साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘घरभित्रको गाईजात्रा’ हेर्दा

यसबाट हास्यव्यङ्ग्यकार पौडेल आफ्ना सिकारु अवस्था पार गर्दै परिपक्व अवस्थातर्फ विकासशील देखापर्छन् र उनको हास्यव्यङ्ग्य-उपासना साधनावस्थाका मध्यम विन्दुतिरै छ भन्ने स्पष्टिन्छ ।

Nepal Telecom ad

वासुदेव त्रिपाठी :

श्री नरेन्द्रराज पौडेलको घरभित्रको गाईजात्रा हास्यव्यङ्ग्य- सङ्ग्रह मैले हेरें। यस सँगालामा बलिएका कृतिहरू हास्य र व्यङ्ग्यका दृष्टिले निकै नै रोचक र तिक्खर पनि छन् भन्ने म ठान्दछु । हास्यव्यङ्ग्यकार पौडेलले स्वयम् स्वीकारेका छन् । (यसै सङ्ग्रहभित्रको ‘नाम चलाउने धुन ‘अन्तर्गत)- “हास्यव्यङ्ग्य भनेपछि दुई-चार हँसाउने कुरा चाहिए। दुई-चार उडाउने कुरा चाहिए।” हास्यले हँसाउने कुरासित र व्यङ्ग्यले ‘उडाउने’ कुरासँग साइनो जोडेको अनुभव गर्ने पौडेल हास्य-व्यङ्ग्यका वानीबेहोरासित सामान्यतः परिचित नै ठहर्दछन् र उनका ‘घरभित्रको गाईजात्रा’ अन्तर्गत सङ्कलित कृक्तिहरूमा ‘हँसाउने र उडाउने’ दोहोरो व्यापारमा उनी लागेका पनि छन् ।

कविता, निबन्ध र यात्रा साहित्यका फाँटमा पनि यदाकदा चहारिराख्ने युवा प्रतिभा पौडेल हास्य-व्यङ्ग्यका कारोबारमा पल्किएको त मलाई थाहा थियो तर यस कारोबारमा उनले पुगनपुग एक कोरी कृति जन्माइसकेको कुराचाहिँ यसै सङ्ग्रहबाट अवगत भयो। ‘हास्यकदम्ब’को जोरजाम हास्यव्यङ्ग्य अवतार शक्तिवल्लभ बाजेका साहित्यिक वंशमा आधुनिक पुस्तामा जन्मेका केशवराज पिंडाली र भैरव अर्याल जस्ता जमातमा हास्यव्यङ्ग्य गोत्रका सन्तानदरसन्तानले गद्यविधाका डाँडा-काँडा ढाक्न लागेका बखत अर्का एक जोधा प्रतिभाका रूपमा पौडेल प्रकट भएका छन् । खुद्रा व्यापारमा प्रशस्त पूर्वाभ्यास गरिसकेपछि ठेली नै छपाई हास्यव्यङ्ग्यको थोक व्यापार गर्न तम्सिरहेका पौडेललाई सोखिन पाठकहरूका तर्फबाट म बधाई दिऊँ कि !

घरभित्रको गाईजात्राअन्तर्गत सँगालिएका कृतिहरूले हाम्रा सामाजिक जीवनका विभिन्न पाटामा रहेका सङ्क्रमणकालीन असङ्गति, विकृति र अन्तर्विरोधकै चिरफार गर्न खोजेका हुन् । हाम्रा गाउँले र सहरिया जीवनशैलीका छन्ददेखि पुराना र आधुनिक दुवै थरी
कुरीति र कुप्रथासम्म चहार्दै हास्य व्यङ्ग्यकार पौडेल आजको हाम्रो सामाजिक जिन्दगानीका विभिन्न पाटाहरूको मूल्य-सङ्कटको हास्यव्यङ्ग्यमय रेखाचित्र कोर्न तम्सिएका छन् । ‘श्रीमतीको सदरीकरण’ र ‘अखिल नेपाल बुहारी सम्मेलन’ जस्ता हास्यव्यङ्ग्य रचनामा उनी गाउँले र सहरिया नारीजीवनलाई आफ्नो हास्यव्यङ्ग्य दृष्टिको तारो बनाउँछन् भने ‘एक सदस्यीय छानबिन आयोग’ मा सहरिया गृहस्थीका असङ्गतिलाई उधिन्न खोज्छन् ।

‘पियनबहादुरको अन्तरिक्षयात्रा’ र ‘हाकिमको आतङ्क’ जस्ता हास्यव्यङ्ग्य निबन्धमा उनी प्रशासन क्षेत्रको चियोचर्चो गर्दछन् भने ‘तुहिएको योजना’ मा प्रशासनका साथै शिक्षा क्षेत्रतर्फ पनि हास्यव्यङ्ग्य दृष्टि फिंजाउँछन् । ‘कविताको रोग’ र ‘आलोचक’ जस्ता हास्यव्यङ्ग्यकृतिले स्रष्टा र आलोचकहरूलाई लछारेका छन् । ‘पाङपुले साइँलाको विनाश बजेट’ ले राजनीति र अर्थतन्त्रका क्षेत्रमा देखापर्ने असङ्गति र लहडबाजीको अतिरञ्जित तस्बिर पेस गरेको छ भने ‘कान्तु पाध्येको पञ्चवर्षीय योजना’ ले सार्वजनिक जीवनको पूरैजसो सेरोफेरोको अतिरञ्जित चित्रणद्वारा हास्य-व्यङ्ग्य-चेतना फिंजारेको छ । ‘अवसरवाद’ र ‘चाकरीको चोला’ जस्ता हास्यव्यङ्ग्य निबन्धले सार्वजनिक जीवनमा आएको मूल्य-हासलाई हास्यव्यङ्ग्यमय बान्की दिई प्रस्तुत गरेका छन् ।

‘युद्ध’ ले सहरिया जीवनको एक मामुली घटनालाई हास्यतर्फ ठेलेको छ भने ‘वज्रङ्गबहादुरको काठमाडौं यात्रा’ ले खाँटी गाउँले चेतना र सहरिया परिप्रेक्ष्यको द्वन्द्वको परिहासपूर्ण चित्रण गरेको छ । ‘नाउँ चलाउने धुन’ हास्यव्यङ्ग्य निबन्धमा चाहिँ परम्परागत र आधुनिक जीवनशैली तथा दृष्टिको घरेलु द्वन्द्वका साथै घरबाहिरको सहरिया सार्वजनिक जीवनको सेरोफेरोमा भेटिने बहुरङ्गी विकारहरूको पनि आकलन गरिएको छ । निचोडमा के भन्न सकिन्छ भने हास्यव्यङ्ग्यकार पौडेलले हाम्रो वर्तमान सङ्क्रमणकालीन समाजका विविध पाटाका अन्तर्विरोध तथा असङ्गतिको हास्यमय-व्यङ्ग्यमय दिग्दर्शन दिने प्रचेष्टा वा प्रयास प्रारम्भ गरेका छन् ।

हास्यव्यङ्ग्यविधाका निम्ति अपेक्षित सामग्री कच्चा पदार्थ वा मसलाका रूपमा उपर्युक्त सामाजिक असङ्गतिको उपयोग हास्य- व्यङ्ग्यकार पौडेलले गरेको देखिन्छ । सामाजिक जीवनका पाटाका रोचक असङ्गतिको पर्यवेक्षण गर्ने कुटुनी क्षमता यी तरुना हास्यव्यङ्ग्यकारमा प्रकट भइरहेको पाइन्छ र यस पेसामा लाग्दै जाँदा दृष्टिको गहिराइ व्यङ्ग्यविधामा वस्तुगत पर्यवेक्षणको खुबी र दृष्टिका सूक्ष्मता र गहिराइ अपेक्षित रहन्छन् भने यस सङ्ग्रहसम्मका हास्यव्यङ्ग्यकार पौडेल आफ्ना पूर्वोक्त कृतिहरूमा बढी भावुक र कम संयमित तथा आत्म-रोग र वस्तुगतताका दोसाँधमा नै उनको हास्यव्यङ्ग्यकारिता विकासशील देखापर्छ । हास्य-रसको सृष्टि गर्ने मेलोमेसो समातेपछि उनको ठट्यौली चेतना ठाउँ-ठाउँमा विश्वसनीयताको तटबन्ध तोड्दै अतिरञ्जनाको चरमतातर्फ पनि ठेलमठेल गर्दै हुत्तिएको पाइन्छ र उनको परिहास-प्रियताले संयमित भई सम्हालिन भुलेको अनुभव हुन्छ ।

त्यस्तै व्यङ्ग्यको तारतम्य समात्दै जाँदा बेलाबखत उनी आफ्ना व्यक्ति-राग वा रुचि-अरुचि स्पष्टै झल्कने विन्दुसम्म पनि उडाउने अदम्य आकाङ्क्षाका वेगमा वस्तुगत पर्यवेक्षकको मर्यादाको उल्लङ्घन गर्दै बतासिएको समेत पाइन्छ। त्यसैले हास्यव्यङ्ग्य वाग्धारा उर्लेका बखत उनी आफ्ना भावुक प्रवाहउपर आत्म-नियन्त्रण स्थापित गर्न ठाउँ-ठाउँमा चुकेको र सन्दर्भको भलले उनलाई बजाइदिँदा सो प्रवाहकै अधीन हास्य- व्यङ्ग्यकार बहकिएको अवस्था पनि उनका कतिपय कृतिमा प्रकट हुन्छन् । यसबाट हास्यव्यङ्ग्यकार पौडेल आफ्ना सिकारु अवस्था पार गर्दै परिपक्व अवस्थातर्फ विकासशील देखापर्छन् र उनको हास्यव्यङ्ग्य-उपासना साधनावस्थाका मध्यम विन्दुतिरै छ भन्ने स्पष्टिन्छ । उनका सामग्री र अभिव्यक्ति-प्रक्रियाका वर्तमान घनात्मक र ऋणात्मक बुँदाको मोटामोटी लेखाजोखा गर्दा उनलाई भविष्यमा (सिक्तै, सचेत हुँदै र सुधारिदै गएमा) ढकमक्क फक्रने उज्याला सम्भावनाले ओतप्रोत चिल्लोपाते नवोदित हास्यव्यङ्ग्य प्रतिभा स्वीकार गर्न सकिन्छ ।

निश्चय नै नेपाली साहित्यले पौडेललाई अर्को एउटा उदीयमान प्रभावकारी हास्यव्यङ्ग्यकारका रूपमा पाउन लागेको छ भन्ने कुराचाहिँ निर्धक्कसँग भन्न सकिन्छ। नपात्तिई, नमात्तिई र सिर्जनासङ्घर्षमा लगातार सामेल रही उनको हास्य-व्यङ्ग्य प्रतिभा खारिन, माझिन र चहकिन सक्षम रहोस् भनी म शुभेच्छा व्यक्त गर्दछु।

०००
२०३६ मङ्सिर १७ गते,
बानेश्वर, काठमाडौं ।
घरभित्रकाे गाइजात्रा (२०६२) काे भूमिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x