साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोके भन्छन् ! जय जय पद, सुरक्षाको छत ?

भतिजाभतिजी, प्रेमिका र सबैपटिका सात पुस्तालाई कुवेर बनाइदिन धर्म, कर्म, मर्म शर्म, चर्म, सबै फेर्न र जस्तोसुकै फेटा कस्न तयार छन् पदमा आसक्त माखाहरू ।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

व्याकरणिक आँखामा ‘पद’ भन्नाले वाक्यमा व्यवहार गर्न लायक वा व्यवहार गरिएका शब्दको कोटि भनेर बुझिन्छ । त्यसै गरी गोडा वा पाउ, श्लोकहरूका लहर । अनि योग्यता काम र महत्वका आधारमा निश्चित गरिएको दर्जा, पदवी, उपाधि भन्ने पनि जनाउँछ । यसको अर्को अर्थ ठाउँ पनि हो । धार्मिक आसयमा दान गरिने छाता, जुत्ता लठ्ठी, औँठी, कमण्डलु, पकाउने भाँडा, तामाका भाँडा, जनै, द्रव्य, पकाएको खाने कुरो, काचो अन्न, आसन र वस्त्र गरी जम्मा तेह्र थरी वस्तुको समूह पनि पद हो । यो दुइ अक्षरको बुइ चढेर खुइ खुइ गर्ने कति चीज रहेछन् त बा ! त्यसैले त शब्द कोटिझैँ लायक बन्न, गोडा बनेर पदरुपी शरीर थाम्न, उपाधि र दर्जामा रङ्गिन, पददानजस्तै पवित्र र मानित हुन कागहरू कोइली बन्न, गिद्धहरू जटायुमा संबोधन हुन बहाना गर्दछन् । पद तथा पैसा पाइन्छ भने जुनसुकै राजनीतिकवाद, धर्म र संस्कृति अपनाउन तयार हुने मौकाबाज चरित्रले चरम दरिद्र मानसिकताको उजागर गरिरहेको छ ।

त्यसैले त हामीलाई भाषाका गुरुहरूले ‘पदवर्ग अर्थात् (पार्ट अफ् स्पीच’) सानै हुँदामा नै पानी पारेर घोकाएका रहेछन् । जतिजति उमेर छिप्पिँदै र फुल्दै जान्छ मान्छेको जातलाई यो पदको भोक उति उति चर्कँदो रहेछ । पदीय कदमा सुशोभित हुने लत परेका हौँराहरूलाई त पद भनेको सुरक्षाको छद, अरुको अगाडि धाक रबाफ देखाउने आडम्बरको गदगद र ढुकुटी रित्याउने फतफत रहेछ । टाठाबाठा, सामन्त, बुर्जुवा र ठालूहरूको लागि पद मागी खाने भाँडो तथा कानुन नियम, नैतिकता, सदाचार, विवेक घोच्न सक्ने गजबको काँडो रहेछ । त्यसैले त पदधारीहरू समाज र देशको घाँडो, नकच्चरो राँडो, हदैसम्मको गाँडो भएर हरेक व्यवस्थामा काउसो भएका रहेछन् ।

यतिखेर देश संघीयतामा गएपछि त पद आकाशबाट असिना परेसरह छ । त्यति हुँदा पनि भाग नपुगेर दलमा बसेका हन्तकालेहरू गाँड कोराकोर गरी मिटिङ, बैठक, अन्तरक्रिया र भेलामा नाना थरी खेला देखाएर निर्वस्त्र बनिरहेका छन् । पदका भोका, यी लुतोका फोका र भदौरे बोकाले भएभरका पदीय पोका पुन्तुरा बोक्न जसलाई जुनै बेला धोका दिन सक्ने कृतघ्नता जाहेर गर्ने अजीव क्षमता देखाउँदै आएकाछन् । यस्ता लोभानी पापानीमा लतपतिएकाबाट देशको संमृद्धि र विकासको कुरा त किस्सा बन्ने निश्चित छ । घोचघाच, छेडछाड, घुर्की, धम्की, चेतावनी, बहिष्कार, गठजोड र समझदारी कस्तो उखान वा मुहाबरामा फलाक्न पर्छ सब कण्ठाग्र छ बा, यी चङ्खनारनका हुललाई ।

आम जनता जनार्दन (देवता)— लाई रैती, प्रजा, कमैया, हली, चाकर र भृत्यवर्ग ठम्याउने पदसंग्रामका हुल्याहा भनौँ वा मुल्याहा, राहु केतु जमात सधैँ पदीय भागबण्डामै रडाको मच्चाएर देश विकास मजैले थच्च्याइरहेका छन् । पदीय सिनोमा गिद्ध भएर नित्य फाल हाल्ने, आफू पदमा सुशोभित हुन नपाए दलपरिवारै बाल्ने यिनीहरूको भस्मासुरे बानी ससाना नानीलाई समेत कण्ठाग्र छ।

राष्ट्रको प्राकृतिक स्रोत कौडीको भाउमा फाल्ने, तक्षक हुन् भनेर बोध हुँदा हुँदै नि तिनैलाई दूध पिलाउने हाम्रो उपकार धिक्कार छ ! हाम्रो नियति दुत्कार छ ! यी पद लुब्धकहरू पञ्चतन्त्रको सुनको बाला दान गर्न कसिने बूढो बाघ र धोबीको रङ्गमा सिँगारिन पुगेको छट्टू स्यालका मिथकीय कुपात्र सहाेदर भैया हुन् । आज हरेक पदभक्तहरू दललाई आफ्नो र श्रीमती लभर, भाइ, साला ज्वाइँहरूका पदीय तलतल मेटाउने मञ्च बनाइरहेका छन् । भतिजाभतिजी, प्रेमिका र सबैपटिका सात पुस्तालाई कुवेर बनाइदिन धर्म, कर्म, मर्म शर्म, चर्म, सबै फेर्न र जस्तोसुकै फेटा कस्न तयार छन् पदमा आसक्त माखाहरू ।

त्यसैले त यी सिङ्गापुर बनाउने हौवा पिटेर झिङ्गापुरमा सेलाउँदै छन् देशलाई । रेल कुदाउने सपना बाँडेर झेलको सेल पकाइरहेका छन् । घरघरमा ग्याँस बाड्ने कुरा टिकिट्याँस हुँदा पनि जनतालाई झ्याँस ठानेर पदीय अहङ्कारमा माघे संक्रान्तिको साँढेझैँ पदीय जुरो हल्लाएर हुक्काँ र फूँ — फूँ चारै पद वा पाउ टेकेर कुर्लिरहेका छन् बा ? जमीनको धुलो उडाएर । लठेब्राे ज्वाइँ ट्रेड युनियन, दादा भतिज युवा संगठन , जीवनभर किसान नगरेकाे बाउ किसान संघकाे माउ भएकाे देख्दा दर्जाभक्तहरूका चर्चा गर्नै घिन लागेर अाउँछ बा ?

पदको आसनमा आसीन हुन पाएपछि सबैले हजुरको संबोधनमा गजुर लगाइदिइ हाल्छन् । बक्स्योस्को छाना हालेर ज्युनारको चास्नीमा डुब्न पाउने सोखमा यिनले जार, लुइ, किमइलसुङ र जङ्गबहादुरलाई पनि भङ्ग पारिसके बा ! पद नै प्रतिष्ठा, पैसा, परी, प्रेमी, परिवार, प्रशस्ती, पराक्रम, प्रखरता, प्रबलता, प्रभाव, प्रकाश, प्रसन्नता, उत्पादन गर्ने साधन रहेछ भन्ने कोरा चिन्तनको नशा पिएर नसा नसामा अहं सञ्चार गराउने यी लठैतले प्रतिदिन जनतामा दशा थपिरहेछन् । यही दिव्य ज्ञान पाएकैले सुरक्षाको छद, बलियो कद, र सधैँ गदगद बनिरहन पदप्राप्तिको लडाइँ जारी छ । त्यसैले त भोकलाग्ने भोकेहरू मन वचन र कर्मैले भन्छन्— जय जय पद, सुरक्षाको छत, जय पैसा, जय सत्ता ! !

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x