सुभाषचन्द्र देवकाेटापट्का परेछ फुस्स भयो !
लिंखाको छाला काड्ने धूर्त ब्वाँसो परेछ ! ठगको पनि ठग महाठग रहेछ ! बम जस्तै पड्केला भनेको, पट्का परेछ फुस्स भयो ! जो जोगी आए पनि कानै चिरेको ! नेपाल सरकार !

सुभाषचन्द्र देवकाेटा :
बम जस्तै पड्केला भनेको
पट्का परेछ
फुस्स भयो !
कुरा त ठूलै गर्थ्यो,
चट्याङ्ग जस्तै कड्किन्थ्यो
अपराधीहरूको महाकाल हूँ भन्थ्यो
तर मान्छे खाट्टी जाली रैछ
बम जस्तै पड्केला भनेको
पटका परेछ
फुस्स भयो !
कसैले हल्लाउन नसक्ने जब्बर हूँ भन्थ्यो
लोभ लालचमा नफस्ने कसम खान्थ्यो
औँलो ठड्याउँदै कुर्लन्थ्यो
तर मान्छे खुनी रै छ
बम जस्तै पड्केला भनेको
पटका परेछ
फुस्स भयो !
आफूलाई अब्बल भएको दाबी गर्थ्यो
पापचारी र दुराचारीहरूको दोहोलो काड्थ्यो,
तर मान्छे नक्कली रै छ
बम जस्तै पड्केला भनेको
पटका परेछ
फुस्स भयो !
गोडा दह्रो टेकेको छु भन्थ्यो,
आफन्त र पराई हेर्दिन भन्थ्यो
ठग र फटाहरूलाई ठोक्छु भन्थ्यो
तर मान्छे कायर रैछ,
आफ्नै घर पुगेपछि खुट्टा कमायो
बम जस्तै पड्केला भनेको
पट्का परेछ
फुस्स भयो !
अब थाहा भयो,
जम्बु स्याल रहेछ
कुरा त राम्रै गर्थ्यो,
कोखमा दाँत भएको
भातमारा रहेछ !
लिंखाको छाला काड्ने
धूर्त ब्वाँसो परेछ !
ठगको पनि ठग
महाठग रहेछ !
बम जस्तै पड्केला भनेको,
पट्का परेछ
फुस्स भयो !
जो जोगी आए पनि कानै चिरेको !
नेपाल सरकार !
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest







































