर मात्रामा देख्न सकिन्छ ।
आलु जात प्रमाणित गर्न सक्ने चालुको ठालु भए जस्तै रामकुमार पनि तुरुन्तै सबैसँग घुलमिल हुन सक्ने खुबीको छवि देख्दा आलुकै कूल घरानाका हुन् भनी किटान गर्न कुनै अडान लिनु पर्ने पनि देखिँदैन । आलुलाई यिनले यति प्रेम गर्छन् कि, ओहो ! भनेरै साध्य छैन । विश्वस्त सूत्रबाट जानकारी यसरी पाए अनुसार यिनले दुइटा आलु श्रीमती बाहेक अरु कसैलाई नदेखाउने सपथ ग्रहण गरेको हुँदा सदासर्वदा अमूल्य दुईवटा आलु लुकाएर छुपाएर नै राख्ने गर्छन् रे । श्राद्ध सोह्र श्राद्धको अवसरमा यदाकदा कोही भाग्यमानी पण्डितले मात्र यो दुर्लभ दर्शनको चान्स भेटाउने सम्भावनासम्म रहन्थ्यो रे । अरु बेला त यिनले हीरामोती भन्दा पनि कडा सुरक्षाका साथ “प्राण जाये पर आलु न दिखलाए” भनेर लुकाएरै राख्छन् रे । अरु बेलाको त के कुरा आलु पार्टीमा समेत अरुलाई दर्शन दिन यो आलु प्रदर्शन गरिँदैन । यो पंक्तिकार दसौ पन्ध्रौ पटक आलु पार्टीमा सहभागी हुँदा पनि नर्मल आलु र यसको परिकार बाहेक अरु कुनै ओरिजिनल आलुको दर्शन त के दूरदर्शनसम्म पनि हुन सकेन ।
सधैँ उत्रै भइनरहने प्रकृतिको नियम पालना गर्दै यिनी पनि बिस्तारै बढ्दै आए । रोप्दै नरोपे पनि दाह्री जुङ्गा पनि पलाउँदै आए जस्तै न मो बा गि, अ आ आइ आइ बाट शुरु हुँदै क देखि ज्ञ सम्म, १ देखि १०० सम्म र अ देखि ज्ञ सम्मको अक्षरहरू रिमिक्स गर्दै आखिरीमा एम. ए., एम. एड., जी. आइ. एस., आर. एस. समेत गरी पृथ्वी गोलो छ भन्ने बुझी भूगोलमा प्राध्यापक समेत भई टोपले । नेपाललाई अरुले नचिन्लान् भनी “नेपाल परिचय” समेत सबैलाई गराए ।
झ्वाट्ट हेर्दा सोझा सिधा भोला भाला एब अलि लम्बू देखिए तापनि यिनी ईन्द्र जात्राको लिङ्गो जस्तो सिङ्गो ठाडो नभै बरु एक नम्बरको चम्बू नै छन् । किनकि साधारण सरल सहज कुरामा पनि छुराझै चलाई घुमाइ फिराइ तोडमतोड गर्नु यिनको बाँया हातको खेल हो । तर पनि जीवनमा पचासौँ पटक जन्ती गए पनि झ्याइँ झ्याइँ बाजा बजाएर सबैलाई देखाएर पनि मात्र एउटी केटीसँग मात्र बिहे गरेकोले आफू सुपर भद्र र सोझो छु भन्ने यिनको दावी हालसम्म पनि हावी नै छ। तर साँढे जस्तै छाडा नभएका पाँडेजीका साक्ख्यै श्रीमतीका अनुसार नेपाली र कुइरेनिको ग्रुपको “कृति” नामका सौताहरू छन् रे । ती कृति ग्रुपका सबै भन्दा जेठीको नाम ख्याल ख्याल छ भने सबै भन्दा कान्छी मिलिजुली सहित एक सय एक छन् अरे ।
हुन त सधैँ ‘कुमार’ भन्न रुचाउने एवं राम्रीहरू अगाडि परे हेर्नकै लागि भगवानले दुईवटा आँखा दिएका हुन् भनी खुलस्तै शंखनाद गर्ने पाँडेजीले आफ्नी धर्मपत्नीलाई ‘काही मोबाइल एउटा भए पनि सिमकार्ड त दुइटा राख्न मिली हाल्छ नि’ भन्ने धारणा सार्वजनिक पनि गर्छन् रे । यो दृष्टि हो दृष्टिगत गर्दा बच्चा बुढा तरुनी सबैलाई माया गर्ने कोमल हृदय का नै हुन भन्ने स्वतः प्रस्ट हुन्छ । तर राम नाम भएकोले सीता एकजना मात्र जोइ हो किन अरु कसैको पोइ पनि होकि भन्नेमा भने कन्फ्युज नै देखिन्छ ।
चकचके नभए पनि यिनी एकक्षण पनि चुप लागेर बस्दैनन् । नबोली भन्ने हो भने यिनी पटक्कै स्थिर छैनन् । पेट्रोल, ग्यास, डिजेल बिना पनि तन मात्र नभै मथिङ्गललाई समेत घुमाइ रहेकै हुन्छन् । एक्सप्रेससँग चलाई रहेकै हुन्छन् । घडीको सुइ जस्तै घुमाइघुमाइ गरी चाइना, भारत, पाकिस्तान, फिलिपिन्स, जर्मन, थाइल्याण्ड, नर्वे लगायत २० राष्ट्र घुमेर पनि नपुगेर संसारको लाइट नभएको भनेको विश्वकै नगएको देश बेलायतसम्म पुग्न पनि पछि परेनन् । नानीदेखि चल्या चल्यै गर्ने यिनको बानी अहिलेसम्म पनि जस्ताको तस्तै ऐंजन ऐंजन नै छ ।
कहिले मुक्तक, कहिले ठोक्तक, कहिले गुप्तक, कहिले पजल त कहिले गजल, कहिले हाइकु, कहिले कार्टून, कहिले रङ्ग न ढङ्गको अङ्ग न भङ्गको व्यङ्ग्य लेख्न चल्या चल्यै गरी रामकुमार मात्र नाम लेख्दा अरुले चिन्लान् र समाउलान् भन्ने डरले हो कि बा सरकारले कर माग्लान् भन्ने पीरले हुन् कि कहिल्यै ‘औतारी काका’ र कहिल्यै ‘जेठो ज्वाइँ’ भन्ने उपनामबाट पनि लेख्ने चल्ने काम गर्छन् । ‘जेठो ज्वाइँ’ भनेर लेख्ने चल्ने काम गरे पनि सर्वोच्च अदालतले समेत पनि ठ्याक्क यसैको ज्वाइँ हो भनी आजसम्म फैसला सुनाउने आँट गर्न सकेको छैन ।
कहिलेकही त यिनको टिलिक्क टल्केको तालुमा एन्टिना जस्तो टुपी नभए पनि यिनी भरखरको पण्डित नै हुन् भन्न पनि बाध्य हुन्छ । किनकि दसैँको अघिदेखि यिनले “पाँडे पुराण” कथा वाचन गर्दै आएका छन् । जुन यद्यपि निरन्तर छँदैछ पनि । सतखुट्टीले सयवटा खुट्टा चलाई अरुलाई अचम्भित गरी अघि बढ्दै जाँदा प्रगति उन्नतिलाई ट्राफिकको रातो बत्तिले समेत यिनको कलमलाई स्टप गर्न सकेन। जसको फलस्वरुप गद्दी आरोहण राजत पदक, दीर्घ सेवा पदक, ‘वेस्ट इन कमिक’देखि लिएर भैरहवा (पुरस्कार) दक्षिणा मात्र हैन भूतको भिनाजुबाट लाख लाखको बिटो समेत आफ्नै पसिना बगाइ प्राप्त गरे। अज स्वास्नीका पति मात्र नभै विभिन्न सङ्घ, संस्था, गोष्ठी, सेमिनारका सभापति, अध्यक्ष, अगुवा, निर्णायक आदिमा कति शिरोमणिता प्राप्त गरे भनी यिनका हुर्मत जुरमतका लेखा जोखा, महालेखा, परीक्षकको कार्यालयले समेत गर्न सकेकाे छैन भने यहाँ लेखी साध्य के हुनु र ?
समुद्रको वेग र कम्प्युटर भन्दा तेज यिनका मति र गतिको करामतले नै चना नखाइकनै हाँस्ने घरको परिकल्पना समेत गर्न सकेका छन् । यिनका बारे जति लेखे पनि अपुग अपुग नै साबित हुने देखिन्छ । पावरको टावर बिना (एसेयन) मोबाइल लाग्न सक्नु एवं आकाशको तारा गन्नु जत्तिकै गाह्रो साह्रो कामा भएकोले साधारणतः औगातको मान्छेले यो काम गर्न ठूलै आँटले मात्रा सम्भव हुन सक्ला ।
यथार्थ सत्य र वास्तविकतामा यिनी को हुन् ?
साँच्चिकै रामकुमार पाँडेलाई नजिकबाट नियाल्नेहरूका आँखामा यिनी बहुआयामिक प्रतिभाबाट सम्पन्न अत्यन्त सरल, भद्र एवं शालीनताका प्रतिमूर्ति हुन् । नाम जस्तै काम पनि उस्तै मर्यादित छन् । नवोदितलाई हौसला र ठूलालाई सम्मान गर्न कहिल्यै पछि पर्दैनन् । नाम राम हो । अन्त्यमा सम्झिनु पर्ने नाम भने पनि वर्तमानमै कसैले बिर्सन सक्दैनन् । ‘हाँसेर बाँचौँ, बाँचेर हाँसौँ’ भन्ने यिनको मूल मन्त्रका कारण यिनी हिमालहरूमा उच सगरमाथा बन्न सफल छन् । कैयौँ रोगहरूका एउटै आन्टी बायोटिक औषधी हुन् । सम्पूर्ण खोला नदीहरू मिल्न जाने विशाल समुद्र हुन् । थरीथरीका गेडागुडीहरूको समिश्रण, एकीकृतबाट तयार हुने स्वास्थ्यवर्धक टनिक क्वाँटी हुन् । एकलब्य गुरु द्रोण जस्तै सम्पूर्ण व्यङ्ग्य कर्मीहरूका प्रेरक गुरु हुन् । हास्यव्यङ्ग्यका भीस्म पितामह हुन् । कर्मण्य बा धिकारस्तेलाई चिन्तन मनन एवं हृदयङ्गम गरी विजयिता प्राप्तिका लागि अघि बढेका एक अथक योद्धा हुन् । अझ सत्यलाई उजागर गरी भन्ने नै हो भने यिनी एक नम्बरका जादुगर हुन् । साहित्यिक जादुबाट सबैलाई मन्त्रमुग्ध पारी आफूतिर आकर्षित गर्ने शक्तिका कारण नै लोकप्रिय भई हास्यव्यङ्ग्य उत्थान क्षेत्रका शिखर व्यक्तित्व बन्न सफल छन् ।
प्रायजसो हास्यव्यङ्ग्यकारहरूको रचनामा हास्यव्यङ्ग्य भने पनि हास्यको मात्रा न्यून तथा अभाव हुन्थ्यो । तर यिनका सिर्जनामा हास्य एवं व्यङ्ग्यको सन्तुलन गज्जव हुन्थ्यो । यिनका व्यङ्ग्यमा हास्य मुसुक्क फिसिक्क मात्र नभै भित्रैदेखि काउकुती लागि खित्काको रुपमा प्रस्फुटित हुन्छ । मैले २०३५ सालमा स्कूल पढ्दै गर्दा नै यिनका हास्यव्यङ्ग्य पढ्न पाएको थिएँ। (मेरो साक्षात्कार भने उनीसँग २०४४ सालमा मात्र भयो।) त्यसबेला आफू त्यति साहित्य धर्मको मर्म बुझ्न नसक्ने भए तापनि उनको रचना पढिसकेपछि सम्झि सम्झि हाँसो उठथ्यो ।
हास्यव्यङ्ग्यको नाम लिने बित्तिकै स्वचालित अटोमेटिक मेशिन जस्तै सबैको मुखबाट एउटै नाम निक्लिन्थ्यो- रामकुमार पाँडे । मेरो व्यक्तिगत कुरा गर्ने हो भने सबैभन्दा मन पर्ने व्यङ्ग्यकार पाँडे नै हुन् । र उनीबाट प्रभावित पनि । त्यो बेला अहिले जस्तै इलेक्ट्रोनिक मिडियाको त्यति विकास थिएन । प्रिन्ट मिडिया मात्र धेरै थिए । तर म र म जस्ता साधारण पाठकको मन तान्न सक्ने उनी जादुगर होइन त ? आलु पार्टी एउटा उनको ऐतिहासिक कार्यहरू मध्यको एक हो । जुन आज इतिहास रच्ने भएको छ ।
साँच्चिकै छातीमा हात राखी ईश्वर साक्षी राखी सत्यको पर्दाफास गर्ने हो भने यिनी पनि भाग्यले ठगिएका हुन् कि जस्तो पनि लाग्छ । किनकि कुनै राजनीतिक छाता नओढेका कारण यिनका ल्याकत हैसियत अनुसार राष्ट्रकवि भने जस्तै राष्ट्रिय व्यङ्ग्यकार औपचारिक पदवीबाट सम्मानित हुनै पर्ने मात्र हैन साहित्य विकासका लागि सिंहदरबारमा बस्नेहरूले कुलपति रोज्दा नजिकै पाटनमै बसेका यिनलाई नदेख्नुलाई बिडम्बना तथा भाग्यले धोका दिएको बाहेक अरु के भन्ने ? हुन त वर्तमान अराजक अस्थीर एवं पदीय लोलुपताको बिचलित मानसिकता लिएका नाइकेहरूले आफ्ना आसेपासे र नातेदार बाहेक अरुलाई देख्दै नदेख्ने दृष्टि दोष भएकाहरूको आँखाले देखेनन् भनेर पनि के सोच्नु र ! रावणहरूले देश चलाई रहेको हालको परिस्थितिमा रामलाई नदेख्नु कुन नौलो कुरा भयो र ! यदि देशमा सक्षम व्यक्तिहरू सही सही ठाउँमा प्रयोग गर्ने कुशलता असक्षमहरूसँग भएको भए आज देशको यो हविगतै हुने थिएन होला नि होइन त ?
तर यिनी सन्तोषंम परम सुखमा मन्त्र जपेर बसेका हुनाले यसबारे उनको कुनै चित्त दुःखेसो छैन पनि । उल्टो टेण्डर प्राप्त ठेकेदारहरूले देशलाई रुवाउने प्रयास गरी रहे पनि यिनी देशलाई हँसाउने कार्यमा मग्न छन् । जहाँ स्वार्थ हुन्छ त्यहाँ निस्वार्थ ता कुलेलम ठोक्छ, जहाँ निस्वार्थता अड्न सक्तैन त्यहाँ स्वार्थको तगडा खम्बा खडा हुन्छ । यिनी त निस्वार्थताको ब्यानर बोकी आफू सच्चा देशभक्त नेपाली कमाण्डर बनी विश्वमा चिनाउन दत्तचित्त भई अघि बढिरहेका यिनलाई झिनो मसिनो पदीय लोलुपताको ब्रह्मा राक्षसले यिनलाई सदा स्वस्थ र अमर बनाइ रहेकै छ भने अरु कुराको के चिन्ता ? आफ्नो जन्म भन्दा पनि २५.३०% प्रतिशत धेरै कृति सिर्जना गर्नु पुरुषार्थीको नमूना होइन र ?
तसर्थ यिनका बारे सारांशमा भन्नु पर्दा यिनी राष्ट्रका अमूल्य धरोहर हुन् । जिउँदो शहीद हुन् । यिनका बारे अध्ययन गरी पिएच. डि. समेत गर्न सक्छन् । यदि राजनीतिक झन्डा बोकेका भए ठाउँ ठाउमा यिनका पूर्ण कदको सालिक बनिसक्थे होलान् । डाँक टिकट निक्ली सके होलान् । तर देखिने गरी यिनको पूर्ण कदको सालिक नभए पनि सम्पूर्ण साहित्यप्रेमी नेपालीका मनमा गम्भीर मुस्कानका साथ उभिइरहेकै छन् ।
हुन त ९९ प्रतिशत सत्यवादी एवं गुणै गुणको खानी नै भए पनि यिनले एउटा कुरामा भने सबैलाई झुक्याइ राखेकै छन्, छक्याई राखेकै छन् । विवाह गरेको कैयौँ दशक बिती सक्दा पनि, नाति नातिनाहरू लाइनका लाइन भई सक्दा पनि आजसम्मै नाउँ लेख्दा राम मात्र नलेखी “कुमार” समेत बिना सूपरग्लुले जोडिएकै हुन्छन् । के उनी आजसम्मै कुमार होलान् त ? उनी कुमार नै होलान् भन्नेमा हामीले विश्वास गर्न सकिन्छ त ? शतप्रतिशतै सकिन्न होइन र ? तर कहिलेकहिँ विश्वास गर्न नसकिने कुरालाई पनि लालमोहरका साथ यिनको “कुमार” लाई हामी सर्व सम्मतिबाट सहस्र समर्थन गरी पारित नै गर्छौं । किनकि यिनी साहित्यानुरागीहरूका लागि अझ भनौँ हास्यव्यङ्ग्यकारका लागि “एक खुल्ला विश्वविद्यालय हुन् “पाँडे” हिमालहरूको पनि हिमाल रामकुमार तिमीलाई भित्री हृदयदेखि सलाम ! तिम्रा सिर्जनाका पाइलाहरू, यसरी नै निरन्तर अघि बढी रहोस्- बढी रहोस् भनी भगवानसँग प्रार्थना र तिमीलाई शुभकामना साथ जदौ अभिवादन प्रणाम !
०००
२०८० ।६।२
पाटन, ललितपुर