महादीप पाेखरेलभ्रष्टाचार महिमा !!!
दस्तुरी, कमिसन सबै कानुनी नैतिकताको परिधिभित्र परि हाल्छन्, बरू त्यस्मा करको प्रतिशत तोकौँ, तब न राष्ट्रको राजस्व बढ्छ, राजस्व बढेपछि विकास हुन्छ, अन्तिममा घुमिफीरी जनताको पैसा जनता कहाँ नै आउँछ ।

महादीप पोखरेल :
भ्रष्टाचार राम्रो हो, यसैबाट सारा धन्दा, घर परिवार चलेको छ । भ्रष्टाचार नगरिकन राजनीति पनि सफल छैन किनकि चुनावमा पैसा खर्च गर्नुपर्छ, चुनाव जितेपछि खर्च उठाउनै पर्यो । भ्रष्टाचार सजिलो र सबैले चाहेको माध्यम हो । सबै राजनैतिक पार्टीहरू, तिनका भातृ संगठनहरूलाई चन्दा दिनुपर्छ, नलिकन छोड्दैनन् । अब तिनीहरूलाई चन्दा दिएर चित्त बुझाउन पनि भ्रष्टाचार गर्नै पर्यो।अन्ततोगत्वा चन्दा लिनिहरूले पनि चुनाव जितेर सरकार बनाउछन् र भ्रष्टाचार तिर नै पिरती लगाउछन् । यस्तैमा कतै सुनेको एउटा कुरा याद आयो- “सरकार भ्रष्टाचार गर्दैन,भ्रष्टाचारको निम्ति नै सरकार हुन्छ” । यसो सम्झन्छु, हो क्या हो जस्तो लाग्छ ।
कर्मचारीले पनि छोराछोरीलाई महंगो शिक्षा दिनै पर्यो, बिरामी हुँदा कुरै बेग्लै हुन्छ, अनि कति डेरामा बस्ने,शहरमा एउटा घर पनि चाहियो नि ? यी सब काम फत्ते गर्न तलबभत्ताले भ्याउदैन । यसो भएन भने ससुराली, मावली जताततै हुतिहारा भन्छन् । त्यसैले कर्मचारीको निम्ति भ्रष्टाचार बाध्यता र अवसर दुवै बनेको छ ।
भ्रष्टाचार गरेकै पैसा खर्च गर्नको निम्ति शहरमा रेष्टुरेन्ट, पार्टी प्यालेसहरू बनेका छन्, तिज (दर खाने) भन्ने चाड पनि १ दिन बाट ह्वात्तै बढेर १ महिना पुगेको छ । भ्रष्टाचार भएन भने शहरका रेष्टुरेन्ट, पार्टी प्यालेस मात्र होइन आजभोलि गाउँमा खुल्न थालेका भिलेज रिसोर्ट पनि बन्द हुन्छन् ।
यहाँ त पत्रकार पनि पार्टीका छन्, ती पत्रकारलाई कर्पोरेट हाउसले परिचालन गर्छन् । त्यसैले रेडियो,टिभी र खबरकागजमा सत्यतथ्य समाचार आउँदैन। समाचार त आउँछ, मालिकको सम्पादनमा मालिककै हित गर्ने हिसावले । जनता त सधैँ अँध्यारोमै हो। एकजना वरिष्ठ पुरानो पत्रकार भन्नुहुन्छ – कहाँ छ पत्रकारिता, यहाँ त पैसाकारिता मात्र छ । यो पैसाकारितामा उत्पात मच्चाउनेहरूकै रजगज छ । सबैलाई थर्कमान पारेका छन्। यिनीहरू पनि विशेष दर्जाका भ्रष्टचारी हुन, तर समाजमा उनीहरूकै इज्जत छ। भ्रष्टाचारले उनीहरूको कहिल्यै नराम्रो गर्दैन ।
एउटा अर्को कुरो पनि उठ्न सक्छ- नेता, कर्मचारी, व्यापारी, पत्रकारले त भ्रष्टाचार गर्ने अवसर पाउलान्, अरु जनताले क्यार्नी त ?? जनताको निम्ति पनि अवसर छ । अब देखि सबैले दलाली काम गर्नुपर्छ । जग्गा दलाली, बाख्रा/ गाई/भैँसी, तरकारी, अन्न सबै थोकको विक्रीमा दलाली गर्नुपर्छ । यी सबै ठाउँबाट छ्याकन मिलाएर बाढेर खानुपर्छ तर कहिलेकाहीँ दलालहरूको बिचमा भागबन्डा नमिलेर झगडा पनि पर्छ । यस्तो परेपनी सकेसम्म चाँडै मिलिहान्नुपर्छ किनकि झगडा दलाली कर्मको निम्ति फाइदाजनक छैन । यदि दलाली काम फस्टाएन भने गाउंँघरका घरघरमा झगडा सल्काउनु पर्छ । लोग्नेस्वानीलाई मिलेर बस्न दिन हुँदैन, छोराछोरीलाई बाउँआमासँग अंश माग भनेर उचाल्नुपर्छ, अनि छरछिमेकमा आठो, साँध मिलेन भन्नुपर्छ । तन्नेरी- तरुनीहरू बीच कसरी फाइट गराउने सोचिराख्नु पर्छ । यी सबै कामहरू फाइदाजनक छन्, जब झगडा पर्छ पुलिस र अदालतको काम आउँछ, अनि हामी जस्ता दलालहरू काम मिलाउन यताउता गर्नुपर्ने हुन्छ । यसरी सबै जनताहरूले रोजगारी पाउन सक्छन् । सरकारलाई किन रोजगारी दे भनेर कराइरहनु र ??
त्यसैले “भ्रष्टाचार राम्रो हो”, यसैबाट अर्थतन्त्र चलायमान छ, नत्र यो जाम हुन्छ, नचलाई राखिएको गाडीको इन्जिन जस्तै । त्यसैले यो अर्थतन्त्रको लुब्रिकेन्ट जस्तै हो । भ्रष्टाचारलाई आशीर्वाद दिन, संरक्षण गर्न एक से एक व्यापारी, ठेकेदार, बहुराष्ट्रिय कम्पनीहरू हरदम तयार छन् । त्यसैले त उनीहरूका सबै प्रस्तावहरू स्वीकृत गर्नुपर्छ, कसैले बाधा दिएमा गुण्डा लगाएर ठिक पार्नुपर्छ । यसबाट आर्थिक समृद्धि, रोजगारी, उत्पादन सबै बढेको छ ।
खै कुरा बुझेको, बिनासित्ती भ्रष्टाचारको विरोध गरेको ?? भो अब विरोध नगरौँ । यही व्यवस्था र यस्तै सामाजिक संस्कारमा अभ्यस्त भएर इज्जतदार बन्नु छ भने म त भन्छु- दिनदिनै भ्रष्टाचार गरौँ, परिवारको खुशी बढोत्तरी गरौं।आखिर यो राजनैतिक, सामाजिक व्यवस्थामा भ्रष्टाचार नियन्त्रण हुने होइन क्यारे, बरू गर्न नसक्नेहरूलाई सबैले मिलेर हुतिहारा बनाउने हुन् ।
“भ्रष्टाचार सर्वमान्य छ, यो असल छ, यस्लाई ऐन नै बनाएर संस्थागत वा वैध बनाउ ।” अनि दस्तुरी, कमिसन सबै कानुनी नैतिकताको परिधिभित्र परि हाल्छन्, बरू त्यस्मा करको प्रतिशत तोकौँ, तब न राष्ट्रको राजस्व बढ्छ, राजस्व बढेपछि विकास हुन्छ, अन्तिममा घुमिफीरी जनताको पैसा जनता कहाँ नै आउँछ । वाह ! क्य गजब आइडिया, यस्लाई अर्थशास्त्रमा के भनिन्छ, मलाई थाहा भएन । थाहा हुनेले झट्टै बताइदिनु होला… ।
०००
ललितपुर








































यहाँ त पत्रकार पनि पार्टीका छन,ती पत्रकारलाई कर्पोरेट हाउसले परिचालन गर्छन।त्यसैले रेडियो,टिभी र खबरकागजमा सत्यतथ्य समाचार आउँदैन।समाचार त आउँछ ,मालिकको सम्पादनमा मालिककै हित गर्ने हिसाबले ।जनता त सधै अध्यारोमै हो।एकजना बरिस्ठ पुरानो पत्रकार भन्नुहुन्छ – कहाँ छ पत्रकारिता ,यहाँ त पैसाकारिता मात्र छ।यो पैसाकारितामा उत्पात मच्चाउनेहरुकै रजगज छ।सबैलाई थर्कमान पारेका छन।यिनिहरु पनि बिशेश दर्जाका भ्रष्टचारी हुन,तर समाजमा उनिहरुकै इज्जत छ।भ्रष्टाचारले उनिहरुको कहिल्यै नराम्रो गर्दैन।