बद्रीप्रसाद दाहाल ‘भस्मासुर’छलाङे चिन्तन
छोटा छ्याङ्ग र छिद्र झ्याल जसरी पोसाक नाना थरी । पिज्जा या मम छन् चिकेनकरि छन् थुप्पा नयाँ बर्गरी ॥ मात्रै छन् स्तन-कञ्चुकी त पतला, उस्तै छ म्याडी पनि । ड्याडीमम्मि र अन्टिअङ्कल भनी बच्लान् त भाषा हरि ॥

बद्रीप्रसाद दाहाल :
हाम्रा सुन्दर भेष बिर्सन गई, भिर्छाैँ विदेशी लुगा ।
टाई सूट र क्याप र्याप जतिले, हामी हुँदैछौँ लुला ॥
छोडी ईश्वर नामको सपथ नै, पाखण्डमा उल्किई ।
आफ्ना सुन्दर स्वस्थ संस्कृति मिची, बस्ने भयौँ रित्तिई ॥
दौरा औ सुरुवाल कोट फरिया, चोली मजेत्रो भुल्यौँ ।
टोपी अठ्जल मारबाड र फुली लाएर कस्तो खुल्यौँ ॥
आफ्नै सुन्दर भेष लाउन गए, सामन्त बन्छन् अरे ।
टाईसूट भिरेरमात्र अगुवा, के अग्रगामी भए ?
के हो अग्र र पश्च मार्ग बतुरा ? बुझ्दै नबुझ्ने भयौ ।
घोक्छौ राष्ट्रियवाद चङ्ख चतुरा, सुत्ला र पुत्ला बन्यौ ॥
नौला चाल र ढाल नक्कल हुँदा, आफ्नै पना बिर्सियौ ।
रोटी भट्ट मकै ढिँडो सब हिँड्यो झोलै विदेशी पियौ ॥
छोटा छ्याङ्ग र छिद्र झ्याल जसरी पोसाक नाना थरी ।
पिज्जा या मम छन् चिकेनकरि छन् थुप्पा नयाँ बर्गरी ॥
मात्रै छन् स्तन-कञ्चुकी त पतला, उस्तै छ म्याडी पनि ।
ड्याडीमम्मि र अन्टिअङ्कल भनी बच्लान् त भाषा हरि ॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































