महादीप पाेखरेलजिन्दगीको पिरलो
यो बोल्ने र लेख्ने काम त्यतिखेर नै गर्नुपर्थ्यो तर समय घर्की सकेपछि लेखेको बोलेको के अर्थ होला र ? यो त मेरो मनको कुण्ठा, भडास बाहेक केही हुनेछैन । त्यसैले भो म चुपचाप नै बस्छु ।

महादीप पोखरेल :
ओहो ६० वर्ष पार भइसकेछ । जिन्दगीको ३० वर्ष स्कुल, कलेज, युनिभर्सिटी अनि बाँकी ३० वर्ष सरकारी जागिर र पछिल्लो ५ वर्ष अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा गुजारिएछ । किसानको छोरो म, परिवार खासै धनी नभए पनि मैले आफ्नै कमाईबाट काठमाडौंमा राम्रै घर जोडेको छु । सहसचिवसम्मको सरकारी जागिर, विदेशी युनिभर्सिटीको पि एच डी डिग्री मेरा विरासत हुन । अनि छोराछोरीलाई पनि राम्रो शैक्षिक संस्थामा राखेर पढाए । अहिले छोरो अमेरिका र छोरी अष्ट्रेलियाको स्थायी बासिन्दा भइसकेका छन, उनीहरूबाट नातिनातिना पनि भइसके । गाउँको सम्पत्ति उतै छ, घर मक्किएर ढलिसक्यो, बारिको पाटो जङ्गल भइसकेको छ, तल खेतसम्म अहिले मोटर बाटो पनि पुग्यो । गाउँमै अड्किएको कान्छा बाको नातिले यसो जाँगर चले खेतीपाती गर्छ, कहिले खाली नै रहन्छ, यस्तै छ । अँ एउटा कुरा- काठमाडौंको घरमा आफ्ना बाउआमा ल्याएर राख्ने रहर मात्रै भयो, वहाँहरूको जीवन उतै सिद्धियो । अहिले यो घरमा पनि छोराछोरी बस्दैनन्, उनीहरू विदेशी भइसके । उहिले बाउआमा गाउँमा एक्लै थिए, अहिले शहरमा हामी बुढाबुढी एक्लै छौ, यस्तै छ जीवन कुमालेको चक्र जस्तै ।
अहिलेसम्मको जिन्दगी यसरी नै बितिरहेछ, नितान्त कामकाजी र सुविधाभोगी भएर बाँचिएछ । खासै रिस्क लिइएन जिन्दगीमा, करियरको निम्ति मेहनत त गरियो तर समाजमा व्याप्त अन्याय, असामानताहरू विरुद्ध छिरिक्क आवाज उठाइएन । सत्ताको बलमिच्याइँप्रति आँखा चिम्लेर बसियो, कहिल्यै विरोधि वा प्रतिपक्षी भूमिकाको कल्पना पनि गरिएन । भनौँ, सेफ डिस्टेन्स राखेर बसियो किनकि त्यसैमा मलाई फाइदा थियो । कतिपय आलोचना गर्नुपर्ने विषयमा चुपचाप लागियो, हल्का समर्थन गर्दा हुने विषयमा ज्यानै छोडेर जयजयकार पनि गरियो । विसंगति, अन्याय वा कुरितीहरू विरुद्ध भोलि फुर्सदमा रिटायर भएपछि लेखौँला नि भनियो । आज केही लेख्न खोज्दा ठट्टा जस्तो लाग्छ, आफ्नै मनमा क्या हो, कसो हो भएर आउँछ ।
आजभोलि त चिने जति ईष्टमित्र सबै सामाजिक सञ्जालको नेटवर्कभित्र गुजुल्टेका छौँ । कोहीकोहीले रिल, टिकटक बनाउँछन र ज्ञान प्रवचन पनि दिन्छन् । मरेकालाई श्रद्धाञ्जली, बाँचेकालाई ह्याप्पी बर्थडे र ह्याप्पी एनिभर्सरी भन्न त म पनि छुटाउँदिनँ । आजभोलि त बेबी साउरिङको पार्टीमा पनि जान थालिएको छ । ती सबौ गतिविधिको फोटो, भिडियोहरू फेसबूकमा राख्छु अनि लाइक र कमेन्ट गन्दै दङ्ग हुन्छु । यसो हेर्दा हामीहरू एउटा औँलाको स्पर्शको दुरीमा छौँ अति निकटतम छौँ तर यथार्थमा सयौँ प्रकाश वर्ष टाढा छौँ र हाम्रा औपचारिकताहरू व्यर्थका र निरस छन् । त्यहाँ कतै आत्मियता बिनाको सम्झनाको तरङ मात्र बाँचेको होला अलिअलि धिपधिप मात्र ।
देशको राजनीतिमा, सत्तामा, मान्छे परिवर्तन होस् वा व्यवस्था नै ठिक छैन जस्तो पनि लाग्छ तर बोल्न/लेख्न सक्दिनँ । देशका युवाहरू विदेशीएको बारे चिन्ता लाग्छ तर आफ्ना छोराछोरी विदेशी नागरिकता लिइसकेकोमा चाहिँ पछुतो छैन किनकि यहीँ कुरो सबै ईष्टमित्र बिच इज्जत भएको छ । कहिलेकाहीं एक दुई हरफ लेख्न खोज्दछु तर परिवारका सदस्यहरूले गिज्याउँछन्, म उनीहरूको सिमारेखा नाघ्न सक्दिनँ ।
खै, आजभोलि म हाँस्न पनि सक्दिनँ, रुन पनि सक्दिनँ, बडा किमकर्तव्यविमुढ छु । यो बोल्ने र लेख्ने काम त्यतिखेर नै गर्नुपर्थ्यो तर समय घर्की सकेपछि लेखेको बोलेको के अर्थ होला र ? यो त मेरो मनको कुण्ठा, भडास बाहेक केही हुनेछैन । त्यसैले भो म चुपचाप नै बस्छु, जतिन्जेल बाच्छु, काल पर्खेर बिताउँछु । तर आजभोलि मर्ने बेलामा एक्लै परिने भो, कसैलाई थाहै हुँदैन कि भन्ने पिर लाग्छ । हामी बुढाबुढीलाई पुग्ने पैसा बैङ्कमा ब्यालेन्स पनि छ तर किन हो असुरक्षाको भावले दिनदिनै तर्साउँदै छ, गलाउँदैछ ।
हामी मध्ये कतिजनाले यस्तै यस्तै जिन्दगी बिताइरहेका छौँ, आफैलाई नढाटिकन मूल्याङ्कन गरौँ है ।
०००
गोदावरी, ललितपुर
Subscribe
Login
0 Comments
Oldest




































