सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’मा खनालकाे व्यङ्ग्यकारिता

रचनात्मक मूल्यभन्दा नकारात्मक मूल्यले गाँज्दै ल्याएको युगीन समाज र जीवनको खोतलखातल गर्दै हास्यका अन्तर्धारासँगै व्यङ्ग्यका अन्तर्तरङ्गहरूलाई गतिमय गरेर उहाँका यी फुटकर गद्यकृतिहरू हिँडेका छन् ।

Nepal Telecom ad

वासुदेव त्रिपाठी :

श्री चूडामणि खनाल पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराका नेपाली विषयका उपप्राध्यापक हुनुहुन्छ । उहाँले स्वर्गीय साहित्यकार चक्रपाणि चालिसेका बारेमा वर्षाैँ अगि स्नातकोत्तर शोधकार्य गर्नुभएको थियो र हाल उहाँ स्वर्गीय माधवप्रसाद देवकोटाका सम्बन्धमा विद्यावारिधि शोधकार्यमा संलग्न हुनुहुन्छ । पेशाले प्राध्यापन कार्यमा संलग्न र गहिरो अनुसन्धान अभिरुचि राख्ने चूडामणि खनालज्यूको चाख सिर्जनात्मक गद्यलेखनका फाँट पनि रहेको जानकारी उहाँको प्रस्तुत हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहले प्रदान गर्दछ । नेपाली समाजका समसामयिक जीवनप्रवाहका अनेक आध्यामिक असङ्गतिको अध्ययन र सोध-खोज गर्ने प्रवृत्ति उहाँका यी हास्य व्यङ्ग्यात्मक गद्यरचनाहरूले पनि देखाएका छन् ।

वर्तमान नेपाली समाजमा देखा परेका नानावली अन्तरविराेध र मूल्यगत व्यतिक्रम र आदर्श विचलनप्रति सचेत हास्यकार र व्यङ्ग्यकारको दोहोरो व्यक्तित्व तथा हैसियत लिई उहाँ यस सङ्ग्रहमा देखा पर्नुहुन्छ । उहाँको यो लेखन व्यवसाय मुख्यतः खुद्रा प्रकृतिकै छ तापनि हास्यव्यङ्ग्यात्मक दोहोरो कारोबार फुटकर रूपमा गरी तिनबाट अर्जेको मुनाफा कृतित्वको थोक प्रस्तुति गर्ने जमर्को पनि यस सङ्ग्रहले गरेको मान्नै पर्दछ । नव उद्यमीले एकोहोरोभन्दा दोहोरो कारोवार गर्नु अनि फुटकर व्यवसायलाई नै आखिर थोक व्यवसायमा परिणत गर्नु समाजधर्मका दृष्टिले अनैसर्गिक होइन ।

नेपाली साहित्यका अग्रण ‘महाजन’ हरूले पनि यसै गर्दै आएकाले तिनको बिँडो थाम्नु राम्राे कुरा हो । उहाँका यी हास्यव्यङ्ग्यात्मक गद्यकृतिहरू पढ्दा कतै हास्यको होश र कतै व्यङ्ग्यको नशा तीव्र लागे पनि यी दुवै उहाँका सहचारी कारोवार प्रतीत हुन्छन् । हलुका-मसिनो ‘स्मित हास्य’ र अलिकति गुलाबी व्यङ्ग्य छेडछाडको चास्नी मिसाई समसामयिक नेपाली समाजका पथविचलन र विसङ्गति-विकृतिहरूको लेखाजोखा प्रस्तुत गर्ने कलात्मक ध्येय उहाँले राख्नुभएको छ । हास्य-व्यापारको घाटाको परिपूर्ति यहाँ व्यङ्ग्य-व्यवसायले सक्दो मात्नामा गरिदिएको छ भने व्यङ्ग्यव्यापारको घाटाको पूरक हास्य-व्यवसाय हुन पुगेको छ । मिश्रण र मिस्कटका सामाजिक परिदृश्यबाट प्रभावित विशुद्ध हास्य था चोखो व्यङ्ग्यको कारोबार अधिकांश अगुवाहरूले नै पनि गरेनन् भने नव उद्यमी चूडामणि खनालले पनि परम्परागत संयुक्त कारोवारमै सिद्धि ऋद्धिको सम्भावना देख्नु सान्दर्भिक नै ठहर्छ ।

चूडामणि खनालले १७ वटा खुद्रा हास्यव्यङग्य कृतिको सँगालो यस सङ्ग्रहमा गर्न चाहनु भएको रहेछ । मैले २ वटा त्यस्ता कृतिलाई व्यावसायिक नैतिकताका दृष्टिले हटाउन सिफारिस गरेको छु; आखिर उहाँकै तजवीजअनुसार उहाँका यस पुस्तकाकार प्रयासमा खुद्रा मालको अन्तिम सङ्ख्या तय हुने नै छ । उहाँले समसामयिक नेपाली समाजका धर्म, शिक्षा, संस्कृति, साहित्य, अर्थतन्त्र, प्रशासन, राजनीति आदि क्षेत्रका मूल्यगत विरोधाभास र मर्यादाविचलनका कतिपय पक्षहरूको उद्घाटन गर्ने रहर यी फुटकर हास्य व्यङ्ग्यात्मक गद्य-कृतिहरूमार्फत गर्नुभएको छ ।

रचनात्मक मूल्यभन्दा नकारात्मक मूल्यले गाँज्दै ल्याएको युगीन समाज र जीवनको खोतलखातल गर्दै हास्यका अन्तर्धारासँगै व्यङ्ग्यका अन्तर्तरङ्गहरूलाई गतिमय गरेर उहाँका यी फुटकर गद्यकृतिहरू हिँडेका छन् । यी गद्यकृतिहरू उति लामघारे छैनन् यिनको औसत कद पुड्कै छ । त्यसैले बिस्तारभन्दा सङ्क्षेप उहाँको वर्णन धर्म रहेको छ र फजुलखर्ची लम्बेतान यात्राभन्दा छरितो मितव्ययी ठीक्क अड्कलिए जस्तो आयतन उहाँको चित्रण पद्धति देखापर्छ ।

‘म्याक्सी’ भन्दा ‘मिनी’ आयाम बढी प्रिय रहेको जमानामा लक्ष्मीप्रसाद देवकोटा वा बालकृष्ण समको जस्तो दीर्घ आयतनको रचनाकारिता त्यति नफाप्ने कुरा छँदै छ र युगको छरितो चुट्किलो अभिव्यक्ति आयामलाई अँगाल्दा उहाँका हास्य व्यङ्ग्यात्मक गद्यकृतिहरू अलि छोटिएकामा मन खुम्च्याउनुपर्ने कुनै कारण म देख्दिनँ । वास्तवमा ‘गोरखापत्र’, ‘चन्द्रिका’, गोरखाशिक्षा, र ‘गोर्खा संसार’ आदिले ‘शारदा’ (वि. सं. १६६१) पूर्व थाले हुर्काएको निबन्ध प्रारूप पनि प्रायः लघु आयाम र आयतनकै हुने गर्दथे; यस सिलिसलामा शम्भुप्रसाद ढुङ्गेलभन्दा पनि चक्रपाणि चालिसे र झपटबहादुर राणाकै ग्रसित निबन्धगत आयामलाई चूडामणि खनालका कलमले गुरु थापेका छन् । उहाँका स्नातकोतर शोधनायक चक्रपाणि चालिसेकै जस्तो छोटो छरितो निबन्धात्मक आयतनको उत्प्रेरणा चूडामणि खनालमा पनि पर्‍यो कि भनी बुज्रुग्याइँ देखाउने केही ठाउँ छँदै छ ।

चूडामणि खनालका यी हास्यव्यङ्ग्यात्मक गद्यकृतिहरूमध्ये केही (‘धर्म-सभा’ कथा जस्ता) मा कथात्मकता पनि छ तर प्रायः उहाँको हास्यव्यङ्ग्यचेत निबन्धधर्मी नै बढी छ । सामाजिक वस्तुता र आफ्ना आदर्शचेतनाका बीचका अन्तक्रियाका बुनोटमा नै उहाँको हास्यव्यङ्ग्यकारिता मुख्यतः बुनिएको छ । समाज र युगका मूल्यगत शिथिलता र चारित्रिक ह्रासाेन्मुखता एवं नैतिक विचलनको वस्तुतालाई आफ्ना उज्ज्वल मूल्यबोध चारित्रिक मानक एवं नैतिक प्रतिष्ठापनका कोणबाट हेर्दा अनुभव हुन आउने लेखकीय ग्लानि र क्लेशलाई हास्य तथा व्यङ्ग्यमा रुपान्तरित गर्ने प्रयास उहाँका यस सङ्ग्रहमा व्याप्त रहेको छ, यस क्रममा कतै स्थूलीकरण र कतै सूक्ष्मीकरण एवं कतै अतिरञ्जना र कतै चरम यथार्थीकरणका साथै कतै विधि र निषेधको व्यतिक्रम पनि कहीँ समानान्तरण र विपर्यासको पद्धतिद्वारा कहीँ उहाँले आत्मव्यङ्ग्य र कतै विकृति-विकारको गरिमाको नाटकीय प्रस्तुति दिई आफ्नो हास्य व्यङ्ग्यकारितालाई मलजल दिनुभएको पाइन्छ ।

प्रस्तुत सङ्ग्रह उहाँको हास्यव्यङ्ग्य गद्यकारिताको पहिलो पलेंटी हो र प्रथम यात्राचरणको प्राप्ति हो । यी फुटकर कृतिहरूको औसत गुणस्तर मझौला छ, न बयरको पोथ्रो झैँ पुड्को न आम्रवृक्ष झैँ उन्नत । उहाँले हास्यव्यङ्ग्यको भाषा, संकथन र संरचना, शैली शिल्प एवं कथ्यसामग्री र कथन कौशलको तत्वज्ञान प्राथमिक रूपमा प्राप्त गर्नुभएको छ; तर त्यसलाई तिखार्ने र पाइनदार बनाउने उन्नत कलाचेत प्राप्त गर्न भने बाँकी नै छ । उहाँका यी फुटकर हास्यव्यङ्ग्यात्मक कृतिहरू रोचक छन् र पठनीय छन्, खर अविस्मरणीय कलाकृति चाहिँ भइसकेका छैनन् ।

उहाँका सङ्कलित कृतिमध्ये ‘चकारमहिमा’, ‘इज्जत’ र ‘नयाँ आविष्कार’ मलाई बढी मन परे भने यिनमा नयाँ आविष्कारले पुस्तक विमोचनको नवागत संस्कृतिको मीठो हास्यव्यङ्ग्यात्मक रेखाङ्कन गरेको छ । हास्यव्यङ्ग्यात्मक आधारभूत प्रतिभा चूडामणि खनालज्यूसँग पर्याप्त छ तर यसलाई अरु लोक-पर्यवेक्षण एवं हास्यव्यङ्ग्य साहित्य र शास्त्रका व्यापक व्युत्पत्तिबाट खार्दै कथ्यको आविष्कार र विनियोजन र कथनपद्धति तथा भाषा शैलीका चहकिला सीप-कौशलका सहकारिताबाट उजेल्ने र चहकिलो तुल्याउने अभ्यास साधनाको परिपाकतर्फ भने उहाँले धर्म कठोर यात्रा गर्न बाँकी नै छ ।

आउँदा हास्यव्यङ्ग्यात्मक कृतिहरूमा कथ्यको पहिचान र विनियोजन एवं कथनका पद्धति र कलाका परिपाक र परिपक्वतातर्फ उहाँको अरु अन्तर्विकास र परिपाकको कामना म प्रकट गर्दछु । उहाँ अहिले हास्यव्यङ्ग्यका कलात्मक कारोबारमा जहाँ आइपुग्नुभएको छ, त्यसलाई जग हालेको ठानी आफ्नो साहित्य कौशलका प्रयोगशील तलाहरू थप्दै जाने व्यावसायिक अठोटमा लाभहानिको पर्वाह नगरी निरन्तर लागिराख्न म उहाँलाई सल्लाह दिन्छु । आखिर जीवन र कला-साहित्यका क्षेत्रमा पनि ऋद्धि-सिद्धिको अन्तिम लेखामा त्यही साधक विजयी हुन्छ, जो अविरल हिँडिराख्दछ । हिँड्नु मनुष्यको धर्म हो; त्यो हिँडाइ सचेत साधना हुन सकोस् । प्राप्तिको अन्तिम लेखा हिँडाइका आाखिरमा मात्र आकलित हुनसक्छ ।

०००
‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’ (२०५३) मा  ‘मन्तव्य’ शीर्षकमा भूमिका 
२०४७ श्रावण १ ,नयाँ बानेश्वर, काठमाडौं ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
0
Would love your thoughts, please comment.x
()
x