कृष्ण प्रधानहात्तीका दुई खाले दाँत
भैगो, धेरै गन्यन किन गर्ने ? पूर्वी नेपालमा एउटा उखान छ 'घुमी फिरी रुम्जैटार' । अर्थात् कुरा लम्याए पनि नलम्याए पनि जुंगा चल्नासाथ बुझियो भने पर्याप्त छ ।

बालकृष्ण पोखरेल :
राजनीतिज्ञहरू भन्छन्, सत्य दुई प्रकारका हुन्छन्- एउटा डी फ्याक्टो अर्थात् वास्तविक, अर्को डी जड़े अयात वैधानिक । यो कुरालाई मैले वी.ए. को पत्र हंदा पढेको हैन यसलाई बुझेको हैं पुष्कर समसेरको ‘परिवन्द’ भन्ने आहान पढ्दा । सर्वविदित कुरो के हो भने यस आहानको नायक रने निर्दाेष थियो तैपनि सारा परिबन्द उसलाई ज्यानमारा घोषित गर्दै थिए । रने निर्दोष व भन्ने कुरा स्वयम् न्यायकर्ता विचारी बाजेसम्मलाई थाहा थियो, हुँदा पनि उनी लाचार थिए किनभने उनी परिबन्दको अधीनमा अनि परिवन्द चाहिँ रनेको विरोधमा थियो । यसैले बिचरो रनेलाई उनी झ्यालखानाको बासिन्दा तुत्याउन बाध्य भए । उल्लिखित भएझै राजनीतिज्ञहरूको भाषामा भन्ने हो भने रनेको निर्दोषपना डी फ्याक्टो थियो, उसको विरोधमा उभिएका परिबन्दहरू चाहिँ डी जुरे। यस आहानले के पनि छर्लङ्ग्याउँछ भने मानवसमाज वास्तविकताभन्दा धेरै परिबन्दमा आस्था राख्छ ।
मानव समाज परिबन्दमा आस्था राख्छ किनभने ऊ सत्यको वैधानिक पक्षबाट परास्त एउटा दयनीय संस्था हो। हुन त वास्तविकताको रक्षाका लागि नै विधान बन्दछ, यसलाई अस्वीकार गर्न सकिन्न तर पछि गएर विधान कृति शक्तिशाली हुन्छ भने यसले आफ्नै संसार निर्माण गर्छ । उदाहरणार्थ, हामी ऐन बनाउँछौं समाजको कल्याणका निम्ति । किन्तु एक मुठी अदालतीहरूको त्यो हतियार बन्न पुग्छ । अदालतबाट घर फर्किंदा हँसिलो मुख लाउनेहरूमध्ये कतिपय ठग, लुच्चा, बदमास पनि देखिन्छन् । यसै गरी रुञ्चे मुख लगाएर अदालतबाट फर्कनेहरूमध्ये अनेकौँ समाज सुधारक, साहित्यक, दार्शनिक इत्यादि आदर्श मूर्तिहरू पनि देखिन्छन् । एकथरी भन्छन्, न्यायको दरबारमा केवल दुई कुरा हेरिन्छन्- ऐन र परिबन्द । ऐन यसको धर्मग्रन्य हो, परिबन्द यसको धार्मिक विधि ।
हाम्रो समाजमा एक जना डिठ्ठा बाजे बस्छन् । उनी अचेल ढाक्रे छन् तर दश वर्षपहिले कुन्नि कुन अदालतमा हो उनी हाकिम थिए । मैले अनेकौं यस्ता हाकिमहरू पनि देखेको छु, जो घुसको नाउँ सुन्नासाथ घृणापूर्वक हेर्दछन् तर हाम्रा डिठ्ठालाई चाहिँ घुसको नाउँ सुन्दा त्यति नै आनन्दको अनुभव हुन्थ्यो जति अनुभव काठमाडौंका कीर्तनीया भक्तिनीहरूलाई श्रीकृष्णको नाउँ सुन्दा हुन्छ । यी डिठ्ठा बाजे जप गरेर बस्दा पनि घुस आउने झगडियासँग कुरा गर्थे तैपनि यिनी भन्थे यिनको झै हार्दिक ईश्वर प्रेम अन्त दुर्लभ छ । उनी के पनि भन्थे भने जप गर्दागर्दै बोल्नु पर्यो भने पानी अचाए पाप लाग्दैन भन्दै यस कुरालाई उनी कार्य रूपमा पनि परिणत गर्थे । उनको यस प्रकारको धर्मपरायणताको जताततै चर्चा चल्थ्यो।
यो भयो धर्म ग्रन्यलाई पालन गर्ने एक जना आदर्श भक्तको उदाहरण । यसलाई हामीले पुष्कर समसेरको ‘परिवन्द’ प्रेमी विचारी बाजेको जीवनसँग दाज्याैँ भने पुरा साम्य पाउनेछौँ । फरक यति मात्रै पाउनेछौँ- डिठ्ठाका धर्मग्रन्थ र यसको उपासनाका नियमित अनुयायी, विचारी बाजे चाहिँ ऐन र यसको परिवन्दका नियमित आनुयायी तर पनि न्यायको वास्तविक अर्थ सोच्न असमर्थ विचारी बाजे धर्मको वास्तविक अर्थदेखि अनभिज्ञ डिठ्ठा बाजेनै दुरुस्तिन्छन् ।
हात्तीका दुई दाँत हुन्छन् । एकथरी सुँडवाहिर देखापर्ने लम्बे दाँतहरू, जसलाई दाह्रा भनिन्छ । जङ्गली हात्तीका लागि यी दाह्राको ठुलो उपयोगिता छ । यिनै दाह्रा मार्फत ती हात्तीहरूले मांसाहारी पशुहरूसँग सङ्घर्ष गर्छन्। यो भयो ‘अरे’ को कुरो । बजारु हात्तीहरूलाई देख्दा त तिनका बाहिरी दाह्रा सरासर अनुपयोगी ठहरिन्छन् बरु हात्तीको मुखभित्र निकै स्याना अर्का थरी दाँत हुन्छन् रे । हुन त यो पनि ‘अरे’ को कुरो हो तापनि हामी हात्तीले दाना चपाएका आधारमा यसमा विश्वास गर्न सक्छौं अनि हामी निर्क्याैल्न सक्छाैं कम दृष्टिगोचर भए पनि हात्तीको जीवनमा यिनको ठुलो उपयोगिता छ।
माथि वर्णन गरेको डी जुरे सत्यलाई हात्तीको भित्री दाँत माने हुन्छ । जसरी सारा संसार परिबन्दमा जेलिएकाले भित्री सत्यलाई च्याउन असमर्थ छ, त्यसै गरी हात्ती पनि आफ्नो भित्री दाँतको प्रदर्शन गर्न सक्दैन।
अदालत, पूजाकोठी र हात्तीसारमा मात्रै होइन, सर्वत्र यस उक्तिका लागि पुष्टि पाउन सकिन्छ । तपाईंमध्ये कति सेक्सन अफिसर हुनुहुन्छ होला, कति चाहिँ कलेजका प्रोफेसर । तपाईं पाउनु हुन्छ हद से हद ने.रु. ३५०/- को मासिक वेतन । तपाईंहरूको घरमा कम्ती पनि औसत पाँच जना जहान होलान् । आजभोलिको चर्को बजारभाउले गर्दा तपाईंहरूको तलबले भान्साको आवश्यकता टार्न पनि मुस्किल छ । झन् सारो शिक्षित आधुनिक परिवार।
कहिलेकाहीँ न्युरोडमा गएर मनोविनोद गर्ने पनि इच्छा जाग्दो हो तर अन्य आयस्रोत नहुन्जेल जागिरको पैसाले यो धोको मेट्न तपाईंहरू सक्नुहुन्न । तपाईंलाई थाहा छ हाम्रो देश चौपट्ट गरिब भएकाले निकट भविष्यमा बेतन वृद्धि सम्भव छैन । अब तपाईंका सात केवल दुई मार्ग उपस्थित हुन्छन्- या त पशुको झै दयनीय जीवन व्यतीत गर्नुहोस् या आफ्नो आर्थिक हालत सुधार्नलाई अरू पनि व्यवसायन अँगाल्नोस् तर पछिल्लो मार्गका लागि तपाईंलाई वैधानिक अधिकार छैन ।
नेपालका धेरैजसो संस्थाहरूमा अरू संस्थामा काम गर्ने या चाहनेलाई भर्ना गर्ने चलन छैन । भर्ना भइसकेकाहरूले यदि अन्य संस्थामा पनि काम गर्न चाहे भने अनुमति दिने चलन छैन । यस्तो हालतमा धनीवर्गका कर्मचारीहरू जागिरलाई पानसुपारीको साधन बनाएर नेकटाई प्रदर्शनीमा सामेल भए तापनि गरिब कर्मचारीहरूले चाहिँ भोकभाेकै नमरी सुख पाउँदैनन् हुन त कोही कोही सुटुक्क टिउसन पढाएर र कोही कोही सुटुक्क घुस खाएर किंवा सरकारी रकम तलमाथि पारेर साँझमा नयाँ सडक घुम्न आउने आँट गर्छन् होला तर यस्ताले सुखको निद्रा पाएका होलान् भन्ने विश्वास हुन्न । आजको विशेष पुलिसको अभियानले यिनीहरूको मुटुमा ढ्याङ्ग्राे नठटाई किन छाडेको होला ?
जब हामी शिक्षित भनाउँदा त यति दरिद्र छौं भने ग्रामीण अर्धनग्नहरूको हालत कस्तो होला । यस्तो अवस्थामा पनि हाम्रा कविहरू भन्छन्- ‘नेपाल कुबेरको देश हो’ हामी उनका पाठकहरू मक्ख परेर फुल्छौँ । एकछिनका लागि पेटमा बजेको सारङ्गीको आवाज पनि बिर्सन पुग्छौँ । बरु कुनै कविले नेपाललाई दरिद्र लेखिदियो भने हामी क्रोधले दाह्रा किट्न थाल्छौँ । हामी यसो किन गर्छौं ? किनभने डी फ्याक्टो हामीलाई मन पर्दैन ।
हाम्रो डी फ्याक्टोप्रतिको घृणा ‘एक करोड नेपाली’ भन्ने वाक्यमा पनि व्यक्त हुन्छ । एक करोड भनेर हामीले फलाकेको एक जुग भइसक्यो तैपनि भ्यागुताको कहिल्यै धार्नी नपुगे झैं नेपालीहरूको जनसङ्ख्या पनि एक करोड पुग्न सकेको छैन (निबन्ध लेखेका बेला) । तैपनि साराका सारा प्रचार गर्छन्- हामी एक करोड । कोही कोही त डेढ करोडको धाक लगाउन पनि पछि पर्दैनन् ।
उहाँ भने बल्लबल्ल पुगेको नब्बे लाखमा पनि कति दक्षिणायन किंवा उत्तरायण बतासले उडाएर ल्याएका कसिङ्गर मिसिएका होलान्, यसलाई छानविन गर्ने प्रयोजन नै किन चाहियो र ? एक धार्नी आलुभन्दा पनि सस्तो दाममा पाइने नागरिकता भनेर आरोप लगाउने कसको ह्याउ ? यो ऐन नाघेको काम हो र ? परिबन्द चुकेको छ र यहाँ ? कसको तागत हाम्रो नागरिक मण्डलमा एक-दुई गुप्तचर पनि होलान् कि भनेर शङ्का गर्ने ? यहाँ प्रश्न छ डी जुरेको, डी फ्याक्टोको होइन । डी फ्याक्टो त मरणासन्न रोगी अर्थात् उन्नाइसौं शताब्दीको सत्य । हामीलाई चाहिएको छ बिसौं शताब्दीको अनुकूल सत्य, भलै हाम्रो देश सोह्रौँ शताब्दीको युरोपभन्दा पनि पछि परेको होस् ।
मलाई लाग्छ, हाम्रो नेपालझैँ परिबन्दवासीहरू अन्य देशमा दुर्लभ छन् । हुन त विधान या परिबन्द फाल्तु कुरा होइनन्, यिनलाई हामी जुनसुकै देशमा पनि पाऔँला तर के कुरो विचार्य छ भने हाम्रा देशवासीहरू छन् परिबन्दवादी अर्थात् अनुभूतिजन्य वास्तविकतालाई हाँसीहाँसी अप्रामाणिक ठहऱ्याउने जीवहरू ।
तपाईंहरूलाई पत्यार नलागे म एक जना बयोवृद्ध न्यायाधीशको उपमा दिइहालूँ । सात सालपछिको कुरा हो । एक दिन उनको छोराले हाक्काहानी सुँगुरको मासु खाइदिएछ । तत्कालीन ऐन अनुसार बाहुनले सुँगुरको मासु खान त के स्पर्श गर्नु पनि वर्जित थियो । यो ऐन नमान्ने बाहुनको जनै चुँडालिने मात्रै होइन, जातित्व समेत हरण हुन्थ्यो तर न्यायाधीश बाजेले सहरभरि चलेको हल्लाको विचित्रसँग दमन गरे। धम्कीले होइन, विशुद्ध कलमको तागतले, सारा सहर छक्क पर्याे ।
यसको ठिक दुई महिनापछि हाम्रो सहरमा फेरि अर्को घटना भयो । हर्षराज विश्वकर्मा भन्ने एक जना कामी देवताको मन्दिरमा दर्शन गर्न पसेछन् । पुजारीको पालो उजुर गर्न अदालतमा पुगेछन् । भोलिपल्टै सारा सहर पुजारीको विरोधमा उर्लियो । विश्वकर्मालाई सजाय नदिइयोस् भन्ने हजारौं प्रार्थना पत्र अदालतमा आए तैपनि हाम्रा न्यायाधीश बाजेले ती प्रार्थना पत्रहरूलाई मान्न सकेनन् । उनले डरभर नराखी पुजारीको पक्षमा फैसला गरे । उनका एक-दुई मित्रले उनलाई पक्षपाती भन्ने दोषारोपण गर्दा उनको पालो गर्वका साथमा जबाफ दिए “परिबन्दको माम्लो हो बाबू ।” तर मलाई दुःख छ हाम्रा न्यायाधीश बाजे आज जीवित छैनन् । अस्ति २०१९ साल पुस १ गते श्री ५ बाट नयाँ संविधानको घोषणा भएको सुन्नासाथ उनी हार्टफेल भएर मरेछन् ।
भैगो, धेरै गन्थन किन गर्ने ? पूर्वी नेपालमा एउटा उखान छ ‘घुमी फिरी रुम्जैटार’ । अर्थात् कुरा लम्ब्याए पनि नलम्ब्याए पनि जुँगा चल्नासाथ बुझियो भने पर्याप्त छ । अँ, हालै सुनिन्छ रुम्जाटारमा विमानघाट पनि बन्न लाग्यो रे। अब त माथिको उखानमा सुधार ल्याएर ‘भुर्र उडी रुम्जाटार’ भन्नुपर्ला जस्तो छ । घुमेर रुम्जाटार पुग्नुभन्दा उडेर पुग्नु बेस होला । मतलब के हो भने यी एक-दुई उदाहरण पनि हिमाली परिबन्दवादका कम परिचायक छैनन् ।
०००
तेस्रो एकमुखे रुद्राक्षको खोजी (२०४०)
Subscribe
Login
0 Comments
Oldest





































