रामकृष्ण ढकालखायदेयको पार्थिव हनुमान
दुःखसागरका मनुवाहरूलाई महाकाल हुने एकदम पक्का भएकोले हामी यो खानियोजन, दिनियोजन पढ्न सुन्न सुनाउन पाउँदा अत्यन्तै हर्षित छौँ । यो वाचन अति सङ्क्षिप्त मात्र हो । यसको विस्तृत विवरण लाटो किताबमा हुनेछ ।

रामकृष्ण ढकाल :
हाम्सद भवनभित्रको स्वाहाकक्षको दृश्य जहाँ आज आगामी पार्थिव वर्ष बतासहजार हावाशय हचुवा सालको खाएदेयको हनुमान ओथारमन्तरिजिउबाट प्रस्तुत हुनै लागेको छ । यसका लागि आवश्यक स्वाहामूख, अदक्ष, ओथारमन्तरी, खाम्सद, हाम्सद, ग्वाम्सद तथा झ्वाम्सद्जिउहरू उपस्थित भै आ- आफ्नो हाप्लो मिठ्याईरहेका छन् ।
स्वाहामुखः–
खाननीय हाम्सद, खाम्सद, ग्वाम्सद तथा झ्वाम्सद्जिउहरू ! आज यहिसाल उहीँ महिना त्यही गते । आजको खाम्सद्को संयुक्त गैठक प्रारम्भ हुन्छ । आजको गैठकको लागी निर्धारित कार्जे सुचिअनुसार हाम्रो देशका खाननीय ओथारमन्तरी – श्रीहसुरराज हन्तकालेजिउबाट आगामी पार्थिव वर्ष बतासहजार हावासय हचुवासालको हनुमानित खाएदेयको विवरण प्रस्तुत हुनेछ । त्यसका लागि म खाननीय ओथार्मन्तरी – श्री हसुरराज हन्तकालेजिउलाई यो झ्यासमा आई खाएदेयको हनुमान प्रस्तुत गर्नुहुन अनुरोध गर्दछु ।
ओथारमन्तरी – श्रीहसुरराज हन्तकाले:— अँध्यारनीय स्वाहामुख्जिउ,ऊ… माथिल्लो सदनको पछारनीय अदक्षजिउ, उपस्थित खाम्सद, हाम्सद, ग्वाम्सद तथा झ्वाम्सद्जिउहरू !
यहाँहरूलाई एकदम व्यग्रताकोसाथ विदितै छ कि आजको दिन हाम्रा लागि हिजै बेलुका देखेको सपना साकार पार्ने प्रक्रियाको एक महत्त्वपूर्ण समय हो । सदाका वर्षको जस्तै यसपालि पनि म आगामी पार्थिव वर्ष बतासहजार हावासय हचुवा सालको लागि सुनियोजित खाएदेयको हनुमानसहित यहाँ उपस्थित भएको छु । यो पर्वमय झुल्लासमय दिन यो देशका भुटिभाङ केही नजान्ने नबुझ्ने जनताको नजरमा महानिर्लज्ज प्रमाणित भइसकेका खाम्पन्थी, हाम्पन्थी, ग्वाम्पन्थी, झ्वाम्पन्थी, हरामपन्थी लगायत झन्डै एक दर्जन देश तथा जनता दल्ने दलका तर्फबाट उमूर्दार भै गाउँ शहर टोल जिल्ला किल्ला बाट तथाकथित स्वच्छ निर्वाचन मार्फत तिरस्कृत भै लाजधानीको यो ठूलो खोरमा जम्मा हुन आइपुगेका समस्त खाम्सद, हाम्सद, तथा झ्वाम्सदरू अनि हाम्रो नीति, सिद्धान्त, विचार, निचार, घिसार सबैमा लातमा लात गाँठमा गाँठ मिलाएर अत्यधिक न्यानो साथ सहयोग दिने कुर्सिटेबुलधारी शर्मछाडीहरू, त्यस्तै योदेशका अनेक स्तरका दुशासक, कुशासकरू, अबको एक वर्ष कुनकुन शीर्षकका नाटक, त्राटक, नौटङ्की को सार्वजनिक छारो मार्फत को । कोले, कस कसले, कहाँ कहाँ, कतिकति घिच्ने हसुर्ने बुत्याउने रित्त्याउने भन्ने बारेको बिस्तृत फेहरिस्त पढ्ने सुन्ने सुनाउने गरेर मनाउँदै आएका छौँ । अनि त्यसैको कार्यान्वयन मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रौरवशाली न्यून भ्रष्ट, मध्यम भ्रष्ट, अतिभ्रष्ट, महाभ्रष्ट आदि महान बिरुदावलिबाट सुशोभित भई डुङ्डुङ सुवास छर्दछौँ ।
अँध्यारनीय स्वाहामुखजिउ, अदक्षजिउ, खाम्सद, हाम्सद, ग्वाम्सद तथा हाम्सद्जिउहरू ! जनतानामकाहरूलाई जन्तुहरूलाई भन्दा अत्यधिक बढी दल्न, मिच्न, थिच्न, किच्न, घिच्न, सताउन अत्त्याउन बत्ताउन लत्याउन खोलिएका निकृष्ट विदेशी शब्दद्वारा सुभोभित अनेक दलहरूका महादलाल हुने कलियुगिन सौभाग्य शाली हाम्रोहरूको एकाबिहानदेखि चिलाएको कान अब छिटोभन्दा छिटो शान्त पार्दै म मेरो रौरबशाली जिम्मेवारी पूरा गर्न लाग्दछु ।
अँध्यारनीय स्वाहामुखजिउ, अदक्षजिउ तथा सम्पूर्ण खाननियजिउहरू ! हाम्रोदेशमा दर्जनौँ दशकाघिदेखि चलिआएको आफ्नै मौलिक परम्पराअनुसार सिंहदरबारका हिंस्रक सिंहहरूदेखि टोलटोलका स्यालदरबारका छट्टु स्यालहरूसम्मका आँखा, मुख, पेट आदिलाई सकेसम्म सपरिवार सन्तुष्ट पार्ने उद्देश्यले यसपटक पनि विभिन्न योजना, आयोजना, गयोजना, खायोजना, भ्यायोजना, सिद्ध्यायोजनाका नामरूपी छारोछरी हामी तथा हाम्रा अनन्य हितैषी शर्मछाडी, गोबरसियर, घिच्निडियर आदिका लागि समेत गलफत्ती अर्ब छिनाझप्टी करोड भुक्कगोजी लाख कप्ल्याककुप्लुक हजार झोलसय चोक्टा उपियाँ खानियोजन गरेको छु ।
हाम्रो सरकारलाई के विश्वास छ भने यो खानियोजनबाट उच्च पदस्थहरूलाई स्वदेशमै अनेक तिकडम गरेरमात्र नभई भेला गोष्ठी सेमिनार आदिका नाममा परचक्री प्रभुहरूकोमा समेत गइ अनि विष्टाचार भेटका नाममा देशमा अत्यधिक गन्हाएको नाङ्गीयता, जाँडतन्त्र, गाँडतन्त्र, भाँडतन्त्र, साँढतन्त्र आदिका बारेमा यो देशको सनातन धर्म संस्कृतिनै मास्ने गरी गोप्य मन्त्रणा गर्न समेत पर्याप्त हुनेछ । जन्तालाई टोकि ठोकी, विदेशिलाई शिरमा बोकि महिषासुर, भष्मासुर, अन्धकासुर, तारकासुर, चण्ड मुण्ड रक्तबिज, धुम्राक्ष, लोहिताक्ष, ताम्र, नरान्तक, देवान्तक, का आधुनिक अवतारमा जनमानसमा सुपरिचित हामीले जनतालाई वाणजस्ता तीखा भाषण मात्र दिई यो खानियोजन मार्फत टोलटोलका कौडेमुन्द्रे झोले चम्चे चाकडीमान चाप्लुशीबाज सम्मलाइ दिनियोजन गरिएको यो हनुमान पक्कै फलदायी हुनेछ ।
त्यो कैयौँ शताब्दी अघि लुम्बिनिको जङ्गलमा जन्मेको राजा हुन छोडेर जोगी हुने महामूर्ख बुद्धको जन्मभूमिको असिम सम्मान गर्दै खसी बोका राङ्गा हाँस कुखुरा लाम्खुट्टे झिङ्गा भुसुना मूसा भ्यागुता सर्पलाई समेत एकै ड्याङ्का निर्दोष मानी सिधा साधा दुक्जी गरिब निमुखा आदिलाई महङ्गी बेरोजगारी जस्ता अनेक तरिकाले बाँच्नै नदिने हाम्रो महान् छलाङ्गको रक्षार्थ खाडी खर्ब अन्याय अर्ब लखटट्टुलाल हत्तेहजार सर्वनाश सय सास्ती रुपैँया छुट्टै खानी योजना गरेको छु ।
अँध्यारनीय स्वाहमुख तथा अदक्ष । जिउ ! अब म यी माथी उल्लेखित र त्यस्तै अन्य गरि झन्डै ४ बीस कार्जेकरमका लागि रकमको जोहो गर्ने केही नीतिनियमहरू तथा करका करकरहरू प्रस्तुत गर्दछु । यस जनुमानमा प्रस्तुत योजना आयोजना खायोजना गयोजना भ्यायोजना आदिका लागि आवश्यक रकम शोसेर झाेसेर सोधेर गोदेर लुटेर कुटेर चुटेर भुटेर खेदाएर कुदाएर जुधाएर रुवार कुहाएर सताएर अत्त्याएर जोहो गरिनेछ । त्यसकालागि अझै पनि जिवित रहेकालाई प्रत्येक सासमा र मृतकलाई सास नफेरेकोमा उच्छ कर लगाइनेछ ।
सर्वसाधारणले महान् जनपक्षीय छलाङ युक्त युगैँ पुरानो “ठुलालाई मस्ती सानालाई सास्ती, बाघलाई चैन खरायोलाई ऐन,सुखसाधन ठूलालाई दुःखसास्ती सानालाई, उच्चलाई आमोद् प्रमोद निचालाई गोदागोद” भन्ने अतिशय आदर्श शसनका कारण थिचिएर, मिचिएर किचिएर पिल्सिएर आत्तिएर निस्सासिएर ऋण र दिन दुवैले सताइएर भएको एउटा झिङ्गाको पित्तजत्रो घडेरी बेच्न लाग्दा पनि केकेन आकाशै खस्नेगरी गाँठ कमाए भनेझैँ पाउने रकममा आयकर लगाउने; खान लाउन नपुगेर समस्याग्रस्त भई विदेश जानेलाई देशछोडा कर र यतिका विधि भ्रष्टाचार, अन्याय, घुसखोरी, कमिसन लुट गरिगरी लादिएको शासन पनि दाह्रा किटेर सहँदै लाजमर्दो पाराले आफ्मै देशमा बसिरहेकाहरूसित राष्ट्र बोझकर; विदेश गई ज्यानको बाजिलगाई झन्डै साठी डिग्रीको तातोमा मरणासन्न हुँदै सास्तिपूर्वक काम गरि घरमा साहुको ऋण तिर्न वृद्ध अशक्त बाबुआमा नाबालक छोराछोरी पाल्न भनी पठाएको रगतपसिनामा पनि रौरवशाली कर; जनताले आफ्नै बलबुतामा आर्जेका गाडी बाहनहरू तथा त्यसमा हाल्ने तेलमा समेत झेलयुक्त कर; आदि अत्यन्त युग सुहाउँदो वैज्ञानिक करहरू यथावत लाग्ने नै छन् ।
राम्रो काम गर्न खोज्नेलाई आफ्नै लँगौटी फुस्किउन्जेलसम्मको बललगाई कागको भन्दा सुमधुर स्वरमा हल्ला खल्ला मच्चाइ मुद्दा मामिला झन्झट झमेला पुरस्कार दिई सताइ लखेटी निकालिने रकम; विदेशीलाई सस्तोमा बेच्न पुग्दापनि स्वदेशीलाई महँगोमा किन्न लाचार पारिएको बिजुलीबाट आउने रकम; विदेशीलाई नागरिकता बेच्दा, एम सि सि जस्तो सैतान भित्र्याउन मरिहत्ते गर्दा आएको रकम; डोकाका डोका सुन बोक्नेलाई नदेखे जस्तो गरि पोकामा नून बोक्नेलाई अनेक सास्ती दिई उठाएको रकम; जिल्ला कुशासनदेखि हालपोत, नापिदेखी वडाटोलका अनेक लाम्खुट्टे, उपियाँ झिङ्गा उडु ! जस्ता झोलेझाम्टे कुकुरभुत्ले चुल्ठेमुन्द्रे समेत मार्फत विभिन्न किर्ते प्रलोभन बहाना नाटक आदि मार्फत पनि हाम्रा खल्तिको भोक मार्ने चारोको जोहो भइ नै रहनेछ ।
आफ्नै नाता हाकिम है भन्सारमा दमडिभन्दा के दह्रो संसारमा भन्ने हामीहरूले पटकपटक राष्ट्रिय सम्पदा, संस्कृति अस्मिता, स्वाधीनतामाथि हाम्रा महान् प्रभुपरमेश्वरहरूबाट हेलाँहोचो, लाठोघोचो प्रहार भए पनि रमाइलो रमिता मानी मौन बनी हेरिरहनसक्ने महानता समेत अविस्मरणीय छ ।
अँध्यारनीय स्वाहामुख, अदक्ष तथा खाम्सद, हाम्सद, ग्वाम्सद, झ्वाम्सद्जिउहरू ! विगतका पचासौँ वर्षहरूमा झै यसवर्ष पनि यो खाएदेयको महान् कार्यान्वयनमा यहाँहरूले दाह्रा धसी नङ्ग्रा गाडी दिलोज्यानले आफ्नो र आफन्तहरूको भुँडी, पद, प्रतिष्ठा, रहनसहन, सेवासुविधामा दुविधा नमानी लङ्गौटी खुस्किउन्जेल सहयोग गर्नु हुनेछ भन्ने हाम्रो टोकप्रिय, ठोकप्रिय सरकारले आशा एवं भरोसा लिएको छ ।
यसका साथै यो बतास हजार हावासय हचुवा वर्षको पार्थिव हनुमानको स्वजन तथा स्वधनपक्षीय कार्यान्वयनमा सहयोग पुर्याउन अझै हौसला थपियोस् भन्ने हेतुले महाजनमारा पुरस्कार, धाँधली धोकाधडी सम्मान,राष्ट्रिय नेतावाद प्रशंसा पत्रा, नाकाबन्दी दक्षिणराहु ढुङ्गामूढा पदक, अतिघुस्याहा सत्कार कमिशनखोर हराम विभुषण, छलकपट जालसाजी रत्न १ देखि १००० जनासम्मलाई, अत्यधिक विदेशभक्त लम्पसार पट्ट ५००० जनालाई, महाराष्ट्रघात आभुषण, विशेष जनपेलाहा पुरस्कार जस्ता करिब लाखु जनाले एकैवर्षमा पाउने व्यवस्था समेत यसै खानियोजनमा दिनियोजन गरेका छौँ ।
अन्तमा हाँडीघोप्टे गठबन्धनको यो सरकारले तर्जुमा गरेको यो पार्थिव वर्ष बतासहजार हावाशय हचुवा सालको यो खादेयको खानियोजन, दिनियोजन हामी दलका नेता कार्यकर्ता आसेपासे चम्छे धुपौरे झोलेझाम्टे नन्दिभिरिङ्गी महिषासुर आदि तथा हाम्रा अति असल भावनालाई खार्यालय खार्यालाय कुर्सी कुर्सी गल्ली गल्लीदेखि सदासर्वदा जिउज्यानले सहयोग गर्ने शर्मछाडिवर्ग, हाम्रै सम्रक्षणम लस्कर लागि तस्कर पेशा गर्नेहरूलाई हुनसम्म मालामाल र ती ५ मिनेट लगाएर हामीलाई भोट दिने अनि पुर्पुरो समाइ टाउको ठोकी ५ वर्ष पछुताउने दुःखसागरका मनुवाहरूलाई महाकाल हुने एकदम पक्का भएकोले हामी यो खानियोजन, दिनियोजन पढ्न सुन्न सुनाउन पाउँदा अत्यन्तै हर्षित छौँ । यो वाचन अति सङ्क्षिप्त मात्र हो । यसको विस्तृत विवरण लाटो किताबमा हुनेछ । हामीसबैलाई यत्तिको महान् गौरवशाली स्थितिमा आई लाखौँ लघुराजाको रूपमा देशभरि कुशासन दुशासनको रामराज्य गर्न दिनकालागी बुद्धो न सुद्धोसँग आन्दोलन, हान्दोलन, जाँड्दोलन आदिमा ज्यान फाल्ने साराका सारा दशलाखेहरूप्रति दुई पाउ जोडी सादर सम्मान प्रकट गर्दै बिदा हुन्छु ।
हाम्रो रहोस् परानी
देश र जन होस खरानी
जय हाम्रा महाप्रभु महामाइन
जय काटिएका गोरु जय होलिवाइन ।
०००
टाँडी, चितवन ।
Subscribe
Login
0 Comments
Oldest





































