वासुदेव त्रिपाठी‘घरभित्रको गाईजात्रा’ हेर्दा
यसबाट हास्यव्यङ्ग्यकार पौडेल आफ्ना सिकारु अवस्था पार गर्दै परिपक्व अवस्थातर्फ विकासशील देखापर्छन् र उनको हास्यव्यङ्ग्य-उपासना साधनावस्थाका मध्यम विन्दुतिरै छ भन्ने स्पष्टिन्छ ।

वासुदेव त्रिपाठी :
श्री नरेन्द्रराज पौडेलको घरभित्रको गाईजात्रा हास्यव्यङ्ग्य- सङ्ग्रह मैले हेरें। यस सँगालामा बलिएका कृतिहरू हास्य र व्यङ्ग्यका दृष्टिले निकै नै रोचक र तिक्खर पनि छन् भन्ने म ठान्दछु । हास्यव्यङ्ग्यकार पौडेलले स्वयम् स्वीकारेका छन् । (यसै सङ्ग्रहभित्रको ‘नाम चलाउने धुन ‘अन्तर्गत)- “हास्यव्यङ्ग्य भनेपछि दुई-चार हँसाउने कुरा चाहिए। दुई-चार उडाउने कुरा चाहिए।” हास्यले हँसाउने कुरासित र व्यङ्ग्यले ‘उडाउने’ कुरासँग साइनो जोडेको अनुभव गर्ने पौडेल हास्य-व्यङ्ग्यका वानीबेहोरासित सामान्यतः परिचित नै ठहर्दछन् र उनका ‘घरभित्रको गाईजात्रा’ अन्तर्गत सङ्कलित कृक्तिहरूमा ‘हँसाउने र उडाउने’ दोहोरो व्यापारमा उनी लागेका पनि छन् ।
कविता, निबन्ध र यात्रा साहित्यका फाँटमा पनि यदाकदा चहारिराख्ने युवा प्रतिभा पौडेल हास्य-व्यङ्ग्यका कारोबारमा पल्किएको त मलाई थाहा थियो तर यस कारोबारमा उनले पुगनपुग एक कोरी कृति जन्माइसकेको कुराचाहिँ यसै सङ्ग्रहबाट अवगत भयो। ‘हास्यकदम्ब’को जोरजाम हास्यव्यङ्ग्य अवतार शक्तिवल्लभ बाजेका साहित्यिक वंशमा आधुनिक पुस्तामा जन्मेका केशवराज पिंडाली र भैरव अर्याल जस्ता जमातमा हास्यव्यङ्ग्य गोत्रका सन्तानदरसन्तानले गद्यविधाका डाँडा-काँडा ढाक्न लागेका बखत अर्का एक जोधा प्रतिभाका रूपमा पौडेल प्रकट भएका छन् । खुद्रा व्यापारमा प्रशस्त पूर्वाभ्यास गरिसकेपछि ठेली नै छपाई हास्यव्यङ्ग्यको थोक व्यापार गर्न तम्सिरहेका पौडेललाई सोखिन पाठकहरूका तर्फबाट म बधाई दिऊँ कि !
घरभित्रको गाईजात्राअन्तर्गत सँगालिएका कृतिहरूले हाम्रा सामाजिक जीवनका विभिन्न पाटामा रहेका सङ्क्रमणकालीन असङ्गति, विकृति र अन्तर्विरोधकै चिरफार गर्न खोजेका हुन् । हाम्रा गाउँले र सहरिया जीवनशैलीका छन्ददेखि पुराना र आधुनिक दुवै थरी
कुरीति र कुप्रथासम्म चहार्दै हास्य व्यङ्ग्यकार पौडेल आजको हाम्रो सामाजिक जिन्दगानीका विभिन्न पाटाहरूको मूल्य-सङ्कटको हास्यव्यङ्ग्यमय रेखाचित्र कोर्न तम्सिएका छन् । ‘श्रीमतीको सदरीकरण’ र ‘अखिल नेपाल बुहारी सम्मेलन’ जस्ता हास्यव्यङ्ग्य रचनामा उनी गाउँले र सहरिया नारीजीवनलाई आफ्नो हास्यव्यङ्ग्य दृष्टिको तारो बनाउँछन् भने ‘एक सदस्यीय छानबिन आयोग’ मा सहरिया गृहस्थीका असङ्गतिलाई उधिन्न खोज्छन् ।
‘पियनबहादुरको अन्तरिक्षयात्रा’ र ‘हाकिमको आतङ्क’ जस्ता हास्यव्यङ्ग्य निबन्धमा उनी प्रशासन क्षेत्रको चियोचर्चो गर्दछन् भने ‘तुहिएको योजना’ मा प्रशासनका साथै शिक्षा क्षेत्रतर्फ पनि हास्यव्यङ्ग्य दृष्टि फिंजाउँछन् । ‘कविताको रोग’ र ‘आलोचक’ जस्ता हास्यव्यङ्ग्यकृतिले स्रष्टा र आलोचकहरूलाई लछारेका छन् । ‘पाङपुले साइँलाको विनाश बजेट’ ले राजनीति र अर्थतन्त्रका क्षेत्रमा देखापर्ने असङ्गति र लहडबाजीको अतिरञ्जित तस्बिर पेस गरेको छ भने ‘कान्तु पाध्येको पञ्चवर्षीय योजना’ ले सार्वजनिक जीवनको पूरैजसो सेरोफेरोको अतिरञ्जित चित्रणद्वारा हास्य-व्यङ्ग्य-चेतना फिंजारेको छ । ‘अवसरवाद’ र ‘चाकरीको चोला’ जस्ता हास्यव्यङ्ग्य निबन्धले सार्वजनिक जीवनमा आएको मूल्य-हासलाई हास्यव्यङ्ग्यमय बान्की दिई प्रस्तुत गरेका छन् ।
‘युद्ध’ ले सहरिया जीवनको एक मामुली घटनालाई हास्यतर्फ ठेलेको छ भने ‘वज्रङ्गबहादुरको काठमाडौं यात्रा’ ले खाँटी गाउँले चेतना र सहरिया परिप्रेक्ष्यको द्वन्द्वको परिहासपूर्ण चित्रण गरेको छ । ‘नाउँ चलाउने धुन’ हास्यव्यङ्ग्य निबन्धमा चाहिँ परम्परागत र आधुनिक जीवनशैली तथा दृष्टिको घरेलु द्वन्द्वका साथै घरबाहिरको सहरिया सार्वजनिक जीवनको सेरोफेरोमा भेटिने बहुरङ्गी विकारहरूको पनि आकलन गरिएको छ । निचोडमा के भन्न सकिन्छ भने हास्यव्यङ्ग्यकार पौडेलले हाम्रो वर्तमान सङ्क्रमणकालीन समाजका विविध पाटाका अन्तर्विरोध तथा असङ्गतिको हास्यमय-व्यङ्ग्यमय दिग्दर्शन दिने प्रचेष्टा वा प्रयास प्रारम्भ गरेका छन् ।
हास्यव्यङ्ग्यविधाका निम्ति अपेक्षित सामग्री कच्चा पदार्थ वा मसलाका रूपमा उपर्युक्त सामाजिक असङ्गतिको उपयोग हास्य- व्यङ्ग्यकार पौडेलले गरेको देखिन्छ । सामाजिक जीवनका पाटाका रोचक असङ्गतिको पर्यवेक्षण गर्ने कुटुनी क्षमता यी तरुना हास्यव्यङ्ग्यकारमा प्रकट भइरहेको पाइन्छ र यस पेसामा लाग्दै जाँदा दृष्टिको गहिराइ व्यङ्ग्यविधामा वस्तुगत पर्यवेक्षणको खुबी र दृष्टिका सूक्ष्मता र गहिराइ अपेक्षित रहन्छन् भने यस सङ्ग्रहसम्मका हास्यव्यङ्ग्यकार पौडेल आफ्ना पूर्वोक्त कृतिहरूमा बढी भावुक र कम संयमित तथा आत्म-रोग र वस्तुगतताका दोसाँधमा नै उनको हास्यव्यङ्ग्यकारिता विकासशील देखापर्छ । हास्य-रसको सृष्टि गर्ने मेलोमेसो समातेपछि उनको ठट्यौली चेतना ठाउँ-ठाउँमा विश्वसनीयताको तटबन्ध तोड्दै अतिरञ्जनाको चरमतातर्फ पनि ठेलमठेल गर्दै हुत्तिएको पाइन्छ र उनको परिहास-प्रियताले संयमित भई सम्हालिन भुलेको अनुभव हुन्छ ।
त्यस्तै व्यङ्ग्यको तारतम्य समात्दै जाँदा बेलाबखत उनी आफ्ना व्यक्ति-राग वा रुचि-अरुचि स्पष्टै झल्कने विन्दुसम्म पनि उडाउने अदम्य आकाङ्क्षाका वेगमा वस्तुगत पर्यवेक्षकको मर्यादाको उल्लङ्घन गर्दै बतासिएको समेत पाइन्छ। त्यसैले हास्यव्यङ्ग्य वाग्धारा उर्लेका बखत उनी आफ्ना भावुक प्रवाहउपर आत्म-नियन्त्रण स्थापित गर्न ठाउँ-ठाउँमा चुकेको र सन्दर्भको भलले उनलाई बजाइदिँदा सो प्रवाहकै अधीन हास्य- व्यङ्ग्यकार बहकिएको अवस्था पनि उनका कतिपय कृतिमा प्रकट हुन्छन् । यसबाट हास्यव्यङ्ग्यकार पौडेल आफ्ना सिकारु अवस्था पार गर्दै परिपक्व अवस्थातर्फ विकासशील देखापर्छन् र उनको हास्यव्यङ्ग्य-उपासना साधनावस्थाका मध्यम विन्दुतिरै छ भन्ने स्पष्टिन्छ । उनका सामग्री र अभिव्यक्ति-प्रक्रियाका वर्तमान घनात्मक र ऋणात्मक बुँदाको मोटामोटी लेखाजोखा गर्दा उनलाई भविष्यमा (सिक्तै, सचेत हुँदै र सुधारिदै गएमा) ढकमक्क फक्रने उज्याला सम्भावनाले ओतप्रोत चिल्लोपाते नवोदित हास्यव्यङ्ग्य प्रतिभा स्वीकार गर्न सकिन्छ ।
निश्चय नै नेपाली साहित्यले पौडेललाई अर्को एउटा उदीयमान प्रभावकारी हास्यव्यङ्ग्यकारका रूपमा पाउन लागेको छ भन्ने कुराचाहिँ निर्धक्कसँग भन्न सकिन्छ। नपात्तिई, नमात्तिई र सिर्जनासङ्घर्षमा लगातार सामेल रही उनको हास्य-व्यङ्ग्य प्रतिभा खारिन, माझिन र चहकिन सक्षम रहोस् भनी म शुभेच्छा व्यक्त गर्दछु।
०००
२०३६ मङ्सिर १७ गते,
बानेश्वर, काठमाडौं ।
घरभित्रकाे गाइजात्रा (२०६२) काे भूमिका
Subscribe
Login
0 Comments
Oldest







































