साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौन एउटा कुर्सी

भगवान् ! तँलाई त दयावान् भन्छन्, यदि तँ साँच्चिकै दयावान् छस् भने कृपा गरी मेरो यो एउटा माग पूरा गरिदेलास् । लौन मलाई एउटा कुर्सी चाहियो ।

Nepal Telecom ad

हृदयप्रसाद मिश्र :All Posts

हिजो आज नेपाल नाउँको गाउँको एउटा खाल्टोमा मस्तसँग खुट्टा सोझ्याई उत्तानाटाङ पर्न र ड्याउअ डकारेर एक छाक आहा ! भन्दै स्वाहा पार्ने कामसमेत श्वास फेर्न पनि मुश्किल भैसककोेले आफ्नो मानवअधिकारलाई गतिलो हतियार बनाई आज मैले पनि एउटा माग गर्ने जमर्को गर्न लागेको छु । यसबाट कसैलाई टाउको दुखेर झर्कोफर्को मानी आँखा टेढो गर्छ भने पनि यसमा मेरो कुनै गन्थन मन्थन पनि छैन, किनकि अरूले आँखा टेढो पारोस् वा जीउलाई अष्टावक्र बनाई टाउको दुखाओस्, कुखुरा काटोस् वा कसैको गोजी नै काटोस्, तैपनि यसमा मैले सरोकार राख्नुपर्ने कुनै दरकार पनि त छैन नि, होइन त ?

तर जे होस् आफ्नो जन्मसिद्ध अधिकार प्रयोग गरी कुनै पनि प्राणीले यस ब्रह्माण्ड संसारमा सिलटिमुर नखाइकनै खुट्टा तन्काउनको लागि एकटुक्रा आरामदायी ठाउँ ओगट्न खोज्यो भने हानी नोक्सानी नै गर्‍यो पनि त भन्नु मिलेन नि भाइ ! यसैले नै मैले पनि आफ्नो अवैतनिक नैतिकताको आधारले मात्र एक टुक्रा बस्न आराम मिल्ने ठाउँको माग गर्न लाग्या हुँ । हेर्नोस, तपाईंलाई कुरा लुकाउनुपर्ने के छ र भन्या । लौन मलाई यहाँ आनन्दसँग बाँच्नको लागि पहलवान्ले नै छुन नसक्ने बलवान् (हिसी) चट्ट परेको र स्प्रिङ्गवाला लचकदार र सान्दारको कुर्सी एउटा चाहियो भन्या ! कहाँ पाइन्छ होला, तपार्इंलाई थाहा छ र भन्या ! लौन ! फेरि कुर्सी भन्दैमा कुनै भट्टीपसलको थोत्रो र झुत्रो हातखुट्टा नै नभएको, रङ्ग न ढङ्गको अपाङ्गको र विद्यार्थीहरूले मास्टरसाहेबलाई जमिनमा लेटाउन झुक्काइएर मात्र राम्रो देखिएको जस्तो खालको जथाभावी खालको भने अवश्यै पनि हुँदैन है । पहिल्यै भन्दिया छ ।

मलाई त एउटा यस्तो कुर्सी चाहिएको छ कि जसको खुट्टालाई समेत कसैले रौँ जति पनि हल्लाउन नसकोस्, बिजुलीको ठाम भन्दा महाभामको होस् । अझ बस्ने ठाउँमा लचकलचक परेको डनलप भएको र दायाँ बायाँ हात अड्याउन मिल्ने र जीउलाई नै मालिस हुने किसिमले अडेस लाउन सजिलो खालको भए झनै बेस । उसमा पनि चारैतिर हेर्न र घुम्न मिल्ने गरी बानाइराखेको ह्वीलचियर भए त झन् सुनमा सुगन्ध नै हुन्थ्यो । साँच्चै नढाँटी भन्ने हो भने शान, मान र सम्मानपूर्वक बाँच्न सकिने किसिमको सबै सुविधायुक्त हुनुपर्दछ । जसमा जम्दा (बस्दा) खेरि मेरो फूर्तिसुर्ती नइकनै धरहराको चुचुरोमा पुग्न सक्ने मात्र नभै यसमा आसीन हुँदा मेरो पोज देखेर साधारण गोँज मात्रको हैन ठुल्ठूला नेतासेता भनाउँदा घन्टाउकेहरूसमेत जिल्ल परी ट्वाल्ल हेरी मेरो गुणगान र महिमाको बखान गर्ने गुणयुक्त खालको होस् । साँच्चै यस्तो गतिलो खाले कुर्सी एउटा कहाँ पाइन्छ होला हगि ? न तपार्इंले कुनै कुनाकाप्चातिर देख्नुभएको पो छ कि ? !

कतै मेरो इज्जत अमर रहन सक्ने मुख्य लक्ष्य रहेको यस कुर्सीको माग देख्दा तपाईं जस्ता तोरिलाउरे र कोकल्याँटेको पदवी पाइसक्नु भएका भद्रले रणभुल्लमा परेर कुशेऔँसीको नभए पनि मेरो मुख हेरेर भन्नु होला । हैन ! आरामसँग बस्न र बाँच्नको लागि यो कुर्सी नै चाहिन्छ भन्ने के छ र भन्या ! यो भन्दा पनि सजिलोसँग बस्न र अडेस लाउनको लागि आरामदायक र सोफा (सेट) नै छ नि । हैन ! सोफा सेट भए पनि हुँदैन र भनेर तपाईंले आफ्नो मुखलाई साइकलको टायरझैँ पड्काउनु होला । तर म भन्छु यदि तपार्इंको सोचाइको गहिराई यही हो भने तपाईं जस्ता एम.ए.को सर्टिफिकेट झुण्ड्याई यताउति कुदेर बेरोजगारको पदक पाउनुभएका भाग्यमानीले यो कुर्सीको महिमा के बुझ्न सकोस् र । त्यस्तो कोठा सजाउने सोफाले यो कुर्सीको दाँजोमा रहन सक्ने भए ठुल्ठूला सचिव, मन्त्रीहरूले यो कुर्सीको निमित किन मरिमेट्थे होलान् त !

त्यसैले कुरा बुझिसकेपछि मात्र मुख स्टार्ट गर्ने बानी बसाल्नोस् । हेर्नोस् यो सोफा भनेकै पाहुनालाई बसाउनको लागि मात्र हो । नपत्याए सचिव, मन्त्री र प्रधानमन्त्रीज्यूको अफिसमा हेर्न जानोस् । हैन भने साँचो नचाहिने भन्दैमा मुखलाई जथाभावी चलाउने पनि नगर्नोस् । बरु सुन्नोस्, जसरी दूध धेरै दिने गाइलाई जर्सी र अप्ठ्यारोमा डल्लो परी फल्नेलाई फर्सी भनिन्छ, त्यस्तै मान र अभिमान एकैपटक जुटाइदिन सक्ने गुण भएको चारखुट्टे एवम् जाडो गर्मी दुवै सिजनलाई मिल्ने नरम र रेशम जस्तो बस्ने भाँडोलाई कुर्सी भनिन्छ । जसमा बस्नासाथै जस्तोसुकै महामूर्खलाई पनि नाकैले टेकेर भए पनि विद्वान् र बुद्धिमान भन्नुपर्ने हुन्छ । बडेबडे मानका चटक नगरिकने झुक्याउन सक्ने धुरन्धरहरू जस्ता समेत पनि हरबखत सेवामा तत्पर भैरहने हुँदा यो कुर्सीमा पक्कै नै मोहनी मन्त्र छ भन्नका लागि कसैले बाबु देखेर पनि तर्सिनु पर्ने छैन ।

तसर्थ मेरो कङ्काल मोडेलको छातीलाई हात्तीकोझैँ बनाउनका लागि नै एउटा गतिलो घतिलो कुर्सीको अत्यावश्यक परेको हो । बरु त्यसमा बसेपछि नातावाद कृपावादको कट्टर विरोधी भनाएरै पनि आफ्नो ससुराली खलककाहरूमा मात्र सीमित नगरी उहिल्यै आफू भाडामा बसेको घरपतिकी सालीकी छोरीको ससुरोको साँडुभाइको मामाको घरमा काम गर्ने मालीलाई समेत कुनै पदमा भर्ती गरिदिन नबिर्सियोस् । यसरी खुरुखुरु भर्ती गर्दै जाँदा पनि कुनै मुलाले पनि गल्ती गर्‍यो भनेर खोट लाउन नसकियोस् । उल्टो झन् श्रद्धा भक्ति गरी सबैले ख्वाउन ल्याओस् । यसरी ख्वाउन ल्याउँदा जति खाए पनि अपच भै झाडापखालाले मात्र होइन आयकर सायकर भनाउँदाहरूले समेत अर्धदृष्टिले समेत हेर्न नसकोस् । त्यस्तै कुनै मित्रहरूले कुनै पोको र बिटोको उपहार दिन ल्याएमा अपमान गरी फिर्ता पठाइदिने दुर्बुद्धि एक थोपा पनि कहिल्यै नआओस् ।

अनि यसरी प्राप्त उपहारबाट बङ्गला बनाउने, कर किन्ने र चुनाव जस्ता धार्मिक कर्महरूमा खर्च गर्न रत्ति पनि चित्त नदुखोस् । बरु यसमा सहयोग गर्ने सबै मित्रहरूलाई कुखुरा काटी वा खसी ढाली खुवाउने मति आओस् । बरु मेरो खुट्टा तान्न खोज्ने र विरोध गर्न मुख आँआँ गरी ताल न सुरले उफ्रने कराउनेहरूलाई भने राम नाम सत्य गरिदिनु नै आफ्नो मुख्य न्याय हो भन्ने पनि कहिल्यै नबिर्सियोस् । अनि आफूलाई काइदाको फाइदा हुने कार्यहरूमा भने अरुले बकाइदा भनी जतिसुकै विरोध गर तापनि काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने सम्झी आफ्नो स्वार्थ पूरा गरेरै छोड्ने निस्वार्थी भावना पनि मेरो मनमा सर्वदा रहिरहोस् । आज, आज मलाई एउटा यस्तो कुर्सी चाहिएको छ, जसमा बस्दा शत्रुले पनि मेरो बयान र बखान गर्नमा तनमन अर्पियोस् ।

त्यस्तै जनताको टाउको दुखाउने टन्टा र झैझमेलाहरूलाई भने भाषण र आश्वासनले तुरुन्तै पूरा गरिदिन सकोस् । त्यस्तै दयामाया र त्याग तपस्याका कुराहरूमा भने अरुलाई उपदेश दिन कहिल्यै पछि नपरोस् र आफूले भने वायु एकथोक बाहेक अरू त्याग गर्ने विचारहरू बिर्सेर पनि कहिल्यै मनमा नआओस् । अनि अभाव, समस्या एवम् महँगीको विरोधले भूकम्प आई मेरो कुर्सी काम्न थाल्यो भने त्यस्तो परिस्थितिमा केवल आश्वासनको लेप लगाई चित्त बुझाइदिन सकोस् । तर म स्वयम्ले भने त्यस कुर्सीमा नाँच्ने उफ्रने जे गरे तापनि कहिल्यै नबिग्रिने होस्, बरू अरू कसैले मेरो कुर्सीप्रति लोभलालच गरी कुमतिले हेरेमा त्यस पापिष्टको आँखामा तुरुन्त मोतीले समाओस्, १२ हजार भोल्टको करेण्टले पछारी तुरुन्तै यमलोकमा लैजाओस्, मरिसकेर पनि पञ्चमहापाप लागोस् । साँच्चै साधना, आराधना वा धाँधली नै गरेर भए पनि मलाई एउटा कुर्सी त नभै भएन भन्या ।

बरू फलामकै भए पनि हुन्छ । चारैतिर फलामै फलाम भएको कुर्सीमा बस्न पाए त लौहपुरुष भनेर झन् सबैले नमान्लान् र ? त्यसैले फलाम, काठ वा जुनसुकैको कुर्सीमा बस्दा पनि मलाई माया ममता गरी गिफ्ट दिन आउने साहू-महाजनहरूको कार्यमा रामभक्त हनुमान भै फत्ते गरिदिन सकोस् र मेरो गुण बखान र स्तुति गर्नेहरूप्रति भने रोजीरोजी खोजीखोजी नै भए पनि मालामाल गरिदिने कार्यमा पनि कहिल्यै पछि पर्नु नपरोस् । त्यस्तै यो गरिदेऊ, ऊ गरिदेऊ भने कोही रन्किन र बम्किन आए पनि बहस नगरीकन दृढनिश्चयी भै बस्न सक्ने खालको एउटा गतिलो एवम् पेचिलो कुर्सी त नभै भएन भन्या, बरू चोरी ढाँटी लुटी जे गरेर ल्याएको भए पनि हुन्छ । कहाँ पाइन्छ होला खै ! कहाँ पाइन्छ होला तपाईंलाई थाहा छ ? थाहा भए भनिदिनोस्न मेरो करजोरी विन्ति छ ।

आखिर आगरा गएर भए पनि गागरामा बनाउन लगाएर भए पनि, हलिउडबाट ल्याउन लगाएर भए पनि कलिउडमै तयार गराएर भए पनि जे गरेर भए पनि मलाई एउटा कुर्सी त चाहिएकै छ । भगवान् ! तँलाई त दयावान् भन्छन्, यदि तँ साँच्चिकै दयावान् छस् भने कृपा गरी मेरो यो एउटा माग पूरा गरिदेलास् । लौन मलाई एउटा कुर्सी चाहियो ।

०००
‘मधुपर्क’ भदौ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x