मुक्तिनाथ शर्मामिश्रमामाको टोपी
यो टोपी चानचुने होइन घरपालुवा मत्तु बोका जो डुङ्डुङ्ती गनाउँछ त्यसकै छालाको टोपी हो । यो टोपीले के सङ्केत गर्छ भने यो टोपीधारी केन्द्रीय स्तरको नेता हो ।

मुक्तिनाथ शर्मा :
धेरैदिन भइसकेको थियो मिश्रमामा हाम्रा घरमा नआएको । मलाई एककिसिमको नियास्रो पनि लागिसकेको थियो । किनभने मलाई हाँस्न मन लाग्ने, बिना प्रसङ्ग हाँस्न नहुने र हाँस्नलाई कसैलाई उचाल्ने र थेचार्ने गर्न जरुरी हुने । त्यसैले मिश्रमामा आउँदा रमाइलो लाग्थ्यो । एउटा महत्वकै प्रसङ्ग हुने गर्थ्यो ।
आज अचानक मिश्रमामा टुप्लुक्क टुप्लिकिनु भो । म मामाको स्वागत गर्न जसरी भर्याङ ओर्लँदै थिएँ मेरी श्रीमतीजीलाई पनि के लहड चलेछ फुत्त कोठाबाट निस्किइन । यत्तिकैमा मिश्रमामा त सरासर आउनु भो । श्रीमतीजीलाई किन के भएछ कुन्नि उनि त सलले मुख छोप्तै खसुसुक्क हासिहालिन् ।
मैले मामालाई सम्बोधन गरेर भने यहाँ नआएको धेरै भो नि मामा किन हो ?
मामाले प्याट्ट भनिहाल्नुभो “राजनीतिमा व्यस्त भएँ नि त भाञ्जा !”
मैले भने “ए राजनीतिमा कहिले देखि लाग्नु भो त मामा ! फेरि आफैले थपेँ राजनीतिमा जहिले जसरी पनि लाग्न पाइँदो रहेछ र ?”
मामाले भन्नुभो “त्यो त जी जहिले लागे पनि हुने पेसा हो नि । फुर्सदमा छुस्स पस्यो गफ लडायो पाएको खायो चपायो आफ्नु निजी पेसालाई चलाउदै गर्यो मौकामा गैँडा मार्न पनि हुने गजबको पेसा रहेछ यो त भाञ्जा !
मलाई खित्का छाडी छाडी हाँस्न मन लागेकै हो तर त्यसो गरिनँ । यसो मामालाई हेरेँ । एरात्तै आज त मामाको ठुलै फुर्ती छ नि त भन्ठानेर यसो टाउकातिर हेरेको त रौं सहितको छालाको टोपी पो ओड्नुभएको रहेछ त मामाले । अलि अलि कता के गनाए जस्तो पनि भयो । बुझ्न सकिनँ ।
मामासँग भने- यो प्रसङ्ग राम्रोसँग बुझ्न पाइएला ?
मामाले भन्नुभो- म एउटा बेसार व्यापारी । यो पेसाबाट मैले बानेश्वरमा एउटा घडेरी जोडेको थिएँ । पछि राजनीतिमा लागेका नेताहरूको बन्दोबस्त भएको देखेपछि म त्यतै लहसिएँ । बुझ्दा बुझ्दै के पत्ता लाग्यो भने धेरै धन खर्च गर्न सके नेता हुन पाइन्छ । अनि त मैले बेचिदिएँ बानेश्वरको घडेरी । दाम कसरि दिने भन्दा त्यो पनि पत्ता लाग्यो ।
नेताका घर अगाडि धुपीको बोट रहेछ । सुटकेस त्यहा घुसारी दिन पर्ने रहेछ । मौका पारेर नेताले लाँदा रहेछन । मैले त्यसै गरेपछि बोलावट आयो । म गएँ । नेताजीले टीका लगाइदिनुभो । अनि यो टोपी लगाइदिनुभो र मलाई भन्नुभो- अब राम्रै नेता हुनुभो ।
अब सुन्नुहोस यो टोपी चानचुने होइन घरपालुवा मत्तु बोका जो डुङ्डुङ्ती गनाउँछ त्यसकै छालाको टोपी हो । यो टोपीले के सङ्केत गर्छ भने यो टोपीधारी केन्द्रीय स्तरको नेता हो ।
यस्तैमा मेरी बुढीको हाँसो फुत्त फुत्क्यो । म पनि धन्नै हाँसेको ।
०००
बानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































