साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिपुराण

फेसबुकमा घुमाउरो पाराले अरूमाथि आरा चलाउने, विभिन्न तर्कवितर्कका दलिलहरू प्रस्तुत गर्ने र पुरै वाल भर्ने । राजनीतिका वितण्डादेखि गयाका पण्डाकासम्म कुरा गर्न पछि नपर्ने बुद्धिजीवीहरू आफूलाई मात्र उम्दा भन्ने र फेसबुकमा खुब जम्ने गर्दछन् ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

दुई जिबी, चार जिबी, आठ जिबी, सोह्र जिबी, बत्तिस जिबी, चौसठ्ठी जिबी आदि भनेर पेन ड्राइभको वर्गीकरण गरिए झैँ कति जिबीको बुद्धि भएको मानिसलाई बुद्धिजीवी भनिन्छ होला भनेर एउटा साहित्यिक कार्यक्रममा सहभागिता जनाउँदै गरेका साहित्यकारहरूका बिचमा चलेको छलफलको प्रसङ्गले साँच्चै मलाई पनि झसङ्ग बनायो ।

सबैबाट पृथक् पृथक् परिभाषा आएको हुँदा मलाई पनि खासा लाग्यो । अझ यकिन हुन घरमा आएर शब्दकोश पल्टाएँ । जसमा उल्लेख भएको थियो, बुद्धि भन्नाले सोच विचार गर्ने तथा निणर्य गर्न सक्ने मानसिक शक्ति, ज्ञान, प्रज्ञा, मति, समझ तथा अक्किल र जीवीको अर्थ बौद्धिक काम गरेर जीविका चलाउने ।

जीविका अथवा जीवी प्राणधारण गर्ने वा बाँच्ने उपाय हो । शब्दका अन्तिमतिर मात्र गाँसिने यो ‘जीवी का दीर्घजीवी, चिरञ्जीवी, श्रमजीवी, परजीवी जस्ता धेरै जीवीहरू छन् । तथापि यहाँ प्रसङ्ग चलेको छ बुद्धिजीवीको । अग्रजहरूले आशीर्वाद दिँदा र शुभचिन्तकहरूले शुभकामना व्यक्त गर्दा दीर्घजीवी रहेस् वा चिरञ्जीवी भएस् भनेको सुनिन्छ । तर बुद्धिजीवी भएस् भनेको कमै मात्रमा थाहा छ । तैपनि समाजमा बुद्धिजीवी फस्टाएको देख्दा हुने बिरूवाको चिल्लो पात भने झै बुझिनसक्नु छ बुद्धिजीवीहरूको बढत्तोरी ।

यसो सोच्नोस् त ! बुद्धिजीवी नभएको भए हाम्रो समाज कस्तो हुन्थ्यो होला ? जताततै मूखैमूर्ख हुन्थे होलान्, सबैले मूर्खहरूका कुरा मात्र सुन्थे होलान् र सर्वत्र मूर्खता प्रदर्शन गर्थे होलान् । अनि कस्तो मूर्खहरूको राज्य भनेर विदेशीहरूले फलाक्थे होलान् । धन्न यो बुद्धिजीवी भन्ने शब्दको उत्पत्तिले गर्दा हाम्रो देशमा प्रशस्तै बुद्धिजीवीहरू उत्पादन भई हामीलाई ठुलो भर भएको हुँदा कसैले पनि मूर्ख भनेर औँला ठड्याउने डर छैन ।

बुद्धिजीवीको अपार माया र आडभरोसाले गर्दा हाम्रा हरेक क्षेत्र बुद्धिमय भएका छन् । यत्रतत्र सर्वत्र बुद्धि नै बुद्धिको भेल छ । जता हेर्यो उतै बुद्धिजीवीहरूको ठेलमठेल छ । सरकारमा, सदनमा, सिंहदरबारमा, राष्ट्रिय गौरवका आयोजनाहरूमा, सडकमा, होटलमा, कहाँ छैनन् बुद्धिजीवीहरू ? यसरी जताततै बुद्धि पोखिएर छताछुल्ल भएको देख्दा कहिलेकाहीँ आफैँलाई एक्लै हाँसो उठ्छ र मनमनै सोच्ने गर्छु, धन्य छौं हामी, तेरो बुद्धिमा बिर्को लाग्यो कि क्या हो भनेर कसैले कसैलाई भन्नु परेको छैन ।

यसरी हरेक क्षेत्रमा आफ्नो बुद्धिको प्रखरता प्रस्तुत गरेर उच्च स्थान जमाउन र रमाउन सफल हाम्रा ख्यातिप्राप्त बुद्धिजीवीहरूका प्रकार यकिन नहुँदा सबैलाई अन्यौल हुन सक्दछ । त्यसैले आफूले जानेका र समाजले मानेका केही बुद्धिजीवीहरूको प्रसङ्ग कोट्याउन चाहन्छु । जसले गर्दा बुद्धिजीवीहरूको सहज रूपमा पहिचान भई दर्जाअनुसार उनीहरूलाई मान, सम्मान, इज्जत र प्रतिष्ठा गर्न सबैलाई सहज हुने छ ।

हात्ती बुद्धिजीवी

यी राष्ट्रियस्तरका ठुला बुद्धिजीवी हुन् । यिनीहरूको हात्तीको जस्तै अथाह बुद्धि हुन्छ । आफूसँग कति बुद्धि छ भन्ने स्वयम् उनीहरूलाई थाहा हुँदैन । हात्ती हात्ती बिचको जुहारी चल्दा बुद्धि पोखिएर छताछुल्ल भएपछि मात्र यिनीहरूको बुद्धिको मापन गर्न सकिन्छ । हात्ती बुद्धिजीवीहरूलाई प्रायः उनीहरूका अनुयायीहरूले खुब मान्दछन् र आफ्नै बुद्धिले मात्र मुलुकलाई अड्याएको ठान्दछन् । यिनीहरूले खाने भोजनको ओजन गरी साध्य छैन । उही हाम्रो चलनचल्तीको उखान झैँ नाङ्लो ठटाएर यिनीहरूलाई कसैले तर्साउन सक्दैन ।

गैँडा बुद्धिजीवी

यस्ता बुद्धिजीवीहरू गैँडाको छाला जस्तै बाक्ला र चाक्ला हुन्छन् । बाक्लो छालाको कारण कसैले केही लछारपाटो लगाउन सक्दैनन् भनेर यिनीहरू ढुक्क रहन्छन् । गैँडा बुद्धिजीवीहरू बुद्धिको ऊर्जा बढाउन अथाह खान्छन् र थन्क्याउन बेलाबखत विदेशतिर जान्छन् । यिनीहरू असाध्यै बाठा र टाठा भएकोले हत्तपत्त कसैले फसाउन सक्दैन । बरू कसैले काउकुती लगायो भने छ महिना पछाडि मात्र यिनलाई हँसाउन सक्दछन ।

घोडा बुद्धिजीवी

घोडा जस्तै गोडा बुर्लुक्क बुर्लुक्क उफारिरहने, आसेपासे सबैतिर धाउने, आफ्नो बुद्धि फिँजाउने, सकभर सबैलाई रिझाउने र आफ्नो दुनो सोझ्याउने बुद्धिजीवीहरू यो कोटिमा पर्दछन् । यस्ता बुद्धिजीवीहरू एकैजनालाई दिनको दश चोटिसम्म नमस्कार ठोक्छन् र सित्तै पाए अलकत्रा पनि टोक्छन् ।

गधा वा गोरू बुद्धिजीवी

बुद्धिको भारी बोकिरहने, आफ्नो विवेक पोखिरहने, धूर्तहरूलाई पनि आफ्नै ठानिरहने, जे भने पनि मानिरहने, बुद्धिको हलो तानिरहने सोझा बुद्धिजीवीहरू यस अन्तर्गत पर्दछन् । आफ्नो बुद्धि भजाएर अरूले मजा लुटिरहेको थाहा नपाउने भएको हुनाले यिनीहरूलाई काम छउन्जेल भाँडो, काम सकिएपछि ठाँडोको रूपमा अरूले प्रयोग गर्दछन् ।

बफेल्लो बुद्धिजीवी

यस्ता बुद्धिजीवीहरू प्रायः जसो होटल, रेस्टुरेन्ट र भट्टीभित्र पस्ने, घन्टौँसम्म बुद्धि भजाएर बस्ने, कसलाई चिनेको, कसलाई किनेको, कसलाई ठेक्का मिलाएको, कसलाई कमिसन दिलाएको, कतिलाई दौरासुरुवाल र कोट सिलाएको, कसकोमा धाएको र कसलाई कति गुन लाएको भन्ने सम्बन्धमा शक्तिजलले हाब्रोभित्र बफेल्लोका परिकार धकेल्दै र आकाश पातालका गफ ओकल्दै बुद्धि छाँट्ने गर्दछन् ।

पट्टु बुद्धिजीवी

यिनीहरू अरूले जे जे भन् भनेर सिकायो त्यही त्यही मात्र भन्दछन् । झट्ट हेर्दा गिदी होला जस्तो देखिने तर गिदी कम लिदी बढी भएका । सत्य असत्य छुट्याउनेभन्दा पनि मालिकले भनेको मात्र भट्याउने सालिकभन्दा कुनै फरक नपर्ने। जस्तो पट्टुले गोपी कृष्ण कहो भने झैँ हुन्छ भन्नेले हुन्छ भन्नुहोस्, हुँदैन भन्नेले हुँदैन भन्नुहोस् भनेर टोली प्रमुखले भन्ने बित्तिकै सोही मुताविक हुन्छ वा हुँदैन भन्ने पक्षमा हात ठड्याउने र टाउकामाथि लगेर अड्याउने जस्ता बुद्धिजीवीहरू यसअन्तर्गत पर्दछन् । यस्ता बुद्धिजीवीहरूको स्वतन्त्र बुद्धि हुँदैन ।

कुखुरे बुद्धिजीवी

कुखुराले झै सानो कुरा पायो भने पनि खोसिँदा खोसिँदा ठुलो खाडल बनाउने । उही काम पाइनस् छोरा मोबाइल कोट्याइबस् भने झैँ जतिखेर पनि एउटै कुरा मात्र कोट्याउने । जोसँग पनि त्यही कुरा मात्र भट्याउने । सुन्दासुन्दा कानै टट्याउने । यस्ता खाले बुद्धिजीवीहरू न बोलेर थाक्छन्, न कतै पाखा लाग्छन् । कसलाई कुरा सुनाऊँ भनेर सधैं आँखा ताक्छन् । नपत्याऊँ भने पनि, ‘सत्य रामोराम’ भनेर धर्म भाक्छन् । बडो गजबका हुन्छन् यस्ता बुद्धिजीवीहरू ।

झिँगे बुद्धिजीवी

गुलियो अथवा मिठो चिज भेटाउने बितिक्कै झिँगाको बथान झुम्मिए झै खाने माम्लोमा यस्ता बुद्धिजीवीहरू अनेक बहाना बनाएर ओइरिन्छन् । अरूका अगाडि झिँगा भनभनाए झै सधैँ भन्किरहन्छन् । यस्ता बुद्धिजीवीहरू चोकचोकमा, चौतारीमा, होटल तथा रेष्टुरेन्टहरूमा, साहित्यमा, शिक्षामा, स्वास्थ्यमा, सुरक्षामा, राजनीतिमा, उद्योग एवम् कलकार- खानाहरूमा यत्रतत्र सर्वत्र रहेको पाइन्छ । यस्ता बुद्धिजीवीहरूको मुख्य कर्म भनेको सङ्क्रमण गरेर भित्रभित्रै रोग सार्ने र सबैतिर अस्तव्यस्त पार्ने हो ।

कुरौटे बुद्धिजीवी

यस्ता बुद्धिजीवीहरूको खास कर्म भनेको कुराको रास लगाउने हो । बेला न कुबेला कसैकोमा भेला हुने, अस्यस कुरा काटिरहने, ताइँ न तुइँ हात लाग्यो दुई भने झै बकमफुसे गफ छाँटिरहने । स्वार्थ हुन्जेल मिल्ने, कुरा काट्दा आएको रस घुटुक्क निल्ने । यस्ता खाले बुद्धिजीवीहरू अत्यन्त खतरनाक हुन्छन् । यिनीहरूको मुख्य काम भनेको अरूको कुरा पिनिरहने र लखरलखर हिँडिरहने हो । उही, छेर्नेलाई भन्दा हेर्नेलाई लाज भने झैँ यिनीहरूलाई समाजको रत्तिभर सरम हुँदैन ।

चमेरे बुद्धिजीवी

प्रायःजसो दिनभरि सुत्ने र रात परेपछि बुद्धिको बिर्को खोलेर बाँड्ने, दिउँसो अरूले मिलाई सकेको कुरा रातारात भाँड्ने यस्ता बुद्धिजीवीहरू चमेरा जस्तै रातभर बुद्धि बाँड्नमै व्यस्त हुन्छन् ।

फेसबुके बुद्धिजीवी

फेसबुकमा घुमाउरो पाराले अरूमाथि आरा चलाउने, विभिन्न तर्कवितर्कका दलिलहरू प्रस्तुत गर्ने र पुरै वाल भर्ने । राजनीतिका वितण्डादेखि गयाका पण्डाकासम्म कुरा गर्न पछि नपर्ने बुद्धिजीवीहरू आफूलाई मात्र उम्दा भन्ने र फेसबुकमा खुब जम्ने गर्दछन् ।

यस्ता बुद्धिजीवीहरू धेरै छन्, जसले आफू कहिल्यै नथाकी यो समाजलाई हाँकिरहेका छन् । सबै बुद्धिजीवीहरूलाई मेरो सलाम ।

तर यसो सोच्नोस् त । यत्रा बुद्धिजीवीहरूको बुद्धि पुराण आँक्न सक्ने म पनि चानचुने बुद्धिजीवी त होइन नि ! कि कसो ? …

०००
हेटौंडा
‘बुद्धिपुराण’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
0
Would love your thoughts, please comment.x
()
x