भाते सत्ता
महाकाली सन्धी र पछिल्लोपटक एमसिसि पास गर्न पनि भातेहरूले राष्ट्रिय सहमति नै गरे । यदि यतिबेला पनि यी भातेहरूले झगडा गरे भने यिनीहरूको अन्नदाता जो सबैको एउटै छ, उस्ले भिख रोकिदिन्छ ।
महादीप पोखरेल :
रुपचन्द्र बिष्टले जो कोही हाकिम, मै हूँ, भन्ने खान्दानिया भेट हुन आयो भने “के छ भाते” भनेर ड्याम्म ढाडमा हान्थ्ये अरे । कसैलाई जोक जस्तो लागे पनि गम्भीर यथार्थ र गहिरो कुरा थियो, किन यसरी ढुक्कसँग भाते भनेर ललकार्न सकेका हुन् ?
अहिले नेपालमा यस्तै भातेहरूको बिगबिगी छ । राजनीति, पत्रकारिता, प्रशासन संयन्त्र यस्तै भातेहरूले कब्जा गरेका छन, आई एन जि ओ, एन जि ओ त मान्यताप्राप्त घोषित भातेहरू नै हुन् । यहाँ विभिन्न किसिमका भिन्न भिन्न ठाउँहरूबाट भिन्नभिन्न रङमा चामल थापेर जिन्दगी चलाउने भातेहरू छन् । यसरी भिख मागेर बाचेका भातेहरूले आफ्ना पालनकर्ताको जयजयकार गर्नु, आदेश शिरोपर गर्नु, कहिलेकाहीँ आदेशमा अर्को रङको भाते मण्डली माथि आक्रमण गर्नु सामान्य हो । यो सबै “भाते धर्म” को आचरसंहिताभित्रै पर्ने कुरा हो । यी भातेहरूले कहिलेकाहीँ कनिका खाएर जीवन गुजारा गरिरहेका दुःखी मनहरूका अगाडी भगवान भएर प्रकट पनि हुन्छन् र अनेकन नौटङ्की पनि देख्न पाइन्छ ।
यो “भाते चिन्तन” मा मुख्यत तीन तहहरू छन्- पहिलो हो “भाते समूह”, यस्मा विभिन्न रङका भाते नाइकेहरू पर्छन्, जस्तै :- राजनैतिक, प्रशासनिक, पत्रकारिता क्षेत्रका भातेहरू । दोस्रो तत् तत् भाते नाइकेहरूका झोले र लठुवाहरू, तिनीहरूलाई “कनिके” भनिन्छ । तीहरूले त्यहीँ पाउँछन् र त्यसैको भात रक्सी धोक्छन् । तेस्रो तह छ- “भुसे” तिनिहरूलाई भात र कनिका पनि प्राप्त हुँदैन । कहिलेकाहीँ आउने चुनावी अवसरमा उनीहरूलाई प्राप्त हुन्छ- भुस, बिलकुल धानको भुस, त्यसैमा खेर जाने तरकारी र फलफूलको बोक्रा मिसाएर कुढो बनाएर जिन्दगी धानेका छन् । यो समूहमा पर्छन्ः- नेपालका हरेक निर्वाचनमा भोट हाल्ने जनता । यिनीहरूलाई माथिल्ला भातेहरू र तल्ला कनिकेहरूले अनेक थरी भ्रम, लोभ, डर देखाएर वशमा पारेका हुन्छन् ।
यसरी नै यो नेपाल भन्ने देशमा एउटा भाते सत्ता वा व्यवस्था चलाइरहेका छन् । यहाँ केही हुँदैन, कहिलेकाहीँ माथिल्ला भातेहरूको बिचमा कुरा मिलेन भने संसद अवरुद्ध, सडक आन्दोलन, पक्राउ पुर्जी, अलिअलि धरपकड चाहिँ हुनसक्छ । यस्तो हुँदा “कनिके” र “भुसे” हरूको बहुत काम आउँछ । आ-आफ्ना पालनहारको जयजयकार र विरोधिको दोहोलो काढ्न बाहिर निस्किहाल्छन् । जब माथिल्ला भातेहरूको बिचमा एकता हुन्छ, यी तल्लाहरू फासफुस हुन्छन् ।
मैले माथिल्ला भातेहरू कहिलेकाहीँ झगडा गर्छन् भनेर उल्लेख गरे, तर वास्तवमै यिनीहरू कहिल्यै झगडा गर्दैनन् र यिनीहरूको बिचमा अविछिन्न एकता र अपार प्रेम छ । यस्तो अपार प्रेम बेलाबेलामा देखिरहेको छ । जस्तै :- यिनीहरू आफ्नो सेवा, सुविधा, तलब बढाउन पटकपटक एकजुट भएर निणर्य गर्छन् । महाकाली सन्धी र पछिल्लोपटक एमसिसि पास गर्न पनि भातेहरूले राष्ट्रिय सहमति नै गरे । यदि यतिबेला पनि यी भातेहरूले झगडा गरे भने यिनीहरूको अन्नदाता जो सबैको एउटै छ, उस्ले भिख रोकिदिन्छ । फलस्वरूप सबै भातेहरू अनिकालको चपेटामा पर्न सक्छन्, त्यै भएर यिनीहरू एक हुन्छन् र भटाभट आदेश तामेली गर्न लागि पर्छन् । यस्तो कुकर्म सफलीभूत पार्न प्रशासनिक र पत्रकारिता क्षेत्रका भातेहरूको एकमुष्ट सहयोग, समर्थन राजनैतिक भातेहरूलाई हुनेछ वा भइरहेको छ ।
तर यो कुरा तलका “कनिके” र “भुसे”हरूले कहिले बुझ्लान् वा निन्द्रा बाट ब्युझेलान् ? तर धेरैले बुझेर पनि नबुझेको भान पारेका छन्, त्यसैले बुझाउन वा निद्राबाट ब्युझाउन असम्भव जस्तै छ । त्यस्को निम्ति त ठूलो आगोलागी, भुकम्प, सुनामी नै चाहिन्छ । तिनीहरू आउन्, एकैचोटि सबै आउन्, म पर्खिरहेको छु ।
०००
ललितपुर
Subscribe
Login
0 Comments
Oldest